सडक पूर्वाधारमा घनश्याम भुसालका योजनै योजना



भैरहवा– नेपाली राजनीतिमा घनश्याम भुसाल स्थापित नाम हो । बौद्धिक र बामपन्थी नेता भुसाल कट्टर आलोचकमा पर्छन् । संविधान, जनजीविकास र नेपालको वर्तमान व्यवस्थाप्रति दृढ उनी यसको खिलापमा जाने जोकोहीविरुद्ध आलोचना गर्छन् । एमालेमा रहँदा होस् वा अन्य दलका गतिविधि हुन्, उनी सधैं जनताका सवालमा संकल्पित मानिन्छन् । यही कारणले सीमित राजनीतिक स्वार्थ लिन खोज्नेहरु उनका आलोचक छन् ।
मानवीय विकास नभई क्रंकिटको विकासले मात्रै परिवर्तन सम्भव नभएको उनले बताउँदै आएका छन् । मानवीय विकाससँगै सडक पूर्वाधार क्षेत्र नम्बर १ लाई अब्बल बनाउने आफ्नो संकल्प रहेको भुसालले बताए । क्षेत्र नम्बर १ बाट त्रिभुज चुनाव चिन्ह लिएर बाम–लोकतान्त्रिक शक्तिहरुको सहयोगमा स्वतन्त्र उम्मेदवार बनेका भुसालले क्षेत्र नम्बर एकमा सडक पूर्वाधार विकासमा योजनै योजना अघि सारेका छन् ।
अहिले चुनावी अभियानमा मतदाता भेटघाटमा व्यस्त भुसालले विकासका लागि उत्तरको पाल्पा सिमादेखि दक्षिणको भारतीय सिमासम्म स्तरीय सडक बनाउने योजना सुनाउने गरेका छन् । ‘मेरो लक्ष्य समृद्ध क्षेत्र नम्बर १ हो’, उनले भने, ‘यसका लागि म सबै ताकत प्रयोग गरेर काम गर्छु ।’ क्षेत्रको विकासका लागि भुसालले सबैभन्दा मुख्य प्राथमिकता क्षेत्रको पूर्व–पश्चिम र उत्तर दक्षिणलाई जोड्न स्तरीय सडक पूर्वाधार निर्माण गर्ने योजना बनाएका छन् । रुपन्देही क्षेत्र नं १ मा पूर्वी नवलपरासी सिमादेखि पश्चिम तिलोत्तमा नगरपालिकासम्म र उत्तर पाल्पा सिमादेखि दक्षिण भारतीय सिमासम्म क्षेत्र पर्छ ।
‘क्षेत्रका बिभिन्न स्थानलाई जोड्ने र पूर्वदेखि पश्चिम जोड्ने गरि चारवटा स्तरीय सडक र उत्तरदेखि दक्षिण जोड्ने गरि दुई वटा स्तरीय सडक निर्माण गर्ने योजना छ’, उनले भने, ‘यस योजनालाई सफल बनाउनका लागि हामी योग्य छौं । जुन कुनै सरकार बने पनि आफूहरुले क्षेत्रका लागि बजेट ल्याउने सवालमा पछि परिने छैन । प्रधानमन्त्री, कुनै पनि मन्त्रीले आफूहरुले ल्याएको योजना फिर्ता गर्न सक्दैन, हामी त्यो ल्याकत राख्छौं ।’
भूसालले रुपन्देही क्षेत्रको अमुवा भन्सार–धकधइ–खैरेनी हुँदै पाल्पा गोठादी मार्ग नालासहित सडक स्तरवृद्धिको कार्य सम्पन, मंगलापुर कान्छी बजार–गुम्मी–शंकरपुर–बेतानी हुँदै परासी जोड्ने सडक नालासहित स्तरवृद्धि गर्ने, वसन्तपुर–हाटी फर्साटिकर–कान्छी बजार हुँदै भलुही बाहिरी निकासी सडकको रूपमा विकसित गर्ने, बरेवा भन्सार–कोटहवा–सेमरहवा–जमूहानी ६ नं. चोक देवी स्थान हुँदै देवदह नगरपालिकाबाट खैरेनी मार्ग नालासहित सडक स्तरवृद्धि गर्ने, भलुही–बाघ कुमार– विशालनगर–बंगाली–पिपरहिया हुँदै केरवानी जाने बाटो पक्की गर्ने, गणेश नगर–प्रदीपनगर–शिवपुर– विष्णुपुरा–बरवलिया–पपरहिया–अमरहवा हुँदै बेलहिया बाइपास सडक जोड्ने, तिलोत्तमा चक्रपथ सडकलाई निरन्तरता दिने योजना अघि सारेका छन् ।
भुसालले आफ्नो प्रतिबद्धता पत्रमा पनि यसको झल्को दिएका छन् । क्षेत्रको विकासका लागि ठुला सडक बनाएर त्यसलाई जोड्न शाखा सडकहरु पनि निर्माण गर्ने योजना भुसालको योजना छ । भुसालले कुल २७ वटा योजना सडक बिस्तारका लागि मात्र बनाएका छन् । यसमा पनि आवश्यक्ता र प्राथमिकताको आधारमा आगामी दिनमा थप हुँदै जाने भुसाल बताउँछन् ।
यस्तै, देवदह–ओमसितया–रोहिणी–तिलोत्तमा समेटेर बृहत् चक्रपथ निर्माण गर्ने, शितलनगर–शान्तिनगर हुँदै भवानीपुर सडक नालासहित स्तरवृद्धि गर्ने, शान्तिनगर मुखियाटोल हुँदै विशालनगर जाने सडक नालासहित स्तरवृद्धि गर्ने, देवदह मा.वि. हुँदै लुम्बिनी विश्वविद्यालय जाने सडक नालासहित स्तरवृद्धि गर्ने, भलुही–केउली–सटक खोला र उजेली खोला सडक नालासहित स्तरवृद्धि गर्ने, बुद्धनगर शरनवारी जाने कृषि सडक नालासहित स्तरवृद्धि गर्ने योजना छन् ।
त्यसैगरी ठुटीपिपल–वरकुलाहा–करुवानी–कानपारा हुँदै देवदह १२ जनौरा जोड्ने सडक नालासहित स्तरवृद्धि गर्ने, भलवारी–रामनगर–हरैया हुँदै शिवपुर सडक नालासहित स्तरवृद्धि गर्ने, गणेशनगर–शिवपुर–बुधबारे–मक्रहर–वेवरा जाने सडक नालासहित स्तरवृद्धि गर्ने, चौकीडाँडा–बर्मेली टोल–तुकतुकिया–मोहनाजोत–९ नम्बर बजार सडक नालासहित स्तरवृद्धि गर्ने, ९ नं. बजार–वसन्तपुर–सूर्यपुरा सडक नालासहित स्तरवृद्धि गर्ने, मिर्गौली–पिपलडाँडा–तुकतुकिया–मैनहवा–वेवरा सडक नालासहित स्तरवृद्धि गर्ने, कोटिहवा–पर्सहवा–पिपरहिया–गंगौलिया–बरौलिया सडक नालासहित स्तरवृद्धि गर्ने, बैकुण्ठपुर–खुरहुरिया–भटपुरवा सडक नालासहित स्तरवृद्धि गर्ने, अमुवा–टिकर–बुधबारे–बुचिवरेवा सडक नालासहित स्तरवृद्धि गर्ने, देवदह १० चरङ्गेको रम्भादेबि हुँदै लडियाबास रिङ रोड जोड्न पुल निर्माण गरि सडक स्तर उन्नति गर्ने, देवदह–१० भलुहीको बुद्धपथदेखि वडा कार्यालय जाने वडा पहुँच सडकको स्तरोन्नती गर्ने योजना अगाडि सारेका छन् ।
यस्तै, भलुही र चरङ्गेमा अवस्थित मुल सडक तथा भित्री सडकहरुको नालासहित स्तर उन्नति गरी त्यहाँ रहेका पार्क, मठ मन्दिर सामुदायिक भवनको स्तर उन्नति गरी नदि कटानलाई व्यवस्थित गर्ने, पाल्पा जोड्ने बैकल्पिक मार्गको स्तर उन्नति गर्ने, प्रादेशिक यातायात योजना अन्तर्गत यस क्षेत्रका सडकहरूलाई समावेश गर्ने योजना भुसालले ल्याएका छन् । ‘यी योजना पूरा हुँदा क्षेत्र नम्बर १ सडक संजालमा जिल्लाकै अब्बल ठहरिनेछ’, भुसालले भने, ‘यसका लागि म लाग्ने छु, गठबन्धन लाग्ने छ ।’ उनले आफूले झुट्टा र रेलका सपना नबाँड्ने तर प्रत्यक्ष जनजीविकाससँग जोडिएका काममा ध्यान दिने बताए ।








प्रतिकृया दिनुहोस्