November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

पाल्पाका मुख्य योजना अलपत्र

पाल्पा– उत्तर चीन र दक्षिणतर्फ भारतको नुन मार्गको संगमका रुपमा रहेको पाल्पाका ठूला र बिकासमा फड्को मार्ने योजना वर्षौदेखि अलपत्र छन् । योजना पूरा हुने ठेगान छैन । जसले गर्दा जिल्लाका सर्वसाधरण निरास छन् । ‘मुलुकको आर्थिक मेरुदण्डका रुपमा सिद्धार्थ राजमार्ग निर्माण गरिएको थियो,’ पाल्पाका इतिहास विज्ञ निर्मल श्रेष्ठले भने, ‘मुलुकको दोस्रो राजमार्ग निर्माणपछि चीन–भारत व्यापार दूरी नजिक बनेको हो ।’

Advertisement

त्यसबेला दक्षिण एसियाकै उत्कृष्ट मध्येको सडक बनेको उनले बताए । ‘यो राजमार्ग बिग्रिदैन नि,’ उनले भने, ‘तर, पहिरोले धेरै समस्या भएको हो ।’ राजमार्ग निर्माण हुनुअघि बुटवलबाट मानिसले नुन ओसार्थे । २०२९ सालमा उदघाटन भएको राजमार्ग अहिले पहिरोका कारण जिर्ण छ । स्थानीयका अनुसार २०५६ सालयता सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा क्षेत्रमा पहिरो खस्ने समस्या बढेको हो ।

Advertisement

त्यसपछिका सबै निर्वाचनमा सिद्धबाबा क्षेत्रमा सडक स्तरोन्नति, वैकल्पिक मार्ग मुख्य प्रचार एजेण्डा बन्दै आएको छ । अहिलेसम्म यसको स्थायी समाधान हुन सकेको छैन । हरेक वर्ष बजेटमा १० करोड रुपैयाँ भन्दाबढी बजेट यही सिद्धबाबा खण्डका लागि विनियोजन हुने गरेको छ । यसको स्तरोन्नतिको काम अझै सुरुवात भएको छैन ।

लुम्बिनी र गण्डकी प्रदेश अन्तर्गतका पहाडी जिल्ला जोड्ने ‘लाइफलाइन’ मार्ग भए पनि यसको स्तरोन्नती हुन सकेको छैन । पहिलेजस्तै यसपटक सत्ता गठबन्धन, एमाले, साना दल, स्वतन्त्रले राजमार्ग स्तरोन्नतिका योजना प्रतिवद्धतापत्रमा उल्लेख गरेका छन् । ‘०७४ साल माघ ८ गतेबाट सिद्धबाबामा सुरुङ मार्गकालागि अध्ययन सुरु भएको थियो,’ पाल्पा–२, बाट सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सोमप्रसाद पाण्डेले भने, ‘२०७६ सालमा युवराज खतिवडा अर्थमन्त्री भएका बेला सुरुङमार्ग बनाउन १० अर्ब १५ करोड बजेट सुनिश्चित भइसकेको छ ।’

सुरुङ मार्ग निर्माणका लागि गत आर्थि वर्ष ठेक्का लगाइसकिएको छ । यसको निर्माणका लागि चाइना स्टेट कम्पनीलाई ठेक्का परेको छ । काम सुरु भइसकेको छैन । एमालेले ‘सिद्धबाबा क्षेत्रको मृत्युमार्गलाई मानवमार्ग’ बनाउने भन्दै प्रचार गरिरहेको छ । गठबन्धन दलले पनि सिद्धबाबा खण्डको सुधारका लागि विगतमा भएको प्रयासलाई सार्थक तुल्याउने योजना अघि सारेको छ ।

‘सिद्धबाबा क्षेत्रमा सुरुङ निर्माण गर्नका लागि संसदमा अनसन बस्छु भनेर दबाब दिएको थिए,’ पाण्डेयले भने, ‘यसको काम पूरा गर्नका लागि बारम्बार निगरानी गरेको छु ।’ एमालेले सिद्धार्थ राजमार्गलाई ‘डेडिकेटेड लेन’ बनाउने, माडी चक्रपथलाई पूरा गर्ने, रामपुर–कपुरकोट सडकको कामलाई तिव्रता दिने जनाएको छ । ‘हामीले मुख्य राजमार्गका साथै सहायक मार्गमासमेत सवारी साधन वर्षभरि चल्न सक्ने बनाउने योजना बनाएका छौं,’ एमाले उम्मेदवार ठाकुर गैरेले भने, ‘यसबाट पाल्पाली जनताले यातायातको सहज सेवासुविधा पाउने छन् ।’

नेताहरुले निर्वाचनका बेला दिने आश्वासन भने जनताले खासै पत्याएका छैनन् । जिल्लामा विकास निर्माणका कामले तीव्रता पाउन सकेको छैन । बजेट विनियोजन भएर टेण्डर भएका योजनाको कामसमेत अघि बढेको छैन । ०७२ सालबाट अवधारण अघि सारिएको २७ किलोमिटर माडी चक्रपथ निर्माण अलपत्र छ । गत आर्थिक वर्ष यसको निर्माणको लागि १० करोड विनियोजन गरिएको थियो । काम अगाडि नबढेपछि रकम फ्रिज भयो ।

‘माडी चक्रपथ संघीय गौरबको आयोजना हो,’एकिकृत समाजबादीका जिल्ला अध्यक्ष कमल पाण्डेले भने, ‘अहिले अलपत्र छ ।’ माडी रामपुरपछि जिल्लाको ठूलो फाँट हो । यसको काठ क्षेत्रमा घना बस्ती छ । बीचमा उर्वर फाँट रहेको छ । उनका अनुसार चक्रपथको ट्रयाक खोल्ने काम पूरा भएको छ । आधा सडक ग्राभेल गरिएको छ ।

रामपुर नगरपालिकादेखि स्याङजाको चापाकोट जोड्ने कालीगण्डकीमा निर्माणधीन दुईवटा पुल १० वर्षदेखि अलपत्र छन् । २०६८–०६९ मा लागेको ठेक्काको काम अहिलेसम्म पूरा नभएको हो । कालीगण्डकी अन्तर्गत रम्भाको असेर्दी, रामपुर नगरपालिकाको गेझादेखि गल्याङ नगरपालिका जोड्ने पक्की पुल पाँच वर्षदेखि अलपत्र छ । तीन जिल्लाका किसानलाई फाइदा पुग्नेगरी पाल्पा प्रभासमा निर्माण गर्ने भनिएको शीत भण्डार योजना १० वर्षदेखि अलपत्र छ । कालीगण्डकी करिडोर अन्तर्गत राम्दी–रानीमहल सडक खण्डको काम नौ वर्षदेखि अलपत्र छ । करिडोरकै अर्गलीदेखि रानीमहलसम्मको काम पनि ठेक्का भएको सात वर्षसम्म पूरा भएको छैन ।

जिल्लाका सिंचाई, खानेपानी, पुलपुलेसा, सडक, भवन लगायतका भौतिक पूर्वाधारका ३० भन्दा बढी ठूला योजना काम नभएर अलपत्र छन् । ‘नीति निर्माण गर्ने तहबाट बजेट व्यवस्थापन गरेकै छौं,’ गठबन्धनका उम्मेदवार तथा पूर्व सांसद सोमप्रसाद पाण्डेयले भने, ‘सम्बन्धित कार्यालय र निर्माण व्यवसायीले पूरा गर्न नसक्दा दोष हामीले खानु परेको छ ।’

बजेट व्यवस्थापन भएर पनि निर्माण व्यवसायीको लापरवाहीले कालीगण्डकी लिङ्खिटङ तानसेन खानेपानी योजना पनि पूरा हुन सकेको छैन । सम्पन्न गर्ने तोकिएको मितिभन्दा दुई वर्ष पछि धकेलिएको छ । ‘विगतमा ठूला योजनाका काम नभएका पनि होइनन्,’ त्रिभुवन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख भट्टराईले भन्छन् ‘नेतृत्वको कमजोरी हो वा कार्यान्वयन गर्ने निकायको कमजोरीले गर्दा धेरै योजनाहरु सम्पन्न हुन सकेका छैनन् ।’ ठूला पूर्वाधारका काम पूरा नहुँदा यहाँको पर्यटकीय क्षेत्रमासमेत असर परेको छ । शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रको अवरोध सिद्धबाबा सडक बनेको उनले बताए ।

सडक डिभिजन पाल्पाका अनुसार ठेक्का लगाएका ३० भन्दा बढी सडकमा निर्माण व्यवसायी (ठेकेदार)ले समयमा काम गरेका छैनन् । ‘सडक स्तरोन्नतिका कतिपय योजना लामो समयदेखि काम नगरेर अलपत्र छ,’ यहाँस्थित सडक डिभिजन कार्यालय प्रमुख प्रदीपमणी निरौलाले भने । अर्थिक वर्ष २०७५–७६ देखि गौरवको आयोजना घोषणा भएपनि पाल्पामा पर्ने १ सय १२ किलोमिटर सडकखण्ड पाँच वर्षयता अलपत्र छ । सडक पाँच वर्षदेखि मर्मत हुन सकेको छैन । जिल्लाका रामपुर फाँट सिंचाई योजना, सालझण्डी–सुन्दरीढुंगा (रैनादेवी छहरा) सडक पनि काम अघि बढ्न सकेको छैन । वर्षेनि बजेट विनियोजन भएपनि काम हुन नसकेको हो ।