विमानस्थलले देखाएको आशा



भैरहवा– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउन आठ वर्ष लाग्यो । यो अवधि यहाँका उद्योगी–व्यवसायी, स्थानीय, सरोकारवालाका लागि निकै प्रतीक्षाको घडी बन्यो । व्यग्र प्रतीक्षाबीच गत जेठ दुई गते बुद्धपूर्णिमाका दिनबाट विमानस्थल संचालनमा आएको छ । अहिले कुवेतको जजिरा एयरलाइन्सले नियमित उडान गरिरहेको छ । तीन महिनासम्म साताका तीन दिन मात्रै उडान गरिरहेको जजिराले अहिले दैनिक उडान भर्दै आएको छ ।
यसले भैरहवा सहर, सिंगो रुपन्देही जिल्ला मात्रै नभएर लुम्बिनी प्रदेश र मुलुकभर नै नयाँ तरंग ल्याएको छ । किनभने सबैको प्रतीक्षाको घडी यही विमानस्थल थियो । विमानस्थललाई लक्षित गरेर निजी क्षेत्रबाट भैरहवा आसपास र कपिलवस्तु, नवलपरासीसम्म अर्बौंको लगानी भएको थियो । सरकारका लागि मुलुकमै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल संचालन गर्नुथियो । अर्कातर्फ अमयावधि निकै घर्किरहेको थियो । यसबाट व्यवसायी पीडित थिए भने सरकार आलोचित बनिरहेको थियो ।
विमानस्थल संचालनपछि यस क्षेत्रमा छुट्टै रौनक छाएको छ । भैरहवा–लुम्बिनी सडक खण्डसित जोडिएकाले धेरै यात्रु आफ्ना सवारी साधन रोकेर विमानस्थलको फोटो खिच्छन् । विमानस्थललाई लक्षित गरेर विभिन्न व्यवसाय थालेका लगानीकर्ता पछिल्लो पटक हर्षित छन् । स्थानीय बासिन्दा उत्साहित छन् । विमानस्थल बनाउन आफ्नो जग्गा दिएका स्थानीय सबैभन्दा हर्षित छन् । ‘हामीले मुआब्जा त पायौं तर पुर्खौदेखि बसिआएको घरजग्गा छाड्नुको कारण अन्तर्राष्ट्रिय विमानस्थल बनोस्, मुलुकको समृद्धि होस् भन्ने नै हो’, विमानस्थल बनाउँदा जग्गा अधिग्रहणमा परेका स्थानीय राजेश यादवले भने, ‘अहिले विमानस्थल संचालनमा आएको देख्दा निकै खुशी लाग्छ, हामीले पनि जग्गा दिएको सही प्रयोग भएजस्तो लाग्छ । अब विमानस्थल फूल फेजमा चल्नुपर्छ ।’
लामो समय विमानस्थल सञ्चालनमा नआएपछि निराश भएका लगानीकर्ता अहिले जुर्मुराएका छन् । उनीहरुको निराशा फेरि आशामा परिणत भएको छ । बुद्ध जन्मस्थल लुम्बिनीलाई लक्षित गरेर विमानस्थल निर्माण गरिएको हो । यहाँका लगानीकर्तालाई बौद्ध धर्मावलम्बी मुलुकबाट श्रद्धालु सिधै भैरहवा विमानस्थलमा उत्रिने विश्वास छ । त्यसैले होटल, रेष्टुराँ, ट्राभल, हाउजिङ र सरोकारका क्षेत्रमा ह्वात्तै लगानी बढेको छ । यहाँ तारे होटल थपिने क्रम छ । लुम्बिनी क्षेत्रका बासिन्दा र हजारौं लगानीकर्ता अहिले विमानस्थल फूलफेजमा चल्ने दिनको प्रतीक्षमा छन् । अहिले यो विमानस्थल लुम्बिनी क्षेत्रमा उद्योग, पर्यटन, कृषि, पशुपालन लगायतका क्षेत्रमा लगानी गर्ने लगानीकर्ता र स्थानिय समुदायको आर्थिक समृद्धिका लागि आशा र भरोसाको आधार बनेको छ ।
सिमावर्ती सहर रुपन्देहीको भैरहवाको बुद्धचोकबाट ३ किलोमिटर पश्चिम गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा अहिले चहलपहल बढ्दो छ । ८ वर्ष अघि भैरहवामा विमानस्थलको शिलन्यास भएपछि लगानीकर्ताले घर खेत बिक्री गरेर वा बैंकमा धितो राखेर चर्को व्याजमा ऋण लिँदै विभिन्न क्षेत्रमा लगानी गरेका थिए । पर्यटक लक्षित पूर्वाधार तयार गरे । विमानस्थल सञ्चालनमा ढिलाई भयो । विभिन्न कारणले गौरबको यो परियोजना पूरा हुने÷नहुने अन्योल हुँदा आफुहरु ‘मर्नु न बाँच्नु’को अवस्थामा पुगेको उनीहरुले बताएका थिए ।
कुन–कुन क्षेत्रमा कति लगानी बृद्धि भएको छ, त्यसको यकिन तथ्याकं उपलब्ध हुन सकेको छैन । करिब तीन वर्ष कोरोना भाइरस महामारीले थला पारेपछि लगानीकर्ता झन निराश भए । यस अवधिमा समान्य चियानास्ता पसलका लागि भाडामा सटर खोज्नेदेखि अर्बौ रुपैयाँ ऋण लिँदै पाचतारे होटल र हाउजिगङमा लगानी गर्ने धेरै भए । स्तरीय रेष्टुरेन्ट, सुविधायुक्त यातायातका साधन, जमिन भाडामा लिएर आधुनिक कृषि, पशुपालन, उद्योगमा लगानी गर्ने सयौं छन् । भैरहवा र लुम्बिनीको सेरोफेरोमामात्रै होइन, विमानस्थललाई लक्षित गरेर नवलपरासी, बुटवल, कपिलबस्तु क्षेत्रमा समेत लगानी बढ्दै गएको छ ।
यसको एउटा उदाहरण भैरहवाको प्रशिद्ध मिठाइ पसल ‘पवन मिष्ठान्न’ का संचालक पवन हलुवाइ हुन् । आमा कलावतीको मृगौला रोगबाट देहान्त भएपछि स्मृतिमा भैरहवामा अस्पताल संचालन गर्ने तयारीमा थिए । मृगौला बिरामीको उपचार गर्ने उक्त अस्पताल निर्माण गर्न १६ कट्ठा जमिन खरिद गरेर काम अगाडि बढाइएकै बढेकै अन्तर्राष्ट्रिय विमानस्थलको शिलन्यास गर्न आएका तत्कालीन प्रधानमन्त्री स्व.सुशील कोइरालाको भनाइले उनलाई प्रभावित बनायो । २०७१ माघ १ गते विमानस्थलको शिलन्याँस गर्दै स्व.कोइरालाले भाषणमा स्वदेशी उद्यमी व्यवसायीलाइ होटेलमा लगानी आग्रह गर्दै भनेका थिए, ‘यस क्षेत्रको पर्यटन व्यवसाय फस्टाउन विमानस्थल बनाएरमात्र हुँदैन, स्तरीय ठूला होटेलहरुको खाँचो भएकाले तपाइँहरु लगानी गर्नुस् ।’ कोइरालाको यो भनाइले पवनले अस्पताल निर्माणको कार्य तत्काललाइ स्थगित गरेर होटल निर्माण गर्न तम्सिए ।
प्रदेशका अध्यक्ष संजय बजिमय सरकारकोतर्फबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र यसकालागि जग्गा अधिग्रहणको मुअब्जा समेतलाई गरेर ३० अर्व रुपैयाको हाराहारीमा लगानी गरेको भए पनि त्सको दश गुण बढि विमानस्थललाई लक्षित गरेर निजी क्षेत्रको लगानी पुगेको बताउँछन् ।
उनको भनाइमा बिमानस्थललाई लक्षित गरेर पर्यटन, कृषि, यातायात सवैमा गरेर तीन खर्ब रुपैयाँ भन्दा धेरैको लगानी पुगेको छ । ‘यो लगानीलाई चलायमान बनाउने सवै भरोसा र आशा भनेकै विमानस्थलको सफल ढंगले संचालन हो’, बजिमयले भने, ‘यस विमानस्थलबाट आशा, विश्वास, सम्भावना र भविष्य पनि छ ।’ कोरोना संक्रमण लगायत विभिन्न कारणले सबै क्षेत्र तहसनहस छ । यसैमा विमानस्थल फूलफेजमा संचलन नहुने हो भने व्यवसायी पलायन हुने अवस्था आउने सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ बताउँछन् ।
व्यवसायीले अब विमानस्थल संचालनमा आएकाले गुणस्तरीय पर्यटकको आगमन र लुम्बिनीको बसाइँ अवधि लम्बयाउने खालका गतिबिधि संचालन गर्नु पर्ने बताउँछन् । जसबाट स्थानीय रोजगार, उत्पादन र व्यवसाय बढ्न सकोस् । हालसम्म लुम्बिनी आउने ९० प्रतिशत बिदेशी पर्यटक भारतीय ट्राभल्स एजेन्सीले नै बनाएको प्याकेजमा आउने गर्छन् । गौतम बुद्ध बिमानस्थलबाट सिधै बुद्धिष्ट मुलुकसंग हवाइ उडान भएमा भारतीय ट्राभल्स एजेन्सीसँग निर्भर रहनु पर्ने नेपाली पर्यटन व्यवासयीको बाध्यता हट्ने भएकाले त्यसतर्फ सरकारले ध्यान दिनुपर्ने सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले बताए । ‘अब सरकारको ध्यान बौद्धिष्ट मुलुकबाट गौतमबुद्धमा सिधा उडान गर्नतर्फ जानुपर्छ’, उनले भने, ‘यसका लागि निजी क्षेत्रले सबै सहयोग गर्न तयार छ ।’
नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा भैरहवाका व्यवसायी राजेश अग्रवाल विमानस्थल संचालनमा आएकाले अब विस्तरै पर्यटकको आवागमन बढ्दै जाने र बसाइँ अवधि पनि लम्बिने बताउँछन् । ‘होटल, विद्यालय, कलेज, अस्पताल, हाउजिङ जस्ता सेवामूलक उद्योगमा बृद्धि हुने बिश्वासमा हामी छौं तर सरकारले बैंक ब्याजमा केही सहजता गर्नुपर्छ’, उनले भने । विमानस्थलबाट कार्गोसमेत पठाउन सुरु गरिएकाले अब यहाँको उत्पादन सिधै बाह्य मुलुक पुग्ने छ । ‘यसका लागि यस क्षेत्रका व्यवसायीले विशेष ध्यान दिनुपर्छ, विमानस्थलले धेरै भन्दा धेरै कार्गो भैरहवाबाट जाओस् भन्ने चाहन्छ’, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले भने । उनले विमानस्थललाई चलायमान बनाउन सरकारी तवरबाट काम भइरहेको र केही समयमा अन्य विमान कम्पनीले पनि यहीबाट उडान भर्ने भएकाले कार्गो पठाउन विशेष ध्यान दिन उद्योगी–व्यवसायीलाई आग्रह गरे ।








प्रतिकृया दिनुहोस्