बर्दिया सफारीको ‘भर्जिन’ गन्तव्य



बर्दिया– लुम्बिनी र आसपास प्रदेशका सहरबाट यहाँ घुम्न आउने धेरै छन् । सहजै वन्यजन्तु र प्राकृतिक सम्पदा अवलोकन गर्न सकिने भएकाले आकर्षण बढ्दै गएको निकुञ्ज अधिकारी र पर्यटन व्यवसायी बताउँछन् । पछिल्लो समय हवाई उडानको संख्या थप, सस्तो भाडादर र घुम्ने संस्कृतिले यहाँ पाहुना बढिरहेका छन् । यहाँ रहेको बर्दिया राष्ट्रिय निकुञ्जमा मानवीय चाप छैन । जसले गर्दा वन्यजन्तु अवलोकनका लागि दुःख हुँदैन ।
वन र वन्यजन्तु सफारी पर्यटनकालागि बर्दिया निकुञ्जमा पर्यटकको आकर्षण बढेको छ । संघीय राजधानी काठमाडौंबाट भौगोलिक दूरी टाढा भएकाले टुर र ट्राभल कम्पनीको आँखामा नपरेको निकुञ्जमा अहिले आन्तरिक पर्यटकको चहलपहल छ ।
व्यवसायी यसलाई सफारीको ‘भर्जिन’ गन्तव्यका रुपमा प्रचार गरिरहेका छन् । दूर्लभ पाटेबाघ अवलोकनका लागि मुलुक र बिदेशबाट धेरै पर्यटक आइरहेका छन् । बुद्ध जन्मस्थल लुम्बिनीसँगै निकुञ्ज प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य हो । अहिले प्रदेश र स्थानीय सरकारले आफ्ना कार्यक्रम यहाँको प्रमुख पर्यटकीय केन्द्र ठाकुरद्वारामा आयोजना गर्न थालेपछि होटल व्यवसायी उत्साहित छन् । सहजै बाघ हेर्न सक्ने भएकोले गन्तव्यमा भीडभाड छ ।
निकुञ्ज, खाता जैविक मार्ग र मध्यवर्ती क्षेत्रमा बाघ हेर्न पाइने भएकाले पर्यटक आइरिन थालेको पर्यटन व्यवसायी रामजीबाबु थापाले बताए । पर्यटकका लागि २० प्रतिशत छुट व्यवस्था गरिएकोले आगमन बढ्ने उनले बताए । निकुञ्जमा चार वर्ष अघि गरिएको गणना अनुसार ८७ बाघ थिए । अहिले बाघको संख्या एक सय हाराहारीमा पुगेको निकुञ्ज कार्यालयको छ । बर्दिया निकुञ्जमा ३८ गैडा छन् । पर्यटक बढेसँगै ठुला होटलमा व्यवसायीले लगानी गर्दे गएकाछन् ।
बबई रिर्सोट, बर्दिया टाइगर रिर्सोट, टाइगर टप, जंगल सेन्टर प्लाजा, थारु होम रिर्सोट, गैडा क्याम्प लगायत ठूला, मझौला र साना गरि २९ होटल सञ्चालनमा छन् । तराईको ठुलो निकुञ्ज, शान्त वातावरण, प्रशस्त जैविक विविधता र सहजै बाघ हेर्न सकिने भएकाले पर्यटकको आकर्षण बढ्दै गएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए । ‘वन्यजन्तु सफारीमा आकर्षण बढेको छ,’ उनले भने, ‘बर्दिया निकुञ्ज सामाजिक, आर्थिक तथा वातावरणीय हिसावले उपयुक्त छ ।’
श्रेष्ठले यस वर्ष निकुञ्जले बाघ संरक्षणमा महत्वपुर्ण योगदान पुराएको भन्दै अन्तराष्ट्रिय स्तरको टी एक्स–२ अवार्ड पाएको बताए । यसबाट पनि बर्दिया निकुञ्जको विश्वभर चर्चा भइरहेकाले स्वदेशी र विदेशी पर्यटक आउने श्रेष्ठले बताए । घासे मैदान, बासस्थान सुधार, पर्याप्त आहारा,कृतिम पोखरी भएका कारण बाघको संख्या बढ्दै गएको छ । काठमाण्डौबाट आउन ५ सय किलोमिटर भन्दा बढी दुरी छ । बर्दिया निकुञ्ज आउने माध्यम् सडक र हवाई मार्ग हो । हवाई मार्ग नेपालगन्ज हुदै बर्दिया निकुञ्ज आउनु पर्छ ।
सडक यातायातले भने निकुञ्जको मुख्यालय ठाकुरद्वारालाई छोएको छ । कोभिड पछि यहा आन्तरिक पर्यटक बढी आउने गरेकाछन् । कोभिड कम हुँदै गएपछि बेलायत,फ्रान्स,अमेरिका लगायत मुलुकबाट पर्यटकको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।
चालु आर्थिक वर्षको भदौ मसान्तसम्म १० हजार बढी नेपाली पर्यटक भित्रिएका छन् । यसै गरि सार्क मुलुकबाट सय बढी र विदेशी ३ सय जना बढी पर्यटक भित्रिएको निकुञ्जले जनाएको छ । पर्यावरण विकास मञ्चका अध्यक्ष कृष्णप्रसाद भट्टराईले पर्यटक भित्राउन लुम्बिनी प्रदेशका ८ जिल्लामा प्रचारप्रसार गरिएको बताए । यहाँ पर्यटकका लागि बास, खाना र विहान नास्ता सहित निकुञ्ज अवलोकन गर्दा ३ हजार ७ सय रुपैयाँ लिने गरेको उनले जनाए ।








प्रतिकृया दिनुहोस्