November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

नेपालगन्ज अस्पतालको सहर बन्दै

भैरहवा– बाँकेको नेपालगन्ज अस्पतालको सहर बन्दै छ । मध्य तथा सुदूरपश्चिमको स्वास्थ्य उपचार केन्द्रका रुपमा रहेको सहरमा पछिल्लो समय अस्पताल खुल्ने क्रम ह्वात्तै बढेको छ । नेपालगन्जमा मेडिकल शिक्षा अध्ययनका साथै बिशिष्टिकृत उपचार उपलब्ध छ । पछिल्लो समय कोरोना महामारीका क्रममा यहाँ रहेका अस्पतालले संक्रमितको उपचारमा प्राप्त गरेको सफलताले पनि सहरमा अस्पतालको महत्व पुष्टि भएको थियो ।

Advertisement

अहिले ठूला अस्पतालसँगै क्लिनिक खुल्ने क्रम बढेको छ । जसले गर्दा नेपालगन्ज लुम्बिनी प्रदेशको मेडिकल सहर बन्न लागेको हो । नेपालगन्जमा १ सय ३१ बर्ष अघिदेखि अस्पताल विस्तार हुने क्रम सुरु भएको पाइन्छ । यहाँको सबैभन्दा पुरानो भेरी अस्पताल हो । यसको सुधार र सेवा बिस्तारले नीजी क्षेत्रलाई पनि प्रेरित गर्दै गएको देखिएको छ ।

Advertisement

जसमध्येको सबै भन्दा पुरानो नेपालगन्ज मेडिकल कलेज हो । जुन २०५३ सालमा संचालनमा आएको थियो । ७ सय ७५ शैयाको मेडिकल कलेजमा २५ बर्ष अघि देखि एमबीबीएस अध्ययन अध्यापनगर्न गराउन थालेपछि नेपालगन्ज मेडिकल केन्द्र बन्न थालेको हो । अहिले उक्त कलेजबाट २ हजार १ सय ३९ जना एमबीबीएस उत्तीर्ण गरि चिकित्सक बनेका छन् । २ सय १८ जनाले एमडी–एमएस उतीर्ण गरेका छन् ।

स्टाफ नर्सहरुको उत्पादन पनि निकै उल्लेखनीय छ । ‘नेपाली लगानीको पहिलो कलेज हो । कार्डोलोजी बाहेक सबै सेवा उपलब्ध गराउँदै आएका छौं । यहाँ सेवा नपाए मात्र भारत जानुपर्छ’, नेपालगन्ज मेडिकल कलेजका निर्देशक डा.नीतिष कनोडियाले भने, ‘अरु पनि धेरै नीजी क्षेत्रका अस्पताल खुल्न थालेकाले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम तीनवटै प्रदेशको मेडिकल हव नेपालगन्ज बन्न पुगेको छ ।’

उक्त कजलेका शिक्षण अस्पताल नेपालगन्ज, कोहलपुरमा पनि छन् । कैलालीको चीसापानी पनि कलेजको शाखा छ । करिब १ हजार ४ सय कर्मचारी कार्यरत छन् । ‘तीनवटा प्रदेशकै रेफरल सेन्टर हो,’ कलेजका प्रशासन प्रमुख कुमार अधिकारीले भने, ‘हामीले व्यवसायी उद्देश्य मात्र लिएका छैनौं । सेवा मुलुक भावना पनि छ । जस अनुरुप गरिब बिरामीलाई निःशुल्क सेवा समेत दिँदै आएका छौं ।’

निजी क्षेत्रकै अस्पताल मध्ये पछिल्लो पटक संचालनमा आएको १५ शय्याको लाइफलाइन जनरल हस्पिटल प्रालि हो । यहाँ फिजिसिएन डा. पारस श्रेष्ठले आफ्नो अस्पतालमा मृगौलाका बिरामीको उपचार गर्दै गर्दा भेटिए । उनले भने, ‘निजी क्षेत्रका अस्पताल खुल्ने क्रम बढेपछि सेवा बिस्तारसँगै प्रतिष्पर्धा समेत बढाएको छौं । कसरी गुणस्तरीय सेवा दिने भन्नेमा हाम्रो ध्यान त्यता केन्द्रित छ ।’

अर्का फिजिसिएन डा.संकेत रिसाल डाक्टर र नर्स उत्पादनमा नेपालगन्जले धेरै छलाङ मारेको बताउँछन् । भन्छन्, ‘चिकित्सकीय सेवामा बृद्धि भएको छ । अव स्थानीय, प्रदेश र संघीय सरकारले मेडिकल हवलाई मुर्तरुप दिन नीतिगत योजना तय गर्नुपर्छ ।’ हव नहुँदा पनि नेपालगन्जका चिकित्सकले उपचारमा राम्रो सफलता प्राप्त गर्दै आएको डा.रिसालको दावी छ ।

‘५० वर्ष अघिको तुलनामा अहिले नेपालगन्जमा मेडिकल लाइन स्वर्णीम युगमा प्रवेश गरेको छ’, उनले भने । भेरी अस्पताल परिसर नजिकै सरकारी स्तरको नेपालगन्ज नर्सिङ क्याम्पस भएकाले पनि नर्स तथा स्टाफ नर्स उत्पादनमा अग्रणी छ । नेपालगन्ज उपमहानगरमा निजी क्षेत्रका क्लिनिक ५६ वटा छन् । डाइनोस्टिक सेन्टर ५३ वटा र अस्पताल तथा पोलिक्लिनिक २७ वटा छन् । जिल्लाकै अर्को बजार कोहलपुरमा पनि निजी क्षेत्रका अस्पताल खुल्दै गएका छन् ।