बुटवल पश्चिमको नयाँ सहर चन्द्रौटा



भैरहवा–कपिलवस्तुको चन्द्रैटा बुटवल पश्चिमको नयाँ सहरका रुपमा तिब्र बिकास भइरहेको छ । प्रदेश राजधानी भालुवाङबाट २७ किलोमिटर पूर्व रहेको सहर पछिल्लो समय होटल हव बनिरहेको छ । साथैं औद्योगिक र बसोबास क्षेत्रका रुपमा बिकास भइरहेको छ । एक दशक अघिसम्म सानो बिसौनी बजारका रुपमा रहेको चन्द्रौटाले अहिले सहरीकरणको झल्को दिएको छ । पहाडी क्षेत्रबाट बसाइँसराइँ हुँदै तिब्र गतिमा सहरीकरण भइरहेको हो ।
पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्रकै रुपमा विकास भइरहेको छ । राजमार्गको दुबैतिर बाक्ला बस्ती छन् । कपिलवस्तुमा सबैभन्दा बढी बसाइँसराइँ भई बनेको नयाँ बस्ती विकास भएको ठाउँ, चन्द्रौटा हो । यहाँ नयाँ अनुहारका व्यक्तिको उपस्थिति बाक्लो छ । पश्चिमको दाङ, अर्घाखाँची, प्युठान र रोल्पाको व्यापार व्यवसायका लागि चाहिने खाद्यान्न, लत्ताकपडा र दैनिक उपभोय सामग्री यहीबाट निर्यात हुन्छ ।
अर्घाखाँची, प्युठान र रोल्पाका लागि चाहिने ७० प्रतिशत खाद्यान्न यहीबाट आपूर्ति हुन्छ । खुला र समथर तराई भए पनि नजिकै पहाडी जनजीवनको आनन्द लिन सकिन्छ । नेपालको १० ठूला भन्सार नाकामा पर्ने कृष्णनगरसँग जोडिएको सबैभन्दा नजिकको बजार पनि यही हो । चन्द्रौटाको सहज पँहुच भारतको राष्ट्रिय रेल नेटवर्कसँग जोडिएको छ । बढनी रेल्वे स्टेसन चन्द्रौटा हुँदै पुगिन्छ ।
चन्द्रौटादेखि कृष्णनगर २० किमी दक्षिण छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका अधिकांश पहाडी जिल्लाका नागरिक भारत आउजाउ गर्न बढ यही गन्तब्यलाई प्रयोग गर्छन् । यसैकारण जिल्लाको पहिलो ठूलो व्यापारिक बजार चन्द्रौटा बन्दै गएको छ । तर आधुनिक समय अनुसारको भौतिक पूर्वाधरको विकास हुन नसक्दा सहरमा केही अपूरो भएको देखिन्छ । उपचारका लागि बुटवल, भरतपुर र काठमाडौंको भर पर्नुपर्छ । व्यवस्थित अस्पताल नर्सिङ होम यहाँ छैनन् । उच्च शिक्षाका लागि पनि बाहिर जानु पर्ने अवस्था छ । राम्रा र स्तरीय शिक्षालयको अभाव छ ।
२०२७–२८ सालमा राजमार्ग बनाउँदा ठेकेदार मजदुरको मुकाम थियो । पाल टाँगेर उनीहरु बसेका थिए । ‘हाम्रा लागि स्विजरल्याण्ड थियो,’ त्यत्तीखेर चिया पसल गर्ने रामचरित्र मौर्यले भने, ‘बुटवलबाट हिँडेपछि पानी पिउने ठाउँ चन्द्रौटा थियो ।’ पसलबाट हुने आम्दानी निक्कै राम्रो र बचत हुँदा आफू रमाएको उनले बताए । ०४०–४५ सालतिर चन्द्रौटा बजारमा झुप्राझाप्री थपिन थाले । २–४ वटा पक्की घर थिए । नभए सबै फुस र खरले छाएका थिए । मुस्किलले ४०–५० घर थिए । २–४ वटा चिया पसल थियो । केराबारी जस्तै थियो ।

पूर्व–पश्चिम राजमार्ग भएकाले गतिलो बस बिसौनी थियो । २ वटा चिया पसल थिए । भारत, दाङ र वुटवलतिर जाने यात्रु यही आउँथे । ३ तिरका यात्रु गन्तब्यमा जाने आउने हुँदा जिल्लाकै राम्रो चहलपहल बस स्टप थियो । चारैतिर जाने बाटोको पहुँच हुँदा ०५०–५१ देखि विस्तारै पहाडबाट बसाइँसराइँ आउने क्रम बढ्यो । ०५२ मा माओवादी द्वन्द्व सुरु भएपछि ०५४–५५ तिरबाट चन्द्रौटमा सन्नाटा छाउन थाल्यो । डर त्रासले मान्छेहरु आउन छाडे ।
०६२–६३ मा मुलुक शान्ति प्रक्रियामा जाँदै गर्दा ०६४ भाद्र ३० मा स्थानीय अगुवा अब्दुलरसिद खाँको हत्यापछि चन्द्रौटा असहज बन्यो । ०६६ पछि फेरि चन्द्रौटा उदाउन थाल्यो । बसाइँसराइँ अत्यधिक भयो । अहिले जिल्लाकै व्यस्त बजार बनेको छ । बस बिसौनीबाट आधुनिक बजारमा परिणत भयो । सहरीकरण हुँदै गएपछि यहाँ होटल व्यवसायमा लगानी थपिँदै गएको छ । ४ वर्ष यता गतिला होटल थपिँदै गएका छन् ।
४ वर्षमा होटल व्यवसायमा एक अर्ब बढी लगानी भएको नेपाल चेम्बर अफ कमर्शका केन्द्रिय सदस्य महादेब पोखरेलले बताए । ‘५० करोड लगानीमा ४ तारे होटल खोलिएको छ,’ उनले भने, ‘होटल व्यवसायबाट उत्साहित भएरै खोलिएको हो ।’ चन्द्रौटा बजारदेखि पश्चिम ५ किमी आसपासमा १० वटा नयाँ होटल बनेर संचालन भएका छन् । सबै उच्चस्तरका होटल छन् । ‘जिल्लामै राम्रो सुविधा भएका होटल चन्द्रौटामा मात्र छन्’, उनले भने, ‘राप्ती उपत्याकामा प्रदेश राजधानी तोकिएसँगै चन्द्रौटाको रौनक बढेको छ ।’
यहाँ होटल व्यवसायको व्यस्तता बढेको छ । चन्द्रौटा क्षेत्र औद्योगिक क्षेत्रको कोरिडोरका रुपमा पनि विकास भइरहेको छ । चन्द्रौटादेखि बहादुरगंज बीचमा मुलुककै प्रतिष्ठित उद्योग छन् । ९ वटा सिमेण्ट उद्योग संचालनमा छन् । एउटा स्टिल उद्योग संचालनमा छ । अर्को संचालनको तयारीमा छ । ३ वटा डिटर्जेन्ट सर्फ उद्योग संचालनमा छन् । ९ वटा प्लाईउड उद्योग संचालनमा छन् । मुलुककै ठूलो एउटा मैदा र अर्को चामल उद्योग संचालनमा छन् । दुई वटा रोजिन एण्ड टर्पेन्टाईन उद्योग छन् । २५ वटा ठूला ईटा उद्योग छन् । सख्खर, हाँडपिसानी लगायतका सानातिना २ दर्जन बढी उद्योग छन् ।
उद्योग संचालन गर्न आउने उद्योगीलाई नगरपालिकाले प्रोत्साहन गर्नु पर्ने चन्द्रौटा उद्योग वाणिज्य संघ अध्यक्ष जमसेर अलीले बताए । ‘उद्योग मैत्री नीति र वातारण बनाउनु पर्छ,’ उनले भने, ‘उद्योग स्थापना भएदेखि संचालन नहुँदासम्म कर आदि छुट दिने नीति बनाउनु पर्छ ।’ सिफारिसका लागि पनि छुट दिनुपर्छ । ‘लुम्बिनी–भैरहवा कोरिडोरमा उद्योगहरु स्थानान्तरण हुन लाग्दा यता ल्याउने वातावरण बनाउन सक्नुपर्छ’, उनले भने । व्यवस्थित सहरको विकासका लागि गुरुयोजना अभाव छ । गुरुयोजना नहुँदा कसरी सहरको विकास गर्ने भन्नेमा अन्यौल रहेको चन्द्रौटा उद्योग वाणिज्य संघ वरिष्ठ उपाध्यक्ष ईश्वरीप्रसाद पाण्डेले बताए ।

‘कुन ठाउँ ? के गर्ने ? भन्ने योजना छैन्’, उनले भने, ‘जहाँ पायो उही विकासका नक्शा कोर्दा समस्या भइरहेको छ । औद्योगिक, व्यापारिक, पर्यटन र बस्तीका क्षेत्र छुट्याउनु पर्छ ।’ अहिले समस्या नभए पनि भविष्यमा यसले नराम्रो असर गर्ने हुँदा नगरपालिकाले १० देखि २० वर्षको योजना बनाएर अघि बढ्न सके पश्चिम नेपालमा व्यवस्थित सुविधा सम्पन्न सहर बन्ने उनले बताए । ‘योजना बनाउन बजेट खर्च हुने हुँदा, त्यो उत्पादनशिल हुँदैन् भनेर धेरैले नाक खुम्च्याउँछन्’, अधिकारकर्मी विष्णुप्रसाद खतिवडाले भने, ‘तर योजना अनुसार काम गर्दा ५–७ वर्षपछि त्यस्को परिणाम देखिन्छ ।’
कहाँ पुग्ने ? भन्ने स्पष्ट खाका तयार हुन्छ, त्यसले एउटा चालकलाई गन्तब्यमा सुरक्षित रुपमा सजिलै पुर्याउने भन्ने जस्तै स्पष्ट निर्देश गर्छ । राम्रो काम गर्ने नेतृत्व अभावमा चन्द्रौटाको विकास गति लिन नसकेको स्थानीय हुँमकान्त खनालले बताए । नीजि घर बनाउने, जीविकोपार्जनका लागि गतिलो व्यापार व्यवसाय फस्टयाए पनि राम्रो सहरका लागि चाहिने शिक्षा, स्वास्थ्य, मनोरञ्जन र रोजगारीको अवसर नभएको बताए ।









प्रतिकृया दिनुहोस्