March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

रूपन्देहीः पर्यटकीय होटलको हब

भैरहवा– दशक अघि भैरहवा–लुम्बिनी–बुटवल क्षेत्रमा मध्यमस्तरका होटल थिए । तारे होटल पाउन मुस्किल पथ्र्यो । अहिले त्यो अवस्था छैन । उसबेला सुविधा सम्पन्न होटल नहुँदा पर्यटकहरु यहाँ आएको दिनै फर्कने गर्थे । केहीले नेपालकै बाह्य जिल्ला गन्तव्य गराउँथे । पछिल्लो समय यस क्षेत्रमा तारेसँगै स्तरीय होटल धमाधम थपिँदै छन् । एकैपटक २० हजार बढी पर्यटक थेग्न सक्छन्, यहाँका होटलले । तारे होटल समेत दर्जन हाराहारी पुगिसकेका छन् । करोडसम्मका पर्यटकीय होटल तीन सय हाराहारी पुगिसकेका छन् ।

Advertisement

यहाँको मुख्य गन्तव्य भनेकै बुद्धजन्मस्थल लुम्बिनी हो । कोरोना महामारी अघि बर्सेनि करिब १६ लाख आन्तरिक तथा बाह्य पर्यटक लुम्बिनी आउँथे । अहिले तेस्रो मुलुकका पर्यटक न्युन आए पनि भारतीय र तस्रो मुलुकका पर्यटक आगमन राम्रो छ । जिल्लाका अन्य गन्तव्यहरुमा पनि आकर्षण छ । ठूला शैक्षिक संस्था र अस्पतालले गर्दा शैक्षिक तथा स्वास्थ्य पर्यटक पनि बढेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालन पछि यहाँ पर्यटन बजार थप गुल्जार भएको छ । जसले होटल व्यवसायमा थप लगानी आकर्षित गरेको छ ।

Advertisement

पर्यटन व्यवसायीको भनाई मान्ने हो भने जिल्लामा संचालित र बनिरहेका सानाठूला होटलमा ३० अर्बभन्दा बढी लगानी भइसकेको छ । लगानी अझै बढ्दो छ । भैरहवामा मात्रै दर्जन बढी स्तरीय होटल संचालित छन् । लुम्बिनी र बुटवलमा पनि अर्ब–अर्ब लगानीका होटल खुलेका छन् । केही खुल्ने तरखरमा छन् । खासगरी पछिल्ला वर्षहरुमा बाह्य पर्यटक लक्षित होटलहरुको आकर्षण बढ्दो छ ।

बुद्ध जन्मस्थल लुम्बिनीसँगै चार अघिबाट संचालनमा आएको गौतमबुद्ध विमानस्थल, प्रदेश अस्थायी मुकाम, भारतीय सीमानाका, विशेष आर्थिक क्षेत्र (सेज), मुलुककै दोस्रो ठूलो भन्सार कार्यालय, स्थलमार्गी पर्यटक बढी आउने मुलुककै ठूलो नाकालगायतले गर्दा यहाँ पूर्व–पश्चिमका व्यवसायी र विदेशीहरुले पनि होटल व्यवसायमा लगानी गर्दै आएका छन् ।

‘होटलमा व्यवसायमा गरेको लगानी सुरक्षित मानिन्छ । अझ भन्ने हो रुपन्देहीमा होटल गरिएको लगानी झनै सुरक्षित छ’, सिद्धार्थ होटल एशोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले भने, ‘कोरोना महामारीले केही असहज भएको हो, पछि सुध्रियला भन्ने छ । महामारी रहीरह्यो र पर्यटक आएनन् भने गाह्रो हो । होइन भने होटलको लगानी खेर जाँदैन ।’ एकपटकको लगानी, राम्रो आम्दानी, अधिक सम्भावना, भौगोलिक विविधता र सुगमता जस्ता कारणले पछिल्ला वर्षमा रुपन्देहीमा पर्यटकीय होटलहरु धमाधम खुलीरहेका छन् ।

यहाँ विश्व पर्यटन केन्द्र लुम्बिनीकै कारणले गर्दा होटलहरु फ्ट्याउँछन् भन्नेमा दुईमत छैन । बर्सेनि पर्यटकको आकर्षण लुम्बिनीमा बढ्दो छ । भैरहवा, लुम्बिनी, तिलोत्तमा र बुटवल तथा आसपासका क्षेत्रमा ह्वात्तै पर्यटक लक्षित होटलहरु खुल्ने क्रम बढेको छ । हुन त नेपालमा धेरै ढिला गरीे ‘तारे होटल’को सुरुवात भएको पाइन्छ । तर, पनि तारे होटल खुल्ने क्रम उत्साहकासाथ बढेको छ ।

विदेशीसँगै नेपाली उद्योगी व्यापारीहरुले होटल उद्योगमा प्रशस्त लगानी गरिरहेका छन् । पर्यटक लक्षित गरेरै यहाँ तारे होटलहरु खोल्ने धेरै छन् । सरकारी तथ्यांकअनुसार मुलुकमा तारे होटलको संख्या डेढ सयभन्दा बढी छ । त्यसमध्ये करिब दर्जन तारे होटल रुपन्देहीमा मात्रै खुलेका छन् । केही निर्माण भइरहेका छन् । विदेशी लगानीमा रहेको सिल्भर हेरिटेज गु्रप पाँचतारे टाइगर प्यालेस रिसोर्ट सञ्चालनमा ल्याएको पाँच वर्ष बितिसकेको छ । तिलोत्तमाको कोटीहवामा रहेको यो रिसोर्टमा मात्रै ५ अर्ब बढी लगानी गरिएको संचालकको दावी छ । यहाँ १ सय बढी कोठा छन् । यो होटल खासगरी भारतीय पर्यटकको आकर्षण बनेको छ ।

कोरोना र केही विवादले पछिल्लो समय सुस्ताएको यो होटलमा क्यासिनो समेत भएकाले यहाँ दैनिक सयौं भारतीय क्यासिनो खेल्न आउँथे । अहिले क्यासिनो नचल्दा आकर्षण केही घटेको छ । लुम्बिनीमा होटल व्यवसायमा लामो अनुभव संगालेका पवन हलवाईले ३ अर्ब लगानीमा निर्माण गरेको पवन प्यालेस इन्टरनेशनल पाँच तारे होटल संचालनमा छ ।

लुम्बिनीमै जापानी नागरिक नोर्बु कासाईको २ अर्ब बढी लगानीमा तारे होटल लुम्बिनी कासाई संचालनमा छ । यो होटलको स्तर बृद्धि समेत गरिँदै छ । यस्तै, १ अर्ब भन्दा बढी लगानी रहेको होटल होक्के पनि पर्यटक लक्षित नै हो । लुम्बिनीमा योसँगै अन्य करोडदेखि अर्बसम्म लगानी गरिएका थुप्रै होटल खुलेका छन् ।

तिलोत्तमाको मणिग्राममा रहेको ड्रिमल्याण्ड रिसोर्टले पनि स्तरउन्नती गरेको छ । यो होटलमा पनि करिब १ अर्ब बढी लगानी भइसकेको दावी छ । भैरहवामा चारतारे होटल नान्स संचालनमा छ । यसमा मात्रै ६० करोड लगानी गरिएको छ । भैरहवाको नजिकै बसन्तपुरमा होटल बोधी रेडसन संचालनमा छ । यो तारे होटलमा करिब अर्ब लगानी भएको छ । यस्तै, भैरहवाकै बुद्धचोकमा घिमिरे समूहको अर्ब लगानीमा पाँच तारे होटल निर्माण भइरहेको छ । संचालनमा आउँदा यो भैरहवाको पहिलो पाँच तारे होटल हुनेछ ।

भैरहवा बजारमै अर्को तारे होटल निर्भाना संचालनमा छ । यो होटलमा ५० करोड माथि लगानी गरिसकिएको छ । यस्तै भैरहवाको अंचलपुरमा तारेसहरको सिद्धार्थ कटेज निर्माण भइरहेको छ । यस्तै, गौतमबुद्ध विमानस्थल अघि लुम्बिनी रोडमा पनि दुईवटा तारे होटल निर्माण सुरु भएको छ । भैरहवामा अर्ब लगानीमा मौर्य होटल संचालनमा छ । लुम्बिनीरोडमै होटल एशियन संचालनमा आएको छ । करोडौं लगानीमा मत्स्य हव मानिने छपियामा छपिया फिस भिलेज संचालनमा छ । यहाँ पनि लगानी थप गरिँदै छ । यहाँ अर्ब लगानीमा लुम्बिनी प्यालेस संचालनमा छ ।

बुटवलमा ४० करोड बढी लगानीमा होटल एभिन्यु संचालनमा ल्याइएको छ । यस्तै, भैरहवा क्षेत्रमा ५ करोडभन्दा माथि लगानी गरिएका होटल अशोका, पौवा, क्यासल, ह्वाइट लोटस, यति, सिटी म्याक्स, सीटी सेन्टर, लाकौल इन, होटल लाकौल, एसआर संचालनमा छन् । यस्तै, बुटवल ढबाहामा आरम्भ रिसोर्ट, नयाँ मिलमा लक्ष्मी होटल, बुटवलमै दरबार होटल, महाराजा, न्यू ईरा, सिन्दुर, डार्सिस, क्लब डेनोभो, एशियन जस्ता स्तरीय होटल संचालनमा छन् । यिनी होटलमा पनि करोडौं लगानी गरिएको छ ।

५ लाखदेखि करोडसम्मका होटल त रुपन्देहीमा थुप्रै संचालन छन् । दैनिकजसो खुलीरहेका छन् र केही खुल्ने क्रममा छन् । गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । यहाँबाट हुनसक्ने पर्यटकहरुको चाँपलाई मध्यनजर गर्दै होटल निर्माण धमाधम बढेको हो । पर्यटक लक्षित होटलहरु बढ्दै जाँदा रोजगारीका अवसर पनि बढ्दै गएका छन् । हाल यहाँ संचालित होटलहरुमा पाँच हजार हाराहारी रोजगाररत छन् । स्थानीय तहहरुले आफ्नो क्षेत्रमा लगानी भित्र्याउन विभिन्न कर छुट सुविधा समेत दिइरहेका छन् । यसले पनि रुपन्देहीमा पर्यटन व्यवसायीले लगानी बढाइरहेका छन् ।