March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

पौरखी दाजुभाइ, बाख्रापालन गरेरै हाइहाई

भैरहवा– रुपन्देहीको शुद्धोधन गाउँपालिका–३, बेताहानीका संदीप खनालले २०७३ बाट बाख्रा पालन सुरु गरे । सफ्टवेयर कम्पनीको जागिर छाडेर बाख्रा पालन गर्दा परिवारले मात्रै होइन, छरछिमेक र आफन्त सबैले ‘धेरै पढेर बुद्धि बिग्रिएछ’ भन्न थाले । तर, उनमा कत्ति पनि बिचलन आएन । उनलाई त्यसबेला सीएस पढीरहेका भाइ संजय खनालले मात्रै साथ दिएका थिए । संजयले दाईले गर्न लागेको बाख्रा पालन राम्रो व्यवसाय भएको भन्दै परिवारका सदस्यलाई सम्झाए ।

Advertisement

संदीपले पनि पटक–पटक सम्झाए । जसरी पनि बाख्रा पालन गर्ने भन्ने निर्णयमा पुगेका संदीपले ५० वटाबाट बाख्रा पाल्न सुरु गरे । यसअघि उनी भारतो देहरादुनमा रहेको अमेरिकी एनएमसी सफ्टवेयर कम्पनीमा जागिर गर्थे ।

Advertisement

‘जसले मह काट्नछ, उसले हात चाट्छ’ भनेझै उनी बाख्राको स्याहारसुसारमा रातदिन खटे । सिएस सकेर भाइ संजय पनि दाईलाई साथ दिन आए । विस्तारै बाख्रा पालन राम्रो हुँदै गयो । अहिले एस.के. गोट फार्मका नामबाट उनीहरुले व्यवसायिक रुपमा ४ सय बढी बाख्रा पालन गर्दै आएका छन् । ‘दुईभाइको मिहिनत विस्तारै सफलतातिर गयो, समयक्रमसँगै परिवारको पनि राम्रो सहयोग रह्यो र हामी सफल भयौं’, संदीपले भने ।

सुरुसुरुमा ‘धेरै पढेर बुद्धि बिग्रिएछ’ भन्नेहरु पनि अहिले उनीहरुको प्रगति देखेर चकित छन् । खनाल परिवार अहिले बाख्रा पालेरै छरछिमेकमा मात्रै होइन, जिल्लामै सबैको हाईहाई छन् । विगतको कुरा सम्झँदै संदीप भन्छन्, ‘आफन्त र छरछिमेकको कुरा त परै जाओस् परिवारको समेत साथ नहुँदा सुरुमा निकै समस्या थियो । अहिले सबैले प्रशंसा गर्छन् ।’ भारतमै जागिर गर्ने बेला उनले स्वदेशमै केही गर्नुपर्छ भन्ने योजना गराएका थिए ।

नेपाल आउजाउ गर्दागर्दै उनमा बाख्रा पालन गर्ने सोंच आयो र सरकारले पनि कृषिलाई बढी प्राथमिकता दिएकाले व्यवसाय थालनी गरेको उनी बताउँछन् । ‘महिनाभरी अर्कैको काम गर्यो, तलबले पारिवारिक खर्च धान्न धौधौ हुने’, संदीपले भने, ‘कसैको सहयोग नहुँदा पनि रिक्स लिएर बाख्रा पालन गरेँ, अहिले फार्मले इज्जत दिएको छ, पहिचान दिएको छ र पैसा पनि राम्रो कमाएको छु ।’ उनी अहिले जिल्लाकै पौरखी युवा किसानका रुपमा समेत परिचित छन् ।

फार्ममा खनाल परिवारले खरी, तराई, जमुना पारी, विटो, अज्मेरी, वोयर र वोयर क्रस जातका बाख्रा पालन गरेका छन् । विउका लागि उनले अष्टे«लियाबाट वोयर जातको बोका लिएका छन् । खनाल परिवारले साढे १२ कठ्ठा जमिनमा बाख्रा पालन गरेका छन् । जग्गाबाहेक २ करोड बढी लगानी गरिएको छ । उनीहरुले वार्षिक एक करोड बढीको खसीबोका र बाख्रा विक्री गर्छन् । सबै खर्च कटाएर २० लाखबढी बचत गर्छन् ।

बाख्राका लागि ७ विगाह जमिनमा घाँस लगाइएको छ । फार्ममा काम गर्ने १० जना कर्मचारी छन् । परिवारका ५ जना पनि बाख्राको सुसारमा रातदिन खट्छन् । यसबाहेक प्रत्यक्ष–अप्रत्यक्ष गरी २५० जनाले रोजगारी पाएका छन् । फार्मबाट मनग्य आम्दानी भएपछि र सबैको प्रशंसक बन्दै गएपछि संदीपले अन्य ठाउँमा पनि व्यवसायिक बाख्रा पालन गर्ने योजना बनाएका छन् ।

‘अबको पाँच वर्षभित्र कम्तिमा विभिन्न दुई–चार ठाउँमा व्यवसायिक बाख्रा पालन गर्ने योजना छ’, संदीपले भने, ‘बाख्रा पालनमा मुलुकलाई आत्मनिर्भर बनाउने मेरो प्रयास छ ।’ नेपालमा खसीबोका र बाख्राको बजार राम्रो छ । नेपाली उत्पादनले अपुग भएपछि बाह्य मुलुकबाट बर्सेनि लाखौंको संख्यामा खसीबोका आयात हुन्छ ।

‘बजार राम्रो छ, जति उत्पादन गरे पनि विक्री हुन्छ । हाम्रो पनि फार्मबाटै सबै विक्री हुन्छ’, संदीपका भाइ संजयले भने, ‘हामीले यहाँबाट पुर्याउन नसकेर बाहिरी जिल्लामा किसानहरुले पालेका खसीबोका ल्याएर विक्री गर्दै आएका छौं ।’ उनकाअनुसार नियमित ग्राहकको आवश्यकता पुरा गर्न उनीहरुले कपिलवस्तु, पाल्पा, नवलपरासी, गुल्मी, अर्घाखाँची, दाङ, प्यूठान, स्याङ्जा लगायतका जिल्लाबाट पनि खसीबोका ल्याएर विक्री गर्दै आएका छन् ।

फार्म हेर्न आउनेहरुको प्रशंसा सुनेर र छोराहरुको प्रगति देखेर उनीहरुकी आमा राधा खनाल पनि दंग छिन् । ‘अमेरिकन कम्पनीमा जागिर गरी मासिक २५–३० हजार भारतीय रुपैयाँ कमाउने संदीप र लाखौं खर्चेर सीएस पढेको छोरा संजय गोवर सोर्न र घाँस काट्न घर फर्केर आउँदा मन पिरो हुन्थ्यो, छरछिमेक र आफन्तले पनि खिसीटिउरी गर्थे’, विगतको कुरा सम्झँदै राधाले भनिन्, ‘अहिले छोराहरुको मिहिनत, सबैको हाईहाई देख्दा गर्व हुन्छ ।’

छोराहरु रातदिन नभनी फार्मको हेरचाहमा तल्लीन हुने गरेको उनले बताइन् । ‘छोराहरु असाध्यै मिहेनत गर्छन्, उनीहरुको मिहनेतअनुसारको कमाई पनि छ’, उनले भनिन्, ‘आफ्ना सन्तानले प्रगति गर्दा जो कोही पनि खुसी हुन्छ ।’