December 5, 2024, Thursday
२०८१ मंसिर २०

मिटरब्याज पीडित बने भूमिहीन

भैरहवा– पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५, रतनगन्जकी ६५ वर्षीया सुरसती मुसहरको ठूलो परिवारमा धेरै पीडा छन् । घरमा अहिले श्रीमान, चार छोरा–बुहारी र ७ नातीनातिना छन् । उनका पति रामसुभक मिटर व्याजको चंगुलबाट छुट्कारा माग्र्दै धर्ना दिन काठमाडौं पुगेका छन् । ‘पहिले त साढे दुइ बिघा जग्गा थियो,’ उनले भनिन्, ‘ऋण लिएदेखि सकिँदै गयो । अहिले बचेको घरबास पनि धितोमा छ । कति खेर उठेर भाग्नु पर्ने हो पत्तो छैन ।’

उनका अनुसार दुई छोराले बैदेशिक रोजगारीमा जाने निर्णय गरेपछि जग्गा दृष्टि बन्धक राखेर साहुसित एक लाख ५० हजार रुपैयाँ ऋण लिइएको थियो । कान्छा छोराले १५ वर्ष मलेसियामा रोजगारी गरेको उनले बताइन् । ‘दुबै छोराले कमाएर पठाउँथे,’ उनले भनिन्, ‘यता बुवाले सबै रकम निकालेर साहुलाई बुझाउनु हुन्थ्यो ।’ कमाएर जति पठाए पनि साहुबाट छुटकारा नपाएपछि कान्छा छोरामा मानसिक समस्या देखिएको उनले बताइन् ।

Advertisement

‘जसोतसो बाँचेर आयो,’ उनले भनिन, ‘यहाँ आएपछि उसैको उपचारका लागि ऋण खोज्नु पर्यो ।’ ऋण चुक्ता गर्न २२ कठ्ठा जग्गा बिक्री गरेर १८ लाख रुपैयाँ साहुलाई बुझाएको सुरसतीले बताइन् । उनका जेठा छोरा रामनाथले अझै साहुले ५० लाख रुपैयाँ तिर्नुछ भन्दै धम्काइरहेको बताए । ‘दाजुभाईले कमाएको १२ लाख रुपैयाँ पनि बुझायौं,’ उनले भने, ‘त्यसपछि खेत बेचेर १८ लाख तिर्यौं ।’ बाबाको नाममा पठाएको सबै पैसा साहुले बुझेपछि हिसाब नराखिएको उनले बताए ।

‘सुनील गुप्तले फेरि ५० लाख मागिरहेको छ,’ उनले भने, ‘बुवा न्याय माग्न काठमाडौं जानु भएको छ, हाम्रो पीडा सुनुवाई भएको खबर कहिले आउँछ, पर्खिरहेका छौं ।’ बुवा काठमाडौं पुगेर धर्ना बसेको उनले टिभीमा हेर्ने गरेको बताए । ‘खाना खाएको छैन, भोकै छु भन्नु हुन्थ्यो,’ उनले भने, ‘बुढा रोइराथे, टिभीमा हेरेको मैले ।’

घरमा पुग्दा आमा, भाइ बुहारी र उनीमात्र घरमा थिए । उनकी श्रीमती परिवारका बाँकी सदस्य मजदुरी गर्न गएका थिए । मानसिक बिरामी भएका कान्छा भाई नारायणीमा दाउरा बटुल्न गएका थिए । ‘दिनभरि नारायणीमा हेलियर दाउरा बटुल्छन्,’ उनले भने, ‘ट्याक्टरको एक ट्रली भरिए ८ हजार रुपैयाँ कमाई हुन्छ ।’ उनका अनुसार खर्च नभएर बिजुलीको शुल्क तिर्न सकेका छैनन् ।

‘लाइन काटिदियो,’ उनले भने, ‘अर्काको घरमा मजदुरी गर्ने हो, कमाई भए छाक टर्छ, नत्र भोकै बस्ने हो ।’ मिटरब्याजी साहुले केही समय अघि जिल्ला प्रशासन गएका बेला प्रमुख जिल्ला अधिकारीको सामुन्ने धम्क्याएका थिए । ‘बुवालाई मार्ने त होइनन्,’ उनले डर व्यक्त गरे, ‘सीडीओको अगाडि धम्काएका थिए ।’

रतनगन्जकै ७५ वर्षीय चन्डुल चमार दुई महिना अघि धर्ना दिन काठमाडौं पुगेका थिए । त्यहाँ पाँच दिन बिताएपछि उनको बायाँ खुट्टाभरि फोकैफोका आए । घाउ पाकेपछि सहन नसकेर फर्किएको उनले बताए । दुइ छोरा बैदेशिक रोजगारीमा जाने भएपछि उनले सुनीलसितै एक लाख ५० हजार रुपैयाँ ऋण लिएको बताए । उक्त धन खर्च गरेर एक छोरा साउदी अरब गए । अर्को मलेसिया कमाउन पुगे ।

दुबै छोराले कमाइ गरेर महिना मरेपछि बाबुको नाममा पैशा पठाउँथे । ‘त्यो पैसा घर खर्च गर्न पाइएन, सबै लगेर साहुलाई बुझाउँथे,’ उनले भने, ‘त्यसरी बुझाएको पैसाको प्रमाण केही दिन्थेनन्, चिन्ता नगर मात्र भन्थे ।’ कागजमा लेखेर दिन भन्दा केही फरक पर्दैन भनेका थिए । अन्तिममा हिसाब माग्दा ८ लाख रुपैयाँ बाँकी छ भने ।

‘त्यसपछि साढे ६ कठ्ठा जग्गा बिक्री गरेर तिरे,’ उनले भने, ‘त्यसबेला प्रतिकठ्ठा एक लाख २० हजार रुपैयाँ पथ्र्यो ।’ उखु र केरा खेती हुने भएकाले यहाँको जमिनको मूल्य धेरै पर्ने गरेको उनले बताए । उनका अनुसार साहुले लालपुर्जा लगेर आफैं दृष्टिबन्धक पक्रिया पूरा गर्थे । आफूलाई सहीछाप मात्र गर्न लगाएको उनले बताए । ‘पैसा चुक्ता गरेको ५–६ वर्ष भइसक्यो,’ उनले भने, ‘अझैं पैसा मागिरहेका छन् । खै के बाँकी छ ? अझै तिर भनिरहेका छन् ।’

उनका ५ छोरा छन् । परिवारमा २९ सदस्य छन् । जग्गामा आँखा लागेर साहुले मागेको माग्यैं गरेपछि आफ्ना बुवाले बाँकी जग्गा बुहारीको नाममा पास गरिएको चन्डुलका छोरा नरसिंहले बताए । ‘जग्गा हेरेर रिन लगानी गर्थे,’ नरसिंहले भने, ‘यहाँका मान्छे पढेलेखेका छैनन् । त्यसैले कागज नगरी चिन्ता नलेउ भन्दै मनपरी गरे ।’ उनका अनुसार साहुले डेढ लाख रुपैयाँ लिएपछि तीन लाख रुपैयाँको दृष्टिबन्धक गराउँछन् । ‘ब्याज पनि तीन लाखको अशुल्छन्,’ उनले भने, ‘अनि चुक्ता गरेको ब्याजमा पनि हिसाब राख्दैनन् । प्रत्येक वर्ष ब्याज पनि साँवामा जोडेर बढाउन्दा रहेछन् ।’

स्थानीय मुखतार मियाँ अघिल्लो बिहीबार बिहान मुटुको दवाइ खरिद गर्न भारतको गोरखपुर जाने तयारीमा थिए । मिटर ब्याजको पीडाबारे कुरा गर्न थालेपछि उनले दवाई किन्न जाने समय पछाडि सारे । छोरीको बिहेका लागि २०७२ साल फागुन ३० गते सुनील कुमार गुप्तबाट दुई लाख रुपैयाँ लिएको उनले बताए । ‘दुई लाख लिए पनि साहुले चार लाखको कागज बनायो,’ उनले भने, ‘मेरो नामको साढे सात कठ्ठा जग्गा दृष्टिबन्धन राखे ।’ उनका अनुसार आफूले सुनीलबाट ऋण लिए पनि सीताराम कोइरी नामका व्यक्तिले जग्गा दृष्टि बन्धन राखेको कागज देखाए ।

अचाक्ली ब्याज बढेपछि २०७३ साल माघ १० गते जग्गा बिक्री गरेर रकम चुक्ता गरेको उनले बताए । दुईपटक गरेर श्रीमती तैरुन निशाको नाममा रहेको १० कठ्ठा जग्गा र चार कोठाको घर बिक्री गरेर रकम चुक्ता गरेको उनले बताए । उनीसित रहेको भर्पाइमा ‘मुखतारसित रहेको सम्पूर्ण हिसाब बुझिलिए, उनीसँग केही लेनदेख बाँकी छैन भनि यो भरपाई कागज बनाइदिए’ उल्लेख गरिएको छ । उक्त रकम भारतमा सुनीलकी छोरी निलु गुप्ताको ‘साहारा क्रेडिट कोअपरेटिभ सोसाइटी’मा रहेको खातामा जम्मा गरेको रसिद मुखतारसित छ ।
‘त्यसपछि एक रुपैयाँ लिएको छैन,’ उनले भने, ‘अहिले सुनीलले फेरि २० लाख रुपैयाँ लिनु छ भनेर तर्साइरहेको छ ।’ सदरमुकाम परासीमा प्रहरीकै सामुन्ने धम्काएकाले डर लागिरहेको उनले बताए । ‘यहाँका धेरै पीडितले भारतमा रहेको साहारा बैंकको खातामा रकम जम्मा गरेका छन्,’ मुखतारले भने, ‘धेरै जना अहिले कागजपत्र बोकेर काठमाडौं गएका छन् । नत्र रसिद हेर्न सकिन्थ्यो ।’ उनका अनुसार सुनील र उनका दाई जगदीशले समस्यामा परेका व्यक्तिलाई ऋण दिने गरेका थिए । यसरी ऋण दिंदा कुनै नियम थिएन । उनीलाई जे मन लाग्यो त्यही गर्थे ।

‘एक लाख ऋण दिएपछि ५ हजार रुपैयाँ खाजा खर्च छुट्याउँथे,’ स्थानीय अगुवा मानबहादुर गुरुङले भने, ‘त्यसरी खाजा खाएको रकमको पनि ब्याज अशुल्थे ।’ आफूले सुनीलसित एक लाख रुपैयाँ लिएको बताए । ‘खेत बेचेर ३ लाख ९० हजार रुपैयाँ बुझाएँ,’ उनले भने, ‘म जत्तिको बाठो मान्छेलाई त छाडेनन्, यी गाउँमा सोझासाझालाई के बाँकी राख्थे ।’ उनका भाई सन्तोषले ६० हजार रुपैयाँ लिएका थिए । ‘भाइले पाँच कठ्ठा उखुबारी बेचेर ७ लाख रुपैयाँ तिर्यो,’ उनले भने, ‘सयकडा ५ का दरले अशुल्थे ।’ उनका अनुसार साहुले वर्ष पुगेपछि ब्याज पनि सावाँमा जोड्थे । त्यसरी जोडेको सावाँको फेरि ब्याज अशुल्थे ।