गाउँ–गाउँमा तरकारी उत्पादन लहर
भैरहवा– यहाँको छत्रकोट–४, दिगामकी तिलका न्यौपानेका तीन छोरा घर बाहिरै छन् । माइला बैदेशिक रोजगारीमा छन् । जेठा काठमाडौंमा बस्छन् । कान्छो छोरा बुटवलमा रमेका छन् । घरमा तिलका र उनका पति कृष्ण मात्र छन् । पौरखी दम्पती छोरा बुहारीसित सन्चो बिसन्चो सोधिरहन्छन् । तर, खर्च माग्दैनन् । उनीहरुलाई अपुग भएका बेला घरबाटै पठाउँछन् ।
‘छोराबुहारीले सके कृषि गर्नुस्, नत्र छाड्नुस् भन्छन्,’ तिलकाले भनिन, ‘हाम्रो मन मान्दैन ।’ पौरखी यी दम्पतीका बारीमा अहिले खुर्सानी, काउली, बोडी, टमाटर, करेला र सिमी लहलह छन् । ‘फेरि साग रोप्ने तयारी छ,’ उनले भनिन, ‘अहिले १५ रोपनीमा तरकारी खेती छ ।’ त्यस बाहेक बारीमा उखु रोपेका छन् । भुइँकटहर पनि राम्रो भएको छ । ‘खुदो पनि बिक्री गर्छौं,’ उनले भनिन्, ‘अब मकै छाडेर सबैं बारीमा तरकारी रोप्ने सोच छ ।’ तरकारी बेचेर छोराछोरी पढाएको उनले बताइन् ।
‘बाख्रा किन्न पुगेको छ,’ उनले भनिन्, ‘भैसी खरिद गर्दा तरकारीकै आम्दानीले थपथाप भो ।’ बिरामी हुँदा उपचार खर्चका लागि कसैलाई गुहार्नु नपरेको उनले बताइन् । ‘यसपाली डल्ले खुर्सानी राम्रो फलेको छ,’ उनले भनिन्, ‘काउली, सिमी, कांक्रा र टमाटर तयार छन् ।’ न्यौपाने दम्पती दैनिक दुई घण्टा उकालो उक्लेर डाँडा पोखरीमा रहेको संकलनमा केन्द्रमा आउँछन् । ‘लौरो टेकेर आउँछौं,’ उनले भनिन्, ‘खेताला पाइँदैनन, आफै दुख गर्छौ ।’ अहिले यहाँका डाँडापाखा हरिया छन् । प्रत्येक घरमा तरकारी खेती गरिएको छ । यस्तो खेतीमा विविधता छ । जसले गर्दा सर्वसाधरणले बाह्रैमास आम्दानी गरिरहेका छन् ।
छत्रकोट–४, का डाँडापोखरीका शारदा र नीलकण्ठ न्यौपाने दम्पती व्यावसायिक किसानका रुपमा कहलिएका छन् । बाँदरले मकै स्याहार्न नदिएपछि बसाइँ सर्ने सोचमा पुगेका थिए । जन्मेहुर्केको बस्ती छाड्न मन लागेन । बाँदरले हानी नपुर्याउने खेती गर्ने सोच बनाए । ‘सुरुमा काउली र आलु खेती थाल्यौं,’ नीलकण्ठले भने, ‘त्यसमा हानी पुर्याएपछि डल्ले खुर्सानी खेती गर्यौ ।’ घर आसपास २० रोपनीमा खुर्सानी लगायत तरकारी खेती गरेका छन् ।
‘मिनामकोटमा २२ रोपनीमा खेती गरिरहेका छौं,’ उनले भने, ‘यसपाली ६ हजार खुर्सानी बोटबाट ५ लाख आम्दानी भयो ।’ बारीमा एक पटक रोपेपछि २ देखि ७ वर्षसम्म फल्ने जातका खुर्सानीका बोट छन् । स्थानीय जातका खुर्सानी धेरै छन् । ‘सुरुमा ज्ञान भएन, अलि निरास भइयो,’ उनले भने, ‘अहिले प्राविधिकको सहयोगमा खेती खुसी छौं ।’ बचेको बारीमा उखु रोपेका छन् । ‘यहाँको परम्परागत उत्पादन खुदो हो,’ उनले भने, ‘७–८ वर्ष भयो हामी तरकारीमा लागेको ।’ तीनवटा गाई छन् । दिन बिराएर ४५ लिटर दुध बिक्री गरिरहेको शारदाले बताइन् ।
‘तरकारी, दुध, गुंड, खुदो र उखु बेचेर वर्षमा ४० देखि ४५ लाख रुपैयाँ कमाइ हुन्छ,’ उनले भनिन्, ‘१४ रोपनीमा स्ट्रबेरी खेती गर्ने तयारीमा छौं ।’ छोराछोरी बुटवलमा छन् । ‘यहाँ मिहेनत गर्ने दम्पती मात्र हौं,’ उनले भनिन् । रुरुक्षेत्र–५, बषाडका रामबहादुर नेपाली काउली किसान हुन् । उनको घर वरीपरी बारीमा अहिले फल्न तयार छ । चाडबाड नजिकएकाले उत्साहित छन् । तिजदेखि दशैंसम्म फल्नेगरी मिलाएर खेती गरेका छन् । ७ वर्षअघि सम्म मकै खेती गर्थे । ७ वर्षदेखि काउली उत्पादन गरिरहेको बताए । काउलीसँगैं मुला र धनीया उत्पादन गर्छन् । जसले अतिरिक्त कमाई हुने गरेको उनले बताए ।
‘गत वर्ष काउलीका १६ हजार बेर्ना खेती गरे,’ उनले भने, ‘पाँच लाख बराबरको बिक्री गरेँ ।’ यसपाली लट अनुसार त्यति नै बेर्ना रोपेको उनले बताए । ‘एउटा बुटामा एक किलो काउली फले ६० रुपैयाँ आम्दानी हुन्छ,’ उनले भने, ‘एक घोगा मकैंको ६० रुपैयाँ पर्दैन ।’ काउली खेतीबाट घाटा नहुने उनले बताए । उनका अनुसार यहाँका साना किसान आवश्यकता अनुसार स्थानीय पैंचो पशलमा तरकारी बिक्री गरेर नुन, तेला, साबुन देखि खाद्यान्न लैजान्छन् ।
‘ठूला किसानले नगद प्राप्त गरिरहेका छौं,’ उनले भने, ‘पैंचो पशलले घरमै आएर तरकारी संकलन गर्ने भएकाले बजारको दुख छैन ।’ रुरुक्षेत्र–५, बम्घाका हिमलाल पुरीले २०४० सालबाट तरकारी खेति गरिहेको बताए । ‘त्यसबेला जति फल्थ्यो, डोकोमा बोकेर उल्लीखोला र खैरेनी बजार पुर्याउँथे,’ उनले भने, ‘त्यतिबेला थोरै खेती गर्दा पनि धेरै हुन्थ्यो ।’ किनेर खाने चलन नभएकाले कसैले एक किलो टमाटर मागे १० किलो सित्तैमा दिने गरेको उनले सम्झिए । अहिले ५ रोपनीमा तरकारी खेती गरिरहेको बताए । ‘अहिले करेला र कांक्रो फलेको छ,’ उनले भने, ‘बोडी फल्दै छ ।’
सिमी र काउली रोपेको उनले बताए । उनका तीन छोरा र एक छोरी हुन् । छोरीको बिहे भइसक्यो । एक छोरा काठमाडौं छन् । अर्का भारतमा छन् । कान्छा छोरा गाउँपालिकामा रोजगारी गर्छन् । ‘गत वर्ष साढे २ लाखको तरकारी बेचे,’ उनले भने, ‘बीउलाई मात्र खर्च हो, बाँकी परिश्रम बुढाबुढीले गर्छौ ।’ पहिले गोरु जोतेर जोतखन गर्थे । दुई वर्ष यता हाते ट्रयाक्टरले जोतिरहेका छन् । बस्तीमा सिचाईं सुविधा छ । ‘बस्तुको मल हाल्छौं,’ उनले भने, ‘यसैको आम्दानीले छोराछारीलाई डिग्रीसम्म पढाइयो ।’
बम्घामा रहेको स्मार्ट कृषि गाउँका अध्यक्ष चेतनारायण श्रेष्ठका अनुसार स्थानीय १ सय ५० परिवारले तरकारी खेती गरिरहेका छन् । गाउँबाट पैंचो पशलले मात्र वार्षिक दुइ करोड रुपैयाँको तरकारी खरिद गरिरहेको उनले बताए । ‘सोचेको जस्तो भएको छ,’ उनले भने, ‘एकजुट भएर खेती गरिरहेका छौं ।’ कृषिउपज, खसीबोका र दुध जोड्दा वर्षमा चार करोडको कारोबार भइरहेको उनले बताए ।’ उनका अनुसार ०७१ सालमा गाउँमा पैंचो पशलले तरकारी खेती गर्न उत्प्रेरित गरेको थियो । त्यसपछि स्थानीयले व्यवसायिक रुपमा खेती सुरु गरेको उनले बताए । ‘गाउँका सबै उत्पादन पैंचोले लैजान थाल्यो,’ उनले भने, ‘मासिक २–३ लाखको विक्री गर्ने किसान पनि छन्, नाफा नहुनेभए अरु व्यापार गर्थे होलान ।’
प्रविधिको प्रयोग
यहाँका अधिकांशले परम्परागत तरिकाबाट खेती गर्थे । धेरै उत्पादन हुँदा बिक्री गर्थे । नत्र घरमै खपत हुन्थ्यो । अहिले किसान आधुनिक बनेका छन् । उनीहरुले आधुनिक प्रविधिबाट खेती गरिरहेका छन् । जसले गर्दा उत्पादन बढेको बताउँछन् । छत्रकोट–२, पल्लिकोटका इमानसिंह राना आधुनिक प्रविधि प्रयोग गर्ने मध्येका हुन् । भिरालो पाखामा उनले १४ वटा फलामा स्थायी टनेल निर्माण गरेका छन् । ६ वटा बाँसका छन् । ‘१० रोपनीमा टनेल निर्माण गरेर टमाटर खेती गरेको छु,’ रानाले भने, ‘त्यसमै भित्रीबालीका रुपमा बोडी, सिमी र कांक्रा खेती गर्छु ।’
जीवनको उर्वर समय भारतमा बिताएको उनले बताए । ‘२० वर्ष भारतमा बसेँ,’ उनले भने, ‘पूरै भारत घुमेर वेल्डिङको काम गरेको छु ।’ २०७२ सालबाट तरकारी खेती गरिरहेका उनले भारतको दुखभन्दा यही तरकारीबाट भइरहेको आम्दानी राम्रो भएको बताए । अहिले दिनरात तरकारी हेरचाहमा बितिरहेको छ । ‘रातभरि पनि टमाटरका बेर्ना रोपे,’ उनले भने, ‘आराम छैन, तै पनि दुखी छैन ।’ उनले दुई जना नियमित कामदार राखेका छन् । उनीहरुलाई प्रतिव्यक्ति मासिक १२ हजार रुपैयाँ दरले पारिश्रमिक दिन्छन् ।
‘साँझ एक छाना खाना दिन्छु,’ उनले भने, ‘बार्षिक ६ लाख आम्दानी हुन्छ ।’ जेठा छोरा बुटवलमा व्यवस्थापनमा स्नातक अध्यय्न गरिरहेका छन् । कान्छा छोरा घरमै छन् । उनको घरमै तरकारी संकलन केन्द्र छ । त्यसैले आसपासका किसानले उत्पादन यही ल्याएर जम्मा गर्छन । ‘सातामा दुई दिन तरकारी संकलन गर्छौ,’ उनले भने, ‘पैंचोको गाडी आएर लैजान्छ ।’
छत्रकोट–१, स्थित ठूलापोखरा तरकारी उत्पादन केन्द्र हो । यहाँका प्रत्येक घरमा अहिले टनेलभित्र तरकारी लटरम्म छन् । धेरैले मल्चिङ प्रविधिबाट खेती गरेका छन् । स्थानीयका अनुसार यहाँका ५ सय घरधुरी तरकारी खेती गर्छन् । बिक्री र ज्यालमजदुरी गर्ने समेत गाउँका ७ सय परिवार तरकारीबाट आत्मनिर्भर छन् । यहाँका २९ वर्षीय भुवन खराल सबैभन्दा धेरै आम्दानी गर्ने किसान हुन् । ‘जिल्लामा सबैभन्दा बढी आधुनिक प्रविधि प्रयोगमा ल्याउने पालिका यही हो,’ भुवनले भने, ‘घरपिच्छे प्लाष्टिक टनेल र मल्चिङ विधि अपनाइएको छ ।’
गत वर्ष सबै ठाउँमा गरी आफूले ५० लाखको तरकारी उत्पादन गरेको खरालले बताए । आफूले १० वर्षदेखि तरकारी खेति गरिरहेको बताए । ‘घर वरीपरी ८० रोपनीमा तरकारी लगाएको छु,’ उनले भने, ‘पाल्पाको अर्गेलीमा ४ सय रोपनीमा खेतीको तयारी पूरा भएको छ ।’ पहिले टमाटर र खुर्सानी यहाँ धेरै उत्पादन गरिन्थ्यो । अहिले रातो मुला, कांक्रो, टमाटर, काउली र बन्दा खेती गरिरहेको उनले बताए । शिक्षाशास्त्रमा स्नातक भुवनले बैदेशिक रोजगारीमा जाने योजना बनाएका थिए । ‘सुरुमा दाईले तरकारी उत्पादन गरिरहेको थियो,’ उनले भने, ‘पछि बिदेश जाने सोच त्यागेर यही खेतीलाई निरन्तरता दिए ।’
खेतीका लागि प्राविधिक सहयोग पैचोले उपलब्ध गराइरहेको उनले बताए । ‘खेती सुरु गर्ने बेलादेखि पैंचो पशलका कृषि प्राविधिक घरमै आएर सल्लाह दिन्छन,’ उनले भने, ‘उत्पादन भएपछि पैंचोले सबै तरकारी किनेर लैजाने भएकाले बजारको समस्या छैन ।’ बार्षिक ८ सय क्विन्टल टमाटर, २ सय क्विन्टल काउली, ३ सय क्विन्टल खुर्सानी र एक सय क्विन्टल रातो मुला उत्पादन गरिरहेको बताए । ‘अहिलेसम्म आकाशे पानीको भर छ,’उनले भने, ‘सिचाईंको व्यवस्था गरिदिए हुन्थ्यो ।’ जिल्लाभरिका किसानलाई सघाउन पैंचो पशल प्रालीले एक जना कृषिमा स्नातक सहित बिज्ञ सहित विभिन्न विधाका १६ जना प्राविधिक खटाइरहेको जनाएको छ ।
‘बीउ राख्ने बेलादेखि हाम्रा प्राविधिकले किसानलाई सघाउछन,’ पैंचो पशलका प्रबन्ध निर्देशक धुब्र न्यौपानले भने, ‘कृषि उत्पादन गरेर मात्र हुँदैन, बजारीकरण मुख्य भएकाले किसानसित सम्झौंता गरेर हामीले सबै तरकारी खरिद गरिरहेका छौं ।’ प्रत्येक गाउँमा संकलन केन्द्र रहेकाले स्थानीय आफना उत्पादन त्यही ल्याएर लौलिने गर्छन् । तौलिएपछि विद्युतीय मेसिनबाट तुरुन्त भुक्तानी गरिन्छ । उक्त भुक्तानी किसानको खातामा जम्मा हुन्छ । कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीका अनुसार गुल्मीमा बार्षिक रुपमा २३ करोड बराबरको तरकारी उत्पादन भइरहेको छ ।
जिल्लाका ४९ हजार ९ सय ६५ जनाले व्यवसायिक रुपमा उत्पादन गरिरहेका छन् । ती मध्ये ९६ जना ठूला व्यावसायिक कृषक छन् । बार्षिक ११ हजार ५ सय ३ मेट्रिक टन तरकारी उत्पादन भइरहेको भण्डारीले जानकारी दिए । तरकारीबाट बिक्री गरेर बार्षिक १२ करोड ७५ लाख रुपैयाँ जिल्लामा भित्रिन्छ भने १० करोड २५ लाखको तरकारी जिल्लामै खपत हुन्छ । जिल्लाको ९ सय ६० हेक्टर क्षेत्रफलमा तरकारी खेती भइरहेको उनले बताए ।
जिल्लाको ३० हेक्टर क्षेत्रफलमा ५ हजार टनेल निर्माण गरिएको छ । छत्रकोट, रुरुक्षेत्र, सत्यवती, चन्द्रकोट, कालिगण्डकी गाउ“पालिका, रेसुङ्गा, मुसिकोट नगरपालिका तरकारी पकेट क्षेत्र रहेको उनले बताए । ‘परम्परागत, निर्वाहमुखी हुँदै यहाँका बासिन्दा समृद्ध कृषितर्फ उन्मुख छन्,’ भण्डारीले भने, ‘पैंचो पशलले बजारीकरणको नमुना काम गरेको छ ।’ उनका अनुसार छत्रकोट र रुरुक्षेत्र गाउँपालिका प्रदेशमै नमुना तरकारी उत्पादन क्षेत्र बनेका छन । त्यहाँको मल्चिङ प्रविधि हेर्न किसानको भीड लाग्छ ।
‘पैचो मोडेल’
किसानमाथि लगानी गर्ने र उनीहरुले नै प्रतिफल प्राप्त हुने गरी कृषि उपजको संकलन, प्रशोधन तथा बजारीकरण प्रकृयलाई पैचो मोडेल भनिएको छ । किसानलाई कृषि प्राविधिक सहितको सेवा दिएर माटो परिक्षण देखि उत्पादनलाई बजारीकरण गर्ने काम पैंचो पशल प्रालीले गरिरहेको छ । यसलाई पैचो मोडेलका रुपमा विकास गरेको पैचोका प्रमुख संचालन अधिकृत केशव न्यौपानेले जानकारी दिए । ‘पैचो एकिकृत मोडल भयो, यसमा किसानलाई पहिले कृषि प्राविधिक सेवा दिन्छौ,’ उनले भने, ‘किसानकै खेतबारीमा पुगेर विउविजन लगाउनका लागि माटो उपयुक्त छ छैन ? हेर्छौ, जाँच गर्छो, त्यसपछि विउविजन दिन्छौ त्यसमा पैंचोले लगानी गर्छ ।’
विउविजनदेखि लगानी गरेर निरन्तर किसानको सम्पर्कमा रहेर विभिन्न तालिम, सहायक कृषि प्राधिविक उपलब्ध गराएर सहयोग गरिरहेको उनले बताए । ‘हामिले विभिन्न समयमा कृषकलाई जेटिए, विएस्सी एजी पढेका प्राविधिकबाट निशुल्क तालिम दिन्छौं,’ उनले भने, ‘प्राविधिक सहायक दिने, उत्पादन भएका कृषि उपजलाई उनीहरुकै खेतबारीबाट बजारको ग्यारेन्टी गरिदिन्छौ ।’ पैंचो पशलले किसानलाई आवश्यक पर्ने खाद्यन्न तथा लत्ताकपडा सर्वसुभभ मूल्यमा घरसम्म पुर्याउने गरेको उनले बताए । ‘किसानलाई आवश्यक पर्ने खाद्यन्न, लत्ताकपडाहरु गुणस्तरीय र सर्वसुलभ मूल्यमा उनीहरुकै आगनमा पुर्याउँछौ,’ उनले भने, ‘पहाडमा फलेका अर्गानिक कृषि उपजहरुलाई प्रशोधन गरेर त्यसका प्रोडक्टहरु अचार, जाम बनाएर देशविदेशमा बेच्ने गर्छौ ।’
प्रतिकृया दिनुहोस्