तरकारी बेचेर वार्षिक ५० लाख आम्दानी
गुल्मी– गुल्मीको छत्रकोट–१, स्थित ठूलापोखरा (हुंगा) अहिले तरकारी उत्पादन केन्द्र बनेको छ । यहाँको तरकारी खेती प्रदेशमै नमुना भएकाले अवलोकन गर्न आउनेको दिनहुँ भीड लाग्छ । यहाँको खेतीपातीमा पाकाको पौरख मात्र देखिँदैन । युवाको जोश र जाँँगर समेत मिसिएको छ । घरपिच्छे आधुनिक शैलीमा गरिएको खेतीले ठूला पोखरा बेग्लै देखिन्छ । अहिले जताततै हरियाली छ । हरियालीको कारण तरकारी बनेको छ ।
यहाँका प्रत्येक घरमा अहिले टनेलभित्र तरकारी लटरम्म छन् । धेरैले मल्चिङ प्रविधिबाट खेती गरेका छन् । स्थानीयका अनुसार यहाँका ५ सय घरधुरी तरकारी खेती गर्छन् । बिक्री र ज्यालमजदुरी गर्ने समेत गाउँका ७ सय परिवार तरकारीबाट आत्मनिर्भर छन् । यहाँका २९ वर्षीय भुवन खराल सबैभन्दा धेरै आम्दानी गर्ने किसान हुन् ।
‘जिल्लामा सबैभन्दा बढी आधुनिक प्रविधि प्रयोगमा ल्याउने पालिका यही हो,’ भुवनले भने, ‘घरपिच्छे प्लाष्टिक टनेल र मल्चिङ विधि अपनाइएको छ ।’ गत वर्ष सबै ठाउँमा गरी आफूले ५० लाखको तरकारी उत्पादन गरेको खरालले बताए । आफूले १० वर्षदेखि तरकारी खेति गरिरहेको बताए ।
‘घर वरीपरी ८० रोपनीमा तरकारी लगाएको छु,’ उनले भने, ‘पाल्पाको अर्गेलीमा ४ सय रोपनीमा खेतीको तयारी पूरा भएको छ ।’ पहिले टमाटर र खुर्सानी यहाँ धेरै उत्पादन गरिन्थ्यो । अहिले रातो मुला, कांक्रो, टमाटर, काउली र बन्दा खेती गरिरहेको उनले बताए । शिक्षाशास्त्रमा स्नातक भुवनले बैदेशिक रोजगारीमा जाने योजना बनाएका थिए ।
‘सुरुमा दाईले तरकारी उत्पादन गरिरहेको थियो,’ उनले भने, ‘पछि बिदेश जाने सोच त्यागेर यही खेतीलाई निरन्तरता दिए ।’ खेतीका लागि प्राविधिक सहयोग पैचोले उपलब्ध गराइरहेको उनले बताए । ‘खेती सुरु गर्ने बेलादेखि पैंचो पशलका कृषि प्राविधिक घरमै आएर सल्लाह दिन्छन्,’ उनले भने, ‘उत्पादन भएपछि पैंचोले सबै तरकारी किनेर लैजाने भएकाले बजारको समस्या छैन ।’
बार्षिक ८ सय क्विन्टल टमाटर, २ सय क्विन्टल काउली, ३ सय क्विन्टल खुर्सानी र एक सय क्विन्टल रातो मुला उत्पादन गरिरहेको बताए । ‘अहिलेसम्म आकाशे पानीको भर छ,’ उनले भने, ‘सिचाईंको व्यवस्था गरिदिए हुन्थ्यो ।’
कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीका अनुसार जिल्लाको ९ सय ६० हेक्टर क्षेत्रफलमा तरकारी खेती भइरहेको उनले बताए । जिल्लाको ३० हेक्टर क्षेत्रफलमा ५ हजार टनेल निर्माण गरिएको छ । छत्रकोट, रुरुक्षेत्र, सत्यवती, चन्द्रकोट, कालिगण्डकी गाउँपालिका, रेसुङ्गा, मुसिकोट नगरपालिका तरकारी पकेट क्षेत्र रहेको उनले बताए ।
‘परम्परागत, निर्वाहमुखी हुँदै यहाँका बासिन्दा समृद्ध कृषितर्फ उन्मुख छन्,’ भण्डारीले भने, ‘पैंचो पशलले बजारीकरणको नमुना काम गरेको छ ।’ उनका अनुसार छत्रकोट र रुरुक्षेत्र गाउँपालिका प्रदेशमै नमुना तरकारी उत्पादन क्षेत्र बनेका छन् । त्यहाँको मल्चिङ प्रविधि हेर्न किसानको भीड लाग्छ ।
प्रतिकृया दिनुहोस्