December 5, 2024, Thursday
२०८१ मंसिर २०

पैंचो मोडलले तरकारी उत्पादनको लहर

गुल्मी– लुम्बिनी प्रदेशको गुल्मीमा सञ्चालन भइरहेको पैंचो मोडलले घरैपिच्छे तरकारी उत्पादनको लहर चलेको छ । पैंचो पशल प्रालिले गाउँमा कृषि उपज घरबाट खरिद गर्न थालेपछि किसानले उत्पादन बृद्धि गरेका हुन् । उत्पादन खेर नजाने भएपछि किसान हौंसिएका हुन् । तरकारी रोप्नु पूर्वदेखि पैंचोले प्राविधिक र आवश्यक बिउबिजन उपलब्ध गराउँदैं आएको छ ।

पैंचो प्रालिका प्रबन्ध निर्देशक ध्रुव न्यौपानले खेती गर्नु अगावैंदेखि पैंचोले किसानलाई आवश्यक प्राविधिक ज्ञान, माटो परीक्षण, बीउबिजन सुविधा दिने गरेको बताए । ‘उत्पादन बृद्धिसँगैं सहज बजारीकरण पैंचोको उद्देश्य हो,’ उनले भने, ‘पहिले बारीमा कुहिने कृषि उपजले समेत अहिले बजार प्राप्त गरेका छन् । एक किलोदेखि क्विन्टलसम्म बिक्री गर्ने किसान छन् ।’

Advertisement

यस्ता कृषि उपज संकलन गर्न प्रत्येक गाउँमा संकलन केन्द्र छन् । बार अनुसार तरकारी संकलन गरिँदै आएको छ । संकलन केन्द्रमा गाडी आउने दिन किसान आफ्ना उत्पादन लगेर पुग्छन् । त्यहाँ तरकारी तौलिने वित्तिकै विद्युतीय मेशिनबाट बिल काटिन्छ । बिल काट्ने बित्तिकै तरकारीको मूल्य किसानको बैंक खातामा जम्मा हुन्छ । ‘बजार अनुसार हरेक दिन मूल्य निर्धारण हुन्छ,’ उनले भने, ‘त्यसैले कहिले नचिताएको मूल्य पाउँछन् । कहिले अलिकति तलमाथि हुन्छ । समग्रमा किसानलाई घाटा हुँदैन । यो किसानले बुझेका छन् ।’

जिल्लाभरिका किसानलाई सघाउन पैंचो पशल प्रालिले एक जना कृषिमा स्नातक विज्ञसहित विभिन्न विधाका १६ जना प्राविधिक खटाइरहेको जनाएको छ । ‘बीउ राख्ने बेलादेखि हाम्रा प्राविधिकले किसानलाई सघाउँछन्,’ पैंचोका प्रबन्ध निर्देशक न्यौपानले भने, ‘कृषि उत्पादन गरेर मात्र हुँदैन, बजारीकरण मुख्य भएकाले किसानसित सम्झौंता गरेर हामीले सबै तरकारी खरिद गरिरहेका छौं ।’

किसानमाथि लगानी गर्ने र उनीहरुले नै प्रतिफल प्राप्त हुने गरी कृषि उपजको संकलन, प्रशोधन तथा बजारीकरण प्रक्रियलाई पैंचो मोडल भनिएको छ । किसानलाई कृषि प्राविधिकसहितको सेवा दिएर माटो परीक्षणदेखि उत्पादनलाई बजारीकरण गर्ने काम पैंचो पशल प्रालिले गरिरहेको छ । यसलाई पैंचो मोडलका रुपमा विकास गरेको पैंचोका प्रमुख संचालन अधिकृत केशव न्यौपानेले जानकारी दिए ।

‘पैचो एकीकृत मोडल भयो, यसमा किसानलाई पहिले कृषि प्राविधिक सेवा दिन्छौ,’ उनले भने, ‘किसानकै खेतबारीमा पुगेर विउविजन लगाउनका लागि माटो उपयुक्त छ–छैन ? हेर्छौ, जाँच गर्छौं, त्यसपछि विउविजन दिन्छौ, त्यसमा पैंचोले लगानी गर्छ ।’ विउविजनदेखि लगानी गरेर निरन्तर किसानको सम्पर्कमा रहेर विभिन्न तालिम, सहायक कृषि प्राधिविक उपलब्ध गराएर सहयोग गरिरहेको उनले बताए ।

‘हामिले विभिन्न समयमा कृषकलाई जेटिए, विएस्सी एजी पढेका प्राविधिकबाट निःशुल्क तालिम दिन्छौं,’ उनले भने, ‘प्राविधिक सहायक दिने, उत्पादन भएका कृषि उपजलाई उनीहरुकै खेतबारीबाट बजारको ग्यारेन्टी गरिदिन्छौं ।’ पैंचो पशलले किसानलाई आवश्यक पर्ने खाद्यन्न तथा लत्ताकपडा सर्वसुभभ मूल्यमा घरसम्म पुर्याउने गरेको उनले बताए ।

‘किसानलाई आवश्यक पर्ने खाद्यन्न, लत्ताकपडाहरु गुणस्तरीय र सर्वसुलभ मूल्यमा उनीहरुकै आँगनमा पुर्याउँछौं,’ उनले भने, ‘पहाडमा फलेका अर्गानिक कृषि उपजहरुलाई प्रशोधन गरेर त्यसका प्रोडक्टहरु अचार, जाम बनाएर देशविदेशमा बेच्ने गर्छौं ।’ कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीका अनुसार गुल्मीमा वार्षिक रुपमा २३ करोड बराबरको तरकारी उत्पादन भइरहेको छ ।

जिल्लाको ३० हेक्टर क्षेत्रफलमा ५ हजार टनेल निर्माण गरिएको छ । छत्रकोट, रुरुक्षेत्र, सत्यवती, चन्द्रकोट, कालिगण्डकी गाउँपालिका, रेसुङ्गा, मुसिकोट नगरपालिका तरकारी पकेट क्षेत्र रहेको उनले बताए । ‘परम्परागत, निर्वाहमुखी हुँदै यहाँका बासिन्दा समृद्ध कृषितर्फ उन्मुख छन्,’ भण्डारीले भने, ‘पैंचो पशलले बजारीकरणको नमूना काम गरेको छ ।’