पर्यटनमार्फत् रूपन्देहीको आर्थिक फड्को
भैरहवा– रुपन्देहीले आर्थिक फड्को मारिरहेको छ । यहाँ अहिले नयाँ–नयाँ विकासका पूर्वाधार निर्माण भइरहेका छन् । अन्तर्राष्ट्रिय स्थल र हवाई नाका सञ्चालनसँगै बुटवलमा दुईवटा केवलकारको निर्माण भइरहेको छ । जिल्लामा रहेका पर्यटकीय स्थललाई लक्षित गरेर पर्यटन पूर्वाधार थपिएका हुन् । स्थापितसँगै नयाँ–नयाँ पर्यटकीय गन्तव्य थपिने क्रम जारी छ । यहाँका अधिकांश पर्यटकीय स्थलमा पुग्न सहज सडकमार्ग छन् ।
पछिल्ला वर्ष रुपन्देहीमा पर्यटन लक्षित धेरै गतिविधि भइरहेका छन् । स्थानीय तहले आ–आफ्नो ठाउँलाई पर्यटकीय हब बनाउने योजना अघि बढाएका छन् । संघ र प्रदेश सरकारले थप लगानीका योजना ल्याएका छन् । निजी क्षेत्रले उत्साहित भएर लगानी गरिरहेको छ । यहाँ तारे होटलको संख्या बढेको छ । केही पाँच तारे होटल सञ्चालनमा आइसकेका छन् । केही निर्माणाधीन छन् । टुर्स एण्ड ट्राभल्सको संख्या बढिरहेको छ । कृषि र जल पर्यटनमा आकर्षण देखिएको छ ।
बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर जिल्लामा पर्यटन पूर्वाधारको बिकास भइरहेको हो । पूर्वपश्चिम राजमार्गबाट हुलाकीमार्ग जोड्ने फराकिला सडक छन् । भित्र सडक कालोपत्रे गरेर चिटिक्क पारिएको छ । साँघुरा सडकलाई फराकिलो बनाइँदैछ । बेलहिया–बुटवल ६ लेन सडक आकर्षण बनेको छ । दुवैतर्फ वृक्षारोपण गरी हरियाली बनाइएको छ । पछिल्लो पटक बेलबासबाट बेथरीसम्म चार लेन सडक निर्माण भएको छ । नहरको दायाँबायाँ निर्माण गरिएको सडक आसपास बस्ती छ ।
‘बुटवल–बेलहिया खण्डको बीचमा राखिएका बुद्ध मूर्तिले सौन्दर्य बृद्धि गरेका छन्, तिनले यहाँ आउने पर्यटकलाई बुद्धभूमि आयौं भन्ने सन्देश दिने गरेका छन्’, पर्यटन व्यवसायी एवं सिद्धार्थ होटल एशोसिएसन नेपालका बरिष्ठ उपाध्यक्ष किशोर जोशीले भने, ‘सडक छेउमा हुर्किएका विरुवाले थप रौनक बढेको छ ।’ विश्व प्रशिद्ध धार्मिक तीर्थस्थल लुम्बिनीको विकास र प्रचारप्रसारसँगै पर्यटनका लागि आवश्यक भौतिक पूर्वाधार धमाधम तयार भए पछि भैरहवा–बुटवल–लुम्बिनी क्षेत्र पर्यटकीय हब बनेको छ ।
पछिल्लो तीन वर्षयता कोरोना महामारीले चाहेजति पर्यटक लुम्बिनी र आसपासका गन्तव्यमा आएका छैनन् । पर्यटन व्यवसायी आशाबादी छन् । त्यसैले मार सहेर पनि पर्यटन पूर्वाधारमा लगानी गरिरहेका छन् । यहाँ पर्यटन बिकासको प्रचूर सम्भावना भएकाले अहिले स्वदेशी तथा विदेशी लगानीकर्ता आकर्षित छन् । भैरहवाबाट लुम्बिनी पुग्ने सडक स्तरोन्नती गरी चार लेन बनाइएको छ । कपिलवस्तुबाट लुम्बिनी आउने सडक दुई लेनको निर्माण भइसकेको छ ।
उत्तर रामापुरबाट लुम्बिनी आउने पक्की सडक छ । चारैतिरबाट लुम्बिनी लक्षित गरेर सडक निर्माण गरिएका छन् । सिद्धार्थनगर नगरपालिकाले बेलहियामा आकर्षक पर्यटकीय गेटसमेत बनाएको छ । नगरपालिकाले डण्डा नदीमा बोटिङ सञ्चालन योजना बनाएको छ । उक्त योजना बनाएको लामो समयमा पनि कार्यान्वयनमा आउन सकेको छैन । नगरपालिकाले मुलुकमै नमूना डण्डा कोरिडोरको योजना पनि अघि सारेको छ । यो योजना अघि बढाउनका संघ र प्रदेश सरकारसँग छलफल भइरहेको नगर प्रमुख इस्तियाक अहमद खानले जानरी दिए ।
सियारी गाउँपालिकाले कृषि पर्यटनका योजना कार्यान्वयन गरिरहेको छ । बुटवल उपमहानगरपालिकाले फूलबारी र जीतगढी किल्लाको संरक्षण गरी पर्यटन प्रबद्र्धनका काम अघि बढाएको छ । जिल्लामा विगत ६–७ वर्षमा विकास निर्माणबाट फेरिएको लुम्बिनी क्षेत्र, भैरहवामा संचालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, ६ लेन सडक, लुम्बिनी भैरहवा हुँदै परासीको हुलाकी सडकखण्ड, निर्यात् प्रवद्र्धनका लागि भैरहवामा विशेष आर्थिक क्षेत्र सञ्चालन हुनु, स्थलमार्गी पर्यटक, बेलबास–बेथरी सडक निर्माण थालिनु, मुख्य सहरका भित्री सडक फराकिला र कालोपत्रे हुनु, भैरहवा–लुम्बिनी–तौलिहवा सडक विस्तार, मुलुककै ठूलो भन्सार नाका, प्रदेश मुकाम लगायतका कारणले यस क्षेत्रमा पर्यटन व्यवसायी आकर्षित छन् ।
‘विश्वका सबै बौद्धिष्ट मुलुकको पहिलो गन्तव्य लुम्बिनी बन्नेमा दुईमत छैन । कोरोना महामारी अघि यसै पनि वार्षिक १५–१६ लाख पर्यटक भित्र्याउने लुम्बिनी मुलुककै एक नम्बर पर्यटकीय स्थल होे’,लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले भने, ‘हामीले धेरै बौद्धिष्ट मुलुकका पर्यटक भित्र्याउन अब गौतमबुद्ध विमानस्थललाई फूल फेजमा सञ्चालन गर्नुपर्छ ।’ गौतमबुद्ध विमानस्थल पूर्ण क्षमतामा संचालनमा आउने र बौद्ध धर्मावलम्बी मुलुकमा सिधा हवाई उडान हुनासाथ पर्यटक आगमन दोब्बर हुने उनले बताए ।
‘रुपन्देही सबै हिसाबले पर्यटकीय हब बनिसकेको छ,’उनले भने, ‘यसलाई अझै बढवा दिन गौतमबुद्ध विमानस्थलबाट थाइल्याण्ड, वर्मा, श्रीलंका, कम्बोडिया जस्ता बौद्धिष्ट मुलुकमा सिधा उडान भर्न सक्नुपर्छ ।’ लुम्बिनीस्थित मायादेवी मन्दिर मात्रै सवै धर्मावलम्बीको आस्थाको केन्द्र मात्र नभएर त्यहाँ विभिन्न विदेशी राष्ट्रले आm्नै शैलीमा निर्माण गरेका मन्दिर तथा बिहार, केन्द्रिय नहर, शान्त र मनोरम हरियाली, बौद्ध विषयको अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्र तथा पुस्तकालय, संग्रालय, गोलाकार पोखरी, शान्तिद्विप लगायतका स्थान मुख्य पर्यटक आकर्षणस्थल हुन् । पछिल्लोपटक लुम्बिनीमा रहेका विपश्यना, पंडितारामा र ओशो ध्यान केन्द्र, केही वर्ष अघिबाट सुरु भएको त्रिपिटक वाचन स्वदेशी र विदेशी पर्यटकको आकर्षण बनेका छन् ।
‘कोरोनाले गर्दा त्रिपिटक वाचन नियमित हुन सकेको छैन, यसलाई अब निरन्तरता दिनुपर्छ’, विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले भने, ‘महामारीले सिथिल लुम्बिनीको पर्यटन विकासका लागि त्रिपिटक कोशेढुंगा हुनसक्छ ।’ नेपालको पर्यटन प्रचार–प्रसार गरिँदा अन्य राष्ट्रको तुलनामा बौद्धिष्ट राष्ट्रहरुमा बढी केन्द्रित गरिनुपर्ने र ती मुलुकका विमानस्थलमा स्थानीय भाषामा नेपाल र लुम्बिनीको प्रचारप्रसार गरिएमा बढी प्रभावकारी हुने सुझाव पर्यटन क्षेत्रका विज्ञले विगतदेखि नै दिँदै आएका छन् ।
‘पर्यटकीय पूर्वाधार विकास र प्रचारप्रसार गर्न पर्यटक आएपछि मात्रै गर्ने हो भनेर पर्खेर बस्ने होइन, यो निरन्तर गर्नुपर्छ’, लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले भने, ‘पहिला लुम्बिनी एकआध घण्टामा घुमेर सकिन्थ्यो अब दुई दिन लाग्ने संरचना भएका छन् ।’ कपिलवस्तुमा रहेको तिलौराकोट दरबार लगायतका अन्य बौद्धिष्ट स्थल, देवदहमा रहेको बुद्ध मावली, नवलपरासीको रामग्राम, बुटवलको जीतगढी किल्ला, गैंडहवा र विष्णुपुरा ताल, कपिलवस्तुको जगदिशपुर ताल, बाउन्नकोटी, वनवाटिका, सिद्धबाबा मन्दिर, पिसपार्क, फूलवारी, बोलबमधाम रुपन्देही र छिमेकी जिल्लाका मुख्य पर्यटकीय स्थल हुन् ।
पछिल्लो समय माछैमाछाको क्षेत्र भनेर चिनिने जिल्लाको छपिया क्षेत्र पनि मुख्य पर्यटकीय हव बनेको छ । यहाँका मत्स्य एवं पर्यटन व्यवसायी गौरव गौतमले छपिया जिल्लाको अग्रणी पर्यटकीय हब बनेको बताउँछन् । ‘माछा पोखरी र यहाँका सौन्दर्यता हेर्न लायक छ’, उनले भने, ‘धेरै आन्तरिक पर्यटकको रोजाई छपिया छ, अब धेरै भन्दा धेरै बाह्य मुलुकका पनि भित्र्याउन निजी क्षेत्रसँगै सरकारी निकाय लाग्नुपर्छ ।’ संघ सरकारले लुम्बिनीलाई विशेष महत्व दिएर लुम्बिनी विकास गुरुयोजना अबको दुई वर्षमा सक्ने अठोट लिएको छ । गुरुयोजनाको ८० प्रतिशत काम सकिएको छ भने बाँकी काम सक्न करिब ६ अर्ब रुपैयाँ लाग्ने कोषले जनाएको छ ।
भारत हुँदै काठमाडौं, पोखरा आउने जाने आन्तरिक तथा बाह्य पर्यटकका लागि सबै भन्दा सहज नाका भैरहवा–सुनौली भएकाले पनि रुपन्देही पर्यटकीय हबका रुपमा अगाडि बढेको हो । चितवन, तानसेन घुम्न जानका लागि पनि भारतीय र अन्य विदेशीका लागि यो सीमा नाकाबाट गरिएको यात्रा सहज छ । रुपन्देहीमा हरेक हिवासले सहजता भएकाले पर्यटनका गतिविधि धेरै बढेका छन् । ‘यो क्षेत्र भविष्य उज्याले भएको क्षेत्र हो’, नेपाल एशोसियसन अफ ट्राभल एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेश अध्यक्ष तथा पर्यटन व्यवसायी सागर अधिकारीले भने’, ‘अब रुपन्देहीलाई बाँके र बर्दिया राष्ट्रिय निकुञ्जसँगै चितवन र पोखरा पनि जोडेर सबैले टूर प्याकेज बनाई प्रबद्र्धनमा लाग्नुपर्छ ।’
पछिल्लो समय लुम्बिनीलाई केन्द्रमा राखेर टूर प्याकेज बनाई घुम्न आउने भारतीय पर्यटक समेत बढेका छन् । महामारीले तेस्रो मुलुकका पर्यटक भने अहिले न्युन आइरहेका छन् । ‘लुम्बिनीसहित बुद्ध सर्किटका चारधामको प्याकेज बनाई घुम्ने पर्यटन धेरै छन्’, अधिकारीले भने, ‘यद्यपि नेपाल बाहिरका ट्राभल एजेन्सीले प्याकेज बनाएर ल्याउने भएकाले नेपाली एजेन्सीले भने फाइदा लिन सकेका छैनन् ।’ उनका अनुसार यसको मुख्य कारण नेपालमा यातायातको भाडा अधिक हुनु र अनलाइन गेट–वे पेमेन्टको व्यवस्था नहुनु नै हो । ‘भारतबाट दैनिक २ हजार भारुमा पर्यटक घुम्ने गाडी पाइन्छ, नेपालमा भने ६–७ हजार रुपैयाँ पर्छ । यसले समस्या पारेको छ’, उनल भने । पछिल्लो पाँच वर्षमा रुपन्देहीमा ट्राभल एजेन्सीमा मात्रै ६०–७० करोड लगानी भइसकेको छ ।
आन्तरिक हवाई भाडादर विदेशीलाई अधिक महंगो हुँदा पनि एक ठाउँ आएका पर्यटक अर्को ठाउँ छिट्टै जाने नगरेको व्यवसायीको भनाइ छ । लुम्बिनीसँगै बाँके–बर्दिया, तानसेन, सौरहा, पोखरा, काठमाडौं र मुक्तिनाथ घुम्नका लागि पछिल्लो समय अधिक भारतीय पर्यटक आउने गरेका छन् । विगतमा तेस्रो मुलुकका पर्यटक पनि उत्तिकै आउने गरे पनि कोरोनापछि न्युन आएका छन् । भारतीयहरु बेलहिया–सुनौली नाकाबाट धेरै आउँछन् । बेलहिया नाकादेखि करिब ९ किलोमिटर दक्षिण भारतको नौतनवा बजारसम्म रेलमार्ग सञ्चालनमा आएपछि अत्याधिक पर्यटक भैरहवा नाका हुँदै नेपाल भित्रिने गरेका छन् ।
जिल्लामा बृहत् पर्यटकीय स्थलको सम्भाव्यता बढेसँगै पछिल्ला वर्षमा पर्यटकीय होटलको निर्माण पनि धमाधम बढ्दै गएको छ । दश वर्ष अघि सम्म तीन–चार वटामा मात्र सीमित पर्यटकीय होटल तथा रिसोर्ट अहिले दुई दर्जन पुगिसकेका छन् । होटल, रिसोर्टमा विदेशी र स्वदेशी लगानी बढ्दो छ । काठमाडौं–पोखरा–चितवनसँगै रुपन्देहीमा तारे होटल थपिएको थप्यै छन् । यहाँ टाइगर, नान्स, मौर्य, पवन प्यालेस, बोधी रेडसन, होक्के, कासाई, ड्रिमल्याण्ड, टुलिप, एयरपोर्ट होटल, जस्ता ठूला होटल सञ्चालनमा छन् । अरु तारे होटल निर्माणको क्रममा छन् । गौतमबुद्ध विमानस्थल संचालन आएपछि व्यवसायी जिल्लामा लगानी गर्न थप आकर्षित भएको सिद्धार्थ होटल एशोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताए ।
‘यहाँको मुख्य केन्द्र भनेकै लुम्बिनी हो, विमानस्थल संचालनमा आएपछि लुम्बिनीको महिमा विश्व जगतमा थप बढेको छ, विमानस्थल पूर्ण क्षमतामा चल्यो र पर्यटकको आगमन राम्रो भयो भने व्यवसायीले थप लगानी गर्ने देखिन्छ’, उनले भने । जिल्लामा सञ्चालित सानाठूला होटलमा मात्रै करिब ३० अर्ब लगानी भइसकेको व्यवसायी बताउँछन् । ‘पर्यटनका हिसावले सबै वातावरण बन्ने हो भने जिल्लामा पर्यटक थेग्न अझै अर्बौं लगानीका होटल खोल्नुपर्ने हुन्छ,’, श्रेष्ठले भने, ‘अहिलेकै संरचना पर्याप्त छैनन् ।’ यस क्षेत्रमा कृषि पर्यटनको पनि उत्तिकै सम्भावना छ । कृषि क्षेत्रमा पनि लगानी ह्वात्तै बढेको छ । यहाँ अष्ट्रिज चरा पालन, व्यवसासिक गाई पालन र छपिया क्षेत्रको मत्स्य पालन मुलुकमै नमुनाका रुपमा छ । अष्ट्रिच चरा हेर्न मात्रै दैनिक सयौं पर्यटक पुग्छन् । छपियामा माछाको स्वाद लिन र घुम्न आन्तरिक पर्यटकको घुइँचो नै लाग्ने गर्छ ।
प्रतिकृया दिनुहोस्