माछाको कुन परिकार खाने ? स्वागत छ छपियामा
भैरहवा– तपाईंलाई माछाको फरक–फरक परिकारको स्वाद लिन मन लागेको छ ? यदि छ भने, ‘रुपन्देहीको छपियामा स्वागत छ’ । यस ठाँउमा तपाईंले धित मरुञ्जेल माछाको विभिन्न परिकारको स्वाद लिएर सन्तुष्टि पाउन सक्नुहुन्छ ।
भैरहवाबाट करिव १० किमि पश्चिम उत्तरतर्फ सियारी गाँउपालिकामा पर्ने छपियामा बुटवल–भैरहवा सडक खण्डको जुनसुकै स्थानबाट र पूर्व–पश्चिम राजमार्गमा पर्ने रुपन्देहीको तामनगर, सालझण्डी, रुद्रपुरबाट पनि सहजै पुग्न सकिन्छ । तपाईंलाई फरक खालको माछाको स्वाद र बातावरणमा रमाउनका लागि यस गाउँमा करोडौंको लगानीमा आधा दर्जन जती रिसोर्ट तयार छन् । अन्य धमाधम तयार हुँदैछन् ।
‘माछा उत्पादनमा प्रशिद्धि पाएको यस ठाउँलाई माछासँग पर्यटनलाइ जोडेर बिकास गर्नमा जुटेका छौं’, करिब १० करोड रुपैयाँको लगानीमा छ वर्षदेखि छपिया फिस भिलेज संचालनमा ल्याएका गौरव गौतमले भने, ‘यो ठाउँ मत्स्य पर्यटन गाउँको रुपमा परिचित हुँदैछ ।’ प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत छपिया क्षेत्रमा मत्स्य जोनको कार्यक्रम सञ्चालनमा छ । कार्यक्रमले माछा उत्पादन र व्यवसायिकतामा सहयोग गर्ने गरेको छ । पर्यटकलाई आकर्षित गर्न माछाको विभिन्न परिकार बनाउन पनि सिकाउने गरेको छ ।
छपिया गाउँ र माछा पर्यायबाची बनेका छन् । यहाँ आर्टिजन बोरिङ्गबाट आफै चिसो पानी आइरहन्छ । खाल्डो परेको भू–सतह र चिम्ट्याइलो माटोका कारण यस ठाउँका पोखरीमा पानी धेरै दिनसम्म अडिन सक्छ । छपियाको चिसो पानीको ताजा माछा नेपालमामात्रै नभएर भारतमा पनि लोकप्रिय छ । यहाँको ताजा माछा बिक्री गर्न भैरहवा–बुटवलमा करिव तीन दर्जन जिउँदो माछा बिक्री केन्द्र संचालनमा छन् । काठमाडौं, चितवन, पोखरा लगायत भारतको गोरखपुरसम्म पनि यहाँको माछा पुग्ने गरेको छ ।
‘माछाले स्वदेश र बिदेशसम्म चिनिएको गाउँमा माछाकै परिकार खाने ठाउँ नभएपछि माछाका परिकार खुवाउने सोंचले रिसोर्ट खोलेको हुँ’, गौतमले भने, ‘यहाँ बनाइएका माछाको परिकार लोकप्रिय हुन थालेपछि र माछाका जलासय पोखरीमा रमाउन आन्तरिक पर्यटक आउने क्रम बढ्दै जान थालेको छन् ।’ उनका अनुसार, छपियामा झोल माछा, फ्राइ, माछाको सेकुवा, स्टिम, ब्वाइल, माछा तावा, माछाको मःमः, माछा चिल्ली, बोनलेस, फिसबल, फिस फिंगर, माछाको छोइला लगायतका डेढ दर्जन परिकार उपलब्ध छन् । बिदेशमा जस्तै माछाको परिकार बनाउन पनि व्यवसायीले सिक्न थालेका छन् ।
यहाँको माछा उत्पादक किसानलाई एकत्रित बनाइ व्यवसायिकता प्रदान गरि आम्दानीमा बृद्धि गर्न जलदेवी मत्स्य उत्पादन सहकारी संस्था संचालनमा ल्याइएको छ । छपिया क्षेत्रमा नौ वर्ष अघिदेखि अभियानमुखी माछा उत्पादन थालिएको हो । यहाँको २ सय २५ हेक्टर क्षेत्रफलमा १ हजार ५ सय माछा पोखरी छन् । करिब ६ सय व्यवसायिक किसान माछापालन व्यवसायमा संलग्न छन् । वार्षिक १ हजार २ सय ५० मेट्रिक टन माछा उत्पादन गर्छन् । यसको बिक्रीबाट वार्षिक २५ करोड भन्दा धेरैको कारोबार हुने गर्छ ।
यहाँ संचालनमा रहेका रिसोर्टमा जिउँदो माछासँग खेल्ने, बल्छीले माछा मार्ने र ठूला पोखरीमा डुंगामा घुम्ने रमाउने बातावरण पनि उपलब्ध छन् । माछा पालनमा यहाँका सामान्य किसानसँगै उच्चस्तरका व्यवसायी समेत सहभागी छन् । कम मिहिनत र कम समयमा नगद आम्दानी हुने भएकाले किसानहरु व्यवसायिक माछा पालनमा आकर्षित हुन थालेको स्थानीय मत्स्य कृषक कृष्णबहादुर बस्नेत बताउँछन् ।
‘धान खेतीमा लगानी र परिश्रम धेरै छ’, बस्नेतले भने, ‘धान खेतीको तुलनामा माछा पालन धेरै सजिलो र फाइदा सात–आठ गुणा धेरै छ ।’ माछा उत्पादन गरेपछि व्यापारी घर–घर आएर जाल थाप्दै तौल अनुरुपको पैसा तिर्ने भएकाले बजारको कुनै समस्या नभएको उनले बताए ।
होमस्टेसहितका माछा पालन केन्द्र र रेष्टुरेण्ट खुलेपछि दैनिक दुई सय भन्दा धेरै किसान र पर्यटक आउने गरेका छन् । माछा पालन व्यवसाय अध्ययन गर्ने, माछा किन्ने, माछाका परिकारहरुको स्वाद चाख्ने, माछासँग खेल्ने पर्यटक बढ्न थालेपछि रिसोर्टका लागि ठूला लगानी आकर्षित हुन थालेका छन् ।
सिद्धार्थनगर ननगरपालिका–९ का बिकास रायमाझी फुर्सद मिलेपछि माछाको विभिन्न परिकारको स्वादमा रमाउन परिवारको साथमा छपिया पुग्ने गर्छन् । ‘एकै ठाउँमा माछाको धेरै परिकारको स्वाद लिने ठाउँ अन्यत्र छैन’, उनले भने, ‘स्वादको मजा त छँदैछ त्यस वाहेक जिउँदा माछासँग खेल्ने, ठूला तलाउमा डुंगा सयर गर्नु र आफैले बल्छीले माछा मार्नुको मजा बेग्लै छ ।’ गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गर्ने आन्तरिक र बाह्य पर्यटक र लुम्बिनी आउने पर्यटकलाई आकर्षित गर्ने योजना छपियामा ल्याइँदै छन् ।
प्रतिकृया दिनुहोस्