November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

स्थानीय तहको बजेटमा शिक्षा, स्वास्थ्य, पूर्वाधार र कृषिलाई जोड

भैरहवा– लुम्बिनी प्रदेशका अधिकांश स्थानीय तहले संविधानको व्यवस्था अनुसार असार १० गते शुक्रबारै बजेट सार्वजनिक गरेका छन् । तीन पालिकाले भने बजेट ल्याउन सकेनन् । सहमती जुटाउनु पर्ने भएपछि धेरै पालिकाले शुक्रबार रातिसम्म बजेट प्रस्तुत गरेका थिए । बहुमत हासिल गरेका र बिबाद नभएका पालिकामा राती नै सहमति जुटाएर बजेट पारित गरेका छन् । प्रदेशका अधिकांश पालिकाले पूर्वाधार निर्माण र कृषि क्षेत्रलाई बजेटमा प्राथमिकता दिएका छन् ।

Advertisement

बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९–८० को बजेटमा आधारभूत स्वास्थ्य सेवा निःशुल्क बनाउनेदेखि स्वास्थ्य संस्थाको स्तरोन्नति गर्ने उल्लेख गरेको छ । उपमहानगरका सबै वडामा १५ बेडको नगर अस्पताल निर्माणकालागि बजेट विनियोजन गरेको छ । साथै बुटवलमा रहेको सिद्धार्थ बाल तथा महिला अस्पतालमा डिप्लोमा तहको प्यारामेडिकल विषय अध्यापन गराउने, बुटवल टेक्निकल इन्स्टिच्युटमा स्नातक तह अध्ययन र अटो भिलेजमा डिप्लोमा तहको अटो इन्जिनियरिङ कलेज सञ्चालनका लागि पहल गर्न बजेट छुट्याइएको छ ।

Advertisement

उपमहानगरले सम्पत्ति कर, बहालकर, हाटबजार बैठकी, इ–रिक्सा नवीकरण–रुट इजाजत जस्ता कर तथा गैरकरका दर कम्तीमा १० प्रतिशतसम्म न्यून गरेकोे छ । बुटवलले २ अर्ब ३५ करोड रुपैयाँको बजेट ल्याएको छ । उपप्रमुख सावित्रादेवी अर्यालले प्रस्तुत गरेको बजेटमा सहरी पूर्वाधार विकासलाई जोड दिइएको छ ।

सिद्धार्थनगर नगरपालिकाले १ अर्ब ३४ करोड ५४ लाख ३५ हजार बराबरको बजेट ल्याएको छ । नगर उपप्रमुख उमा अधिकारीले मानव विकासलाई केन्द्रमा राखी बजेट ल्याइएको बताइन् । उनले बजेटमार्फत् नगरको दैनिक सेवा प्रवाहलाई नागरिकमैत्री बनाउने, वातावरण संरक्षण र पूर्वाधार दीगोपना हुने गरी निर्माण गर्ने, विकासका संवाहकको समुचित परिचालनद्वारा आर्थिक विकास, सन्तुलित र समावेशी विकासमा टेवा पुर्याउने लक्ष्य रहेको बताइन् । आधारभूत स्वास्थ्य सुविधा, शैक्षिक विकास र समावेशी विकासमा टेवा पुर्याउने कार्यक्रम संचालन गरिनेछ । कृषि, पर्यटन, सहकारी जस्ता आर्थिक विकासका क्षेत्रमा जोड दिइ रोजगारी सिर्जना र आयआर्जन वृद्धिमा प्रत्यक्ष योगदान पुर्याउने कार्यक्रम सञ्चालन गरिने अधिकारीले बताइन् ।

प्रदेशको राजधानी रहेको दाङका १० मध्ये नौ स्थानीय तहले शुक्रबार बजेट सार्वजनिक गरेका थिए । दाङमा रहेका घोराही र तुलसीपुर उपमहानगरपालिकाले बजेटमा स्वास्थ्य तथा पोषण, शिक्षा, युवा, लैंगिक समानता, कृषि, पर्यटन, गरिबी निवारणलाई प्राथमिकतामा राखिएको दिएका छन् । घोराहीले २ अर्ब ३२ करोड ९० लाख ९१ हजार रुपैयाँ विनियोजन गरेको छ । जसमध्ये १ अर्ब २५ करोड ४१ लाख ८१ हजार अर्थात् ५३ दशमलव ८५ प्रतिशत चालु र १ अर्ब ७ करोड ४९ लाख १० हजार अर्थात् ४६ दशमलव १५ प्रतिशत पुँजीगत खर्च छ ।

घोराहीले महिला, बालबालिका, शिक्षा, स्वास्थ्य, युवा, खेलकुद र कृषिलाई प्राथमिकता दिएको उपप्रमुख हुमाकुमारी डीसीले बताइन् । तुलसीपुर उपमहानगरपालिकाले १ अर्ब ८६ करोड ४७ लाख ७९ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । जसमध्ये चालुतर्फ ४७ करोड ७२ लाख ७७ हजार अर्थात् २५ दशमलव ५९ प्रतिशत छ । पूँजीगततर्फ १ अर्ब ३७ करोड ९७ लाख ७९ हजार अर्थात् ७३ दशमलव ९९ प्रतिशत रहेको उपप्रमुख स्यानी चौधरीले बताइन् ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले १ अर्ब ६५ करोड ७२ हजार ४ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख कमरुद्दिन राईले बजेट प्रस्तुत गरेका थिए । खजुरा गाउँपालिकाले आगामी आवका लागि कृषिलाई प्राथमिकता दिँदै प्रत्येक नागरिकले खजुरा निर्माणमा योगदान पुर्याउने जनमैत्री नीतिलाई अगाडि सारेको छ ।

कोहलपुर नगरपालिकाले १ अर्ब १६ करोड ४६ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । संघीय सरकारबाट प्राप्त ५८ करोड १ लाख, प्रदेश सरकारबाट प्राप्त हुने अनुदान ५ करोड १६ हजार र आन्तरिक राजस्वबाट २० करोड ३१ लाख ९५ हजार गरी ८३ करोड ३३ लाख ११ हजार, नगर विकास कोषको ऋण अनुदान ५ करोड र सञ्चित कोषमा मौज्दात हुन आउने अनुमान १२ करोड गरेर कुल १ अर्ब १६ करोड ७६ लाखको आय लक्ष्य लिइएको उप–प्रमुख संगीता सुवेदीले बताएकी छन् ।

पाल्पाका स्थानीयले भौतिक पूर्वाधार र कृषिलाई जोड दिएका छन् । तानसेन नगरपालिकाले १ अर्ब ३९ करोड १८ लाख ९३ हजार ५४ रुपैयाँको बजेट ल्याएको छ । रामपुर नगरपालिकामा ७२ करोड ४७ लाख ९५ हजारको बजेट उपप्रमुख बालकुमारी थापाले प्रस्तुत गरिन् । नगरपालिकाले प्राविधिक शिक्षा, विपन्न परिवारको शिक्षा, कृषि, भौतिक पूर्वाधारमा जोड दिएको छ । निस्दी गाउँपालिकाले ६४ करोड ९८ लाख २५ हजारको बजेट सार्वजनिक गरेको छ ।

पूर्वखोलामा उपाध्यक्ष भागीरथी भट्टराईले ४८ करोड १७ लाख ७४ हजारको बजेट सभामा पेस गरिन् । रम्भा गाउँपालिका उपाध्यक्ष राधाकुमारी श्रेष्ठले ५० करोड २९ लाख ८३ हजार, तिनाउ उपाध्यक्ष लालबहादुर थापाले ४८ करोड २० लाख ९१ हजारको बजेट सार्वजनिक गरे । बगनासकाली गाउँपालिकामा ५० करोड १८ लाख २३ हजार, माथागढी गाउँपालिकाले ५७ करोड ७४ लाख ९४ हजारको बजेट प्रस्तुत गरेको छ । नीति तथा कार्यक्रम बजेट सभामा पेस भए पनि पारित भएको छैन ।

रिब्दीकोट गाउँपालिकाले ५१ करोड २४ लाख २५ हजार, रैनादेवी छहरामा ६३ करोड ६९ लाख २५ हजारको बजेट सार्वजनिक भएको छ । बर्दियाका स्थानीय तहले पुरानै कार्यक्रमलाई निरन्तरता दिएका छन् । गुलरिया नगरपालिकाले आगामी आवका लागि १ अर्ब १६ करोड ७२ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । बारबर्दियामा पूर्वधार विकासका लागि ११ करोड बढी रकम पेस गर्दै बजेट प्रस्तुत गरेको छ ।

स्वास्थ्यमा ६ करोड, शिक्षामा ३ करोड २५ लाख रकम छ । ठाकुरबाबा नपा, बासगढी, राजापुर, मधुवन नगरपालिकाले बजेट प्रस्तुत गरेका छन् । पश्चिम नवलपरासीमा सातवटै स्थानीय तहले बजेट ल्याएका छन् । पाल्हीनन्दन गाउँपालिकाले ५६ करोड १० लाखको बजेट ल्याएको छ । सुस्ता गाउँपालिकाले ५३ करोड बराबरको बजेट ल्याएको छ । सुनवल नगरपालिकाले ९६ करोडको बजेट ल्याएको छ । स्थानीय तहले पेन्सनदेखि कृषिजन्य उत्पादनमा अनुदानसम्मको योजना बनाएर बजेट सार्वजनिक गरेका छन् ।