बजेटमा लुम्बिनी सरकारको प्राथमिकता कृषि, स्वास्थ्य र शिक्षा



भैरहवा– लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेटको तयारी गरिरहेको छ । अहिले मुख्यमन्त्री, मन्त्री र कर्मचारी नीति तथा कार्यक्रम र बजेट निर्माणमा लागिपरेका छन् । कार्यालयदेखि निवाससम्म बजेटमा समेट्ने योजनाबारे उनीहरु छलफलमा व्यस्त छन् । बजेटमा आफ्नो क्षेत्रका योजना पार्न जनप्रतिनिधि धाइरहेका छन् ।
प्रदेशले गत वर्षको बजेटमा कृषिलाई मुख्य प्राथमिकता दिएका थियो । यसपटक यसैलाई समृद्धिको मुख्य आधार बनाएर आगामी वर्षको नीतिकार्यक्रम र बजेटको तयारी थालेको प्रदेश सरकारले जनाएको छ । आउने आवको बजेटमा पनि प्रदेश सरकारले कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिने जनाएको छ । त्यहीअनुसार योजना छनोटको काम भइरहेको छ । प्रदेशका जिल्लामा कृषिको धेरै सम्भावना छ । त्यसैले कृषिलाई पहिलो प्राथमिकता दिने सरकारले बताएको छ ।
यसअघि संघीय सरकारले सार्वजनिक गरेको बजेटमा कृषिलाई प्राथमिकतामा राखिएको छ । प्रदेश सभाको बैठक आगामी जेठ २३ गते बस्न लागेको छ । उक्त बैठकमा सरकारको आर्थिक वर्ष २०७९–०८० को नीतितथाकार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ । सरकारका एक मन्त्रीका अनुसार नीति तथा कार्यक्रममार्पmत कृषिमा लागत साझेदारी र उत्पादनमा आधारित अनुदानलाई प्राथमिकतामा राखिनेछ । प्रदेशका पहाडी जिल्लामा उत्पादित बाली तथा फलपूmलको बजारीकरण र तराईमा उत्पादन भएका खाद्यान्नलाई पहाड पुर्याउने योजना बजेटमा ल्याउन लागिएको छ ।
मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विकले कृषिको माध्यामबाट तराई–पहाड जोड्ने गरेर कार्यक्रम ल्याउन लागिएको बताए । यसअघि सञ्चालित स्मार्ट कृषि कार्यक्रम, किसानलाई उत्पादनमा आधारित ब्याज अनुदानलगायतका कार्यक्रम निरन्तरता दिइने विकले जनाए । यसपाली स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका व्यक्तिले शिक्षा, स्वास्थ्य र रोगजारीलाई प्राथमिता दिएका थिए । प्रदेश सरकारले पहिलो बजेटबाटै शिक्षा र स्वास्थ्यलाई प्राथमिता दिएर बजेट सार्वजनिक गर्दै आएको छ ।
यसपटक पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट केन्द्रित गर्न लागिएको अर्थ मन्त्रालयका एक अधिकृतले जनाए । प्रदेश सरकारले यसपटक लुम्बिनी प्रादेशिक अस्पताललाई विशेषज्ञ सेवासुविधासहितको अस्पतालमा स्तरोन्नति गर्ने गरी प्रदेशको गौरवको आयोजनाका रुपमा अघि सारेको छ । त्यसलाई निरन्तरता दिँंदै लुम्बिनी प्रादेशिक अस्पताललाई मेडिकल कलेजका रुपमा विकास गर्ने गरी सरकारले नीतिमा समेट्ने प्रयास गरेको छ ।
स्वास्थ्यमा गर्भवती एवं सुत्केरी महिलाका लागि पनि लोकप्रिय कार्यक्रम राख्ने सरकारको तयारी छ । स्वास्थ्य बिमालाई अधिकांश विपन्न नागरिकको पहुँचमा पुर्याउने गरी नीति–कार्यक्रममा समावेश हुनेछ । त्यसका लागि नीति तथा कार्यक्रम र बजेटमार्पmत सम्बोधन गर्ने गरी कार्यक्रम बनाइरहेको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका एक अधिकृतले बताए ।
संघीय सरकारको बजेट सार्वजनिक भएपछि प्रदेश सरकार पनि नीति तथा कार्यक्रमको अन्तिम तयारीमा जुटेको छ । स्रोतका अनुसार सरकारले जेठ २३ गतेको प्रदेशसभाको बैठकमा आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिरहेको छ । सरकारले नीति कार्यक्रमको प्रस्तावित मस्यौदा तयार गरेर मन्त्रालयगत छलफल सुरु गरिसकेको मुख्यमन्त्री कार्यलयका एक अधिकृतले जनाए ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार गरेको अन्तरमन्त्रालय छलफलमा मुख्यमन्त्री कुलप्रसाद केसीले कृषिलाई नै प्रदेशको समृद्धिको आधार बनाएर नीति तथा कार्यक्रम तयार भइरहेको बताएका थिए । स्रोतकाअनुसार सरकारले धेरै कार्यक्रम चुनाव केन्द्रित गरेको छ । स्थानीय तहले गर्न सक्ने कार्यक्रमहरूलाई पनि प्रदेश सरकारबाटै सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम बनिरहेको मुख्यमन्त्री कार्यालयकै एक अधिकृतले बताए ।








प्रतिकृया दिनुहोस्