April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

बाढीपीडितलाई गासबास समस्या

बर्दिया– पटकपटक नेता र सरकारका जिम्मेवार व्यक्तिले आवासको व्यवस्था गर्ने आश्वासन दिएपनि उनीहरुको आवश्यकता पूरा हुन सकेको छैन । स्थानीय तहदेखि केन्द्रिय सरकार समक्ष आफ्नो पीडा व्यक्त गरे पनि कसैले नसुुनेको पीडितको दुखेसो छ ।

Advertisement

बर्दियाको राजापुर नगरपालिका–३ मा कर्णाली नदी कटानबाट पीडितको अहिले उठिबास भएको छ । अहिले निर्वाचनको मुखमा फेरि नेताहरु बस्तीमा भोट माग्न आउन थालेपछि उनीहरुको पीडा बल्झिएको छ । उनीहरु यसरी पीडित बनेको एक दशक पुुग्न लागेको छ । अहिलेसम्म जग्गा बगायो, कुन दिन कर्णालीले परिवार बगाउने हो भन्ने चिन्तामा स्थानीय बासिन्दा रहेका छन् ।

Advertisement

राजापुर–३ का बासिन्दा मोतीराम चौधरीको दुई बिघा खेत कटान भइसकेको छ । खेत बगरमा परिणत भएको ९ वर्ष बितेको उनले सुनाए । एक समय त्यही खेतको उब्जनीले खान, लाउन पुुग्थ्यो । अहिले परिवारै मजदुुरी गर्न बाध्य बनेको मोतिरामले बताए । गत वर्ष बस्तीमा बाढी पसेपछि उठिबास नै लागेको छ । आफ्नो खेत बगेपछि अधियाँमा खेती गरिरहेका थिए ।

बाढीले त्यही बगाएपछि परिवार भोकै बस्नुु पर्ने अवस्था सिर्जना भएको उनले बताए । गत वर्ष कार्तिकमा बाढी पसे लगत्तै प्रधानमन्त्री शेर बहादुर देउवा बस्तीमा आएका थिए । तर, उनी पीडितसित भेटघाट नगरी फर्किए । त्यसले पीडितको घाउमा नुन थप्ने काम मात्र भयो ।

बर्सेनि नदी कटानले सयौं बिघा जग्गा बगाउँदै नदी बगेको छ । घरबाससमेत बगाउँदा सुकुम्बासी भएको स्थानीय आशाराम थारुले गुनासो पोखे । ‘हामीलाई हरेक निर्वाचनमा भोटबैंक सरह हेर्ने नेतालाई कसरी विश्वास गर्ने ?,’ उनले भने, ‘अब मुखले होइन, लिखित प्रतिबद्धता जाहेर गर्ने उम्मेदवारलाई भोट दिने छौं ।’

यस भेगका करिब २५ घरपरिवार बाढी र कटानले विस्थापित भएका छन् । आफ्नो जग्गा खोलाले बगाए पनि यसको प्रयोग गर्न नपाउँदा उनीहरू आक्रोशित छन् । बगेको खेतको मालपोत पनि पालिकाले लिने गरेको यहाँका पीडित किसान बताउँछन् । पालिकाले ढुंगा, गिट्टी र बालुवा निकाल्न ठेक्का दिने गरेको छ ।

‘हाम्रो जग्गा बगाएको नदीबाट निस्केको ढुंगा, गिट्टी र बालुवा हामीलाई नै बेच्न दिए जीविका आर्जन गथ्र्यौं,’ स्थानीय किसान मोतीराम चौधरीले भने । आम्दानीको स्रोत नभएपछि यहाँका पीडित तटबन्ध बनाउन लागेका ठेकेदार कम्पनीकहाँ काम गर्न जान थालेका छन् । कतिपय रोजगारी गर्न जिल्ला बाहिर गएका छन् । चुनावमा राम्रा उम्मेदवारले आफ्ना कुरा सुन्छन् भन्ने आशमा मजदुरी छाडेर युवाहरू घर फर्किन लागेको सत्तु थारुले बताए ।

७२ घण्टा नेपाल भारत सीमा बन्द हुने
बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा सुरक्षाका कारण देखाउदै बर्दिया संग जोडिएको नेपाल भारत सीमा बन्द हुने भएको छ । निर्वाचनका समय खुला सीमानाका कारण सुरक्षा चुनौति हुने भन्दै बैशाख २८ देखि ३० गते निर्वाचन नसकिदा सम्म सीमा बन्द हुने प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए ।

भारतीय समकक्षीसंग भएको सहमति अनुसार नेपाल भारत सिमा बन्द गरिने भएको हो । बैठकमा भारत उत्तरप्रदेश राज्यको बहराइच र श्रावास्तिक जिल्लाका सुरक्षा अधिकारी सहभागि भएका थिए । नेपाल भारतका सुरक्षाकर्मीले निर्वाचनका समय संयुक्त गश्ति गर्ने भएकाछन् । निर्वाचनका समय अपराधिक क्रियाक्लाप र घुसपैठ रोक्न सीमामा कडाई गर्ने भएको स्थानीय प्रशासनले जनाएको छ । बर्दियासंग भारतको ८३ किमी सीमा खुला छ ।