May 16, 2022, Monday
२ जेष्ठ २०७९, सोमबार

नयाँ धावनमार्गबाट जहाज सरर … (फोटोफिचर)

भैरहवा– मुलुकले लामो अवधि पछि नयाँ विमानस्थल पाएको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएसँगै ७४ वर्षपछि मुलुकभित्र अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको यति धेरै समयपछि मुलुकभित्र अर्को विमानस्थल बनेको हो ।

Advertisement

बिहीबार नयाँ धावनमार्ग संचालन भए पछि आन्तरिक जडाज यहीबाट उडान सुरु भएको छ । पुरानो धावन मार्ग पार्किङकारुपमा प्रयोग गरिने छ । विमानस्थलको पुरानो १ हजार ५०० मिटर लामो धावनमार्ग बन्द गरेर अन्तर्राष्ट्रियतर्फको तीन हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालन गरिएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग सञ्चालनमा आए पनि अन्तर्राष्ट्रिय उडान भने आगामी जेठ २ गते बुद्धजयन्तीका दिनदेखि हुने छ ।

अन्तर्राष्ट्रिय धावनमार्ग संचालनसँगै अब साढे १८ घण्टासम्म हवाइ उडान संचालन गर्न सकिने छ । नयाँ धावनमार्ग संचालन ल्याइएपछि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द नहोउन्जेल यो बिमानस्थल पनि बन्द हुने छैन । बिहान ६ बजेदेखि राती साढे १२ बजेसम्म बिमानस्थल खुल्ला रहने छ । यसकासाथै आधिकारिक रुपमा अन्तर्राष्ट्रिय व्यवसायिक उडान संचालन हुन बाँकी भए पनि नयाँ धावनमार्ग संचालनमा आएपछि आपतकालीन, चार्टर्ड र डाइभर्ट गरिएका अन्तर्राष्ट्रिय उडान अवतरण गर्न मिल्ने छ । यस्तै, कुनै पनि एयरलाइन्सले विमानस्थलबाट अब अन्तर्राष्ट्रिय उडान गर्न चाहेमा तयारी पुगेको छ ।

यहाँ व्यवसायिक उडान गर्ने अन्तराष्ट्रिय एयरलाइन्सहरुलाई अवतरण र पार्किङ लगायतका शुल्कमा छुटको व्यवस्था गरिएको छ । विमानस्थल सेवा शुल्क नियमावली सरकारबाट हालै स्वीकृत भइसकेको छ । नियमावलीमा विमानस्थल सेवा शुल्क ६ महिनासम्मका लागि छुटको व्यवस्था गरिएको छ । एक पटक हवाइ उडान संचालन गर्दा न्युनतम पनि १ लाख भन्दा धेरै बिमानस्थल शुल्क लाग्ने गर्छ ।

यस विमानस्थलको प्रबद्र्धनका लागि सुरुमा छुट सुबिधा प्रदान गरिएको हो । यो विमानस्थल काठमाडौंको त्रिभुवन विमानस्थल भन्दा धेरै सुरक्षित र सहज छ । एयर ट्राफिकका कारण धेरै समयसम्म आकाशमैं विमानलाई रोक्नु पर्ने समस्या यहाँ छैन । धावनमार्ग संचालनमा आउनु पूर्व नै कन्ट्रोल टावर र पूर्ण आपतकालिन अभ्याससहित फायर फाइटिङको नयाँ स्टेशन संचालनमा आइसकेको छ ।