गौतमबुद्ध विमानस्थलप्रति विदेशी एयरलाइन्सको चासो
भैरहवा– अर्को महिनाबाट व्यवसायिक उडानको तयारी भइरहेको गौतम बुद्धअन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडान संचालनका लागि आधा दर्जन बिदेशी एयरलाइन्सले चासो देखाएका छन् ।
हवाई उडान संचालनका लागि चासो देखाउने बिदेशी एयरलाइन्स कम्पनीमा जजिरा एयरलाइन्स, फ्लाइ दुबई एयरलाइन्स, ओमानको सलाम एयर, थाई स्माइल एयरलाइन्स, श्रीलंकन एयरलाइन्स र कतार एयरलाइन्स छन् । यस विमानस्थलबाट आउँदो जेठ २ गतेदेखि व्यवसायिक रुपमा अन्तर्राष्ट्रिय उडान संचालन गर्ने तयारी छ ।
विमानस्थलका महाप्रबन्धक गोबिन्दप्रसाद दाहालले विभिन्न बिदेशी एयरलाइन्स कम्पनीले विमानस्थलमा आइ जानकारी लिने र सोधखोज गर्न थालेको बताए । ‘हवाइ उडान संचालन गर्नका लागि बिदेशी एयरलाइन्स कम्पनीका कर्मचारी तथा प्रतिनिधि आउने र जानकारी लिने क्रम बढ्दो छ’, दाहालले भने, ‘यहाँबाट हवाइ उडान संचालन गर्दा के–कस्तो सुबिधा र छुट पाइन्छ ? भन्नेमा उनीहरुको जिज्ञासा केन्द्रित छ ।’
उनका अनुसार, विमानस्थलको क्यालिब्रेशन फ्लाइट (यान्त्रिक परीक्षण उडान’ फागुनको दोस्रो साता सकिएपछि २६ फागुनमा विमानस्थलका वारेमा सम्पूर्ण जानकारीसहितको सूचना जारी गरिएको थियो । सूचना जारी गर्नासाथ सवै भन्दा पहिला २७ फागुनमैं जजिरा एयरलाइन्स सम्पर्कमा आइ हवाइ उडान संचालन गर्न इच्छुक देखिएको थियो । जजिराले हवाइ उडान संचालनका लागि निवेदन समेत दिइसकेको छ ।
त्यसपछि फ्लाइ दुबइ एयरलाइन्स कम्पनीका ३–४ जना कर्मचारी बिमानस्थलमा आइ स्थलगत अध्ययन गरेका थिए । ओमानको सलाम एयर, थाइ स्माइल एयरलाइन्स र श्रीलंकन एयरलाइन्स पनि हवाइ उडान संचालनका लागि सम्पर्कमा आएका छन् । कतार एयरलाइन्ससंग कुराकानी भैरहेको छ ।
विमानस्थलबाट हवाइ उडान संचालनका लागि विदेशी एयरलाइन्स कम्पनी र यात्रुलाई आकर्षित गर्न अन्तर्राष्ट्रिय एयरलाइन्सहरुलाई अवतरण र पार्किङ लगायतका शुल्कमा छुट दिने व्यवस्था मिलाइएको छ । यात्रुको हकमा, यात्रु सेवा शुल्क त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्दा कम र विमानस्थल विकास कोष (एडिएफ) बापतको १ हजार रुपैयाँ यस विमानस्थलमा नलिएर यात्रुलाई सुबिधा दिइने दाहालले बताए ।
‘यस विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाइ उडान संचालन गर्दा एयरलाइन्स कम्पनीलाई र यात्रुलाइ लाग्ने विभिन्न शुल्कमा छुट तथा सुबिधा दिएर हवाई उडान संचालन खर्च कम लाग्ने योजना बनाइएको छ’, दाहालले भने । उनका अनुसार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल बिद्यमान रहेको एयर ट्राफिक जामले विमान होल्डिङ गर्नु पर्ने, आकाशमैं रोकिनु पर्ने, विविध अन्य कारणले अवतरण हुन नसकेर अवतरणका लागि अन्य मुलुकमा लैजानु पर्ने बाध्यता यस बिमानस्थलबाट अन्तर्राष्ट्रिय उडान संचालन गर्दा हुँदैन । आफ्नै मुलुकमा विमान अवतरण गर्न पाइने भएकाले उडान खर्च घट्ने हुन्छ । जसबाट यात्रु भाडा दर कम पर्न जान्छ ।
यस विमानस्थलमा जडित उपकरण पनि अत्याधुनिक रहेकाले कम भिजिविलीटी (आंखाले देखिने दुरी) मा पनि सहजै विमान अवतरण गर्न सकिने छ । विमानस्थलका अनुसार, विमान अवतररणका लागि कम्तमिा पनि १ हजार ५ सय मीटरको भिजिविलिटी आवश्यक पर्नेमा यस विमानस्थलमा ६ सय मीटरमैं अवतरण गर्न सकिने छ ।
भैरहवाका पर्यटन व्यवसायी तथा सोसाइटी अफ ट्राभल्स एण्ट टुर अपरेटर नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष संजय बजिमयले जेठ २ गते को दिनमामात्रै दुई–चार वटा चार्टर विमान ल्याएर देखाउने क्रममा मात्रै सिमीत राख्न नहुने बताउँछन् । विमानस्थलको सफल रुपमा संचालनका लागि सरकारी स्तरबाट भारत, चिन लगायत् बिशेषगरि बुद्धिष्ट मुलुकसंग सरकार–सरकार बिच बार्ता गरि योजना र कुटनीतिक पहल गर्नु पर्ने सुझाव उनको छ ।
हालसम्म लुम्बिनी आउने ९० प्रतिशत बिदेशी पर्यटक भारतीय ट्राभल्स एजेन्सीले नै बनाएको प्याकेजमा आउने गर्छन् । गौतम बुद्ध बिमानस्थलबाट सिधै बुद्धिष्ट मुलुकसंग हवाइ उडान सम्बन्ध स्थापित भएपछि भारतीय ट्राभल्स एजेन्सीसंग निर्भर रहनु पर्ने नेपाली पर्यटन व्यवासयीको बाध्यता हट्ने बिश्वास स्वदेशी पर्यटन व्यवासायीको छ ।
‘बुद्ध जन्मस्थल लुम्बिनीका कारण बौद्धिष्ट लगायत अन्य बिकसित मुलुक र खाडी लगायतका मुलुकमा बैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई लक्षित गरेर विदेशी एयरलाइन्स यहाँ हवाइ उडान संचालन गर्न चाहेको देखिन्छ’, दाहाल भन्छन् ।
प्रतिकृया दिनुहोस्