करोडौं लगानीमा ठूला होटल सञ्चालन गर्ने होड


भैरहवा– लुम्बिनी प्रदेशमा धेरै लगानीमा आधुनिक सुविधासहितका तारे होटल सञ्चालनको होड चलेको छ । छिमेकी भारतीय र आन्तरिक पर्यटक लक्षित गरेर करोडौं लगानीमा होटल सञ्चालन भइरहेका छन् । होटलको संख्यासँगैं तिनले प्रदान गर्ने सुविधा बढिरहेका छन् ।
सिमावर्ती तारे होटलमा क्यासिनो, स्पा, स्वीमिङ पुल, जीम र ठूला कार्यक्रम हल जस्ता सुविधा उपलब्ध छन् । भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएपछि आसपास तारे होटल थपिन थालेका छन् । अर्गानिक र रैथाने स्वाद र संस्कृति समेटिएका मध्यमस्तरका होटल सञ्चालन तीब्र छ । सहर र ग्रामीण क्षेत्रका रमणीय स्थान रोजेर रिसोर्ट सञ्चालन गर्ने धेरै छन् । अधिकांश होटल तथा रिसोर्टको आम्दानीको माध्याम आन्तरिक पर्यटक नै हुन् ।
लामो समय कोरोना भाइरस महामारीले थलिएको पर्यटन क्षेत्र उकास्न आन्तरिक पर्यटकको भूमिका रहेको यहाँका पर्यटन व्यावसायीले बताएका छन् । पर्यटक आकर्षित गर्न होटल तथा रेष्टुराँमा लगानीसँगै मनोरञ्जनका कार्यक्रम आयोजना गर्ने क्रम बृद्धि भएको छ ।
रुपन्देहीकोे बुद्ध जन्मस्थल लुम्बिनीमा मात्रै प्रत्येक वर्ष १७–१८ लाख पाहुना आउँछन् । पछिल्ला दुई वर्ष संख्यामा कमी आए पनि अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनपछि यो संख्या ह्वात्तै बढ्ने विश्वास गरिएको छ । लुम्बिनी प्रदेशका पर्यटकीय गन्तव्यमा विविधता रहेको छ । यहाँ बुद्धस्थलसँगै वन्यजन्तु सफारीका लागि विश्व प्रशिद्ध बर्दिया निकुञ्ज रहेको छ ।
अहिले बाँके निकुञ्जमा समेत पर्यटकीय गतिविधि बृद्धि भएका छन् । आध्यात्मिक धाम, वन, नदी र हिमालको संगम स्थल छनौट गरेर आकर्षक होटल निर्माणको लहर चलेको छ । साविकमा होटल तथा रिसोर्टले प्रदान गरिएको सेवा भन्दा फरक सुविधा थपेर लगानी गर्ने बढेका छन् ।
बुद्ध जन्मस्थल लुम्बिनी, वन्यजन्तु सफारीको ‘भर्जिन’ गन्तव्य बर्दिया र बाँके निकुञ्ज यहाँका प्रमुख आकर्षण हुन् । प्रदेशका पहाडी आधा दर्जन जिल्लामा आध्यात्मिक साथै साहसिक पर्यटनको सम्भावना प्रशस्त छ । पाल्पा र गुल्मीको सिमानामा रहेको रिडी,, अर्घाखा“चीको सूपादेउराली र प्युठानको स्वर्गद्वारीमा भारतीय पर्यटक ओइरिने गरेका छन् । तराईमा अत्यधिक गर्मीका बेला पाल्पा, अर्घाखाँची र दाङका ‘हिल स्टेशन’ रमाउनेको घुइँचो लाग्ने गरेको छ ।
बाँकेको नेपालगन्ज मानसरोवर र रारा यात्राको ‘ट्रान्जिट’ बनेको छ । प्रदेश सरकारले बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्र मानेर आसपासका गन्तव्यको प्रवद्र्धन थालेसँगै होटलमा लगानीकर्ता बढेका हुन् । स्थानीय र प्रदेश सरकार सञ्चालनमा आएपछि गाउँगाउँमा व्यापारिक केन्द्र निर्माण भएका छन् । कर्मचारी र सेवाग्राहीले चहलपहल बढेको छ । विभिन्न कार्यक्रम सञ्चालन हुने गरेका छन् ।

प्रदेश राजधानी दाङको भालुवाङमा कायम भएपछि कपिलवस्तुको चन्द्रौटा, दाङको भालुवाङ र लमही, बाँकेका नेपालगन्ज र कोहलपुर, बर्दियाको ठाकुरद्वारामा स्तरीय होटल सञ्चालन भइरहेका छन् । बर्दियाको ठाकुरद्वारामा आधुनिक सुविधायुक्त होटल सञ्चालन भइरहेका छन् । पहिले प्रकृतिसित मेल खाने होटल खुलेका थिए । अहिले आन्तरिक पर्यटक र कार्यक्रम लक्षित गरेर आधुनिक सुविधा थप्ने क्रम बढेको छ ।
त्यहाँ स्वीमीङ पुलसहितका होटल खुलिरहेका छन् । अहिले ठाकुरद्वारामा तीन दर्जनभन्दा बढी पर्यटकीय होटल छन् । पर्यटक आकर्षित गर्न सिमावर्ती होटलले आकर्षणका कार्यक्रम सार्वजनिक गर्दै आएका छन् । सीमा नजिकका होटलमा क्यासिनो संचालन गरिनु र विभिन्न समयमा हुने सांस्कृतिक कार्यक्रमले समेत होटलप्रतिको आकर्षण थपेको छ ।
खुला नाकाले भारतीय पर्यटक आउने र यहाँका कयासिनोमा पैसा खर्च गर्दा सरकारलाई आम्दानी तथा होटल संचालन सहज हुने गरेको छ । होटलले समेत रेष्टुराँ सरह सांगितीक माहोल बनाई आएका पाहुनालाई रमाइलो गराउने वातावारण गराउने गरेका छन् । जसले गर्दा खाना, आवास र मनोरन्जनको प्याकेज पाएको महशुस पाहुनाले गर्छन् । पर्यटन क्षेत्रमै पर्ने ट्राभल एण्ड टुरिजम सेन्टरले संचालन गरिरहेको टुर अपरेट प्याकेजले होटल चलाउन थप सहयोग पुगेको छ ।
लुम्बिनीमा अहिलेसम्म साना ठूला गरी झण्डै ११ हजार होटल संचालनमा रहेको सिद्धार्थ होटल एशोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताए । अहिलेको पुस्ता घुमफिर गर्न जिल्ला बाहिर जार्ने भएकाले होटल व्यवसाय फष्टाएको होटल व्यवसायी संघ लुम्बिनीका अध्यक्ष भाष्र काफ्लेले बताए । ‘आगामी दिनमा व्यवसाय फस्टाउने देखेरै लगानी गरेको पाइन्छ,’ उनले भने, ‘होटल खोलीसकेपछि तुरुन्तै बन्द गर्न सकिँदैन । भविष्यमा पाहुना आउलान भनेर टिकीरहेका धेरै छौं ।’ होटल व्यवसाय चलायमान बनाउन पर्यटक आगमन र नेपालमा बदलिंदो पुस्ता सहयोगी बनिरहेको उनले जनाए ।
प्रतिकृया दिनुहोस्