March 18, 2025, Tuesday
२०८१ चैत्र ५

वन्यजन्तु सफारीको ‘भर्जिन’ गन्तव्य

बर्दिया– वन र वन्यजन्तु सफारी पर्यटनका लागि बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढेको छ । संघीय राजधानी काठमाडौंबाट भौगोलिक दूरी टाढा भएकाले टुर र ट्राभल कम्पनीको आँखामा नपरेको निकुञ्जमा अहिले आन्तरिक पर्यटकको चहलपहल छ ।

लुम्बिनी र आसपास प्रदेशका सहरबाट यहाँ घुम्न आउने धेरै छन् । सहजै वन्यजन्तु र प्राकृतिक सम्पदा अवलोकन गर्न सकिने भएकाले आकर्षण बढ्दै गएको निकुञ्ज अधिकारी र पर्यटन व्यवसायी बताउँछन् । पछिल्लो समय हवाई उडानको संख्या थप, सस्तो भाडादर र घुम्ने संस्कृतिले यहाँ पाहुना बढिरहेका छन् । यहाँ निकुञ्जमा मानवीय चाप छैन । जसले गर्दा वन्यजन्तु अवलोकनका लागि दुःख हुँदैन ।

Advertisement

व्यवसायी यसलाई सफारीको ‘भर्जिन’ गन्तव्यका रुपमा प्रचार गरिरहेका छन् । दूर्लभ पाटेबाघ अवलोकनका लागि मुलुक र बिदेशबाट धेरै पर्यटक आइरहेका छन् । बुद्ध जन्मस्थल लुम्बिनीसँगै निकुञ्ज प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य हो । अहिले प्रदेश र स्थानीय सरकारले आफ्ना कार्यक्रम यहाँको प्रमुख पर्यटकीय केन्द्र ठाकुरद्वारामा आयोजना गर्न थालेपछि होटल व्यवसायी उत्साहित छन् ।

सहजै बाघ हेर्न सक्ने भएकोले गन्तव्यमा भीडभाड छ । निकुञ्ज, खाता जैविक मार्ग र मध्यवर्ती क्षेत्रमा बाघ हेर्न पाइने भएकाले पर्यटक ओइरिन थालेको पर्यटन व्यवसायी रामजीबाबु थापाले बताए । पर्यटकका लागि २० प्रतिशत छुट व्यवस्था गरिएकोले आगमन बढ्ने उनले बताए । निकुञ्जमा चार वर्ष अघि गरिएको गणना अनुसार ८७ बाघ थिए । अहिले बाघको संख्या एक सय नाघ्ने अनुमान निकुञ्ज कार्यालयको छ ।

बर्दिया निकुञ्जमा ३८ गैडा छन् । पर्यटक बढेसँगै ठुला होटलमा व्यवसायीले लगानी गर्दे गएका छन् । बबई रिसोर्ट, बर्दिया टाइगर रिसोर्ट, टाइगर टप, जंगल सेन्टर प्लाजा, थारु होम रिसोर्ट, गैडा क्याम्प लगायत ठूला, मझौला र साना गरि २९ होटल सञ्चालनमा छन् । तराईको ठुलो निकुञ्ज, शान्त वातावरण, प्रशस्त जैविक विविधता र सहजै बाघ हेर्न सकिने भएकाले पर्यटकको आकर्षण बढ्दै गएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए ।

‘वन्यजन्तु सफारीमा आकर्षण बढेको छ,’ उनले भने, ‘बर्दिया निकुञ्ज सामाजिक, आर्थिक तथा वातावरणीय हिसावले उपयुक्त छ ।’ श्रेष्ठले यस वर्ष निकुञ्जले बाघ संरक्षणमा महत्वपूर्ण योगदान पुराएको भन्दै अन्तर्राष्ट्रिय स्तरको टी एक्स–२ अवार्ड पाएको बताए । यसबाट पनि बर्दिया निकुञ्जको विश्वभर चर्चा भइरहेकाले स्वदेशी र विदेशी पर्यटक आउने श्रेष्ठले बताए ।

घाँसे मैदान, बासस्थान सुधार, पर्याप्त आहारा, कृतिम पोखरी भएका कारण बाघको संख्या बढ्दै गएको छ । काठमाण्डौबाट आउन ५ सय किलोमिटर भन्दा बढी दुरी छ । बर्दिया निकुञ्ज आउने माध्यम सडक र हवाई मार्ग हो । हवाई मार्ग नेपालगन्ज हुँदै बर्दिया निकुञ्ज आउनु पर्छ । सडक यातायातले भने निकुञ्जको मुख्यालय ठाकुरद्वारालाई छोएको छ । कोभिड पछि यहाँ आन्तरिक पर्यटक बढी आउने गरेका छन् ।

कोभिड कम हुँदै गएपछि बेलायत, फ्रान्स, अमेरिका लगायत मुलुकबाट पर्यटकको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । गत कार्तिक यता दैनिक नेपाली सयदेखि डेढ सय र विदेशी करिब १५ देखि २० जना पर्यटक भित्रिएको निकुन्जले जनाएको छ । चालु आर्थिक वर्षको फागुन तेस्रो सातासम्म १० हजार बढी नेपाली पर्यटक भित्रिएका छन् । यसैगरि सार्क मुलुकबाट सय बढी र विदेशी ३ सय जना बढी पर्यटक भित्रिएको निकुञ्जले जनाएको छ ।

पर्यावरण विकास मञ्चका अध्यक्ष कृष्णप्रसाद भट्टराइले पर्यटक भित्राउन करिब एक महिना अघि लुम्बिनी प्रदेशका ८ जिल्लामा प्रचारप्रसार गरिएको बताए । ६ जना पर्यटकका लागि एक रात बास, खाना र विहान नास्तासहित निकुञ्ज अवलोकन गर्दा ३ हजार ७ सय रुपैयाँ लिने गरेको उनले जनाए ।