December 10, 2024, Tuesday
२०८१ मंसिर २५

सबैको पर्खाइ जेठ दुईको

भैरहवा– विशेषगरि लुम्बिनी क्षेत्रका बासिन्दा र यस क्षेत्रमा लगानी गरेका हजारौं लगानीकर्ता आउँदो जेठ २ गतेलाई व्यग्र प्रतिक्षा गरेका छन् । त्यस दिनको प्रतिक्षा गर्नुको मुख्य कारण हो, भैरहवामा निर्माण सम्पन्न भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको व्यवसायिक उडान संचालन गर्ने सरकारी घोषणा ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल नै अव लुम्बिनी क्षेत्रमा उद्योग, पर्यटन, कृषि, पशुपालन लगायतका क्षेत्रमा लगानी गर्ने लगानीकर्ता र स्थानीय समुदायको आर्थिक समृद्धिका लागि आशा र भरोसाको एकमात्र आधार बनेको छ । आठ वर्ष अघि भैरहवामा उक्त विमानस्थलको शिलान्यास भएपछि व्यवसायीहरुले आफ्नो घर खेत बिक्री गरेर वा बैंकमा धितो राखेर चर्को व्याजमा ऋण लिदै लगानी गरेका थिए ।

Advertisement

समान्यतः चियानास्ता पसलका लागि भाडामा सटर खोज्नेदेखि अर्बौं रुपैयाँ ऋण लिँदै पाँचतारे होटल र हाउजिङमा लगानी गर्ने धेरै छन् । स्तरीय रेष्टुरेन्ट, सवारी यातायात, जमिन भाडामा लिएर आधुनिक कृषि, पशुपालन, उद्योगमा लगानी गर्ने समेत व्यवसायी हजारौं छन् । भैरहवा र लुम्बिनीको सेरोफेरोमामात्रै होइन, विमानस्थललाई लक्षित गरेर नवलपरासी, बुटवल, कपिलबस्तु क्षेत्रमा समेत लगानी बढ्दै गएको छ ।

भैरहवाको प्रशिद्ध मिठाइ पसल ‘पवन मिष्ठान्न’ का संचालक पवन हलुवाइ आफ्नो आमा कलावतीको मृगौला रोगबाट देहान्त भएपछि स्मृतिमा भैरहवामा अस्पताल संचालन गर्ने तयारीमा थिए । मृगौला बिरामीको उपचार गर्ने उक्त अस्पताल निर्माण गर्न १६ कट्ठा जमिन खरिद गरेर अघि बढेकै बेला विमानस्थलको शिलान्यास गरेका तत्कालीन प्रधानमन्त्री स्व.सुशील कोइरालाको भनाइले उनलाई प्रभावित बनायो ।

२०७१ माघ १ गते विमानस्थलको शिलान्यास गर्दै स्व.कोइरालाले भाषणमा स्वदेशी उद्यमी व्यवसायीलाइ होटेलमा लगानी गर्न आग्रह गर्दै भनेका थिए– ‘यस क्षेत्रको पर्यटन व्यवसाय फस्टाउन विमानस्थल बनाएर मात्र हुँदैन, स्तरीय ठूला होटेलहरुको खाँचो भएकाले तपाइँहरु लगानी गर्नुस् ।’ कोइरालाको यो भनाइले पवनले अस्पताल निर्माणको कार्य तत्काललाइ स्थगित गरेर होटेल निर्माण गर्न तम्सिए ।

उनले लुम्बिनीमा ३ अर्ब भन्दा धेरै लगानीमा पाँचतारे होटेल ‘पवन प्यालेस’ निर्माण गरेर संचालनमा ल्याएका छन् । यो लगानी उनले बैंकबाट चर्को व्याजमा ऋण लिएका हुन् । यति धेरै लगानी गरे पनि उनले गरेको लगानीको प्रतिफल सन्तोषजनक रुपमा आउन सकेको छैन । तीन वर्षमा सम्पन्न हुनु पर्ने विमानस्थल विभिन्न कारणले आठ बर्ष लाग्यो । दुई बर्ष भन्दा धेरै कोरोना संक्रमणले पर्यटकको आवागमन शुन्य भयो । पर्यटन व्यवसाय सिथिल हुन पुग्यो ।

‘विमानस्थल चाँडो संचालन होला र स्वदेशी–बिदेशी पर्यटकको आवागमनले होटल भरिभराउ होला भन्ने आशाले होटलमा लगानी गरें’, पवनले भने, ‘कोरोनाले पर्यटन व्यवसाय थलिएको बेला र विमानस्थल निर्माणको समय लम्बिँदा पनि सरकारी स्तरबाट व्यवसायीलाई कुनै किसिमको सहयोग भएन ।’ उनको भनाइ अनुसार, यस्तो वेलामा सरकारले व्यवसायीलाई राहतको प्याकेज कार्यक्रम ल्याउनु पर्ने थियो । कोरोना बढी संक्रमण भएको वेला कम्तीमा बैंकको व्याजसम्म मिनाहा र सहुलियतको व्यवस्था सरकारले गर्नु पथ्र्यो ।

‘यति धेरै लगानी गरियो, अवको आशा र भरोसा सवै यही विमानस्थल हो’, पवनले भने, ‘विमानस्थल राम्ररी संचालनका लागि सरकारले विभिन्न राष्ट्रसंग कुटनीतिक पहल गरेर सफल बनाउन सक्नुपर्छ । विमानस्थल राम्ररी संचालन हुन नसके लगानी त डुब्छ नै, व्यवसायी सडकमा आइपुग्छन् ।’

पवनको अवस्था र भनाइले, विमानस्थललाई लक्षित गर्दै लुम्बिनी क्षेत्रमा लगानी गर्ने आम लगानीकर्तालाई प्रतिविम्बित गर्छ । लुम्बिनी क्षेत्रमा पछिल्लो समयमा विमानस्थललाई पछ्याउँदै सवै भन्दा धेरै होटलमा लगानी बढेको छ । लुम्बिनी–भैरहवा क्षेत्रमामात्रै ७ वटा पाँचतारे होटल निर्माण भएका छन् । जसमध्ये पवन प्यालेससहित २ वटा संचालनमा आइसकेका छन् । अन्य संचालनको तयारी नजिक छन् ।

बुटवल, शंकरनगर, मणिग्राम, भलवारी, नवलपरासी, कपिलबस्तुमा पनि होटल निर्माणको कार्य तिब्र गतीमा छ । जता हेर्यो उतै होटल निर्माणका अग्ला संरचना देखिन्छ । १ सय भन्दा धेरै चारतारे होटल निर्माण भएका छन् । साना होटलको निर्माण गनिसाध्य छैन । कसैले नयाँ पुरै संरचना बनाएका छन् । कतिपयले पहिलाको संरचनामा स्तरोन्नती । संगसंगै हाउजिङ व्यवसाय पनि संचालनमा छ । लुम्बिनी क्षेत्रमा हाउजिङको निर्माण र लगानी नयाँ हो ।

आग्र्यानिक तरकारी र फलफुल खेती, व्यवसायिक माछा पालन, पशुपालनका लागि पनि बैंकको ऋण लिँदै भाडामा जमिन लिएर व्यवसाय संचालनमा छन् । विमानस्थलबाट आउनेजाने पर्यटकको आवत जावतका लागि पर्यटकिय बस, ट्याक्सी, रेष्टुरेन्टमा उत्तिकै लगानी छ । मधेश आन्दोलन, नाकाबन्दी, भूकम्प, मुख्य ठेकेदार र सहठेकेदार बिचको अन्तरद्वन्द र पछिल्लो समयमा कोभिडकोे प्रकोपको कारणले डिशेम्बर २०१७ सम्म निर्माण सम्पन्न हुनु पर्ने विमानस्थलको निर्माण ढिलाइ हुन पुग्यो ।

आयोजना सम्पन्न हुने भनिएको समयसम्ममा आयोजनाको भौतिक प्रगती करिव २५ प्रतिशतमामात्रै सिमित थियो । आयोजना धर्मराउन थालेको थियो । निजी लगानी क्षेत्र निराश बन्न पुग्यो । भैरहवाका पर्यटन व्यवसायी तथा सोसाइटी अफ ट्राभल्स एण्ट टुर अपरेटर नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष संजय बजिमय सरकारकातर्फबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र यसका लागि जग्गा अधिग्रहणको मुअब्जा समेतलाई गरेर ३० अर्व रुपैयाँको हाराहारीमा लगानी गरेको भए पनि त्यसको दश गुणा बढि विमानस्थललाई लक्षित गरेर निजी क्षेत्रको लगानी पुगेको बताउँछन् । उनको भनाइमा बिमानस्थललाई लक्षित गरेर पर्यटन, कृषि, यातायात सवैमा गरेर ३ खर्ब भन्दा धेरैको लगानी पुगेको छ ।

‘यो लगानीलाई चलायमान बनाउने सवै भरोसा र आशा भनेकै विमानस्थलको सफल ढंगले संचालन हो’, बजिमयले भने, ‘यस विमानस्थलबाट आशा, विश्वास, सम्भावना र भविष्य पनि छ ।’ कोरोना संक्रमण लगायत विभिन्न कारणले विमानस्थल निर्माणको गती सुस्ताउँदा बिमानस्थलको भविष्य के हुने ? भन्ने चिन्ताले सवै लगानकिर्ता हतोत्साहित हुन पुगेको उनले बताए । ‘कोरोना संक्रमणले अर्थतन्त्र थलिएको वेला बैंकको ब्याजको किस्ता बुझाउनु पर्ने तनावले कैयन् लगानीकर्ता डिप्रेसनमा पुगे । उच्च रक्तचाप र डाइबेटिजको औषधी खान सुरु गरे’, बजिमय भन्छन्, ‘अव फेरि त्यस्तो अवस्था हुन नदिन सरकार सजग हुनुपर्छ ।’

यो विमानस्थलको सफल रुपमा संचालनका लागि सरकारी स्तरबाट आउँदो जेठ २ गतेको दिनमामात्रै दुई–चार वटा चार्टर विमान ल्याएर देखाउने क्रममामात्रै सिमीत नराखेर भारत, चिन लगायत् बिशेषगरि बुद्धिष्ट मुलुकसंग सरकार–सरकार बिच बार्ता गरि योजना र कुटनीतिक पहल गर्नु पर्ने सुझाव उनको छ ।

विमानस्थलको मौसम, जहाजको दिसा पत्ता लगाउने र संचार सम्बन्धि जडान गरिएका सवै उपकरणको जाँचका लागि परीक्षण उडान (क्यालिब्रेशन फ्लाइट) भैसकेको छ । परीक्षण उडान पश्चात् टेष्ट ल्याण्डिङ फ्लाइट आउँदो बैशाख १ गते नेपाल वायु सेवा निगमको विमानबाट गर्ने योजना छ ।

परीक्षण उडान पश्चात नेपाल नागरिक उड्डययन प्राधिकरणले अन्तर्राष्ट्रिय स्तरमा प्रस्ताव आह्वान गर्ने छ र आइकाओसंग समन्वय गरी उडानको लागि स्वीकृति लिने छ । उक्त समय भित्रमा विभिन्न राष्ट्रका विभिन्न एयरलायन्सले सेडयूअल फ्लाइट र चार्टर फ्लाइटका लागि प्रस्ताव पेश गर्ने र उनीहरुको प्रस्तावलाई प्राधिकरण र अन्तर्राष्ट्रिय संम्बद्ध संस्थाहरुले स्वीकृत गरे पश्चात व्यवसायिक उडान गर्न सकिने गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलका महानिर्देशक गोबिन्द दाहालले बताउँछन् ।

नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्राधिकरणले २०७९ जेठ २ गते बुद्ध जयन्तीका दिन अन्तर्राष्ट्रिय व्यवसायिक उडान गर्ने संयुक्त पहल भैरहेको छ । दाहालका अनुसार, संचालनको सुरुमा दैनिक १० वटा र सन् २०३३ सम्म दैनिक ६० वटा अन्तर्राष्ट्रिय उडान भर्ने लक्ष्य छ । ‘बुद्ध जन्मस्थल लुम्बिनीका कारण बौद्धिष्ट लगायत अन्य बिकसित मुलुक र खाडी लगायतका मुलुकमा बैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई लक्षित गरेर विदेशी एयर लाइन्स यहाँ हवाइ उडान संचालन गर्न चाहेको देखिन्छ’, दाहाल भन्छन् ।

यो विमानस्थल संचालनमा आएपछि गुणस्तरीय पर्यटकको आगमन र लुम्बिनीको बसाइँ अवधि लम्बयाउने खालका गतिबिधि संचालन गर्नु पर्ने पर्यटन व्यवसायी बताउँछन् । जसबाट स्थानीय रोजगार, उत्पादन र व्यवसाय बढ्न सकोस् । हालसम्म लुम्बिनी आउने ९० प्रतिशत बिदेशी पर्यटक भारतीय ट्राभल्स एजेन्सीले नै बनाएको प्याकेजमा आउने गर्छन् । गौतम बुद्ध बिमानस्थलबाट सिधै बुद्धिष्ट मुलुकसंग हवाइ उडान सम्बन्ध स्थापित भएपछि भारतीय ट्राभल्स एजेन्सीसंग निर्भर रहनु पर्ने नेपाली पर्यटन व्यवासयाीको बाध्यता हट्ने बिश्वास छ ।

विमानस्थल संचालनमा आएपछि पर्यटन र औद्योगिक क्षेत्रमा यस प्रदेशले अर्को छलाङ लगाउने आशामा व्यवसायी छन् । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा भैरहवाका व्यवसायी राजेशकुमार अग्रवाल बिमानस्थल संचालनमा आएपछि पर्यटकको आवागमन बढ्दै जाने र बसाइँ अवधि पनि लम्बिने भएकाले होटल, बिद्यालय, कलेज, अस्पताल, हाउजिङ जस्ता सेवा मुलक उद्योगमा बृद्धि हुने बिश्वासमा छन् । जसका कारण निर्माणजन्य उद्योग संचालन गर्न प्रोत्साहित गर्ने छ ।

‘बिभिन्न बिदेशी मुलुकसंगको सिधा उडानले नेपाली उत्पादन सिधै निर्यात् गर्न सकिन्छ’, अग्रवाल भन्छन्, ‘नेपालको अग्र्यानिक कृषि उत्पादन, प्रशोधित पानी, प्रशोधित माछा मासु, जडिबुटी यसका लागि प्रचुर सम्भावना भएका नेपाली उत्पादन हुन् ।’ हरियो तरकारी र सागसब्जीदेखि यि सामाग्री दुबइ कुबेत लगायतका खाडी मुलुकमा कन्टेनरबाट पानीजहाजमा पठाउँदा महिनौं लाग्ने भएकाले ति देशसंगको सिधा हवाई उडानबाट निर्यात सहज र सरल हुने उनको भनाइ छ ।