November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

गौतमबुद्ध विमानस्थल : जेठ दुईदेखि व्यवसायिक उडान सुरु होला ?

भैरहवा– पटक–पटक म्याद थप, अवरोधै अवरोध र बन्छ/बन्दैन भन्ने अन्यौलताबीच भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको छ । केही काम बाँकी छ । यान्त्रिक परीक्षण सकिएको छ । प्रारम्भिक रिपोर्टअनुसार विमानस्थलमा जडान गरिएका उपकरण सफल भएका छन् ।

Advertisement

यान्त्रिक परीक्षण सफल पछि आगामी जेठ २ गते बुद्ध जयन्तीका दिनदेखि व्यावसायिक उडान सञ्चालन गर्ने पर्यटन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण र अन्य सरोकारवाला निकायले बताउँदै आएका छन् । यसले लामो समयदेखि विमानस्थल संचालनको पर्खाइमा बसेका पर्यटन व्यवसायीमा उत्साह ल्याएको छ ।

Advertisement

एरो थाईको क्यालिब्रेसन फ्लाइट सकिएसँगै नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा वैशाख १ गतेबाट परीक्षण उडान गर्ने तयारी तीव्र बनाएको छ । वैशाख १ गते नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमार्फत् परीक्षण उडान गरिने राष्ट्रिय गौरवका आयोजनाका उपनिर्देशक एवं विमानस्थलको आईसीवी टुका आयोजना प्रमुख प्रवीण न्यौपानेले बताए । ‘काम तीव्र गतिमा भइरहेको छ, तोकिएको समयमा हामीले परीक्षण उडान गर्छौं’, उनले भने, ‘त्यसपछि व्यवसायिक उडान हुनेछ ।’

विमानस्थलको प्राविधिक जाँच प्रमाणित गर्न एरो थाईले यान्त्रिक परीक्षण उडान (क्वालिब्रेसन फ्लाइट) गरेको हो । विमानस्थलबाट हवाई उडान सञ्चालन गर्न प्राधिकरणले एयरस्पेस, रुट डिजाइन, फ्लाइट प्रोसिड्योर सबै तयारी गरिसकेको र जेठ २ गते अगाडि सबै काम सकिने प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारीले बताउँदै आएका छन् । पर्यटन मन्त्री प्रेमबहादुर आलेले पनि जेठ दुईबाट व्यवसायिक उडान सुरु हुने बताउँदै आएका छन् ।

‘सबैको प्रयास जेठ दुई छ’, विमानस्थल आयोजनाका एक कर्मचारी भन्छन्, ‘यसले गर्दा पनि प्रयासले सार्थकता पाउँछ भन्ने हाम्रो विश्वास हो ।’ कतिपयले भने भित्री केही महत्वपूर्ण काम बाँकी रहेकाले जेठ दुईभित्रै व्यवसायिक उडान सम्भव नभएको बताउँदै आएको छन् । विमानस्थल निर्माण सुरु यता रुपन्देहीका भैरहवा, तिलोत्तमा, बुटवल, लुम्बिनी क्षेत्रमा व्यवसायीले अर्बौ लगानी गरेका छन् ।

विमानस्थल संचालनमा आएपछि पर्यटन क्षेत्र माथि उकासिने विश्वाससाथ व्यवसायीले लगानी गरिरहेका हुन् । विमानस्थललाई लक्षित गरेर सामान्यदेखि तारे होटलसम्ममा लगानी गरिएको छ । तर, लामो समय निर्माणमा भएको ढिलाईले व्यवसायी निरास मात्रै बनेनन्, लगानी डुब्ने चिन्तामा थिए । ‘यान्त्रिक परीक्षण पछि व्यवसायीले ठूलो सास फेरेका छन् भने पनि हुन्छ’, लुम्बिनी होटल संघ नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले भने, ‘अब विमानस्थललाई संचालनमा ल्याउनका लागि यसअघिका जस्तै अनेक बहाना गर्नुहुँदैन ।’

बाहिर आएजस्तै र सरकारी अधिकारी बोलेजस्तै जेठ दुईदेखि नै व्यवसायिक उडान गर्नुपर्नेमा निजी क्षेत्रको जोड छ । पछिल्लो दुई महिनामा जुन गतिमा विमानस्थलको काम तीव्र गतिमा अघि बढ्यो, यस्तै गरी अब काम भएमा जेठ दुई अगाबै पनि व्यवसायिक उडानका लागि विमानस्थल तयार हुने सरकारी दावी छ ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण भएको विमानस्थल सञ्चालनमा आएसँगै आकासमै होल्ड बस्नुपर्ने समस्या समाधान पनि हुनेछ । हवाईमार्गमा आपतकालीन अवस्था आउँदा बन्दोबस्तीका सामग्रीसहितको विमानस्थल पछ्याउँदै काठमाडौं आइरहन पर्ने बाध्यताको अन्त्य हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

नेपालमा आकस्मिक अवतरणका लागि आवश्यक सम्पूर्ण पूर्वाधार व्यवस्थासहितको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्किनुको विकल्प छैन । तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणमा समस्या आउँदा जहाजहरू भारतको लखनउ डाइभर्ट हुनुपर्ने अवस्थाको अन्त्य हुने महानिर्देशक अधिकारीले जानकारी दिए ।

गौतमबुद्व विमानस्थल अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्ड अनुसार विमानस्थलमा उड्ने अधिकतम ठूलो जहाजको क्षमता अनुसार आकस्मिक अवतरणका लागि चाहिने न्यूनतम मापदण्ड बनेको छ । त्रिभुवन विमानस्थलको भन्दा थप प्रतिकूल मौसममा पनि काठमाडौंमा अवतरण हुन नसकेका जहाज अब गौतम बुद्ध विमानस्थलमा सुरक्षित अवतरण हुन सक्नेछन् । यस्तै, उक्त विमानस्थलमा ल्याण्डिङ गियर नखुल्ने, तीव्र गतिमा आएको विमानको घर्षण धान्न नसक्ने, इन्धन ट्यांकमा आएका समस्या, विमानको पंखामा आएका समस्या, आगोजन्य समस्या र प्रतिकुल मौसममा समेत सुरक्षित अवतरण गर्न सकिनेछ ।

विमानस्थलमा उडानका लागि नयाँ रुटको विषयमा भारत सरकार र नेपाल सरकारबीच जीटुजी मार्फत काम भइरहे पनि तत्कालको लागि पुरानै रुट अनुसार विमानस्थलमा हवाई उडान हुने महानिर्देशक अधिकारीको भनाइ छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा दिगो पर्यटन विकास गर्ने लक्ष्य सरकारको छ । विमानस्थलको रन–वे ३ हजार मिटरको छ ।

विमानस्थलमा अन्तर्राष्ट्रिय भवन, एयरपोर्ट अपरेशन, प्रशासनिक भवन, कन्ट्रोल टावर, अग्नि नियन्त्रण तथा भवन मर्मत गरेर जडान गरी अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा स्तरोन्नति गरेर सञ्चालन गर्ने उद्देश्य सरकारको लक्ष्य छ । विमानस्थलमा उडान सुरुवात भएसँगै विश्वका बौद्धधर्मावलम्बीहरू सिधै लुम्बिनीमा आउनसक्ने विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले जनाए ।

विमानस्थल सञ्चालनको लागि आवश्यक जनशक्तिको व्यवस्थापन भइसकेको प्राधिकरणले जनाएको छ । अध्यागमन, भन्सार, क्वारेन्टाइन र सुरक्षा एजेन्सीहरूको सोही अनुसारको दरबन्दीमा जनशक्ति व्यवस्थापन भएको महानिर्देशक अधिकारीले जानकारी दिए ।

विमानस्थल सञ्चालनका लागि नेपालमा अन्तर्राष्ट्रिय सेवा सञ्चालन गर्ने विमान कम्पनीहरूसँग औपचारिक रूपमा छलफल भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा समेत सबैले जानकारी पाउने गरी नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको डाटाहरू प्रकाशन गर्ने तयारीमा सरकार छ । विमानस्थलको डाटा प्रकाशनपछि क्यानले अन्तर्राष्ट्रिय हवाई कम्पनीहरूलाई बोलाएर विमानस्थल तयार भएको र सरकारले दिने सहुलियतको विषयमा जानकारी दिनेछ ।

अधिकारीले अहिलेको अर्थतन्त्र बजार बेसको अर्थतन्त्र भएकाले बजार नभएर जति नै प्रचारप्रसार गरे पनि कोही आउने अवस्था नभएको तर्क गरे । न्यौपानेले हाम्रो बजार राम्रो रहेकाले विमानस्थल राम्रोसँग चल्ने विश्वास व्यक्त गरे । न्यौपानेले विमानस्थल व्यवसायिक ढंगले सञ्चालन गर्दा विमानस्थलको अप्रेशन, मर्मत लगायत समग्र विमानस्थलको सञ्चालन निजी क्षेत्रलाई दिनुपर्ने धारणा आइरहेको बताए । मुलुककै पर्यटन विकासको आधार मानिएको विमानस्थल जेठ दुईमै संचालनमा आए यसले निजी क्षेत्रमा थप हौसला थप्ने छ ।