December 6, 2021, Monday
२० मंसिर २०७८, सोमबार

रासायनिक र प्लाष्टिकजन्य फोहोरले माछाको संख्यामा कमी

भैरहवा- रुपन्देहीका अधिकांश खोला नालामा जथाभावी रासायनिक र प्लाष्टिक जन्य फोहोर मिसाइएको छ । यसले जलाशयहरुमा जलीय जीव र जलचरको संख्या कम भैरहेको छ । वातावरणीय सन्तुलन कायम राख्ने उद्देश्यका साथ विश्व मत्स्य दिवसको अवसरमा माछापालक किसान र माछासँग सम्बन्धित कार्यालयहरुले हरेक वर्ष माछाका भुरा खोलामा छोड्ने गरेका छन् ।

Advertisement

आइतबार जैविक बिविधताको संरक्षण गर्ने ध्येयका साथ तिनाउ खोलामा एक लाख माछा छोडेर विश्व मत्स्य दिवस मनाइएको छ । लुम्बिनी प्रदेशका कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्री सुमन शर्मा रायमाझीले माछाका भुरा तिनाउ खोलामा छोडेर कार्यक्रमको शुभारम्भ गरेकी थिइन् । बाढी, पहिरो र अत्याधिक दोहनले खोलामा पानीको स्रोत घटिरहेको छ । यसले जलचर र जलीय जीवको संंख्यामा क्रमिक रुपमा असर गरिरहेको छ ।

त्यसैमा बजार र कलकारखानाबाट निस्किने रासायनिक र प्लाष्टिकजन्य फोहोर सिधै खोलामा मिसाइएको छ । यसले जलीय जीव र जलचरको जीवन चक्रमा समस्या निम्त्याएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका प्रमुख डा. प्रवेज आलमले बताए । ‘माछाको आहार बनाउन र उसलाई हुर्किन रासायनिक फोहोरले असर गरेको छ’, उनले भने ।

पानीमा हुने प्राङ्गारिक पदार्थले फोहोर बढाउँछ । ती फोहोर माछा तथा अन्य जलचरले खाएर पानीमा शुद्धता कायम राख्छन् । पानीमा जीवजन्तुको कमी भए त्यो असर गुणस्तरमा आउँछ । माछा प्रशस्त भएको पानी मलिलो हुने हुँदा सिचाँईका लागि उपयुक्त मानिने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, रुपन्देहीका प्रमुख दीपक भुसालले बताए ।

जलीय जीव र जलचरको संरक्षण गर्दा पानीको मुहानको संरक्षण प्रमुख विषय हो । बजारबाट आउने ढलको फोहोर र दुषित पानीको उपचार नगरी सिधै खोलामा मिसाउनु हुँदैन । तर, यहाँका उद्योग, कलकारखानाबाट निस्किने रासायनिक फोहोरलाई रोक्न वाटर ट्रिटमेन्ट प्लान्ट जडान नगरिकनै खोलामा मिसाइएको छ । वातावरणलाई असर गर्ने कुनै पनि क्रियाकलाप गर्न ऐनले लगाएको रोक कार्यान्वयन हुन नसकेको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका पशुपन्छी विकास महाशाखा प्रमुख तुल्सीराम भण्डारीले बताए ।

अब प्रदेश सरकारले अन्य मन्त्रालयहरुको सहकार्यमा चाँडै वातावरण सम्बन्धि कार्यविधि बनाएर खोला दूषित हुनबाट रोक्ने बताए । वातावरणीय सन्तुलन कायम राख्न जैविक बिविधताको संरक्षण र त्यसको सदुपयोग अपरिहार्य हुन्छ । त्यसैले सबै प्राणी र वनस्पतिको वातावरणलाई सन्तुलनमा राख्न आआफ्नो भूमिका हुन्छ ।

खोला नालामा जथाभावी रासायनिक फोहोर मिसाउँदा त्यसको असर सबै मानव प्राणीले समेत व्यहोर्नूपर्ने मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रवद्र्धन स्रोत केन्द्रका प्रमुख महेश चन्द गुप्तले बताए । रुपन्देहीमा माछा मारेर जीविका चलाउने हजारौँ परिवार छन् । माछाको संख्या कम हुँदै गएकाले खोलामा पाइने जलचरबाट आश्रित समुदायको आम्दानीको स्रोत गुमेको छ ।

उनीहरुको सहजताका लागि पनि हरेक वर्ष खोलाहरुमा माछाका भुरा छोड्ने गरेको मत्स्य व्यवसायी संघ रुपन्देहीका अध्यक्ष दिवाकर भुसालले बताए । जैविक बिविधताको संरक्षण गर्न मानव प्राणी बढी सचेत हुन आवश्यक छ । नत्र जीव, बनस्पती सबैको जीव चक्रमा गम्भीर समस्या उत्पन्न हुने विज्ञहरु बताउँछन् ।