March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

मादल बनाउने पेशाकर्मी विस्थापित हुँदै

दाङ – लमही नगरपालिका– ४ अर्नहवा निवासी लालबहादुर कुमाललाई कुनै समय मादल बनाउन थाल्दा फुर्सद निकाल्न मुस्किल पर्थ्याे। चार/पाँच घरमा मादल बनाउने काम चल्थ्यो। बिहानदेखि साँझसम्म मादलको आवाजले गाउँ गुञ्जायमान हुन्थ्यो। तर अचेल गाउँमा मादल बनाउने घर घटेका छन्। मादल बनाउन आउनेको संख्या पनि घट्दै गएपछि मादल बनाएर गुजारा चलाउनेहरु अन्य पेशामा आवद्ध भएका छन्। मादल बनाउने पेशाकर्मीहरु विस्थापित हुने क्रम बढ्दो छ।

Advertisement

डेकमा गीत बजाएर नाचगान तथा भैलो खेल्न थालेपछि मादलको संस्कृति हराउँदै जान थालेको लालबहादुर कुमालले बताए। ‘डेकमा नाच्न थाले। मादल खोज्दैनन्’, उनले भने, ‘पहिले मादल बनाउन भीड लाग्थ्यो। बनाउन भ्याई नभ्याई हुन्थ्यो। अहिले त फुर्सदै छ।’

Advertisement

मादल बनाएर जीविकोपार्जन गर्ने दाङका कुमाल समुदायको पेशा संकटमा परेको छ। तीजदेखि तिहारसम्म मादल बनाउनेहरुको भीड लाग्ने कुमाल गाउँमा अचेल तिहार नजिकिए पनि मादल बनाउन आउनेहरुको संख्या औंलामा गन्ने पनि छैन। भैलो खेल्न मादलको सट्टा डेकको प्रयोग गर्न थालेपछि मादलको आवाज गाउँघरमा विस्तारै सुनिन छाडेको छ।

चार्डपर्वको सिजनमा मादल बनाउन गाउँ आउनेहरु धेरै हुन्थे। चार्डपर्व भित्रिएको महसुस सबैले गर्न पाउथे। तर अहिले गाउँमा सुनसान छ। मुस्किलले १०/१२ वटा मादल बनाउन मानिस आएका छन्। पाँच वर्षदेखि मादल बनाउन आउनेहरुको संख्यामा कमी आएको स्थानीय हरिकुमार श्रेष्ठले बताए।

‘बिहानदेखि साँझसम्म मादलको आवाज सुनिन्थ्यो। चाडपर्व आएको महसुस हुन्थ्यो। अहिले त फिक्का लाग्छ’, उनले भने, ‘बनाउन ल्याएको मादलले घरको कोठा भरिन्थ्यो। तर अहिले त्यस्तो छैन।’

मादल नेपालको एक प्रसिद्व ताल बाजा हो। यो नेपाली समाजको मुख्य बाजा हो। नेपाली समाजको सबै सांस्कृतिक कार्यहरूमा यसको प्रयोग हुन्छ। खमारीको काठबाट मादल बनाइन्छ। काठमा ढुंग्रो पारेर दुवैपट्टि छालाले मोरेर खरी लगाइएको हुन्छ। खरी बनाउँदा काँस र किटको धूलो मिसाइन्छ। यसको एकापट्टि केही सानो, अर्कापट्टि अलिक ठूलो पारेर बनाइएको हुन्छ।

तर पछिल्लो समय मादल बनाउन चाहिने खमारीको काठ, बर्ताको लागि गाई/गोरुको छाला पाउन मुस्किल पर्ने गरेको केन्द्रबहादुर कुमालले समस्या सुनाए। ‘गाई, गोरु पाल्न छाडे। ताना पाउन मुस्किल पर्‍यो। मादल बनाउन चाहिने सामान पाइँदैन’, कुमालले भने, ‘मादल संस्कृति जोगाउनु पर्नेछ।’

चाडपर्वमा डेकमा गीत बजाएर नाच्ने संस्कृतिले गर्दा लोकबाजाहरुको प्रयोगमा असर परेको छ। जसले गर्दा हाम्रो मौलिक कला–संस्कृति लोप हुने अवस्थामा पुगेका छन्। मादल जस्तै अन्य बाजाको संरक्षण, प्रवर्द्धन र विकासमा ध्यान दिन आवश्यक छ। -देश संचारबाट