April 23, 2025, Wednesday
२०८२ बैशाख १०

मापदण्ड पालना गर्दैनन् मासु पसल (भिडियो रिपोर्ट)

भैरहवा– रुपन्देही जिल्लामा करिब २५ सय मासु पसल छन् । जसमा १३ सय बढी मासु पसल करको दायरामा आएका छैनन् । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले गरेको अनुगमनमा अधिकांश पसल बिना दर्ता सञ्चालन भएको पाइएको हो ।

रोगी तथा बिरामी पशुपन्छी वध गरेको, वध स्थल र मासु पसलको स्वच्छता कायम नभएको, खुला रुपमा मासु राखि बिक्रीवितरण गरेको, व्यवसायको हरहिसाब नराखेको लगायत न्यूनतम मापदण्ड समेत पालना नभएको पाइएको छ । अवैधानिक तरिकाले सञ्चालन भएका मासु पसलका सञ्चालक र कामदारलाई सचेत गराएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, रुपन्देहीका प्रमुख उत्तम आचार्यले बताए ।

Advertisement

मासु पसल सञ्चालनको अनुमति तथा नियमन स्थानीय तहको जिम्मेवारी हो । तर, जिल्लाका १६ वटै स्थानीय तहले बेवास्ता गरिरहेका छन् । जसले गर्दा अस्वास्थकर मासु बजारमा बिक्री भैरहेको छ । बुटवल र भैरहवाका मुख्य चोकहरुमा रहेका मासु पसल बाहेक भित्री गल्लीहरुमा रहेका पसलहरु करको दायरामा आउन सकेका छैनन् ।

रोहिणी, मायादेवी, मर्चवार र लुम्बिनी क्षेत्रमा खुला ठाउँमा मासु राखेर बिक्री हुने गरेको छ । सञ्चालक तथा कामदारले स्वच्छ मासु उत्पादन सम्बन्धी तालिम गरेर मात्रै व्यवसाय खोल्न पाइन्छ । तर, अधिकांशले तालिम नलिएको आचार्यले बताए ।

आफ्नो क्षेत्र भित्र सञ्चालन भैरहेको व्यवसायलाई करको दायरामा ल्याउनु स्थानीय सरकारको दायित्व हो । तर, करको दायरामा ल्याउन स्थानीय तहले केही पहल गरेको छैनन् । जसबाट सरकारले राजश्व गुमाइरहेको छ । तथ्यांक अनुसार जिल्लामा पशुपन्छी तथा माछाको मासु दैनिक करिव १५ टन खपत हुने गरेको छ । जसमा कुखुरा नौ टन, खसीबोको तीन, भैसी, माछा र अन्य गरि तीन टन रहेको विज्ञ केन्द्रको तथ्यांक छ ।

त्यसो त भारतबाट अवैध तरिकाले पशुपन्छी आइरहने व्यवसायीहरुको आरोप छ । सीमा क्षेत्रमा भरपर्दो सुरक्षा व्यवस्था नहुँदा भारतबाट खसीबाख्रा, कुखुरा तस्करी हुने गरेको उनीहरुको भनाई छ । विज्ञ केन्द्रले चाडपर्वलाई लक्षित गरि रुपन्देही र नवलपरासी पश्चिमका मासु पसल, दुध डेरी र एग्रोभेटहरुमा अनुगमन गरेको थियो ।