April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

लुम्बिनीमा नक्कली गरिबले बेचे सक्कलीको जग्गा

लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १० मधुवनी स्थायी घर भएका ७० वर्षीय गरिब कोहार आफ्नो जग्गा धितो राखेर ऋणका लागि वडा कार्यालयमा सिफारिस लिन पुगे। ऋण निकाल्न चार किल्ला सिफारिस लिन पुगेका कोहारले वडाबाट सिफारिस पाएनन्। वडा अध्यक्ष रमजान अलि मियाँले आफूलाई सिफारिस दिन नमानेको कोहार सुनाउँछन्।

Advertisement

सिफारिस नपाएपछि निरास भएर वडा कार्यालयबाट फर्किए। आफ्नै जग्गाको सिफारिस लिन खोज्दा वडाले किन दिएन ? उनको मनमा कौतुहल्ता जाग्यो। कुरा बुझ्दै गए। छिमेकी र जानेबुझेकासित उनले आफ्नो पीडा पोखे। रहस्य बुझ्दै जाँदा कोहारले थाहा पाए आफ्नो जग्गा नक्कली नागरिकता बनाएर बिक्री भइसकेछ। खबर सुन्दा कोहार ‘छाँगाबाट खसेजस्तो’ भए। 

Advertisement

लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १० महिलवार बजारदेखि १ किलोमिटर दक्षिणतर्फ उनको १० कठ्ठा १६ धुर जग्गा छ। कित्ता नम्वर ४८८ मा ९ कठ्ठा १ धुर र कित्ता नम्बर ५०७ मा १ कठ्ठा १६ धुर जग्गा कोहारको नाममा छ। हाल उक्त क्षेत्रमा प्रति कठ्ठा ३० लाख रुपैयाँमा जग्गा बिक्री भइरहेको स्थानीय बताउँछन्।

नक्कली गरिब कोहारले योजनाबद्ध रुपमा उक्त जग्गा बिक्री गरेको पाइएको छ। वडा कार्यालयले नक्कली गरिबलाई २०७७ माघ २५ गते जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि दिनु भनि मालपोत कार्यालय सिद्धार्थनगर रुपन्देहीलाई फोटो टाँसेर सिफारिस दिएको छ। २०७७ फागुन १८ गते वडा कार्यालयले चारकिल्ला र नागरिकता प्रतिलिपी सिफारिस दिएको छ। प्रतिलिपी निकालेर उक्त जग्गा नक्कली गरिबले २०७७ फागुन १८ गते मदनपोखरा ४ पाल्पा निवासी सन्दिप कार्कीलाई बिक्री गरेका छन्। सन्दिपले १९ लाख ६७ हजार रुपैयाँ मालपोत कार्यालयमा थैली राखेर जग्गा खरिद गरेका छन्।

सोही जग्गा सन्दिप कार्कीले दुई महिना नबित्दै २०७८ वैशाख १२ गते यशोधरा गाउँपालिका ८ कपिलवस्तु निबासी गोविन्दप्रसाद मल्लाहलाई १ करोड ९५ लाख रुपैयाँको थैली राखेर बिक्री गरेका छन्। गोविन्दले ऋण निकाल्नका लागि जग्गा बैंकमा धितो राख्ने उद्देश्यले थैली धेरै राखेको बुझिएको छ। २०७८ साउन १२ गते गोविन्दले जग्गा धितो राखी १ करोड ५० लाख रुपैयाँ ग्लोबल आइएमई बैंक तौलिहवा शाखाबाट ऋण लिएका छन्। तर, नक्कली नागरिकता बनाउने गरिब कोहार को हुन् ? अझै पत्तो लागेको छैन। उनको फोटो वडाले दिएको सिफारिस र नागरिकतामा देखिएपनि स्थानीयबासीले समेत उनको पहिचान गर्न सकेका छैनन्। 

किर्ते गर्ने व्यक्तिको पहिचान र सिफारिस दिने वडा अध्यक्षको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए। ‘अनुसन्धान चलिरहेको छ’, उनले भने, ‘किटानी जाहेर भएका व्यक्तिहरुलाई सम्पर्कमा ल्याउने प्रयास गरिरहेका छौँ।’ 

आफ्नो जग्गा अर्कैले नागरिकता नक्कली बनाएर बिक्री गरी बैंकबाट ऋण लिदासमेत बेखबर बनेका कोहारले आवश्यक छानबिन गरी दोषीलाई कारवाहीको माग गर्दै मालपोत कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी सहित उजुरी दिएका छन्।

उनको जोहरीमा आफ्नो जग्गा बिक्री गर्ने मुख्य योजनाकार वडा अध्यक्ष रमजान अलि मियाँलाई दोषी लगाइएको छ। कोहारको ससुराली  नेपाल भारत सिमानाका कालीदहदेखि १० किलोमिटर कोहरपुरवामा पर्छ। उनी विगत १५ वर्षदेखि ससुराली र घर आउनेजाने गर्छन्। नियमित घरमा नबसेको देखेपछि जग्गा खरिद बिक्री गर्न वडा अध्यक्षले चलखेल गरेको कोहारको आरोप छ। 

‘मेरो जग्गा बेचिदिने वडा अध्यक्ष रामजान अलि मियाँ हो’, कोहारले भने, ‘मलाई सिफारिस दिएन, बुझ्दै गएपछि थाहा भयो जग्गा बिक्री भइसकेको रहेछ। उसलाई कारबाही हुनुपर्छ।’ 

पीडित कोहारले भदौ २० गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा किर्तेमा संलग्न भएको भन्दै सात जना विरुद्ध किटानी सहित जाहेरी गरेका छन्। वडा अध्यक्ष रमजान अलि मियाँ, तानसेन नगरपालिका वडा नम्वर ८ साविक मदनपाखेरा ४ निवासी ३१ वर्षीय सन्दिप कार्की, सियारी गाउँपालिका १ सोनारत निवासी ६० वर्षीय भागवत प्रसाद उपाध्याय, विहादी गाउँपालिका ५ पर्वत निवासी २७ वर्षीय सुरज आचार्य, सियारी गाउँपालिका १ रुपन्देही निवासी २५ वर्षीय राजन तिवारी, सिद्धार्थनगर नगरपालिका १२ निवासी मालपोत कार्यालयमा कार्यरत ४५ वर्षीय डण्डपानी न्यौपाने र यशोधरा गाउँपालिका ८ कपिलवस्तु निवासी ४० वर्षीय गोविन्द प्रसाद मल्लाहका नाममा किटानी जाहेरी दिइएको छ।

प्रहरीले  लेखापढी व्यवसायी भागवतप्रसाद उपाध्याय र जग्गा खरिद गर्ने गोविन्दप्रसाद मल्लाहलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ। उपाध्याय लेखापढी व्यवसायी भैरहवा इकाइ समितिका अध्यक्ष समेत हुन्। किर्ते गर्नेमा सबैभन्दा मुख्य योजनाकारको रुपमा वडा अध्यक्षकै संलग्नता रहेको स्थानीयले आरोप लगाएका छन्। ‘वडा अध्यक्षले आफ्ना नागरिक को सक्कली, को नक्कली भन्ने पनि नचिन्ने हुन्छ ?’, स्थानीय एवं लुम्बिनी होटल एशोसियसनका सदस्य घनश्याम गुप्ताले भने, ‘यसमा सबै चलखेल वडा अध्यक्षको हो। प्रहरी प्रशासनले निष्पक्ष छानबिन गरेर कारबाही गर्नुपर्छ।’ उनी गरिब कोहारका सँधियार समेत हुन्। वडाले चारकिल्ला सिफारिस दिँदा उनको नाम र कित्ता नम्बर समेत राखेको छैन। 

वडा अध्यक्ष मियाँ दुई दिनदेखि सम्पर्क विहिन रहेको स्थानीयले बताए। किटानी सहित जाहेरी दिँदा समेत प्रहरीले वडा अध्यक्षलाई प्रक्राउ गर्न आनाकानी गरेको पीडितको आरोप छ। वडा अध्यक्ष मियाँ नेपाली कांग्रेसको वडा सभापतिमा भर्खरै निर्वाचित भएका छन्।

बिहीबार कार्यालय समयभित्र वडा कार्यालयमा पुग्दा वडा अध्यक्ष कार्यालयमा थिएनन्। कार्यालयमा ताल्चा लागेको थियो। वडा सचिव महाशर्माले वडा अध्यक्ष आफूहरुको सम्पर्कमा नभएको जानकारी गराए। ‘कहाँ हुनुहुन्छ मलाई कुनै खबर छैन्’, उनले भने, ‘वडाबाट सिफारिसका कामहरु भएका छैनन्, भोलि नगरपालिकामा गएर समस्या राख्छु।’

मालपोत कार्यालय भैरहवाका मालपोत अधिकृत नारायण घर्तीले कानुन अनुसार कागजात पुरा गरेपछि जग्गा पास र रोक्का गरिएको प्रतिक्रिया दिए। ‘प्रतिलिपी निकालिएको नागरिकतामा कुनै पनि विवरण गलत देखिदैनन’, घर्तीले भने, ‘कार्यालयले शंका गर्ने र काम नगरिदिने ठाउँ नै भेटिदैन। पछि किर्ते गरेको भन्ने थाहा पाएपछि चकित परेका छौँ।’ 

उनले नागरिकता नक्कली र सक्कली थाहा पाउने प्रविधि कार्यालयमा नहुँदा समस्या भएको गुनासो गरे। सक्कली गरिब कोहार ७० वर्षका भए। तर, नक्कली गरिब कोहारको वडाले दिएको सिफारिसको फोटोमा अन्दाजी ३४÷३५ वर्षको देखिन्छन्। 

जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट अर्कै फोटो टाँसेर गरिब कोहारकै नाममा प्रथम प्रतिलिपी नागरिकता जारी भएको छ। उक्त नागरिकतामा प्रशासकीय अधिकृत तोयनारायण अर्यालको हस्ताक्षर छ। तर, प्रशासनमा भने नागरिकताको प्रतिलिपी लिइएको विवरण नभएको बताइएको छ। यो समाचार आजको अन्नपूर्ण दैनिकमा केशरराज क्षेत्रीले लेखेका छन् ।