तस्करी रोक्ने प्रतिबद्धता लाइन मिलेपछि ‘स्वाह’


परासी, भैरहवा र कपिलवस्तु– जिल्लामा आउने प्रशासन र सुरक्षा प्रमुखले तस्करी नियन्त्रण गर्ने प्रतिवद्धता व्यक्त गर्छन् । आउनासाथ सञ्चारकर्मी, व्यापारी, उद्योगी, दलका नेता–कार्यकर्तासित भलाखुसारी गर्छन् । त्यस्तो भेटमा तस्करी नियन्त्रण गर्ने मूल दाबी गर्छन् । बसाइ“ लम्बिने क्रममा प्रशासन र सुरक्षा प्रमुख प्रतिवद्धताबाट चिप्लिने गरेको पाइन्छ । उनीहरुको प्रतिवद्धताविपरीत सिमावर्ती जिल्लामा तस्करी भइरहन्छ । उनीहरुले गर्ने सुरुवाती कडाइ देखावटीमा सिमिति हुने गरेको पाइन्छ ।
सिमावर्ती बासिन्दा यस क्षेत्रका व्यावसायी भने ‘तस्करीको लाइन’ नमिल्दासम्म कडा प्रतिवद्धता सुनिन्छन् । जब लाइन मिल्छ, त्यसपछि प्रशासन लगायत सरोकारवाला ‘तै चुप, मै चुप’ हुन्छन् । करिब दुई महिना अघि सरुवा भएर पश्चिम नवलपरासीमा आएका प्रहरी उपरीक्षक मनोजकुमार यादवले जिल्लाको सीमा क्षेत्रबाट हुने तस्करी नियन्त्रण गर्ने उचो स्वरमा बताए ।
‘तस्कर’ पक्राउ गरेर ठेगान लगाउने प्रतिवद्धता जनाए । त्यस अनुरुप मातहतका युनिट परिचालन गरे । जिल्लामा हलचल भयो । यस्तो सक्रियताले केही समय यस्तो कारोबारमा संलग्न निरुत्साहित बनेको देखियो । प्रशासन तातेपछि तस्करीमा संलग्न लाइन मिलाउन सक्रिय भए । उनीहरु पनि के कम ? कडाईबारे गुनासो गर्न शक्ति केन्द्र धाउन थाले । तालमेल मिलाउन दबाब दिन थाले । तस्करी नियन्त्रणमा सक्रिय प्रहरीले दुःख दिएको आरोप लगाउन थाले ।
पछिल्लो समय पश्चिम नवलपरासी हरियो केराउ तस्करीको केन्द्र बनेको छ । लामो समयदेखि केराउ तस्करी भइरहेको छ । प्रहरीले अरु समानभन्दा धेरै केराउ बरामद गरेको सार्वजनिक गर्दै आएको छ । पहिले पूर्वी तराईका जिल्लाबाट केराउ तस्करी हुने गरेको थियो । केही वर्षदेखि तस्करीले पश्चिम नवलपरासी रोजेको देखिन्छ ।
साउन पहिलो साता पश्चिम नवलपरासी प्रहरीले २२ लाख रुपैयाँ बराबरको भारत लैजान तयारी अवस्थामा हरियो केराउ सीमाबाट बरामद गर्याे । ६ वटा पिकअप भ्यानमा राखेर लैजाँदै गरेको अवस्थामा बरामद भएको १ सय ८० क्विण्टल केराउ प्रहरीले महेशपुर भन्सार कार्यालयमा बुझायो ।
एक सातापछि प्रहरीले १ करोड रुपैयाँ बराबरको केराउ बरामद गर्याे । ३ वटा ट्रक र ७ वटा पिकअप भ्यानबाट लोड गरेर लैजाँदै गरेको अवस्थामा प्रहरीले बर्दघाट, बेलाटारी र परासी क्षेत्रबाट उक्त केराउन बरामद गरेको हो । अनलाइन बिलभरपाई रहेको भन्दै प्रहरीले बरामद गरेको मटर र गाडी एक सातासम्म प्रहरी कार्यालयमा राखेर कानुनी कठिनाई रहेको भन्दै भन्सार नपठाएर छाडिदियो ।

बिल भरपाई दुरुस्त राखेर सीमावर्ती गोदामसम्म लैजानका लागि ल्याइएका केराउ बरामद गर्न कानुनी समस्या भएको प्रहरीले जनाउँदै आएको छ । बिल भर्पाइको आडमा तस्करले कानुनी अड्चनको फाइदा उठाउँदै सामान भारत पुर्याउने गरेका छन् । जसले गर्दा लाखौं रुपैयाँ राजश्व घाटा हुँदै आएको छ ।
एक साता अवधिमा जिल्लाबाट पठाइएको १ हजार ३ सय क्विण्टल केराउ सिमावर्ती भारतीय ठूठीबारी कस्टमले बरामद गरेको छ । यसले नोपलबाट अवैधरुपमा केराउ भारततर्फ निकासी भइरहेको तथ्य पुष्टि गरेको छ । जिल्लाका प्रतिनिधि सभा सदस्य देबेन्द्रराज कँडेल र पूर्वमन्त्री हृदयेश त्रिपाठीले सार्वजनिक रुपमा नै जिल्लामा तस्करी बढेको बताउँदै तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।
आवश्यक्ता भन्दा बढी आयात गर्ने र नेपालको चलनचल्तिको मूल्य भन्दा पचास प्रतिशतसम्म बढीमा भारततर्फ केराउ तस्करी हुने गरेको छ । क्यानडा तथा अन्य तेस्रो मुलुक हुँदै नेपाल भित्रिने केराउ मध्य पचास प्रतिशत भन्दा बढी भारत निकासी हुने गरेको छ । जिल्लामा बजारमा अहिले हरियो केराउ ८० देखी ९० रुपैयाँ प्रतिकिलोमा उपलब्ध छ । भारतमा यही मटरको मूल्य भारतीय एक सय रुपैयाँसम्ममा बिक्री हुने हुनाले यस्को तस्करी बढेको हो । सुरक्षा निकायले लाइन नमिल्दासम्म समान समात्ने र लाइन मिलेपछि लाभ लिएर सामान छाड्ने गरेका छन् ।
भारतसँग सीमा जोडिएका रुपन्देहीका सबैजसो नाकाबाट तस्करी हुने गरेको छ । अहिले सबैभन्दा बढी तस्करी हुने नाका सेमलपानी, मर्चवार, कर्महवा, दुर्गौलिया, मेउडिहवा, बुचीबर्मा, लुम्बिनी हुन् । यहाँबाट मोबाइल, कपडा र हार्डवेयर बढी मात्रामा तस्करी हुने गरेको छ । यी नाकाबाट मोटरसमेत तस्करी हुने गरेको छ । यस्तै, बेलहिया, बोगटी, करौता, कक्रहवा, भगवानपुर, कालिदहबाट पनि तस्करी हुने गरेको छ ।
रुपन्देहीका सबैजसो नाकाबाट तस्करी हुन्छ । तस्करी गर्नेमध्ये रहमोद मुसलमान, समीर मुसलमान, खली यादव सबैभन्दा ठूला तस्कर हुन् । उनीहरुले कपडा, मोटरपार्ट्स, हार्डवेयर तस्करी गर्छन् । यस्तै छोटु, महावीर, अफरोज खाँन, प्रेम, शैलेश, लल्लु, हैदर अली, शैलेन्द्र, वीरेन्द्र, मोविन, मास्टर, सुवास, अमरजित, अब्दुल, सीताराम, प्रकाश नामका तस्करहरुले प्रहरीसँगको सेटिङमा तस्करी गर्दै आएका छन् ।

रुपन्देहीमा भारतबाट नेपालतर्फ सबैभन्दा बढी तस्करी हुने भनेको कपडा र मोबाइल, हार्डवेयर, सूर्ति हो । यस्तै, मोटर पार्टस्, ब्याट्री, काजु किसमिस, चिनी, किराना समान लगायत तस्करी हुन्छ । नेपालबाट भारततर्फ मरिच, छोडा, केराउ, कवाड तस्करी हुँदै आएको छ । सीमा क्षेत्रमा तस्करहरुले गोदाम बनाएका छन् । नेपाली भित्रिने तस्करीको सामान भैरहवा, बुटवलका बजारमा मात्रै होइन, पोखरा, काठमाडौंसम्म पुग्ने गरेको छ ।
कपिलवस्तुको कृष्णनगर, कुकुरभुक्वा, गणेशपुर सीमा क्षेत्र हुँदै नेपालतर्फ तस्करी हुँदै आएको छ । यी नाकाबाट केराउ, मोबाइल, खसीबोका, किराना सामान, काजुकिसमस तस्करी हुँदै आएको छ । प्रहरीसँगको मिलेमतोका तस्करले रातदिन अवैध सामान नेपाल भित्र्याउँछन् । रुपन्देही प्रहरीले हिजो मात्रै करिब १० लाखको तस्करीको सामान बरामद गरेको थियो । केही दिन अघि सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट राजस्वका नक्कली स्टीकर बरामद गरेको थियो । एक स्थानीय भन्छन्, ‘सुरुमा जिल्लामा आउने प्रहरीका अधिकारीहरु तस्करी रोक्ने भन्छन् तर लाइन मिल्यो भने तस्करी गराउँछन् ।’ अवैध बाटोबाट तस्करीको सामान भित्रिँदा राज्यले लाखौं रुपैयाँ राजश्व गुमाएको छ ।








प्रतिकृया दिनुहोस्