September 17, 2021, Friday
१ आश्विन २०७८, शुक्रबार

पदाधिकारीलाई शक्तिकेन्द्र धाउन ठिक्क, भेटी संरक्षणमा बेवास्ता

लुम्बिनी – हरेक सरकार परिवर्तनमा प्रधानमन्त्री, विभागीय मन्त्रीको चाकडी चल्छ । चाकडीकै लागि लुम्बिनी विकास कोषका पदाधिकारी हप्ता र महिनैपिच्छे काठमाडौं धाउँछन् । कयौंपल्ट आफूअनुकुलको निर्णय गराउँछन् । यसरी काठमाडौं धाउने पदाधिकारी हप्तौंसम्म उतै बस्छन् । लुम्बिनीको गतिविधिलाई बेवास्ता गर्छन्, यहाँबाट हुने महत्वपूर्ण काममा ढिलाई गर्छन् ।

विभागीय मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई प्रभावमा पारेर आफू अनुकुलका निर्णय गराउन पाउने भएपछि कोषका पदाधिकारी सधैजसो काठमाडौं धाउने गरेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढल्यो, काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भए । देउवा प्रधानमन्त्री भएको पर्सीपल्टै लुम्बिनी विकास कोषका पदाधिकारी काठमाडौं पुगे । प्रधानमन्त्रीलाई बधाई दिए, करिब दुईहप्ता काठमाडौंमै बसे ।

देउवा प्रधानमन्त्री भएपछि विभागीय मन्त्री नियुक्त हुने आशमा केही समय काठमाडौंमा बसेका कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी, सदस्य सचिव सानुराजा शाक्य, कोषाध्यक्ष शुरेन्द्रमुनि शाक्य, योजना प्रमुख सरोज भट्टराई लामो समयपछि लुम्बिनी फर्किए । लुम्बिनी आएको केही समयमा फेरि उनीहरु काठमाडौं गए ।

विभागीय मन्त्री नियुक्त नभएपछि पर्यटन मन्त्रालयसमेत सम्हाल्दै आएका प्रधानमन्त्री देउवालाई प्रभावमा पारेर एउटा निर्णय गराएको स्रोत बताउँछ । कोष स्रोत भन्छ, ‘पदाधिकारीले प्रधानमन्त्रीलाई प्रभावमा पारेर एक भारतीयलाई लुम्बिनीमा प्लट दिने निर्णय गराएका छन् ।’

शक्तिकेन्द्र धाउनमै व्यस्त कोषका पदाधिकारीले मायादेवी मन्दिरभित्र गौतम बुद्ध जन्मस्थलमा राखिएको शीलापत्र वरिपरि विभिन्न मुलुकका मुद्रा असरल्ल भएको देख्दैनन् । केही मुद्रा इँटाको पुरातात्विक भग्नावशेषमाथि कपडामा सुकाइएको छ । केही भुइँमै छरप्रस्ट छन् । यो हप्ता दिन अघिको अवस्था हो ।

मन्दिरमा आउने श्रद्धालुले दान गरेको भेटीको यस्तो अवस्था देखेर जोकोहीको चित्त दुख्ने गरेको छ । यसबारे आलोचना भएपछि असरल्ल भेटी गोप्य ठाउँमा राखिएको छ । यहाँ फालिएका मुद्रा पानीले ओसिएर कुहिएका छन् । मक्किएका छन् । वर्षांैदेखि भेटीको यस्तो अवस्था भए पनि लुम्बिनी विकास कोषले संरक्षणका लागि चासो दिएको छैन । लुम्बिनीमा भेटीवापत जम्मा भएको विभिन्न मुलुकको करोडौं रुपैयाँ छ ।

‘दान स्वरूप चढाइएका रुपैयाँ संकलन गरेर व्यवस्थापन गर्ने अधिकार हामीलाई छैन,’ मायादेवी मन्दिरभित्र सुरक्षार्थ खटिएका एक सुरक्षाकर्मीले भने, ‘भेटी व्यवस्थापनका लागि कोषको लेखा शाखाका कर्मचारी आउनु पर्छ । सबैको रोहबरमा मात्रै अन्यत्र लैजान मिल्छ ।’ वर्षाका कारण भुइँमा पानी जमेकाले मुद्रा कुहिन नदिन आपूmहरूले इँटामाथि कपडामा भिजेका केही रुपैयाँ सुकाएको ती सुरक्षाकर्मीले बताए ।

भेटी व्यवस्थापन गर्न कोषसँग कर्मचारीको कमी भने छैन । विभिन्न कालखण्डमा कोषको अध्यक्ष बनेका विभागीय मन्त्रीदेखि कोषका पदाधिकारीले आफ्ना नजिकका र अनुकूलका व्यक्तिलाई जागिर खुवाउन कोषलाई ‘भर्तीकेन्द्र’ का रूपमा उपयोग गर्दै आएका छन् । कुन कर्मचारीले कहाँ र के काम गर्दै छ ? स्वयम् कोषलाई पनि जानकारी हुँदैन । कर्मचारी सबैको अनुगमन गरेर उनीहरूको प्रभावकारी रूपमा परिचालन गर्नेतर्फ कोषका पदाधिकारीको ध्यान जान सकेको छैन ।

अधिकांश कर्मचारी आपूmअनुकूल र मनमौजी ढंगले काममा लाग्छन् भने पदाधिकारी लुम्बिनीभन्दा विभिन्न शक्ति केन्द्र रिझाउन राजधानी धाउने परिपाटी विकास हुँदै जान थालेको छ । पदाधिकारीकै स्वार्थका कारण हरेकजसो ठेक्कमा कोष विवादित बन्छ । यसविरुद्ध राष्ट्रिय सतर्कता केन्द्रमा दर्जनौं मुद्दा छन् । ती मुद्दा मिलाउने बहानामा पनि पदाधिकारी सधैजसो काठमाडौं धाउँदा लुम्बिनीमा भेटीको विजोग भएको हो ।

श्रद्धालुले चढाएको भेटी कुहिने अवस्था आउनुलाई कोषले भने कोरोना संक्रमण र लकडाउनको कारण देखाउने गरेको छ । ‘कोरोना संक्रमणका कारण लकडाउन गरिएसँगै मायादेवी मन्दिर पनि बन्द गरिएकाले त्यसअघि चढाइएका मुद्रा झिकेर व्यवस्थापन गर्न सकिएन,’ लुम्बिनी विकास कोषका कोषाध्यक्ष शाक्यले भने, ‘बन्द रहेको मायादेवी मन्दिर त्यत्तिकै खोल्न मिल्दैन । सुरक्षा निकायसहितको सबै प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।’

मायादेवी मन्दिर परिसरमा राखिएका दानपत्र अन्तिमपटक गत माघ महिनामा खोलिएको थियो । गत वैशाख १६ गतदेखि गरिएको लकडाउनका कारण मन्दिर बन्द भयो । मन्दिर खुलेको करिब तीन साता जति भयो । लुम्बिनी आएका लाखौं श्रद्धालुले दानस्वरूप चढाएकोे करोडौं विदेशी मुद्रा पनि उपयोगविहीन भएर कोषको एउटा कोठाभित्र वर्षौंदेखि थन्किएको छ । ती मुद्रा पनि धेरै वर्षदेखि ओसिलोमा रहेकाले मक्किएर कुहिन थालेका हुन् ।

स्वदेशी र विदेशी कैयन् नोट कुहेर धुजाधुजा भइसकेका छन् । वर्षौंअघिदेखि संकलित ती मुद्राको व्यवस्थापन हुन सकेकोे छैन । दानस्वरूप चढाएका नोट नेपाल राष्ट्र बैंकले विनीमय नगर्ने मुलुकको मुद्रा भएकाले करोडौं विदेशी मुद्रा उपयोगमा आउन नसकेको हो । ती मुद्राको नेपाली रुपैयाँसँग परिवर्तित हुन सक्दैन । १९ करोडभन्दा धेरै यस्ता विदेशी मुद्रा कागजको खोस्टोसरह बनेर सड्न थालेको छ । यो विदेशी मुद्रालाई कसरी उपयोगमा ल्याउने भन्नेबारेमा आठ वर्षदेखि पत्राचार गरिए पनि अहिलेसम्म कुनै टुंगो लागेको छैन ।

लुम्बिनी विकास कोष गठन भएको ०४२ सालदेखि नै विदेशी मुद्रा संकलन हुँदै आएको कोषाध्यक्ष शाक्यले बताए । ‘पुराना नोटलाई थप क्षति हुन नदिन हावा नपस्ने गरी प्लास्टिकले बेरेर कपडामा लपेटेर राखिएको छ,’ उनले भने, ‘यसबारेमा मैले दुई–तीन चरणमा नेपाल राष्ट्र बैंकसमक्ष कुरा राखेको छु ।’

नेपाल राष्ट्र बैंकले सिंगापुरमा रहेको बैंकमा सटहीका लागि ती मुद्रा लैजाने र यदि सटही हुन नसकेको खण्डमा ती नोट पनि फिर्ता नआउने जानकारी नेपाल राष्ट्र बैंकले दिएपछि झन् अन्योल भएको उनले बताए । कोरोना महामारी अघि लुम्बिनी बर्सेनि लाखौं पर्यटक आउँथे । यहाँ आउने हरेकजसो पर्यटकले भेटी चढाउँछन् । पर्यटक दान गरेको रकम पनि कोषको लापरबाहीले व्यवस्थित हुनसकेको छैन ।