April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

बाढी पसेपछि अधिकांश उद्योगको उत्पादन अनिश्चित

भैरहवा– एकसाता यता भइरहेको वर्षाका कारण रुपन्देही र आसपासका उद्योगमा पानी जमेपछि उत्पादन अनिश्चित बनेको छ । बाढी पसेर उद्योगका उपकरणमा क्षति पुगेको छ । सबै उद्योगको नोक्सानी विवरण संकलन भइसकेको छैन । उद्योगीका अनुसार पानीले करोडौंको क्षति पुर्याएको छ ।

Advertisement

बुटवल–भैरहवा औद्योगिक करिडोरका उद्योग परिसर पानीले जलमग्न भएका थिए । कतिपय उद्योग परिसरमा जमेको पानीले अभैm पूर्ण रूपमा निकास पाएको छैन । उत्पादित कतिपय तयारी सामान र ओद्योगिक कच्चा पदार्थ पानीमा डुबेका छन् । कतिपय सामान बाढीले बगाएको छ । कतिपय पानीमाथि तैरिएका छन् ।

Advertisement

‘बाढीले उद्योग सञ्चालन गर्ने अवस्था नै नभएपछि केही दिनयता सबै उद्योग बन्द गरेका छौं,’ पञ्चकन्या ग्रुपका सह–महाप्रबन्धक देवेन्द्र साहुले भने, ‘उद्योगका सबै मेसिन, उपकरण, उत्पादित सामान, कच्चा पदार्थ सबै डुबानमा परेपछि विद्युतको मेन लाइन नै बन्द गरेका छौं ।’ ६ वटा उद्योगको दैनिक उत्पादन १० देखि १२ करोड रुपैयाँको हुने गरेको उनले बताए ।

उता, भैरहवा–परासी औद्योेगिक करिडोरअन्तर्गत रामग्राम नगरपालिकाको हकुईमा २ अर्ब रुपैयाँको लगानीमा सञ्चालित एसियन कंक्रिटो प्रालि पनि शुक्रबारको बाढीले जलमग्न छ । जर्मन प्रविधिबाट पूर्ण रूपमा स्वचालित यो उद्योग पनि शुक्रबारबाट बन्द छ ।

उद्योग परिसर र आसपास जमिनमा जमेको पानीले पूर्ण निकास नपाएकाले उद्योग सञ्चालन कहिलेदेखि हुन्छ भन्नेबारेमा अनिश्चित छ । ‘उद्योगको सम्पूर्ण प्लान्ट डुबानमा परेको छ,’ एसियन कंक्रिटोका अध्यक्ष मनीष रुंगटाले भने, ‘उद्योगका सबै स्वचालित मोटर, इलेक्ट्रोनिक सेन्सरलगायतका उपकरण पानीले डुबेको छ र प्राविधिक जाँच नभएसम्म क्षतिको यकिन गर्न सकिएको छैन ।’

आफ्नो उद्योगमा दैनिक १४ लाख रुपैयाँको उत्पादन हुने गरेको र कम्तीमा पनि ७ करोड रुपैयाँको नोक्सानी पुगेको प्रारम्भिक अनुमान गरिएको उनले बताए । बाढीले क्षति पुर्याएको पञ्चकन्या ग्रुप र एसियन कंक्रिटो उदाहरणमूलक ठूला उद्योगमात्र हुन् । शुक्रबारको वर्षा र बाढीले भैरहवा–बुटवल औद्योगिक करिडोर र भैरहवा–परासी औद्योगिक करिडोरअन्तर्गत सञ्चालित करिब तीन दर्जन ठूला उद्योगमा अर्बौं रुपैयाँको क्षति पुर्याएको छ ।

उत्पादन गर्न नसकेर अर्वौंको नोक्सानी बेहोर्नु परेको छ । सबै उद्योगमा पानी पसेको छ । उपकरण, उत्पादित सामान, कच्चा पदार्थ सबै पानीमा डुबेको व्यवसायीको साझा पीडा हो । भैरहवा–बुटवल र भैरहवा–परासी औद्योगिक करिडोर क्षेत्र समथर भूभाग, सडक, विद्युत् सुविधा, भारतबाट औद्योगिक कच्चा पदार्थ लिएर आउन नजिक, सहज भन्सार नाका, भारतबाट प्राविधिक कर्मचारी आउनमा सहज, मजदुर उपलब्धता र मुलुककै मध्यभागमा रहेकाले जताततै उत्पादन सामान बजार पुर्याउन छिटो र सहज हुने लगायत कारणले यो क्षेत्र व्यवसायीको रोजाइमा परेको हो ।

उद्योग स्थापनाका क्रमसँगै यस क्षेत्रमा निर्माण तथा विस्तार गरिएका सडक संरचनाको कतै त्रुटिपूर्ण डिजाइन, कतै डिजाइनअनुरूपको निर्माण गर्न ठेकेदारको बेवास्ता, डुबानबाट जोगाउनका लागि स्थानीय तहले प्रभावकारी रूपमा भूमिका निर्वाह गर्न नसक्नु, पानीको निकास हुने परम्परागत कुलो तथा निकास मिचिनु, योजनाविहीन अव्यवस्थित प्लटिङ तथा बसोबास र सार्वजनिक जमिन भूमाफियाद्वारा अतिक्रमणलगायतका कारण यी क्षेत्र डुबानको चपेटामा पर्ने गरेका छन् ।

‘भैरहवा–परासी सडक खण्ड निर्माणसँगै पानीको निकासका लागि बनाइएका कल्भर्ट अपर्याप्त र साँघुरा भए,’ भैरहवा–परासी औद्योगिक करिडोरमा सञ्चालित सिद्दि विनायक एग्रो इन्डस्ट्रिजका सञ्चालक राम थापाले भने, ‘वर्षायामको बेला पानीको निकासका लागि बनाइएका संरचना नै त्रुटिपूर्ण हुनुले अहिले यो समस्या निम्त्याएको हो ।’

दैनिक ७० लाख रुपैयाँको चामल उत्पादन गर्ने र १ सय ५० जति कामदार रहेको स्वचालित यो उद्योग पनि शुक्रबारदेखि डुबानले गर्दा बन्द छ । गोदाम र उद्योग परिसरमा राखिएका धान, चामलसहितका सयौं बोरा डुबेका छन् । उद्योग परिसरको पर्खाल भत्काएको छ । सबै उपकरणमा पानी पसेको छ । मौसम अनुकुल रहे उद्योग सञ्चालन हुन अझ कम्तीमा एक हप्ता लाग्ने छ ।

भैरहवा–परासी सडक खण्डको राम्ररी अध्ययन गरेर डुबानमा पर्ने जमिनको पहिचान गरी वर्षायाममा पानीको निकासका लागि ४०–५० वटा ठूला कल्भर्ट राखिनु पर्ने सुझाव थापाको छ । ‘नत्र यो सडकले पानी संकलन गर्ने बाँधको काम गर्ने भयो,’ उनले भने, ‘कल्भर्ट नथपे यो समस्या बर्सेनि जस्ताको तस्तै रहनेछ ।’ भैरहवा–परासी औद्योगिक करिडोर क्षेत्रमा सानाठूला गरी ६ दर्जनभन्दा धेरै उद्योग रहेको र सबै उद्योगको हालत डुबानले उस्तै रहेको उनले बताए ।

एसियन कंक्रिटोका अध्यक्ष रुंगटाले वर्षाको बेला जमिनमा संकलित पानी बगेर जाने निकास सानो भएकाले बर्सेनि डुबानको समस्या आएको र पानी निकासका लागि बग्ने ठाउँ चौडा बनाउन रामग्राम नगरपालिकालाई स्थानीय बासिन्दासहितले बारम्बार माग गरे पनि बेवास्ता गरिंदा यो समस्या आएको बताए ।

भैरहवा–बुटवल औद्योगिक करिडोरमा पनि तीन दर्जनभन्दा धेरै उद्योग छन् । बीचमा रहेको ६ लेनको बेलहिया–बुटवल व्यापारिक राजमार्ग निर्माणका क्रममा दुवै किनारमा बनाइएको नाली साँघुरो र भएको नाली पनि ठेकेदारले सफा नगरिदिँदा सामान्य वर्षामा पनि डुबानको समस्या जटिल हुने गरेको छ ।

‘पहिला सडक होचो भएकाले वर्षाको पानी सहजै बगेर जाँदा डुबानको समस्या थिएन,’ ओमसतिया–२, पडसरीस्थित एभरेस्ट रोलिङ इन्डस्ट्रिजका सञ्चालक अरुण गोयन्काले भने, ‘अहिले सडक ६ लेनको बनेपछि सडक त चौडा भयो तर त्यहीअनुरूप नाली चौडा भएन । साँघुरो नालीमा धेरै पानी बग्न सकेन ।’ निर्माण गरिएको सानो नाली पनि सफाइ नगरिँदा सडकमा जम्मा भएको पानी छेउछाउका उद्योग र बस्तीमा पस्ने गरेको उनले बताए ।

जमिनको बनावट होचो भएकाले बुटवल योगीकुटीदेखि वर्षाको बेला जम्मा भएको पानी बग्दै भैरहवातर्फ आउने गर्छ । लामो दूरीदेखि बग्दै आएको पानीलाई निकास दिने नाली पर्याप्त र चौडा भने छैनन् । साबिकका कैयन् सार्वजनिक नाला र घोला सँधियार जग्गाधनी र भूमाफियाले आफ्नो स्वामित्वमा ल्याएर पुरेका छन् । जग्गा प्लटिङवालाले सार्वजनिक कुलोमा सडक निर्माण गरेका छन् । जसले गर्दा भैरहवा–बुटवल सडक खण्ड बढी डुबानमा पर्ने गरेको छ ।

सडक निर्माण गर्दा पानीको निकासका लागि बनाइएका दुवै किनारका नाली जाम भएकाले नालीबाट पानी बग्दैन । ठेकेदार कम्पनीले नाली सफा नगरी माथिबाट ढकनी लगाइदिएको छ । नालीभित्र ढुंगा, माटो, गिट्टी बालुवाले पुरिएको छ । पुरिएको नाली ढकनी खोलेर सफा गराउनेतर्फ आयोजनाले पनि पहल गरेको छैन । न त निर्माण सामग्री सफा नगरी नालीमाथि ढकनी लगाइदिने बेलामा नै आयोजनाले अनुगमन गर्याे ।

ठेकेदार र आयोजनाको लापरबाहीबाट उत्पन्न समस्या अहिले उद्योगी र स्थानीयले खेप्नु परेको छ । ओमसतिया गाउँपालिका–२ का वडाध्यक्ष ज्ञानेश श्रेष्ठले सडक निर्माणको ठेक्का लिएको बिरुवा कन्स्ट्रक्सनले हस्तान्तरण नगरेकाले ढकनी खोलेर नाला सफाइ गर्न नपाइँदा डुबानको समस्या जटिल भएको बताए । ‘हस्तान्तरण नहुँदासम्म न हामीले सफा गर्न पाएका छौं, न त ठेकेदारले नै सफा गरिदिएको छ,’ उनले भने, ‘नाली सफा गर्नका लागि सम्पर्क गर्दा ठेकेदारका कर्मचारी भेटिँदैनन् । न त ठेकेदारले फोन उठाउँछन् ।’

सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठले भैरहवा–बुटवल र भैरहवा–परासी औद्योगिक करिडोर क्षेत्रका अधिकांश उद्योग डुबानमा परे पनि क्षतिको यकिन विवरण आउन बाँकी रहेको बताए । डुबानबाट अर्वौंको नोक्सान भएको प्रारम्भिक अनुमान संघले गरेको उनले जनाए ।