April 26, 2024, Friday
१४ बैशाख २०८१, शुक्रबार

यी हुन् संघको बजेटमा समेटिएका लुम्बिनी प्रदेशका ठूला योजना

भैरहवा– संघ सरकारले शनिबार (हिजो) आर्थिक वर्ष ०७८/७९ को बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दा लुम्बिनी प्रदेशका केही ठूला र महत्वपूर्ण आयोजनाहरुलाई बजेट विनियोजन गरेको जनाएका छन् ।

Advertisement

अर्थमन्त्री पौडेलले प्रदेशमा उद्योग, पर्यटन, भौतिक पूर्वाधार, स्वास्थ्य, पूर्वाधार, खानेपानी, खेलकुदलगायत क्षेत्रमा बजेट विनियोजन गरेका छन् । यीमध्ये केही पुरानै योजनालाई निरन्तरता दिइएको छ भने केही नयाँ योजना पनि बजेटमा समावेश गरिएको छ ।

Advertisement

संघको बजेटमा ४३ वर्षदेखि अधुरी रहेको लुम्बिनी गुरुयोजना पूरा गर्ने उद्देश्यसाथ प्राथमिकता दिएर बजेट छुट्याइएको छ । अर्थमन्त्री पौडेलले आगामी दुई वर्षमा गुरुयोजना पूरा गर्ने दावीसहित बजेट छु्याएको बताए । लुम्बिनी गुरुयोजना पूरा गर्न भन्दै सरकारले१ अर्ब ५० करोड बजेट विनियोजन गरेको छ ।

राष्ट्रिय गौरवको लुम्बिनी गुरुयोजना राजनीतिक खिचातानी, बजेट अभाव, समयमै काम नहुनु, कर्मचारी र कोषका पदाधिकारीबीचको टकराब जस्ता कारण अधुरै छ । बजेटमा लुम्बिनी गुरुयोजनाको क्षेत्रलाई फराकिलो बनाउँदै कपिलवस्तु र नवलपरासीका बुद्धस्थलहरु लुम्बिनी, तिलौराकोट, देवदह, रामग्रामलाई समेटेर बृहत्तर गुरुयोजना बनाउने विषयलाई समेटिएको छ । यस्तै, कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदामा सूचिमा सूचीकृत गर्न पहल गर्ने अर्थमन्त्री पौडेलले बताए ।

बजेटमा सरकारले कालीगण्डकी–तिनाउ डाइभर्सनको डीपीआर आगामी वर्ष पूरा गरेर काम सुरु गर्ने जनाएको छ । विघठित रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य समेत रहेका अर्थमन्त्री पौडेलले यो योजनालाई बर्षौंदेखि चुनावी नारा बनाउँदै आएका छन् । उनले अघि बढाउने प्रतिबद्धता जनाउँदै आएको आयोजना यसपल्ट भने बटेज छुट्टिएसँगै अघि बढ्ने अपेक्षा गरिएको छ ।

यस्तै, रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लागि आव ०७८/७९ मा ३ अर्ब ५३ अर्ब विनियोजन गरिएको छ । विमानस्थल निर्माण सम्पन्न गर्ने समयावधि निकै घर्किसके पनि आयोजनाको अहिलेसम्म जम्मा ९३ प्रतिशत काम भएको छ । लुम्बिनीलाई केन्द्रमा राखेर निर्माण भइरहेको विमानस्थल संचालनमा आएपछि विश्वका लाखौंलाख बौद्धमार्गी लुम्बिनी भ्रमणमा आउने अपेक्षा गरिएको छ ।

तर, यहाँ पनि राजनीतिक खिचातानी, बजेट अभाव, मुख्य ठेकेदार र सहायक ठेकेदारबीचको विवाद, तराईमधेश आन्दोलन, बेलाबेला हुने स्थानीयको अवरोध, कोरोना महामारी जस्ता कारण आयोजना पछि धकेलिँदै गएको छ । आयोजना प्रमुख प्रवेश अधिकारीले पछिल्लोपल्ट महामारीले गर्दा आयोजनामा समस्या भएको बताए ।

बजेटमा विमानस्थल निर्माण सम्पन्न गर्न र दोस्रो टर्मिनल भवन निर्माणका लागि अर्थमन्त्रीले बजेट विनियोजन गरेका छन् । यहाँ विमानस्थलमा दोस्रो टर्मिनल भवन बनाउने प्रक्रिया सुरु भएको छ । अन्य उपकरण जडानको काम पनि जारी छ ।

यस्तै, बाँकेको सिक्टा सिँचाइका लागि १ अर्ब ५६ करोड बजेट विनियोजन गर्दै २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । यो आयोजना पनि वर्षौदेखि निर्माणाधीन छ । केही समयअघि अर्थमन्त्री आफैले शिलान्यास गरेको रुपन्देहीको मोतिपुरमा बनाउने भनिएको औद्योगिक क्षेत्र २ वर्षभित्र पूरा गरिने बजेटमा उल्लेख छ । यहाँ स्थानीयबीच विवाद सिर्जना छ ।

संघको बजेटमा पाल्पामा मौसम मापन गर्न राडर बनाउन, प्रदेशमा भूमि बैंक स्थापना गरेर १ वर्षभित्र सञ्चालनमा ल्याउने, अंग्रेज फौजलाई हराएको बुटवलको जितगढीलाई संरक्षण गरी विस्तृत अध्ययन गर्ने, पाल्पामा लिफ्ट खानेपानी, लुम्बिनीमा सांस्कृतिक स्मार्ट सिटी, बुटवल–भैरहवालाई मेगा सिटी बनाउने, पश्चिम नवलपरासीको बर्दघाटमा ट्रमा सेन्टर निर्माणजस्ता योजना समेटिएको छ । यस्तै, नौमूरे जलविद्युत् आयोजना, तिनाउ नदी नियन्त्रणका लागि पनि बजेट छुट्याइएको छ ।

केही दिनअघि मात्रै ग्लोबल टेण्डर भएको सिद्धबाबा क्षेत्रको सुरुङमार्ग निर्माणका लागि बजेटको व्यवस्था गर्ने, सिद्धार्थ राजमार्गलाई डेलिकेटेड राजमार्ग बनाउने, बुटवल–कोहलपुर सडकलाई चार लेनको बनाउनका लागि बजेट छुट्याइएको छ । यस्तै, बजेटमा भैरहवामा क्रिकेट मैदान, नवलपरासीको त्रिवेणीदेखि देवघाटसम्म जलमार्ग, सिद्धार्थनगरमा सडक, ढल, खानेपानीका लागि पूर्वाधार बनाउने योजना समेटिएको छ ।

बुटवल–भैरहवा लुम्बिनीका लागि चल्ने विद्यतीय बस चलाउन अनुदान दिने र बुटवलमा विद्युत् तार भूमिगत गर्ने योजना पनि बजेटमा छ । रुपन्देहीको तिलोत्तमामा बन्ने बुटवल मेडिकल कलेजको डीपीआर पूरा गरी निर्माणको काम सुरु गर्ने, रूपन्देहीको बेलहियामा मालबाहक गाडी पार्किङ गर्न ‘पार्किङ ग्राम’ बनाउने योजना बजेटमा समावेश छन् ।

यस्तै, दाङको देउखुरी उपत्यकामा प्रदेश राजधानीको पूर्वाधार निर्माण गर्न वित्तीय हस्तान्तरण गर्ने बजेट मार्फत सम्वोधन गरिएको छ । बजेटले जिल्लामा विमानस्थल निर्माणदेखि औद्योगिक क्षेत्र स्थापना गर्नेसम्मका योजना समेटेको छ । अर्थमन्त्री पौडेलले नारायणपुरमा विमानस्थल निर्माण सुरु गरिने बजेट भाषणमा बताए ।

माडी–दाङ ड्राइभर्सन सिँचाइ आयोजनाको सम्भाव्यता अध्ययन गर्न बजेटले सम्बोधन गरेको छ । बृहत् दाङ सिँचाइ आयोजना, सिँचाइका लागि स्यालो र डिप ट्यूवेल निर्माणका लागि सरकारले बजेट विनियोजन गरेको छ । लक्ष्मीपुरमा औद्योगिक ग्राम अध्ययन गरिने भएको छ । तुलसीपुरमा स्मार्ट सिटी कार्यक्रमलाई बजेटले प्राथमिकतामा राखेको छ । दाङलाई कागती खेतीको जोन क्षेत्र तोकिएको छ । लुम्बिनी प्रदेशको राजधानीलाई केन्द्रित गरेर केन्द्र सरकारले राप्ती नदीमा जल यातायातको सम्भाव्यता अध्ययनका लागि बजेट विनियोजन गरेको छ ।

लमही क्रिकेट मैदानको बाँकी निर्माण सम्पन्न गर्ने गरी बजेट विनियोजन भएको छ । लमहीमा क्रिकेट मैदान निर्माण ०५८–५९ बाट सुरु भएको थियो । तर अझै सम्पन्न हुन नसक्दा क्रिकेटप्रेमी निराश थिए । अब भने उत्साहित भएका छन् ।