ढल्किँदो उमेरमा राप्रपा रूपन्देहीको अध्यक्षमा राणाको निरन्तरता किन ?


भैरहवा— उमेरले ७८ वर्ष पुगेका भैरहवाका सागरप्रताप राणाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीको आगामी पाँच वर्षे कार्यकालको नेतृत्व सम्हालेका छन् । राप्रपा रुपन्देहीको आइतबार सम्पन्न सातौँ जिल्ला अधिवेशनले जिल्ला कार्यसमितिको अध्यक्षमा राणालाई निर्विरोध निर्वाचित गर्दै यो जिम्मेवारी र अवसर दिएको हो । ढल्किँदो उमेरमा नेतृत्व सम्हालेका उनीबारे अनेक टिप्पणी भइरहेका छन् ।
राणा रुपन्देहीवासीका लागि चिनाइराख्नुपर्ने नाम होइन । पञ्चायतकालदेखि विभिन्न राजनीतिक तहमा निर्वाचित भएर काम गर्दै आएका राणा प्रजातन्त्रको पुनःस्थापनापछि पनि पटक–पटक निर्वाचित भएर जनप्रतिनिधि बनिसकेका छन् । राजनीतिक क्षेत्रमा मात्रै होइन, विभिन्न सामाजिक संघसंस्थामा समेत उनी सक्रिय छन् ।
राणाले राप्रपा, रुपन्देहीको अध्यक्षको बागडोर सम्हालेको यो पहिलो पटक होइन । यसअघि दुई कार्यकाल उनले अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् । विगत १० वर्षदेखि उनी अध्यक्षमा निरन्तर छन् । अघिल्लो पटक पनि उनी अध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए ।
२०४६ सालमा प्रजातन्त्रको पुनःस्थापना भएपछि राप्रपा, रुपन्देहीको स्थापना भएको थियो । स्थापनाको सुरुवाती चरणमा राप्रपा थापा र चन्द गरी दुई पार्टी भए पनि पछि २०५१ सालतिर दुवै पार्टी एक भएका थिए ।
राप्रपा, रुपन्देहीको इतिहासमा राणा अध्यक्ष बनेको यो तेस्रो कार्यकाल हो । पहिलो र दोस्रो अधिवेशनबाट केशव लम्साल अध्यक्ष बनेका थिए । तेस्रो र चौथो अधिवेशनबाट छत्रपति सिंह मल्ल अध्यक्ष बने । पाँचौँ अधिवेशनमा दिलबहादुर बस्नेतलाई पराजित गर्दै राणा अध्यक्ष निर्वाचित भएका थिए । छैटौँ र सातौँ अधिवेशनमा भने उनी निर्विरोध निर्वाचित भएका हुन् ।
यसपालि पनि अध्यक्षमा निर्विरोध निर्वाचित भएसँगै रुपन्देहीको राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ । एकथरीको प्रश्न छ, राप्रपा रुपन्देहीको अध्यक्षमा जहिले पनि सागर प्रताप राणा नै किन ? उनीबाहेक अध्यक्षको जिम्मेवारी सम्हाल्न सक्ने खुबी भएको अर्को नेता छैन ?
यस्तो धारणा राख्नेहरूमध्ये एक हुन्, भैरहवाका पत्रकार तथा लुम्बिनी प्रेस क्लबका पूर्वअध्यक्ष नरेश केसी । उनले राणालाई बधाई दिँदै फेसबुकमा लेखेका छन्, ‘जबजब राणा हुन्छन्, तबतब राप्रपा, रुपन्देहीको जिल्ला अध्यक्ष भइरहन्छन् । आँखा अस्पताल भैरहवाको अध्यक्ष भइरहन्छन् । र, सिद्धार्थनगर नगरपालिकाको मेयरको उम्मेदवार भइरहन्छन् । पुनः बधाई छ ।’
केसीजस्तै धारणा राख्ने अरू पनि धेरै छन् । पुनः अध्यक्षमा निर्विरोध भएको विषयलाई लिएर कतिपयले राणामाथि पदलोभको आरोपसमेत लगाएका छन् ।
तर, अर्काथरीको तर्क भने फरक छ । उनीहरूको भनाइमा राप्रपा रुपन्देहीको वर्तमान अवस्थामा राणाजत्तिको जिम्मेवारी र नेतृत्व लिन सक्ने क्षमता भएको व्यक्ति तत्काल अर्को छैन । राणालाई अहिले निर्विरोध अध्यक्ष बनाउनुको पछाडि राप्रपा रुपन्देहीको वर्तमान अवस्था राम्ररी बुझेको र पार्टीलाई अभिभावकत्व दिन सक्ने व्यक्तित्वको आवश्यकता प्रमुख कारण रहेको उनीहरूको बुझाइ छ ।
दीपक बोहराको निधनपछि राप्रपा, रुपन्देहीलाई अभिभावकत्व दिन सक्ने नेताका रूपमा राणाको विकल्पमा तत्काल अर्को व्यक्ति देखिन नसकेको उनीहरूको दाबी छ । आइतबार अधिवेशन चलिरहेका बेला स्वयं राणाले यो कार्यकालपछि आफू पुनः अध्यक्ष नबन्ने घोषणा सार्वजनिक रूपमै गरेका छन् । उनको यो घोषणाले अब आफू पार्टीको नेतृत्वको जिम्मेवारीमा निरन्तर नबस्ने स्पष्ट संकेत गरेको छ ।
तर, उनले यस्तो घोषणा किन गरे त ? उनकै शब्दमा, ‘यही अधिवेशनमा पनि म अध्यक्ष बन्न खोजेको थिइनँ । सबैले बोहरा जी नभएको अवस्थामा एक कार्यकाल तपाईंले पार्टीलाई अभिभावकत्व दिनुपर्यो भनेर आग्रह गर्नुभयो । उहाँहरूको आग्रहलाई मैले नकार्न सकिनँ ।’
पब्लिक कुरासँगको कुराकानीमा राणाले राजनीतिक नेतृत्वमा मात्रै नभई अब बिस्तारै अन्य सबै क्षेत्रका जिम्मेवारी र पदबाट समेत हट्दै नेतृत्वको जिम्मेवारी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने सोंचमा रहेको बताए ।
‘अब मैले सबै जिम्मेवारीबाट हट्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्छ भन्ने कुरा राम्ररी बुझेको छु । नयाँलाई जिम्मेवारी र नेतृत्व सम्हाल्ने अवसर दिनुपर्छ,’ उनले भने, ‘तर यसका लागि नयाँ पुस्तालाई पनि जिम्मेवारी र नेतृत्व सम्हाल्न सक्ने क्षमतावान् बनाउन आवश्यक छ ।’
उनको भनाइमा अब नेतृत्व र जिम्मेवारी सम्हाल्ने व्यक्ति वर्षौँको मेहनतले सिर्जना गरेको संरचना लथालिंग र भताभुंग हुँदैन भन्ने विश्वास लाग्ने किसिमको भावी पुस्ता तयार गर्न जरुरी छ ।
अजयकुमार गुप्ता भैरहवा क्षेत्रका राजनीतिक, सामाजिक तथा युवा व्यवसायी हुन् । राप्रपा रुपन्देहीको उपाध्यक्षसमेत भइसकेका गुप्ताले केही समयअघि राप्रपा परित्याग गरेका थिए । पछि उनी पुनः राप्रपामै प्रवेश गरे । पार्टी छाड्ने क्रममा उनले पार्टीभित्र एकाधिकारवाद कायम रहेको आरोप लगाएका थिए, जसको संकेत राणाप्रति लक्षित थियो ।
तर, अहिले उनी राप्रपा, रुपन्देहीको नेतृत्वमा राणाको भूमिका अपरिहार्य रहेको दाबी गर्छन् । ‘पार्टीको नेतृत्व केटाकेटी पाराले चल्दैन । पार्टीको अवस्था र संगठन बुझेको तथा सबैलाई अभिभावकत्व दिन सक्ने खुबी भएको व्यक्ति उहाँको विकल्पमा तत्काल कोही छैन,’ गुप्ता भन्छन्, ‘दीपक बोहराको निधनपछि पार्टीको अभिभावकत्वको भूमिकामा उहाँलाई ल्याउन झनै अपरिहार्य भयो ।’
राप्रपाका सांसद ताहिर अलीले पनि गएको स्थानीय तहको निर्वाचनमा राणाकै नेतृत्वका कारण विगतमा भन्दा पार्टीले धेरै स्थानीय तहका विभिन्न पदमा जित हासिल गरेको दाबी गरे ।
‘दीपक बोहराको निधनपछि पार्टीको जिल्ला नेतृत्वमा राणाजीको आवश्यकता अझ बढी महसुस भयो,’ अली भन्छन्, ‘यो नेतृत्व अन्तिम भएको उद्घोष गर्दै उहाँले अबको नेतृत्व लिन तयार भएर बस्न अरूलाई आह्वान गर्नुभएको छ ।’
राणासँग जोडिएर भैरहवामा अहिले अर्को चर्चा पनि चलिरहेको छ, नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनमा सिद्धार्थनगरको प्रमुख पदमा पुनः उम्मेदवार हुन्छन् कि हुँदैन ?
स्थानीय तहको आगामी निर्वाचनलाई लक्षित गर्दै अधिकांश राजनीतिक दलका कार्यकर्ता र अन्य आकांक्षीहरूले आफ्ना गतिविधि बढाइरहेका छन् । यस्तो अवस्थामा राणाको सम्भावित उम्मेदवारीलाई लिएर पनि चासो बढेको हो ।
पब्लिक कुराको कुराकानीमा उनले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो उम्मेदवारीबारे अहिल्यै कुनै निर्णय नगरेको बताए । उनले भने, ‘जनता नै सार्वभौम हो । जनताको आग्रह भएमा त्यतिबेला नै के गर्ने, सोचौँला । यसबारे अहिले नै कुनै निर्णय गरिसकेको छैन ।’
तर, एउटा कुरा भने उनले स्पष्ट पारे । सिद्धार्थनगरको वर्तमान र अघिल्लो गरी दुईवटा कार्यकाललाई उनले ‘ट्रायल पिरियड’ का रूपमा लिएका छन् । जनप्रतिनिधिका रूपमा नगरमा जसरी भूमिका निर्वाह गर्नुपथ्र्यो, त्यसरी भूमिका निर्वाह गर्न नसकेको र अन्य नगरपालिकाको तुलनामा सिद्धार्थनगर धेरै पछाडि परेको उनको दाबी छ ।
सिद्धार्थनगरमा भएका विकास निर्माणका कामलाई लिएर पनि राणाले खुलेर आफ्नो धारणा राखेका छन् । विशेषगरी एसियाली विकास बैंकको सहयोगमा भएका कामलाई कतिपय जनप्रतिनिधिले आफ्नो उपलब्धिका रूपमा प्रस्तुत गर्ने गरेकोप्रति उनले असन्तुष्टि जनाए ।
‘एडीबीले गरेको कामलाई देखाएर आफूले गरेको भन्दै जस कसैले पनि नलिए हुन्छ । अहिले र त्योभन्दा पहिलाको नगरपालिकाका निर्वाचित जनप्रतिनिधि आउनुअगावै एडीबी परियोजना लागू गर्ने पास भइसकेको थियो,’ राणाले भने, ‘एकछिनलाई एडीबीले गरेको योजना तथा कामलाई पन्छाएर हेरौँ त, यदि एडीबी नआएको भए हाम्रो यो नगरको हालत के हुने थियो होला ?’








लेखकको सम्वन्धमा