June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

गायक मनिष रञ्जनको ‘गणेश वन्दना’ सार्वजनिक

गायक तथा संगीतकार मनिष रञ्जन बरालको ‘गणेश वन्दना’ सार्वजनिक भएको छ। कार्तिक कृष्ण अष्टमी, मंगलबारको दिन पारेर उनले ‘गणेश वन्दना’ सार्वजनिक गरेका हुन्।  

Advertisement

भजनका शब्द रचनाकार पं.शंकरान नंविशन हुन् भने लय प्रशान्त शंकरले भरेका छन् । उनीहरु दुवै दक्षिण भारतका चर्चित संगीतकार पनि हुन्। यस भजन दक्षिण भारतकै बाल गायिका सूर्य गायत्रीको स्वरमा २ वर्ष अगावै रेकर्ड भइसकेको थियो, तथापि भजनमा बरालले स्वर दिने पक्का भएपछि राजन कार्कीले  यसलाई नयाँ संस्करणमा एरेन्ज गरेका हुन् ।

Advertisement

संगीतकार प्रशान्त शंकरले संगीत भरेको यस सिर्जनामा रत्न विकले बाँसुरी बजाएका छन्। त्यस्तै ढोलकमा शिवराज जोशी र तबलामा कृष्ण प्रसाद सापकोटाले साथ दिएका छन् भने ध्वनी मिश्रण गोविन्द डिजीले गरेका हुन्। धुन कला केन्द्रमा रेकर्ड गरिएको भजनको भिडियोमा पनौतीको गोरखनाथ  र मुक्तिनाथ मन्दिर देख्न सकिन्छ। भिडियोको छायांकन र सम्पादन राज मल्लले गरेका हुन्।

लामो समय देखि सांगीतिक क्षेत्रमा रहेका बरालले दर्जनौँ भजनहरु रेकर्ड गराईसकेका छन् ।  बरालको पहिलो भजन ‘कृष्णजीको नामै प्यारो’  २०७३ सालमा रेकर्ड भएको थियो। गणेश वन्दना भजन मनिष रञ्जन बराल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।