October 15, 2021, Friday
२९ आश्विन २०७८, शुक्रबार

‘भकारीमा धान’ गीतको भिडियो सार्वजनिक

सञ्चारकर्मी तथा गायक सरोज कोइराला र गायिका मेलिना राईको स्वरमा ‘भकारीमा धान’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत गायक स्वयंकै छ । संगीत संयोजन पुरुषोत्तम सुवेदीले गरेका छन् । 

पूर्व र मध्यक्षेत्रतीरका लोकभाकामा आधारित रहेको गीत ‘भकारीमा धान’को छायांकन काभ्रेपलाञ्चोक जिल्लाको रमणीय र मौलिक रहनसहन भएको क्षेत्रमा गरिएको छ । मेलोडियस आधुनिक गीतमा स्वर तथा संगीत दिँदै आएका सरोजले यसै गीतमार्फत आफ्नो शैली परिवर्तन गरेका छन् । “हरेक नेपालीको मनमा लोकधुन हुन्छ नै, म भित्र रहेको त्यही धुन यो गीतमार्फत प्रस्फुटित भएको हो,” उनी भन्छन् । 

गीतको भिडियोमा सुधिर श्रेष्ठ र सगुन कोइरालाले नृत्य तथा अभिनय गरेका छन् । सुधिरले यसअघि पनि दर्जनौं भिडियोमा काम गरिसके पनि सगुनले भने उही भिडियोमार्फत मोडलिङमा डेब्यू गरेकी हुन् । उनी फेशन डिजाइनकी विद्यार्थी हुन् । 

उत्सव दाहालले छायांकन गरेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् । निर्देशन विधान कार्कीले गरेका हुन् । ‘नबोली नबोली’, ‘काले केटा–२’, ‘धर्ति आकास’ जस्ता चर्चित गीतको भिडियो निर्देशन गरेका विधान म्युजिक भिडियो निर्देशक समाजका अध्यक्ष पनि हुन् । 

‘नेप्सिने’को प्रोडक्सनमा तयार भएको यो भिडियो ‘दि डिभाइन म्युजिक’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।