June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

डेंगु रोक्न समुदायमा सचेतनासँगै ‘खोज र नष्ट गर’ अभियान (भिडियो रिपोर्टसहित)

Advertisement

भैरहवा– सिद्धार्थनगर नगरपालिकामा डेंगु नियन्त्रण तथा रोकथामका लागि लामखुट्टेको बासस्थान ‘खोज र नष्ट गर’ अभियानलाई निरन्तरता दिइएको छ । खासगरी जोखिम बढी भएका वडाका टोलटोलमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वास्थ्यस्यंसेविकाहरुको टोलीले अभियान चलाइरहेका छन् । बिहीबार सिद्धार्थनगर–११ का टोलहरुमा लामखुट्टे खोज र नष्ट गर अभियान चलाइएको छ । नगरपालिकाले डेंगुको जोखिम कम गर्न वडास्तरीय अभिमुखीकरण कार्यक्रम संचालन गरी त्यसमार्फत् जोखिम क्षेत्रमा अभियान चलाएको हो ।

Advertisement

वडाका विभिन्न क्षेत्रमा लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्ने गरिएको छ । पानी जम्ने ठाउँमा लामखुट्टेले लार्भा बनाउने भएकाले पानी जम्न नदिन स्थानीयलाई सचेतना समेत जागृत गराइरहेको सिद्धार्थनगर–११ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी रीता थापाले जानकारी दिइन् ।

‘यो समयमा डेंगुको जोखिम बढी हुने भएकाले हामीले निरन्तर सरसफाइका लागि समुदायमा जनचेतना फैलाउने काम गरिरहेका छौं’, उनले भनिन्, ‘खासगरी पानी जम्न नदिन, लामखुट्टे भएका ठाउँमा लार्भा नष्ट गर्न र वासस्थानै हुने खालका गतिविधि रोक्न लागेका छौं ।’

विशेषगरी वर्षाको पानी जम्ने नाला बोतल, टिनका भाँडा, थोत्रा टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गमला, पानीका ट्यांकीमा लामखुट्टेले फसल पार्छ । विशेष गरी साँझ–बिहानको समयमा सक्रिय हुने एडिज जातको लामखुट्टेको टोकाइबाट डेंगुको सङ्क्रमण फैलिने गर्छ । एडिज जातको लामखुट्टे सफा पानीमा बस्ने, फुल पार्ने र लार्भा वृद्धि गर्ने भएकाले घर वरपरका पानी जम्ने ठाउँहरुमा विशेष ख्याल गर्न स्थानीयलाई आग्रह गर्दै अभियान मार्फत् सचेतना जगाइएको थापाले जनाइन् ।

यस्तै, स्थानीयको घरघरमा पुगेर डेंगुबाट बच्ने उपाय, लक्षण र डेंगु भएमा उपचार विधिबारे पनि स्वास्थ्यकर्मीले जानकारी गराइरहेका छन् । थापाका अनुसार प्रत्येक दिन टोल छुट्याएर अभियान चलाइएको छ । यस्तै, गाडीमा प्रयोग गरेर काम नलाग्ने भएको मोबिल लामखुट्टे भएको ठाउँमा राखेर नष्ट गर्न आग्रह गरिएको छ । कतिपय ठाउँमा स्वास्थ्यकर्मीले नै नष्ट गर्ने काम गर्दै आएका छन् ।

उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने डेंगुका लक्षणहरु हुन् । जटिल प्रकृतिको डेंगुको सङ्क्रमण भएका बिरामीमा थकान महसुस हुने, गिंजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बान्ता भइरहने, सास फेर्न गाह्रो हुने, पेट र खुट्टा सुनिने लक्षण देखा पर्छन् ।