June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

१० दिनदेखि स्वास्थ्य बीमाको सर्भर डाउन, अस्पतालमा सेवाग्राहीलाई सास्ती

Advertisement

भैरहवा– विगत १० दिन देखि स्वास्थ्य बीमा बोर्डको सर्भर डाउन हुँदा सेवाग्राही मर्कामा परेका छन् । पटक–पटक सर्भर डाउन हुने समस्याले सेवाग्राहीलाई उपचार सेवाबाट बञ्चिन हुनु परेको छ । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सेवा लिन आउने हजारौं सेवाग्राहीले यसको समस्या झेल्नु परेको छ । अस्पतालका स्वास्थ्य बीमा शाखा प्रमुख दीपेन्द्र पौडेलका अनुसार विगत १० दिनदेखि सर्भरको समस्या देखिएको हो ।

Advertisement

पटकपटक स्वास्थ्य बीमा बोर्डमा जानकारी गराउँदा पनि समस्या समाधान नभएको उनले बताए । अस्पतालमा विहान ८ बजेदेखि स्वास्थ्य बीमाको काउन्टर सञ्चालन गरिने भए पनि विहान १० बजेपछि सर्भर नचल्दा कामकाज ठप्प हुने गरेको छ । अस्पतालमा दैनिक करिब १ हजार सेवाग्राही बीमा कार्यक्रम अन्तर्गत सेवा लिन आउने गर्दछन् ।

यो समस्या यसअघि साउन महिनामा पनि आएकोमा बीमा बोर्डले ५ दिनसम्म पूर्ण रुपमा सेवा बन्द गरेर मर्मत गराएको जनाएको थियो । अहिले फेरि उस्तै समस्या देखिएको स्वास्थ्य बीमा शाखा प्रमुख पौडेलले बताए । अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा.इन्द्र ढकालले स्वास्थ्य बीमाको सर्भर डाउनबारे स्वास्थ्य बीमा बोर्डलाई जानकारी गराइएको जनाए ।

उता, स्वास्थ्य बीमा बोर्डका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी विकेश मल्लले भने सर्भर डाउनको समस्या बारे अनविज्ञता प्रकट गरे । लुम्बिनी र गण्डकी प्रदेशसहित १६ बढी जिल्लाहरु उपचार सेवा लिन आउने लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक २ हजार बढी स्वास्थ्य उपचारका लागि आउने गर्दछन् । जसमध्ये आधा संख्या स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सेवा लिन आउनेहरुको हुने स्वास्थ्य बीमा सेवा शाखा प्रमुख पौडेलले बताए ।

उनकाअनुसार गएको आर्थिक वर्षमा स्वास्थ्य बीमा सेवा कार्यक्रम अन्तर्गत अस्पतालबाट सेवा लिनेको संख्या करिब १ लाख ६० हजार छ । अस्पतालले सो अवधिमा ३५ करोड बराबरको उपचार सेवा उपलब्ध गराएको थियो ।

रुपन्देहीको कञ्चन गाउँपालिका–५, भैसाहीबाट बुधबार विहान ५ बजेनै उठेर अस्पतालमा आएकी ५९ वर्षीया ईश्वरी रेग्मी दिउँसो २ बजेसम्म पनि बिल काट्न नपाउँदा काउन्टर अगाडि प्रतिक्षामै छटपटिरहेकी थिइन् । हात–खुट्टा झमझमाउने, आँखा दुख्ने तथा खोकी लाग्ने समस्या देखिएपछि स्वास्थ्य बीमाको कार्ड बोकेर विहान ६ बजेनै टोकन लिन लाइनमा बसेकी ईश्वरीले चिकित्सकसँगको परामर्शपछि रगत परीक्षण गर्नुपर्ने भयो । तर, स्वास्थ्य बीमाको काउन्टरमा सर्भर डाउन भएपछि बील काट्न नपाउँदा यत्तिकै अड्किएर बस्नुपर्यो ।

यसैगरी नवलपरासीको सुनवल नगरपालिका–१२ देखि आएकी दुर्गा ढकाल पनि अस्पतालको सर्भर कतिखेर खुल्छ प्रतिक्षामा बस्दै गरेको भेटिइन् । उनले दिदीकी छोरी सलिना पंगेनीलाई घाँटीको उपचार गराउनका लागि अस्पताल ल्याएको बताइन् । ‘चिकित्सकसँग भेटेपछि एक पटक रगत परीक्षण गरेर हेरौं भन्नु भएको छ । तर, रगत परीक्षण गराउनका लागि सर्भर डाउन हुँदा बील नै काट्न पाइएन’, दुर्गाले भनिन्, ‘विहान ९ बजेनै अस्पताल आएका थियौँ, अहिले घर फर्किने बेलासम्म पनि अस्पतालमा सर्भर चलेन भनेका छन् । अझै कति समय कुर्नुपर्ने हो थाहा छैन ।’

लुम्बिनी प्रादेशिक अस्पतालको स्वास्थ्य बीमा काउन्टर अगाडि बुधबार दिउँसो करिब सय जनाको संख्यामा सेवाग्राहीहरु प्रतिक्षामै बसिरहेका थिए । सोही भीडमा रुपन्देही सैनामैना–५ की भागीरथी अर्याल पनि प्रतिक्षामै थिइन् । आफ्नो ७१ वर्षीया आमा दिलमाया अर्याललाई उपचार गराउन आएकी उनले भदौको चर्को घाममा पसिना पुछ्दै बील काट्ने प्रतिक्षामा अस्पतालको काउन्टर कुरिरहेकी थिइन् ।

यसैगरी प्यूठानको प्यूठान नगरपालिका–२ बाट एकराज गौतम अस्पतालमा आएको ५ दिन बितिसक्यो । ७७ वर्षीया आमा कमलेश्वरी गौतमलाई उपचार गराउन आएका उनले होटलमा बास बसेर उपचारका लागि अस्पतालमा दैनिक फलोअपमै छन् । आमालाई पेट सम्बन्धी रोगको उपचारका लागि जिल्ला अस्पतालले रिफर गरेपछि उनी बुटवल आएका हुन् । ‘अस्पतालमा आएपछि आमालाई सबै रोगको परीक्षण गराएर घर लैजाने सोचेको थिएँ, तर कहिले के मिल्दैन, कहिले के । पाँच दिन बितिसक्यो’, एकराजले भने, ‘सबै कुरा समयमै नहुने, भिडभाड पनि उस्तै, सर्भरको समस्याले बिलिङमा उस्तै समस्य । बुटवलमा बसेर खर्च मात्रै बढ्यो ।’ विहान ७ बजे आउने दिउँसो ३ बजे फर्किने दैनिकी जस्तै भएको उनले गुनासो गरे ।