June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

रूपन्देही–३ मा उपचुनावको चर्चा, कुन पार्टीमा कस्ता दाबेदार ?

Advertisement

भैरहवा– रूपन्देही क्षेत्र नं. ३ प्रतिनिधिसभा सदस्यबिहीन छ । २०७९ को निर्वाचनमा निर्वाचित राप्रपा सांसद दीपक बोहराको निधनपछि क्षेत्र प्रतिनिधिबिहीन भएको हो । बोहराको निधनपछि खाली रहेको क्षेत्रमा निर्वाचन आयोगले उपचुनाव गर्ने तयारी थालेको छ । उपनिर्वाचनको तयारी भइरहँदा अब, हाम्रो माननीय को बन्ला ? भनेर क्षेत्रबासीले चासो दिन थालेका छन् ।

Advertisement

कुन पार्टीबाट कसको चर्चा ?
२०७९ मा एमाले, राप्रपा र जसपाको गठबन्धनबाट बोहराले चुनाव जितेका थिए । काँग्रेस, माओवादी र लोसपाको संयुक्त गठबन्धनबाट बहालवाला तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण उम्मेदवार थिए । तर, स्वास्थ्य समस्याले बोल्न नसक्ने बोहराले खाँणलाई सहजै हराए । उपचुनावमा पनि काँग्रेसबाट पुनः खाँण नै उम्मेदवार बन्ने क्षेत्र नम्बर ३ का चोकचौराहामा चर्चा चुलिरहेको छ ।

खाँणलाई यसपटक त्यति सहज भने छैन । किन भने भुटानी शरणार्थी प्रकरणमा जोडिएपछि उनी रक्षात्मक बनेका मात्रै छैनन्, खाँणविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा विचारधीन छ । जसले गर्दा उनी उम्मेदवार बने पनि आफूमाथि लागेको आरोपले पक्कै मतदातासमक्ष जाँदा उनलाई प्रश्न तेर्सिने छ । यद्यपि धेरैले खाँण राष्ट्रिय नेता भएको, आफ्नै पार्टी र तत्कालीन सरकारका केही मन्त्रीहरुको मिलेमतो फसाएको चर्चा सुनिँदै आएको छ । खाँणले आफू निकटहरुसँग सके आफै उठ्ने नभए आफू निकटका लागि चुनाव लडाउने तयारी गरेको काँग्रेस बृत्तमा चर्चा भइरहेको । यद्यपि काँग्रेसबाट केन्द्रीय सदस्य भरतकुमार शाह र युवा नेता प्रमोदकुमार दायवको पनि चर्चा छ ।

उनीहरु उम्मेदवार बन्छन् वा बन्दैनन् भन्ने एकीन छैन । शाह गत निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर पाँचबाट एमालेका बासुदेव घिमिरेसँग पराजित भएका थिए भने युवा नेता यादव क्षेत्र नम्बर ४ बाट लोसपाका सवेन्द्रनाथ शुक्लासँग पराजित भएका थिए । भैरहवामै बस्ने भएकाले यादव र शाह दुबैको पकड राम्रो भएको बताइन्छ । तर, पनि उनीहरुले टिकट पाउने–नपाउने भन्ने कुरा खाँणमै निर्भर रहेको बताइन्छ । खाँण आरोपी भए पनि पार्टीभित्र र जिल्लामा शक्तिशाली भएकाले उनकै रोजाइका व्यक्तिले टिकट पाउने सम्भावना बलियो छ । स्रोतका अनुसार खाँणले उम्मेदवारी दर्ता मितिसम्म सकभर आफूविरुद्धको मुद्दा टुंग्याएर आफै चुनावी मैदानमा होमिने तयारी समेत गरेको चर्चा क्षेत्रमा हुँदै आएको छ ।

यस्तै, नेकपा एमालेबाट केन्द्रिय सदस्य खिमलाल भट्टराईको नाम चर्चामा आएको छ । केही दिन अघि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर फर्किएपछि भट्टराई क्षेत्र नम्बर ३ मा केन्द्रित हुन थालेका छन् । एमाले स्रोतका अनुसार भट्टराई नै एमालेको उम्मेदावर हुने पक्कापक्की जस्तै छ । यद्यपि एमालेबाट अन्य नेताहरुले पनि आकांक्षा राखेको बताइन्छ । तर, खुलेर कोही बोलेका छैनन् । विद्यार्थी राजनीतिबाट खारिएका भट्टराई प्रस्ट र प्रखर वक्ताका रुपमा परिचित छन् ।

यता बोहराको निधन पछि राप्रपाबाट उम्मेदवार बन्न उनका छोराहरु प्रज्वल बोहरा र गौरव बोहरा लागिपरेको बताइन्छ । लामो समय क्षेत्रमा भिजेको र बोहरा बिरामी हुँदा समेत उनको बिडो धानेका प्रज्वल नै उम्मेदवार हुने चर्चा राप्रपामा छ । युवाहरुमाझ छोटो समयमा राम्रो पकड बनाएका प्रज्वल उम्मेदवार हुँदा चुनाव जित्न सहज हुने राप्रप्राका स्थानीय नेताहरु बताउँछन् । गौरव बुद्ध एयरका सिनियर पाइलट हुन् । उनले पनि चुनाव लड्न आकांक्षा राखेको बताइन्छ । राप्रपाले टिकट नदिए रास्वपाबाट भए पनि उम्मेदवारी दिने तयारीमा उनी रहँदै दावी गरिँदै आएको छ । केही समय अघि गौरवले रास्वपा नेताहरु पनि भेटेको चर्चा छ । तर, गौरवले यसबारे केही खुलाएका छैनन् ।

अर्कातर्फ रास्वपाले आफ्नो उम्मेदवार नउठाएर प्रज्वललाई सहयोग गर्ने चर्चा पनि उत्तिकै छ । कतिपयले स्वर्गीय बोहराकी नातिनी एवं पार्टी केन्द्रीय सदस्य स्वाती थापा अथवा बोहरा पत्नी उन्नती बोहरालाई उम्मेदवार बनाउनुपर्ने आवाज पनि उठाउँदै आएका छन् । तर, सबै किसिमले प्रज्वल नै उम्मेदवार बन्ने राप्रपा एक स्थानीय नेताले बताए ।

यस्तै, मधेश केन्द्रित दलहरुले भने साझा उम्मेदवार उठाउने तयारी गरेका छन् । साझा उम्मेदवार उठाउँदा जित्न सहज हुने उनीहरुको भनाई छ । बिहीबार मात्रै काठमाडौंमा उनीहरुले भेला गरेका थिए । तर, उम्मेदवारको टुंगो लागेको छैन । मोर्चा केन्द्रित सात दल जसपा, लोसपा, नागरिक उन्मुक्ति लगायतका दलहरु एक ठाउँ हुने तयारीमा छन् ।

यसअघिको परिणाम
क्षेत्र नम्बर ३ भारतको सुनौली नाकादेखि बुटवलसम्म फैलिएको छ । यहाँ मिश्रित समुदायको बसोबास छ । सांगठनिक संरचना हेर्दा क्षेत्रमा काँग्रे, एमाले र राप्रपाबीच प्रतिस्पर्धा हुने देखिन्छ । तर, काँग्रेस–एमाले सत्ता सहकार्यमा रहेकाले एक्लाएक्लै चुनाव लड्छन् की गठबन्धन गर्छन् भन्ने एकीन छैन । रुपन्देही–३ मा सिद्धार्थनगर नगरपालिका, सियारी गाउँपालिकाको १ देखि ३, ६ र ७, ओमसतिया गाउँपालिकाको वडा २, मायादेवी गाउँपालिकाको ७ र ८, तिलोत्तमा नगरपालिकाको १३ र १४, शुद्धोधन गाउँपालिका र बुटवल उपमहानगरपालिकाको १४ देखि १९ नम्बर वडा समेटिएको छ ।

यो क्षेत्रबाट २०४८ मा कांग्रेसका रामकृष्ण ताम्राकारले चुनाव जितेका थिए भने २०५१ मा एमालेका धनपति उपाध्याय विजयी भएका थिए । उपाध्यायको निधनपछि रिक्त रहेको सो क्षेत्रमा उपचुनाव हुँदा २०५२ मा एमालेकै घनश्याम भुसालले चुनाव जिते । २०५६ सालमा फेरि कांग्रेसका ताम्राकारले जिते भने २०६४ सालमा क्षेत्र पुनर्संरचना भएपछि बालकृष्ण खाँण नेपाली कांग्रेसबाट निर्वाचित भए ।

२०७० सालमा दीपक बोहोरा राप्रपाबाट विजयी हुँदा २०७४ मा घनश्याम भुसाल एमालेबाट जिते । त्यसबेला भुसालले बोहरालाई हराएका थिए । २०७९ सालमा दीपक बोहोराले जित्दा काँग्रेसका खाँण पराजित भएका थिए । समानुपातिक मत हेर्दा यो क्षेत्रबाट २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसले २० हजार २७८ मत पाउँदा एमालेले १६ हजार ९८६ मत पाएको छ ।

यस्तै, रास्वपाले १४ हजार १५४ मत ल्याउँदा राप्रपाले भने ९ हजार १८३ मत पाएको छ । यस्तै, नागरिक उन्मुक्ति पार्टीले ६ हजार र जसपाले ५ हजार मत पाएका थिए । लोसपाले ५ हजार, जनमत पार्टीले ३ हजार ७ सय, माओवादी केन्द्रले २ हजार ६ सय सय, जनमुक्ति पार्टीले १ हजार ९ सय, हाम्रो नेपाली पार्टीले १ हजार ३४७ र नेकपा एसले ७८१ मत प्राप्त गरेका थिए ।