भारतबाट दाउरा ल्याएर परिवारको लालनपालन



बर्दिया– बर्दिया सदरमुकामस्थित एक परिवारले ४० वर्षदेखि भारतीय जंगलबाट दाउरा ल्याएर विक्री गरेर गुजारा गरिरहेका छन् । गुलरिया नगरपालिका–७, का सद्दिक नाउ ६८ वर्षको उमेरमा पनि १४ जनाको परिवार लालनपालनका लागि अहिले पनि सदरमुकामका गल्ली गल्ली चाहरेर दाउरा विक्री गरिरहेका छन् । नाउ परिवारसित सम्पत्तिको नाममा सडक किनारको ऐलानी जग्गामा बनाएको झुपडी मात्र छ ।
अहिले चर्को गर्मीमा एकभारी दाउरा लिन उनलाई भारत हुन्छ । ‘चरक्क पोल्ने घाममा टाउकोमा भारी राखेर दैनिक ५–६ किलोमिटर हिँड्छु,’ उनले भने, ‘गुलरिया, तुलापुर, बेलौली, मनकामना र सन्तोषी टोलदेखि जिल्ला समन्वय समितिको कार्यालयसम्म पुग्छु र बेच्छु ।’ दाउरा बिक्री भएन भने दाल–चामल किन्ने पैसा नहुने बताए । रित्तो हात घर फर्किएका दिन बालबच्चा भोकै सुत्नुपर्ने उनले बताए । उनी सबेरै उठ्ेर भारी बोकेर बजार पुग्छन् । मध्यान्हसम्म बिकेन भने बजारमै एक ठाउँमा भारी अडेस लगाएर खाना खान घर फर्किन्छन् ।
‘खाइसक्ने वित्तिकै दाउरा राखेको ठाउँमा पुग्छु र बेच्न डुल्छु,’ उनले भने, ‘केहीगरि साँझसम्म बिकेन भने भारी घरै ल्याउँछु ।’ जाडोमा ताप्न र खाना पकाउन दाउराको खपत बढि हुन्छ । जाडोयाममा दिनमा ४ भारीसम्म दाउरा बिक्छ । ‘आज भोली गर्मीमा धेरैले ग्याँस प्रयोग गर्छन् । मुस्किलले दिनमा एक भारी दाउरा कटाउन पनि गाह्रो हुन्छ’, उनले भने । एक भारी दाउरा २ सय ५० देखि ३ सय रुपैयाँमा विक्री गर्छन् ।
विक्री गर्नमात्र होइन दाउरा बटुल्न पनि उस्तै सास्ती छ । आफ्नै मुलुकमा बटुल्न पाइँदैन । घरबाट ५ किलोमिटर टाढा भारतको मुर्तिहा जंगलबाट दाउरा ल्याउँछन् । जेठा छोरा, दुई छोरी र श्रीमती जान्छन् । भारतीय जंगलमा काम (बेगारी) गरेपछिमात्र बाल्नका लागि मसिना दाउरा ल्याउन पाइन्छ । यसवापत जंगलका ‘मुन्सी’लाई प्रतिव्यक्ति महिनाको ५ सय बुझाउनुपर्छ । भारतबाट बटुलेर ल्याएको दाउरा बेच्ने काम बृद्ध सद्दिकको हो ।
२ छोरा, ५ छोरी, एउटी बुहारी, ४ नाती र बुढाबुढी गरि १४ जनाको परिवार छ । जेठो छोराले ४ र कान्छाले ३ कक्षासम्म पढेर छाडे । जेठो छोराबाट ४ नाती छन् । साइली छोरीले ९ कक्षा पुगेपछि स्कुल गइनन् । ‘अहिले कान्छो छोरा कपाल काट्न सिक्दैछ । उसले कमाई गरिसकेको छैन’, उनले भने । परिवार झुपडीमा कोच्चिएर बसिरहेका छन् । ‘हाम्रो पीडा सरकारले देखे पनि नदेखेझै गरिरहेको छ । कसैले हेर्दैनन्,’ उनले भने, ‘पहिले सडक साँघुरो हुँदा घरको आँगन फराकिलो थियो । त्यसबेला आँगममा पनि खाट राखेर सुत्थ्यौं । आजभोली सडक फराकिलो बनाइयो । आँगन साँघुरिएपछि झुपडीभित्र सिमित छौं ।’
दाउरा बेचेको कमाइले परिवारमा कसैलाई पनि एक सरो लुगा किन्न पुग्दैन । चाडपर्वका बेला मनकारीले लुगा दिन्छन् । त्यसैले वर्षभरि जेनतेन लाज छोप्ने गरेको उनले बताए । ‘दाउरा बेचेर महिनामा १४–१५ हजार कमाई हुन्छ,’ उनले भने, ‘त्यो सबै दाल–चामल, नुन, तेल, सागसब्जी, मसला किन्दैै सकिन्छ । माछामासु खान त पर्व नै कुर्नुपर्छ । बचत गर्ने त टाढाका कुरा ।’








प्रतिकृया दिनुहोस्