November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

स्मृति: वचनका पक्का दीपक बोहरा

Advertisement

भैरहवा– रुपन्देहीको भैरहवा भन्ने वित्तिकै सबैले स्मरण गर्ने नाम हो दीपक बोहरा । जिल्लामात्र होइन, त्यसभन्दा बाहिरकाले समेत उनलाई गक्ष अनुसार नाता नै लाएर सम्बोधन गर्थे । प्रायः सर्वसाधरणले दुःखको घडीमा राप्रपा नेता बोहरालाई नै सम्झिने गर्थे । जसले गर्दा बोहरा रुपन्देहीका साझा नेताको रुपमा स्थापित थिए ।

Advertisement

राष्ट्रिय राजनीतिका चर्चित पात्र बोहरा पञ्चायतकालमा तत्कालीन शासकका लागि अपरिहार्य उनी मुलुकमा प्रजातन्त्र–लोकतन्त्र बहाल हुँदासमेत पटकपटक लाभको पदमा पुगे । कार्यकर्ताप्रतिको झुकाव र आँटिलो स्वभावले गर्दा बोहरा सधैं हक्की देखिन्थे । फरक राजनीतिक दलका नेता–कार्यकर्तासित घुलमिल भएर आफूलाई ‘मियो’का रुपमा स्थापित गर्ने खुबी बोहारामा रहेको उनका समकालीनहरु बताउँछन् ।

पाल्पाको तानसेनमा जन्मिएका उनका पिता प्रतिमानचन्द्र बोहरा तत्कालीन समयका बडाहाकिम थिए । बडाहाकिमका छोरा भएकाले बोहोरामा पनि बुवाको प्रभाव र रवाफ देखिन्थ्यो । पाल्पामा विद्यालय शिक्षा हासिल गरेका बोहेराको युवाकाल रुपन्देहीमा बित्यो । पञ्चायती राजनीति गर्नेक्रममा उनी २०३६ सालमा रुपन्देहीबाट राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित थिए । त्यसपछि जिल्लामा उनको प्रत्यक्ष प्रभाव देखियो ।

जिल्लास्थित उनका समकालीन नेताको भनाई अनुसार रुपन्देहीको बुटवलमा दीपनगर बस्तीनै बोहराले बसालेका थिए । त्यसबाहेक बुटवल नगरपालिकाको पश्चिममा रहेका फर्साटिकर, सेमलार, देवदह शीतलनगर, सालझण्डी, सैनामैनामा बस्ती बसाउन पनि बोहोराको भूमिका रहेको उल्लेख गरिन्छ । सिद्धार्थनगर, लुम्बिनी, धकधई लगायत सीमावर्ती क्षेत्रको बिकासमा उनले योगदान पुर्याएको चर्चा हुने गरेको छ ।

‘राजनीतिक प्रतिबद्धतामा उनको अपरिवर्तनशील अडान हुन्थ्यो,’ बोहराका समकालीन तथा रुपन्देही क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य सर्वेन्द्रनाथ शुक्लले भने, ‘वचन दिएपछि धोका नदिने, बरु सक्दिनँ भन्ने उहाँको स्वभाव थियो ।’ त्यही प्रष्टताका कारण उनी जिल्लामा सबै राजनीतिक दलमा घुलमिल र सहकार्य गर्न सक्ने नेताका रुपमा परिचित थिए । यसैको परिणामस्वरु २०७४ सालको आम निर्वाचनमा रुपन्देही क्षेत्र नम्बरको ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदारमा कांग्रेसले समर्थन गरेको थियो । भने २०७९ सालमा रुपन्देही ३ बाट उनको उम्मेदवारीलाई एमाले र जसपाले समर्थन गरेका थिए । त्यसबेला उनले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेस नेता बालकृष्ण खाँणलाई पराजित गरेका थिए ।

‘बोहराको कमजोरी वा नकारात्मकता भनेकै आफ्ना कार्यकर्ता भनेपछि सही–गलत नहेरी आँखा चिम्लेर संरक्षण गर्ने प्रबृत्ति थियो,’ सांसद शुक्लले भने, ‘यस्तै प्रबृत्तिका कारण बोहरा र मेरो पारिवारिक सम्बन्ध राम्रो भए पनि हामीबीच मन र मतभेद भइरहन्थ्यो ।’ पछिल्लो निर्वाचनमा उनको घाँटीमा समस्या थियो । जसले गर्दा उनले कार्यकर्तासित हात र अँगालो मिलाए पनि आफ्नो भनाई राख्न सकेका थिएनन् । उनको तर्फबाट पूर्व गृहराज्यमन्त्री निरन्जन थापाले भाषण गर्थे । बिदेशमा पुगेर समेत उपचार गराएका बोहर त्यसपछि तङिग्रन सकेनन् । बेला–बेला कार्यकर्तामाझ देखिए पनि मतदातासित साक्षात्कार गर्ने उनको धोको अधुरै रहेको उनी निकट बताउँछन् ।

‘आफ्ना मात्र नभएर विपक्षी कार्यकर्तालाई समेत सहयोग गर्ने बोेहराको आँटिलो स्वभाव थियो,’ नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्याय भन्छन्, ‘सहयोगी र व्यक्तिगत प्रभाव पार्नसक्ने खुबी थियो । जसकै कारण बोल्न नसक्दा पनि २०७९ को निर्वाचनमा बहालवाला गृहमन्त्रीलाई पराजित गर्नु सामान्य कुरा थिएन ।’ उनमा भएको राष्ट्रभक्तीलाई लिएर पनि स्मरण गर्न सकिने उपाध्याय बताउँछन् । ‘रुपन्देहीमा जुनसुकै निर्वाचन क्षेत्र रोजेपनि उनको व्यक्तिगत प्रभाव देखिन्थ्यो,’ उनले भने, ‘सुकुम्बासी बस्तीसँगै जिल्लाको बिकासमा उनको भूमिका देखिन्छ ।’

बुवालाई निको नभएपछि बोहराका छोराद्धय प्रज्वल र गौरब जिल्लाका विभिन्न गतिविधिमा सहभागी हुँदै कार्यकर्तासित साक्षात्कारमा व्यस्त देखिन्थे । दुबै छोराले निर्वाचन क्षेत्रमा आफ्ना बुवाको अनुपस्थित टार्नेगरि घरदैलो र भेटघाट तिव्र बनाएका थिए । सहपाठी साहित्यकार बिजयगोबिन्द श्रेष्ठ (बिजयसागर)ले बोहराले जिल्लामा बिकासप्रेमी र हिम्मतिला नेताको छाप छाड्न सफल भएको प्रतिक्रिया दिए ।

‘बुटवलको दीपनगर बस्तीको नामकरण बोहराको नामबाट भएको हो,’ श्रेष्ठले भने, ‘सुकुम्बासीलाई ल्याएर देवदहमा पनि बस्ती बिकास गरेको श्रेय उनैलाई जान्छ ।’ श्रेष्ठका अनुसार रुपन्देहीको बिकासको जग मानिने भैरहवा–लुम्बिनी भूमिगत जलपरियोजना, भैरहवादेखि नवलपरासीको त्रिवेणीसम्म हुलाकी सडक निर्माणमा बोहरोका मुख्य भूमिका रहेको थियो । जिल्लामा शैक्षिक संस्थाको स्थापनामा बोहराको योगदान रहेको श्रेष्ठले बताए ।

बोहराले वन तथा वातावरण, स्वास्थ्य प्राविक जनशक्ति उत्पादन गर्ने थलोका रुपमा आफना पिता र माताको नाममा प्रतिमान–नीमा स्मृति प्रतिष्ठान खडा गरेका छन् । रुपन्देहीमा रहेको प्रतिष्ठानले पछिल्लोसमय जनवायू परिवर्तन न्युनिकरणका काम गरिरहेको छ । बोहराकी श्रीमती प्राज्ञ तथा गीतकार उन्नती बोहरा ‘शीला’ हुन् । उनका छोरा गौरब विमान चालक हुन् भने प्रज्वल सामाजिक क्रियाकलापमा संलग्न छन् । उनकी छोरी चाँदनीको एक महिनाअघि निधन भएको थियो ।

रुपन्देहको सिद्धार्थनगर–३, खजहानामा बसोबास रहेका बोहराले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा स्नातकसम्म अध्ययन गरेका थिए । नेपालको राजनीतिमा चार दशकदेखि क्रियाशिल बोहरा २०३६ साल र २०४२ सालको आम निर्बाचनमा राष्ट्रिय पंचायत सदस्यमा निर्बाचित भएका थिए । २०७० सालमा दोस्रो संविधान सभाको निर्बाचनमा रुपन्देही क्षेत्र नम्बर–२ बाट संविधान सभा सदस्यमा निर्बाचित भएका थिए । लामो राजनीतिक यात्रामा बोहरा पटकपटक लाभको पदमा पुगेका थिए ।

उनी २०७३ सालमा आपूर्ती मन्त्री, २०७४ मा स्वास्थ्य मन्त्री, २०७२ सालमा श्रम तथा रोजगार मन्त्री, २०६७ मा वन तथा भूसंरक्षण मन्त्री, २०४४ मा निर्माण तथा यातायात मन्त्री, २०४३ मा निर्माण तथा यातायात राज्यमन्त्री, २०४० मा पर्यटन राज्यमन्त्री, २०३८ मा सहायक पर्यटन मन्त्री बनेका थिए । मन्त्री बाहेक २०६७ मा राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष, २०५७ सालमा बैंक अफ काठमान्डुको अध्यक्ष बनेका थिए । उनी डा.हर्ष बहादुर बुडामगर स्मृति प्रतिष्ठानको मानार्थ संरक्षक र ग्लोबल टाइगर इनिसियटिभको सदस्य थिए ।

संघीय सांसद बोहराको मंगलबार बिहान काठमाडौंस्थित ओम अस्पताल निधन भएको हो । ७४ वर्षीया बोहरा २०७७ साल जेठमा कोरोना भाइरसबाट संक्रमित भएपछि स्वास्थ्यमा समस्या देखिएको थियो । संक्रमणको केही समयपछि उनलाई पोस्ट–कोभिडका लक्षण देखिएका थिए । स्वरमा परिवर्तन र समस्या देखिएकाले उनी चुनावी प्रचार–प्रसारकै क्रममा समेत बोल्न नसक्ने अवस्थामा थिए । थप उपचारका लागि दिल्ली र न्युयोर्क पुगेका बोहरा स्पिच थेरापी लिँदै आएका थिए । पछिल्लो समय भने उनी घरमै स्वास्थ्य लाभ गरिरहेका थिए ।