भारतमा मृत्यु भएकी भैरहवाकी प्रकृतिलाई भारतीय युवकले मानसिक यातना दिएको पुष्टि



भैरहवा– भारतीय प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ टेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्साललाई सोही कलेजमा पढ्ने एक भारतीय युवकले मानसिक यातना दिएको खुल्न आएको छ । यो घटनालाई लिएर भुवनेश्वरमा रहेको इन्फोसिटी पुलिस स्टेसनमा एफआइआर (फस्र्ट इन्फोर्मेसन रिपोर्ट) दर्ता भएको छ । प्रकृतिमाथि एक युवकले ब्ल्याकमेल गरेको भन्दै उनका एक आफन्तको नामबाट प्रहरीमा उजुरी दिइएको थियो । प्रहरीले उक्त केसलाई भारतीय न्याय संहिता (बीएनएस) को धारा १०८ अन्तर्गत दर्ता गरेको हो ।
लम्साल भैरहवा निबासी हुन् । उनका बुवा घटनास्थलमा पुगेका छन् । प्रकृतिलाई ब्ल्याकमेल र ह्यारेसमेन्ट गरेको आरोपमा २१ वर्षीय युवक पक्राउ परेका छन् । उनलाई अहिले न्यायिक हिरासतमा राखिएको छ । प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाइरहेको छ ।
प्रकृतिको मोबाइल फोनसहित निजी सामानहरू प्रहरीले नियन्त्रणमा लिएको भुवनेश्वर–कट्टक प्रहरी आयुक्त सुरेशदेव दत्त सिंहले बताएको भारतीय संचारमाध्यमले जनाएका छन् । मोबाइललाई फरेन्सिक विज्ञान प्रयोगशालामा अनुसन्धानका लागि पठाइएको र त्यसको रिपोर्ट आएपछि थप तथ्यहरू फेला पर्ने उनको भनाइ छ ।
आयुक्त सिंहले सविस्तार भने, ‘हामीले आइतबार साँझ केआइआइटी विश्वविद्यालयमा कम्प्युटर साइन्स तेस्रो वर्ष अध्ययनरत छात्राले आत्महत्या गरेको विषयमा सूचना प्राप्त ग¥यौँ। यो सूचनालाई लिएर एउटा केस दर्ता भएको छ । नेपालकी ती छात्रालाई सोही विश्वविद्यालयमा मेकानिकल इन्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत एक युवकले मानसिक यातना दिइरहेको आरोप थियो । हामीले प्रारम्भिक अनुसन्धान गर्दा यो आरोप पुष्टि हुने प्रमाण भेट्यौंम् । युवकबाट एक प्रकारको मानसिक यातना भोगेकैले आत्महत्या गरेको हुन सक्ने देखिएको छ । त्यसैले हामीले युवकलाई पक्राउ गरेका छौँ । उनको स्वास्थ्य परीक्षण गरेर न्यायिक हिरासतमा पठाइएको छ ।’
कलेजमा नेपाली र भारतीय विद्यार्थीहरूले न्यायको माग गर्दै प्रदर्शन सुरु गरेपछि सुरक्षाका लागि प्रहरी परिचालन गरिएको उनले बताए । अहिले स्थिति शान्तिपूर्ण रहेको उनको दाबी छ । एउटा फोन सम्वादको अडियो सामाजिक सञ्जालमा पनि सार्वजनिक भएको छ, जसमा ती युवकले प्रकृतीलाई अपशब्दसहित भद्दा गालीगलौज गरेको सुनिन्छ । यो अडियोको स्वतन्त्र पुष्टि भने भएको छैन ।
केआइआइटी कलेजमा बी–टेक तेस्रो वर्षमा अध्ययनरत प्रकृति होस्टलको कोठाभित्रै सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा शनिवार साँझ फेला परेकी थिइन् । त्यस लगत्तै नेपाली विद्यार्थीहरूले न्यायको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका थिए । उनीहरूलाई केही भारतीय विद्यार्थीले पनि साथ दिएका छन् । तर, कलेज प्रशासनले विद्यार्थीको माग सुनवाइ गर्नुको साटो उनीहरूमाथि दमन गरेको थियो । नेपाली विद्यार्थीहरू होस्टलबाट जबरजस्ती लखेटिएका थिए ।
भारतीय सञ्चारमाध्यमका अनुसार पाँच सय विद्यार्थीहरूलाई जबरजस्ती होस्टलबाट निकालिएको छ । उनीहरूलाई स्कुलको दुईवटा बसमा कोचेर कट्टक रेल्वे स्टेसनमा उतारिएको थियो । विद्यार्थीहरू बिचल्लीमा परेको खबर सार्वजनिक भएसँगै दिल्लीस्थित नेपाली दूतावासले चासो दियो । दूतावासको समन्वयपछि कलेजले विद्यार्थीहरूलाई होस्टल फर्काउन तयार भएको छ । तर, त्यतिबेलासम्म धेरै विद्यार्थीहरू गाडी र ट्रेन चढिसकेका थिए । उक्त घटनामा प्रहरीले प्रकृतिलाई ह्यार्समेन्ट दिएका एडविक श्रीवास्तवलाई पक्राउ गरी अनुसन्धान भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।








प्रतिकृया दिनुहोस्