५० वर्षदेखि साइकल मिस्त्री



भैरहवा– रुपन्देहीको रोहिणी गाउँपालिका–२, खुरहुरहुरियाका ७५ वर्षीय अकवाल पठान साइकल मिस्त्री हुन् । उनलाई गाउँघरमा मिस्त्री, साहु, रघु भनेर चिनिन्छ । ५० वर्षदेखि साइकल मर्मत गर्दै आएका उनको परिचय रोहिणीमा मात्र सिमित छैन । भारतको भगवानपुर र नौतनवासम्म मिस्त्रीका रुपमा परिचित छन् । ‘मैले साइकल मर्मत गर्न थालेको ५० वर्ष पूरा भइसक्यो,’ पठान भन्छन्, ‘पहिले मेरो पसल भैरहवा–परासी सडकखण्डको बैकुण्ठपुर चोकमा थियो । अहिले खुरहुरहुरियामा छ ।’
उनले पसल सुरु गर्नेबेला रोहिणीमात्र होइन, सदरकमुकाम भैरहवामा पनि साइकल मर्मत गर्ने पसल थिएन । उनका अनुसार नवलपरासीको सदरमुकाम परासीमा एउटा पसल थियो । भारतका भगवानपुर, सुनौली र नौतनवाबाट साइकल बनाउन उनको पसलमा आउँथे । रुपन्देही जिल्लाभरिबाट साइकल बनाउन आउने हुँदा पसलमा ठूलै जमघट हुन्थ्यो । ‘मैले पसल सुरु गरेको समयमा एउटा पञ्चर टालेको ५० पैसा मिल्थ्यो,’ उनले भने, ‘अहिले एउटा पञ्चर टालेको ३० रुपैयाँ खर्च लाग्छ । तर, एक कप चियाको मूल्य पनि २० रुपैयाँ पुगिसक्यो । पहिले साइकल नै सवारीको मुख्य साधन थियो ।’
उनका अनुसार पहिले साइकल नहुने पैदल यात्रा गर्थे । अहिले सवारीका साधन धेरै भए । साइकल मर्मत गर्ने पसल पनि छ्यापछ्याप्ती छन् । पसल सुरुवात गर्दाका दिन प्रतिदिन ३५ रुपैयाँसम्म कमाई हुन्थ्यो । अहिले कमाई नहुने पठानले बताए । ‘कहिले एक कप चिया खाने पैसा कमाउँछु,’ उनले भने, ‘कहिलेकाहीं दुईसमय रुपैयाँसम्म आम्दानी हुन्छ ।’
पठान परिवारमा ७ जना सदस्य छन् । जेठी छोरीको बिहेपछि ६ जना घरमा छन् । श्रीमती खतबुन निशा ५० वर्षकी भइन् । अहिले २० र १९ वर्षकी छोरी घरमै छन् । उनीहरुले पढेनन् । १७ र १६ वर्षका दुई छोरा विद्यालय जान्छन् । जेठा छोरा अब्दुल १० कक्षामा पढ्छन् । कान्छा ९ कक्षामा पुगेका छन् । आम्दानीको मुख्य आधार यही साइकल पसल हो । पठानको नाममा आठ कठ््ठा खेत छ । इँटाको घर छ । प्लाष्टर गर्न बाँकी छ । घरको मूल ढोका छैन । एउटा भैसी र पाडी छन् । तीन बाख्रा छन् । सम्पति यति नै हो ।

‘गाउँमा अरुको खेत अधियाँ गरेर अन्न उत्पादन गर्छौ । पैसा नभएका बेला घरलाई चाहिने बचाएर धान र गहुँ बिक्री गर्छौ । अन्न बेचेर भएको कमाइबाट परिवारका सदस्यलाई लुगाफाटो किन्ने गरेको छु’, उलने भने, ‘म बृद्धाभत्ता पाउँछु । त्यसले पनि चियापानी हुन्छ । अन्नपात घरमै हुने भएकाले साइकल पसलको कमाईबाट नुनतेल जोहो गर्छु । छोराहरु सानै भएकाले काम गर्दैनन् । स्कुल छुट्टि भएका बेला साइकल पसलमा आएर सघाउँछन् ।’
पठान मुटु बिरामी छन् । ६ वर्षअघि हृदयघात भयो । बुटवलस्थित मुटु अस्पतालमा शल्यक्रिया गरियो । त्यसबेला उपचार गर्न पैसा भएन । घर–जग्गाको लालपुर्जा कृषि बिकास बैंकमा राखेर ५ लाख ऋण निकाल्नु पर्यो । उपचारमा ३ लाख ७२ हजार खर्च भयो । ‘धन्न निको भयो,’ उनले भने, ‘त्यहीं बेलादेखि दैनिक मुटुको दवाई खानुपर्छ । मासिक चार हजार रुपैयाँको औषधि किन्नुपर्छ । सुरुमा डाक्टरले मासिक ६ हजारको औषधि लेखेका थिए । कमाई नहुने । दवाई नखाए हुन्न भनेर डाक्टरसित सोधेँ । डाक्टरले मान्नु भएन । दुई हजार कमको दवाई लेखिदिनुभयो ।’
कृषि बिकास बैंकमा मासिक ५ हजार रुपैयाँ ब्याज बुझाउनुपर्छ । बैंकको ब्याज र औषधि खर्च जुटाउन चिया पिउन छाडियो । मिठो तरकारी नखाएको वर्षौ भयो । साइकल पसलबाट मासिक मुश्किलले ५ हजार कमाई हुन्छ । त्यसबाट बचेको र अन्नपानी बेचेर बटुलबाटुलपारी बुटवलको मुटु अस्पतालमा महिनामा एकपटक जचाउन पुग्ने उनले बताए । एकपटक जचाउन गएपछि ३ हजार ५ रुपैयाँ खर्च लाग्छ । जीवनमा घरबाट टाढा गएको पनि त्यहीं बुटवलमा उपचार गराउन गएको पठानले सुनाए ।
उनका अनुसार जेठी छोरीको बिहे गर्दा १० लाख रुपैयाँ खर्च लाग्यो । बिहे गर्दा गाउँमा खोजेको डेढ लाख ऋण तिर्न बाँकी छ । दुई छोरीको बिहेवारी गर्ने बेला भयो । छोरीको बिहेवारी कसरी गर्ने चिन्ताले उनलाई सताउँछ । छोराहरुलाई बिदेश पठाउन उमेर पुगेको छैन । पढिरहेका छन् । ‘पढाई टुटाउन मन लाग्र्दैन,’ उनले भने, ‘परिवारको एकमात्र कमाउने म पनि बुढो भएँ । अब पहिलेजस्तो हातखुट्टा चल्दैनन् ।’








प्रतिकृया दिनुहोस्