दलकै कारण संविधान जोगाउन चिन्ता



भैरहवा– आज संविधान दिवस । जनताबाट निर्वाचित जनप्रनिधिबाट गठन भएको संविधानसभाबाट ३, असोज ०७२ मा संविधान जारी भएको दिन । तत्कालीन राष्ट्रपति रामवरण यादवले संविधान जारी गरेका थिए ।
दिवसका अवसरमा आज सरकारले मुलुकभर सार्वजनिक बिदा पनि दिएको छ । संघीयतापछि पहिलो निर्वाचन २०७४ मा भएको थियो । पहिलो संसदको कार्यकाल सकिएपछि २०७९ मा निर्वाचन भई जनप्रतिनिधि चुनिएका छन् । २०७९ मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएको थियो । तर, दलहरुकै कारण संविधान अझै पनि पूर्ण कार्यान्वयनमा आएको छैन ।
मुलुक संघीय लोकतान्त्रि गणतन्त्रात्मक मुलुक भएको पनि डेढ दशक पूरा भएको छ । निरंकुश राजतन्त्रको अन्त्यसँगै मुलुकमा गणतन्त्र आएको थियो । आज मुलुकभर संविधान दिवस मनाइरहँदा जनतामा जति अपेक्षा थियो, त्योअनुसारको विकास र समृद्धि मुलुकले हासिल गर्न नसक्दा यदाकदा नैराश्यता छाएको छ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । त्यसपछि मुलुकमा गणतन्त्र आएपछि जनतामा ब्यापक अपेक्षा थिए । ती अपेक्षा पूरा गर्न दल र तिनका नेता चुक्दै आएका छन् ।
संविधान जारी भएको पनि ९ वर्ष पुगेको छ । तर, संविधानको मूल मर्मअनुसार दलहरु चल्न सकेका छैनन् । पटकपटक बदलिने राजनीतिक नेतृत्व र सरकारले जनतालाई संविधानअनुसार सन्तुष्ट पार्न सकेका छैनन् । एकथरिले राजतन्त्रको नारा लगाउन सुरु गरिसकेका छन् । यसको मूल जड दलहरु र तिनका नेता नै हुन् । विकास र समृद्धिका नारा तुहिए, बरु दल र तिनका नेताले अकुत सम्पत्ति कमाएको आरोप छ । पछिल्लो पटक राज्यकै उच्च तहमा पुगेकाहरु नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर रकम असुल गरेको आरोपमा धमाधम पक्राउपछि राज्यले नै विश्वमाझ लज्जाबोध गरेको छ ।
भ्रष्टाचार, कुशासन र नेताहरुको गैरक्रियाकलापले गर्दा जनतामा ब्यापक वितृष्ण पैदा भइरहेको छ । कलिलैमा कतै गणतन्त्र र संविधानमाथि खतरा उत्पन्न हुने त होइन् भनेर आम चिन्ता छ । संविधान जोगाउन पनि दलकै कारण चिन्ता बढीरहेको छ । गणतन्त्रप्रति जनताका जति अपेक्षा छ, ठीक विपरीत क्रियाकलाप भइरहँदा जनआक्रोश बढेको हो ।
विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा माओवादीबीच पूर्ण लोकतन्त्र स्थापनाका लागि १२ बुँदे समझदारी भएको थियो । विसं २०६२ मङ्सिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो । विसं २०६२ फागुनदेखि सुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो । नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए । अन्ततः तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गर्न बाध्य हुँदै बैठकसमेत आह्वान गरे ।

विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गर्यो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि धेरै काम गरेको थियो । विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । संविधानबमोजिम तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भयो । जसअनुसार सङ्घीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् ।
तर, जनताका अपेक्षा निरन्तर निराशामा बदलिइरहेका छन् । यसको पछाडिका कारण दलहरु नै हुन् । सत्तालिप्त बन्दा नेताहरुको आलोचना चइरहेको छ । संविधान दिवसमा यसको कार्यान्वयनको आवज उठ्छ । तर, व्यवहारमा लागू हुँदैन । आज मुलुकभर दिवस मनाइरहँदा नेताहरुले प्रतिबद्धता गरेका छन्– संविधान कार्यान्वयनको । यद्यपि जनतामा अझै विश्वास छैन । स्थानीय तह, प्रदेश र संघ सरकारले दिवस मनाइरहँदा जनताका अपेक्षा विर्सिएकी भन्ने चिन्ता पनि थपिइरहेको छ । मौलिक हकहरु कार्यान्वयनमा छैनन् । बरु संविधान संशोधनको आवाज बलियो बनिरहेको छ । यसतर्फ दलहरु एकढिक्का भइ संविधान कार्यान्वयन गरेर आवश्यक संशोधन गर्न सक्छन् । तर, आफूखुशी संविधान संशोधन र यसका व्यवस्था कुल्चिने काम भने नेपाली जनतालाई पक्कै पनि स्वीकार्य हुने छैन ।








प्रतिकृया दिनुहोस्