दानव तर्न बालिघरे डुंगा चालक



भैरहवा– रुपन्देहीको सम्मरीमाई–५, स्थित दानव नदी तार्ने डुंगा चालकलाई स्थानीयले प्रतिघर अन्नपात संकलन गरेर दिने गरेका छन् । स्थानीयको खेतबारी र चरिचरन दानवपारी भएकाले दैनिक डुंगाबाट वारपार गर्नुपर्छ । त्यो पनि एकपटक मात्र होइन, बारम्बार डुंगा चढनु पर्ने भएपछि स्थानीयले चालकलाई प्रत्येक ६ महिनामा ज्यालास्वरुप अनाज दिने गरेका हुन् ।
सम्मरीमाई–५, स्थित भरवलियामा स्थानीय ४५ वर्षीय ध्रुव मल्लाहले डुंगा चलाउँछन् । उनको यो पुख्र्यौली पेशा हो । उनी दिनभर भरवलिया घाटमा यात्रुको प्रतीक्षामा भेटिन्छन् । त्यसका लागि सबैरै उठेर दानव तिरमा पुग्छन् । उनको पुरानो डुंगा छ । नदीमा पुग्ने बित्तिकै त्यसको अवस्था नियाल्छन् । डुंगा सफा गरेपछि यात्रुलाई वारपार गराउन तम्तयार हुन्छन् । मल्लाहले यसरी दानवमै जीवन बिताउन थालेको ४० वर्ष भइसक्यो । उनी यही घाटमा डुंगासित आफ्नो जीवनको बहुमूल्य समय गुजारी रहेका छन् । पानी जस्तै उनको जीवन बगिरहेको छ ।
भरवलियाका बासिन्दालाई पनि दानव नतरी सुखै छैन । किनभने उनीहरुका खेतबारी दानवपारी छन् । भरवलिया घाट भएरै छिमेकी लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ को गाउँ आउजाउ गरिन्छ । दुई पालिका जोड्ने यो मूल बाटो हो । बीचमा दानव छ । पुल नहुँदा वर्षौदेखि यही डुंगा स्थानीयको जल यातायातको महत्वपूर्ण साधन बनेको छ । धु्रवको परिवार चलाउने आधार पनि यहीँ डुंगा हो । काठको डुंगा खियाएर ध्रुवले परिवारको खर्चपर्च जुटाउने गरेका छन् । दैनिक स्थानीय बासिन्दालाई नदी तारे वापत धुव्रले सर्वसाधरणबाट नगद लिदैनन् ।
डुंगा तारेवापत गाउँलेले ध्रुवलाई प्रत्येक ६ महिनामा उनलाई प्रतिघर ५० किलोका दरले अनाज दिने गरेका छन् । त्यहीँ उनको परिवारको छाक टार्ने आधार बनेको छ । मल्लाहका अनुसार गाउँमा अहिले ७० घर छन् । यी ७० घरभन्दा बाहिरका मानिसले डुंगाबाट वारपार गरेभने प्रतिव्यक्ति २० रुपैयाँ तिर्नुपर्छ । अन्नपात बाहेक त्यो उनको अतिरिक्त कमाई हो । ध्रुवले अकस्मात डुंगा चलाएका होइनन् । उनका बाउबाजेका पालादेखि यहीँ पेशा अपनाइरहेका छन् ।
अहिले त बरु आसपास झलुङ्गे र पक्कि पुल निर्माण भइरहेका छन् । पहिले त सर्वसाधरणलाई नदी–खोला तर्ने एउटै विकल्प डुंगा हुन्थ्यो । ध्रुवले भने बाजेको पालादेखिको कामलाई अहिले पनि निरन्तरता दिएका छन् । ध्रुवको डुंगाबाहेक रोजगारी र आम्दानीको अर्को विकल्प छैन ।
कहिलेकाँही हिउँदमा उनलाई अप्ठ्यारो पर्छ । नदीमा पानी कम हुन्छ । स्थानीय खोला तर्न सक्छन् । त्यस्तो बेला डुंगा चढ्नेको संख्या कम हुन्छ । त्यसैले हिउँदका केही महिना उनी कमाउन भारत जाने गर्छन् । त्यहाँ मजदुरी गरेर कमाएको केही पैसाले लत्ताकपडा र बालबालिकाको विद्यालय शुल्क भर्छन् । त्यसबाहेक उनी दानव तिरमै समय बिताउन बाध्य छन् । पछिल्लो समय आसपास झोलुङ्गे पुल निर्माण भएपछि डुंगा तर्नेको संख्यामा गिरावट आएको छ । यसले उनको पिर चुलिएको छ । डुंगा थन्किएपछि कुन पेशा गरेर गुजारा चलाउने होला भन्ने पिर उनलाई छ ।
ध्रुवको परिवारमा आमाबुवा, श्रीमती र ५ सन्तान छन् । तर, खर्च जोहो गर्नका लागि काम गर्ने धुव्र मात्रै हुन् । ठूलो जिम्मेवारी आफूमाथि भएकाले परिवारको रेखदेख र पालनपोषणका लागि डुंगा चलाउने बाहेक खाली समयमा मजदुरी गनु पर्ने उनले बताए । उनका अनुसार पहिले दिनमा ५ सय भन्दा बढीले भरवलिया घाटमा ढुंगाबाट ओहोरदोहोर गर्थे । अहिले आधै घटेका छन् ।








प्रतिकृया दिनुहोस्