पिरैपिरमा ‘धम्मशोक’ भन्ते



भैरहवा– दुःख र पीडाले पछ्याइरहेका छन् । उनले संघर्ष गर्न पनि छाडेका छैनन् । हिम्मत हारेको भए उनी कोशी तीरमै कतै हराइरहेका हुन्थे । मोरङको बयरवनबाट जीवन निर्वाहका लागि सुरु गरेको संघर्षले ६४ वर्षीय छत्रबहादुर कार्कीलाई ३५ वर्षअघि रुपन्देहीको बुद्ध जन्मस्थल लुम्बिनी आउन बाध्य बनायो । यहाँ आएको केही समयमै बुद्धजन्मस्थल लुम्बिनीको सेवा सुरु गरेका उनी अहिले बुद्धको शरणमा पुगेका छन् ।
कार्की भन्ते (भिक्षु) बनिसकेका छन् । डेढ वर्षयता नागरिकताको भन्दा भिक्षुले प्रदान गरेको ‘भन्तेशोक’ नामले चिन्न थालिएको छ । आजकाल लुम्बिनीको मायादेवी मन्दिर परिसरमा भिक्षाटनबाट दिन सुरु हुन्छ । त्यही भिक्षाटन गरेरै साँझ पर्छ । शनिवार बिहान ७ बजे मन्दिर प्रवेश गरेका उनी दक्षिणपट्टि भिक्षाटनका लागि छुट्याइएको ठाउँमा पुगे । आसपास गाउँबाट आएका अन्य भन्तेको लहरमा भिक्षाटनका लागि मिसिएर बसे । यसरी गाउँबाट भिक्षाटनका लागि आउनेलाई लुम्बिनी बिकास कोषले बिहानमा ७ देखि १० बजेसम्म समय तोकेको छ । उक्त अवधिमा मन्दिर दर्शनका लागि आउने श्रदालुले लहरै भिक्षाटनका लागि बसेका व्यक्तिलाई दान दिन्छन् ।
बिहान ७ बजे मन्दिर प्रवेश गरेका कार्की १० बजेसम्म भिक्षाटन गरेपछि बाहिर निस्कन्छन् । उनी लुम्बिनी सांस्कृतिक नगरपालिका–६, स्थित आफ्नो घर फर्किंदैनन् । मायादेवी मन्दिरबाट उत्तर रहेको शान्ति दीप छेउमा रहेको विश्राम घरमा पुग्छन् । विश्राम घरको पूर्वपट्टि बसेर घरबाट ल्याएको रोटी र तरकारी खान्छन् । त्यसपछि कार्की त्यही बिश्राम घरमा बसेर आरधाना गर्छन् । त्रिपिटक पाठ गर्छन् । त्यो देखेर घुम्न आएका मनकारीले दान दिन्छन् । अपरान्ह ३ बजे फेरि भिक्षाटनको समय सुरु हुन्छ । साँझ ६ बजेसम्म मायादेवीमा भिक्षाटन गरेपछि शान्ति दीप नजिकै राखेको साइकलमा उनी घर फर्किन्छन् । उनको यो नियमित कर्म बनेको छ ।
मोरङको बयरवनमा एक जना मारबाडी समुदायका व्यक्तिसित साझेदारीमा खाद्यान्न व्यापार गरिरहेका थिए । साझेदारले धोका दिएपछि व्यापार असफल भयो । उनलाई १८ लाख रुपैयाँ ऋण लाग्यो । त्यसपछि आफ्नो सम्पूर्ण जेथा विक्री गरेर उक्त ऋण चुक्ता गरेको उनी बताउँछन् । सबै सकिएपछि श्रीमती, एक छोरा र छोरी दमकस्थित सशुरालीमा जिम्मा लगाएर बिरक्तिएर हिंडे । त्यही क्रममा लुम्बिनी आइपुगेको उनले सुनाए । यहाँ आइपुग्दा साथमा ३ सय २४ रुपैयाँ थियो । त्यही रकमले व्यवसाय थाल्ने सोच आयो । लुम्बिनीको पडरियामा महिनाको ५० रुपैयाँ तिर्नेगरि एउटा घुम्टि भाडामा लिए । एक वर्षजति त्यहाँ पान पशल सञ्चालन गरेको उनले बताए ।
नजिकै मायादेवी मन्दिर थियो । प्रत्येक दिन आउजाउ गर्न थाले । त्यही क्रममा कर्मचारीसित चिनजान भयो । त्यतिबेला गजबहादुर गुरुङ लुम्बिनीको सुरक्षागार्ड प्रमुख थिए । गुरुङले उनलाई सुरक्षा गार्डमा भर्ति गरिदिए । कार्कीका अनुसार सुरुका ६ महिना पारिश्रमिकका रुपमा प्रतिदिन ५ किलो गहुँ, डेढसय ग्राम मसुरोको दाल, डेढ सय ग्राम स्वयाबीनको तेल र नगद ५ रुपैयाँ मिल्थ्यो । ‘६ महिनापछि लुम्बिनी बिकास कोषले दुःख बुझयो,’ उनले भने, ‘२०४६ साउन ४ गते सुरक्षागार्डमा अस्थाई नियुक्ती दियो ।’
पाँच वर्ष अस्थाई रुपमा सेवा गरेपछि २०५१ साउन १ गतेबाट स्थाई नियुक्ती पाए । लुम्बिनी बिकास कोषमा करिब ३० वर्ष सेवा गरे । २०७६ असोजमा राजीनामा दिएका उनले त्यसबेला राशनसहित २३ हजार रुपैयाँ मासिक पारिश्रमिक बुझ्थे । उनलाई स्वास फुल्ने समस्या थियो । ‘छोराले बुवा बुढो हुनुभयो, अब छाड्नुस भनेपछि राजीनामा दिए,’ उनले भने, ‘छोराको सल्लाह मानेँ ।’
कार्कीले राजीनामा दिने बेला छोरा गोपालले तरकारी व्यवसाय गरिरहेका थिए । बुटवलबाट तरकारी ल्याएर लुम्बिनी आसपास र कपिलवस्तुसम्म पुर्याएर बेच्थे । छोराको व्यवसायलाई सघाउन कार्कीले १५ लाख रुपैयाँ खर्च गरेर पिकअप गाडी खरिद गरिदिएका थिए । छोरा र नातीलाई ओहोरदोहोर सहज होस् भनेर दुईवटा मोटरसाइकल किनिदिएको उनले बताए । ‘छोराले ४ वर्ष व्यापार गर्दा म ढुक्क थिए,’ कार्कीले भने, ‘त्यसपछि एक्कासी छोराको स्वास्थ्यमा गडबडी सुरु भयो, त्यहीबाट दुःखका दिन सुरु भए ।’
सुरुमा गोपालको घाँटी र कम्मर दुख्न थाल्यो । त्यसपछि खुट्टै चल्न छाडे । २०७९ फागुनबाट गोपाल थला परे । त्यतिञ्जेल केही बचत थियो । परिवारले गोपाललाई उपचारका लागि दुईपटक भारतको गोरखपुर पुर्याए । चिकित्सकले मेरुदण्डको नशा च्यापिएको बताए । त्यसअघि धेरै अस्पताल र चिकित्सकसित जचाए । २०८० मंसिरमा काठमाण्डौंको अन्नपूर्ण न्यूरो अस्पताल लगियो । त्यहाँ चिकित्सकले जाँच गरेपछि उनको शल्यक्रिया गरे । शल्यक्रिया लगत्तै चिकित्सकले माघमा फलोअपका लागि बोलाएका थिए ।
‘पैशा नभएपछि फलोअपका लागि जान सकेनौं,’ लुम्बिनी सांस्कृतिक–६ स्थित घरको ओछ्यानमा रहेका ४२ वर्षीय गोपालले भने, ‘बुटवलको एक अस्पतालमा तीन महिना थेरापी गरियो, थप थेरापी गर्न पैशा नभएकाले घरै आएँ ।’ अहिले गोपाल उठ्न सक्दैनन् । परिवारका सदस्यले उठाउँछन् । शरिर पोल्छ । खुट्टा काप्छन् । जीउ काप्दा खाटै हल्लिन्छ । बाँधेर राख्नुपर्छ ।

छोराले आर्जन गर्न थालेपछि कोषको जागिरबाट राजीनामा दिएका कार्कीले छोराको उपचारका लागि फेरि जेथा बिक्री गर्नु पर्यो । उपचार खर्च जुटाउन १५ लाखमा खरिद गरेको पिकअप गाडी ७ लाख रुपैयाँमा बिक्री गरे । दुबै मोटरसाइकल बिक्री गरे । ६ धुरमा निर्माण गरेको घर धितो राखेर एउटा वाणिज्य बैंकमा ३३ लाख रुपैयाँ ऋण निकाले । सुरुमा प्रतिमहिना ३३ हजार रुपैयाँ बैंक किस्ता थियो । अहिले ४२ हजार पुगेको छ । परिवारले मासिक किस्ता चुकाउन नसकेपछि बैंकले तमसुक गराउँदैं सावामा ऋण थप्दैं लगेको छ ।
घरको बाहिरपट्टि तरकारी बिक्रीका लागि निर्माण गरिएको गोदाममा ‘यो घर बिक्रीमा छ’ उल्लेख गरेर सूचना टाँसिएको छ । अहिलेको मन्दिमा घर खरिद गर्न कोही नआएको परिवारको भनाई छ । लुम्बिनीको सुरक्षा गरेर उकासिएको कार्कीको आर्थिक अवस्था फेरि शून्यमा पुग्यो । छोराले रेखदेख गर्ने र आफू आराम गर्ने भनेर सुरक्षागार्डको जागिरबाट राजीनामा दिएका कार्की भन्ते बनेर फेरि मायादेवीको शरणमा पुगेको बताउँछन् । अहिले परिवारका सदस्यको दैनिकी गोपालको रेखदेख गर्नु हो ।
सुरक्षागार्डको जागीर गरिरहेकी बेला कार्कीले कृषि उद्यमलाई साथै अगाडि बढाएका थिए । लुम्बिनीमा पहिलोपटक भारतबाट जर्सी गाई र मुर्रा जातका भैसी भित्र्याएर पालन गरे । माछा पालन गरे । कुखुरा पाले । एक समय गोठमा ४५ माउ जर्सी गाई र १० माउ मुर्रा भैसी थिए । अहिले गोठ पनि रित्तियो । छोरालाई दुध खुवाउन एउटा गाई पालेका छन् । बाख्रा पालन गरेका छन् । भैरहवा–लुम्बिनी सडकको पारीपट्टि एक जना काठमाडौंका व्यक्तिको डेढ बिघा खेत छ । सुरु देखि त्यही खेतमा उब्जनी गरेर परिवारले खाद्यान्न जुटाइरहेको छ ।
‘त्यही खेतको उब्जनीले अन्न किन्नु परेको छैन,’ कार्कीले भने । उनलाई कुन दिन बैंकले घर लिलाम गर्ने हो भन्ने चिन्ता छ । ‘बैंकले घर लिलाम गरेका दिन परिवार लिएर रुख मुनी जानुको विकल्प छैन,’ उनले भने, ‘मोरङबाट बालबच्चा बोकेर यहाँ आएँ, अहिले फेरि त्यसरी सडकमा जाने अवस्था बन्यो ।’ गोपालकी श्रीमती मीनाकुमारीका अनुसार आर्थिक रुपमा राम्रो व्यवस्था भएको परिवारलाई अहिले नुनतेल खान समस्या भइरहेको बताइन् । तरकारी गोदाममा एसी जडान थियो । गाडी घोडा थिए । मासिक बचत थियो । ‘सबै उपचारमा सकियो,’ उनले भनिन्, ‘बाबुको पिरले छोराले पढाइ छाड्यो ।’








प्रतिकृया दिनुहोस्