हसिनाः १५ वर्षे सत्ताबाट बहिर्गमन भई कसरी बनिन् शरणार्थी ?



गत जनवरीमा शेख हसिनाको पार्टी अवामी लिगले ३०० मध्ये २ सय २४ सिट जित्दै गर्दा शेख हसिनालाई सबै जनताको समर्थन आफूलाई रहेको भ्रम थियो। तत्कालीन निर्वाचनमा मुख्य विपक्षी पार्टी बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी) ले बहिस्कार गर्दै २८ घण्टे आम हड्ताल गरेको थियो।हड्तालबीचको निर्वाचनमा केवल ४० प्रतिशत भोट खसेको त्यहाँको निर्वाचन आयोगले जनाएको थियो।
तर हसिनाले एउटा राजनीतिक प्रक्रिया पुरा गर्दै पाँचौं कार्यकाल पदमा आसिन हुन पुगिन्। आफ्नो पाँचौं कार्यकाल सुरुवात गर्दै गर्दा उनीमाथि निरंकुशताको आरोप उत्कर्षमा थियो। यद्यपि उनले आफ्नो कार्यकालमा बंगलादेशलाई आर्थिक, भौतिक तथा कुटनीतिक रूपमा नयाँ उचाइमा पुर्याएको दाबी गरिन्छ। तर जनताका लागि यी सबै कुराहरू गौण बने, जब युवा विद्यार्थीहरूमाथि वार्ता सुरु भयो। सामान्य आन्दोलनलाई नदरअन्दाज गर्दा उनी अहिले शरणार्थी रूपमा विदेश पलायन हुन बाध्य भइन्।
हसिनाले विद्यार्थी आन्दोलनलाई आतंकवादसँग तुलनात गर्दै चरम दमनमा उत्रिइन्। परिणामत: उनी नसोचेको जनआक्रोशको सिकार बन्दै अहिले राजनीतिक शरणार्थीका रूपमा भारत पुगेकी छन्। साथै उनले आफ्नो राजनीतिक जीवनको खराब अवसान आँखा अगाडि देख्न बाध्य भइन् भने पिताको विरासतमा उनले गरेको रजगजसँगै उनको पार्टी अवामी लिगको समेत भविष्य अन्योलग्रस्त बनेको छ।
हसिनाको पतनको पछिल्लो कहानीको सुरुवात भने दुई महिना अघि अर्थात ५ अगस्टमा ढाका हाइकोर्टको एक फैसलाबाट सुरु हुन्छ। यो स्टोरीमा ६० दिनका यी तीन घटना जसले १५ वर्षे सत्ताबाट शरणार्थीसम्मको यात्राको वर्णन गर्ने प्रयास गरेका छौं।
आरक्षणमा ढाका हाइकोर्टको त्यो फैसला:
बंगलादेश सन् १९७१ मा स्वतन्त्र राष्ट्र बन्यो। यसै वर्ष त्यहाँ ८० प्रतिशत कोटा प्रणाली लागू भयो। बंगलादेशी अखबार ‘द डेली स्टार’को रिपोर्टअनुसार यसमा स्वतन्त्रता सेनानीका सन्तानलाई जागिरमा ३० प्रतिशत, पिछडिएका जिल्लालाई ४० प्रतिशत र महिलालाई १० प्रतिशत आरक्षण दिइयो। खुल्लातर्फ केवल २० प्रतिशत सिटमात्र सुरक्षित गरियो।
केही विरोधपछि सन् १९७६ मा पिछडिएका जिल्लाको आरक्षण बढाएर २० प्रतिशत पुर्याइयाे। यसबाट सामान्य विद्यार्थीले थोरै लाभ पाए अर्थात उनीहरूका लागि ४० प्रतिशत सिट आरक्षित गरियो। १९८५ मा पिछडिएका जिल्लाहरूको लागि आरक्षणलाई घटाएर १० प्रतिशत र अल्पसंख्यकहरूको लागि ५ प्रतिशत कोटा थपियो। यसले सामान्य विद्यार्थीका लागि ४५ प्रतिशत सिट पुग्यो।
सुरुमा स्वतन्त्रता सेनानीका छोराछोरीकाे लागि मात्रै आरक्षणको व्यवस्था थियो। केही वर्षपछि स्वतन्त्रता सेनानीका सन्तानलाई दिइएको सिट खाली हुन थाल्यो। जसको फाइदा आम विद्यार्थीले पाउन थाले। तर, सन् २००९ मा स्वतन्त्रता सेनानीका नातिनातिनाले पनि आरक्षण पाउन थाले। यसले आम विद्यार्थीको आक्रोश बढायो।
सन् २०१२ मा अपांगता भएका विद्यार्थीका लागि १ प्रतिशत कोटा पनि थपियो। यसले कुल कोटा ५६ प्रतिशत पुर्यायाे। २०१८ मा चार महिना लामो विद्यार्थी आन्दोलनपछि हसिना सरकार कोटा प्रणाली खारेज गर्न बाध्य भयो। कतिपयले हसिनाको पार्टीका कार्यकर्ता भर्तीको माध्यम कोटा प्रणालीलाई बनाउन थालेको आरोपसमेत लगाए।
५ जुन २०२४ मा, ढाका उच्च अदालतले एउटा फैसला गर्याे। र सरकारलाई पुरानो कोटा प्रणाली पुन: स्थापित गर्न आदेश दियो। अदालतले २०१८ अघिको जस्तै आरक्षणलाई फेरि लागू गर्नुपर्छ भन्यो। यसले सामान्य वर्गका विद्यार्थी आक्रोशित मात्र बनाएन, सडकमा आगो बल्न सुरु भयो। परिणामत: बंगलादेशको सर्वोच्च अदालते ढाका उच्च अदालतको आदेश खारेज गर्दै आन्दोलरत विद्यार्थीको माग अदालतबाटै सम्बोधन गर्याे। तर हसिना सरकारले यही समयमा विद्यार्थी आन्दोलन मथ्थर पार्ने मौका गुमायो।
जब हसिनाले विद्यार्थी आन्दोलनलाई पाक समर्थक र ‘रजाकार’ घोषणा गरिन्:
बंगलादेशकी प्रधानमन्त्री हसिनाले जुलाई १४ मा राष्ट्रिय टेलिभिजनलाई एक अन्तर्वार्ता दिइन्। उनले अन्तर्वाताका क्रममा भनेकी थिइन्, ‘यदि स्वतन्त्र सेनानीका छोरा-छोरीलाई आरक्षण मिल्दैन भने के रजाकार (बंगलादेश स्वतन्त्र संग्रामका समयमा पाकिस्तानको पक्षमा लड्ने बंगालीहरू, गद्दार)’ का छोराछोरीलाई आरक्षण दिनु त?’ उनको यो अभिव्यक्तिसँगै ढाकामा चलेको आन्दोलन हिंसात्मक बन्यो। प्रदर्शनकारीहरूले उनले अन्तर्वाता दिएको सरकारी टेलिभिजन च्यानलमा आगो लगाइदिए।
ढाका युनिभर्सिटीमा ‘तुई के, आमी के रजाकार, रजाकार (तिमी को हौ, गद्दार, गद्दार) को नारा लाग्यो। हिंसात्मक बनेकाे प्रदर्शनमा करिब ३०० जनाको मृत्यु भयो। हसिनाले जनतामा लोकप्रिय हुनका लागि र प्रदर्शनकारीहरूलाई अपमानित गर्न जुन रजाकर शब्द प्रयोग गरिन् त्यो शब्द नै उनलाई शरणार्थी बनाउने अर्को कोसेढुंगा बन्यो।
सायदै हसिनाले अन्तर्वार्ता दिनुअघि आफ्नो विचारले यति धेरै आक्रोश उठाउँछ भन्ने सोंचिनन्। विद्यार्थीहरूले यही अन्तर्वार्तादेखि हसिनाको राजीनामा पनि आफ्नो प्रमुख मागमा समेटे अर्थात सरकारविरुद्ध ‘रजाकार’ शब्दलाई हतियार बनाए। हसिनाले आफ्ना माग राखेर मात्रै परीक्षाको तयारी गरिरहेका विद्यार्थीलाई कसरी ‘देशद्रोही’ साबित गर्न खोजिन् भन्ने सन्देश जनतामा दिन विद्यार्थीहरू सफल भए। परिणामत: तटस्थ बसेका सर्वसाधारणहरू पनि सडकमा निस्कन थाले।
बंगलादेशी अखबार ‘डेली स्टार’का अनुसार प्रधानमन्त्रीले मात्र होइन, उनको पार्टीका अन्य नेताहरूले पनि आन्दोलनरत विद्यार्थीहरूको आक्रोशलाई उक्साउने अभिव्यक्ति दिए। समाज कल्याणमन्त्री दीपु मोनीले त एक कदम अघि बढेर भनेका थिए, ‘रजाकारहरूलाई बंगलादेशको पवित्र झण्डा बोक्ने अधिकार छैन।’
यसै क्रममा सूचना तथा प्रसारण राज्यमन्त्री मोहम्मद अली अराफातले रजाकारहरूको कुनै पनि माग स्वीकार नगरिने बताए। नेताहरूको यस्तो अभिव्यक्तिबाट आक्रोशित विद्यार्थीहरूको आन्दोलन झन् चर्कियो। जसलाई सरकारले देशद्रोही अर्थात् रजाकार साबित गर्न खोजेको थियो, तिनै जनताको नजरमा हिरो मात्र बनेनन्, हसिनालाई शरणार्थी बनाउन समेत सफल भए।
हसिनाले रजाकार घोषित गरेका को हुन्?:
१९७१ मा बंगलादेशको युद्धमा पाकिस्तानले आत्मसमर्पण गरेको दुई दिन बितिसकेको थियो। १८ डिसेम्बरको बिहान ढाकाको बाहिरी भागमा एकपछि अर्को गरी १२५ शव भेटिन्छन्। सबैको हात पछाडि बाँधिएको थियो। उनीहरूलाई चिन्न पनि मुस्किल थियाे। तीमध्ये केहीलाई गोली हानिएको थियो, कसैलाई घाँटी थिचेर हत्या गरिएको थियो र कसैलाई राइफलमा छुरी राखेर घोचेर मारिएको थियो। यी सबै १ सय २५ जना बंगलादेशका चर्चित व्यक्ति थिए।
यी ती ३०० जना मध्येका थिए जो ‘रजाकर’ हरूले बंगलादेशको स्वतन्त्रताका लगि निरन्तर अघि बढिरहेको भारतीय सेनालाई आफ्नो कुरामा सहमत गराउन सकियोस् भनेर बन्धक बनाएका थिए। तर, पाकिस्तानले आत्मसमर्पण गरेको हल्लासँगै रजाकारहरूले सबै बन्धकहरूलाई मारिदिए। ढाका बाहिर एउटा कारखाना र मस्जिदलाई रजाकारहरूले आफ्नो अड्डा बनाएका थिए। यहीबाट मृतकका आफन्तको शव पहिचानका लागि पुगेका मानिसहरूमाथि पनि उनीहरूले गोली प्रहार गरेका थिए।
भारतीय सिपाहीहरूले यसबारे जानकारी पाएलगत्तै त्यहाँ पुगेर कारखानालाई रजाकारबाट मुक्त गराए। कारखाना नजिकै थप बंगालीहरूको शव भेटियो, जसलाई खाडलमा फालिएको थियो। भारतीय सेनाको कारबाहीमा बाँचेका दुई रजाकारले आत्मसमर्पण गरे। उनीहरूले तीन सय जनाको हत्या गरेको स्वीकार गरेका थिए।

१९७१ को युद्धमा, बंगलादेशमा ‘रजाकार’ हुनु सामान्य कुरा थिएन, रजाकार एक अरबी शब्द हो, जसको अर्थ स्वयंसेवक वा समर्थक हो। तर, बंगलादेशमा यसलाई निकै अपमानजनक मानिएको छ। रजाकार भनेको देशद्रोही हो, जसले पाकिस्तानी सेना प्रमुख टिक्का खानको आदेशमा १९७१ को युद्धमा आफ्नै जनता (बंगाली) को रगत बगाएका थिए।
पूर्वी पाकिस्तान पुगेपछि टिक्का खानले स्वतन्त्रताको लागि आन्दोलन गरिरहेको मुक्ति बाहिनी मोर्चालाई नियन्त्रण गर्न तीन प्रकारका मिलिसियाहरू गठन गरे। जसमा अल बद्र, अल शम्स र रजाकार थिए। टिक्का खानको आदेशमा जमात-ए-इस्लामी नेता मौलाना अबुल कलामलाई रजाकारहरूको नेता बनाइएको थियो। सुरुमा रजाकार सेनामा जम्मा ९६ जना थिए।
पछि तिनीहरूको संख्या ५० हजार नजिक पुग्यो। रजाकारहरूमा उर्दू भाषी मुस्लिमहरू थिए जो विभाजनको समयमा बिहारबाट बंगलादेश गएका थिए। उनीहरू पाकिस्तानको समर्थक थिए जो भाषाको नाममा बंगलादेश छुट्टै देश बनोस् भन्ने चाहँदैन थिए।
यलेना बिबरम्यानले आफ्नो पुस्तक ‘ग्याम्बलिङ विथ भायोलेन्स: स्टेट आउटसोर्सिङ अफ वार इन पाकिस्तान एन्ड इन्डिया’ मा पूर्व रजाकारहरूको बारेमा लेखेकी छिन् कि उनीहरू गरिब र अशिक्षित थिए। तिनीहरू विश्वस्त थिए कि तिनीहरू इस्लामको लागि लडिरहेका थिए।
टिक्का खानले मुजिबुर रहमान (हसिनाका पिता)को अवामी लिग विरुद्ध प्रत्यक्ष सैन्य कारबाही सुरु गरे। मार्च २५ मा सुरु भएको यो अपरेसनलाई सर्चलाइट पनि भनिन्छ। तथ्यांकअनुसार पाकिस्तानी सेना र मिलिसियाको बर्बर कारबाहीमा हजारौं बंगाली मारिएका थिए। रावलपिंडीको नायक भनिने टिक्का खान यस घटनापछि ‘बंगालका कसाई’ भनेर चिनिन थाले।
विद्यार्थीको मृत्युमा मौन, मेट्रो तोडफोडमा आँसु:
शेख हसिनाले बंगलादेशमा भएको हिंसात्मक प्रदर्शनपछि भएको क्षति हेर्न २५ जुलाईमा मिरपुर-१० मेट्रो स्टेसन पुगेकी थिइन्। यसैबीच मेट्रो स्टेसनमा भएको तोडफोड देखेर शेख हसिना रोएका फुटेजहरू भाइरल भए। शेख हसिना टिस्यु पेपरले आँसु पुछिरहेकी थिइन्। तर, आन्दोलनमा दुई सयभन्दा बढी विद्यार्थीको ज्यान गएको विषयमा उनले एकपटक पनि केही बोलिनन्।
गत महिना आन्दोलनको नेतृत्व गरिरहेका ६ जना विद्यार्थीलाई प्रहरी अनुसन्धान शाखाले सुरक्षाको नाममा ६ दिनसम्म बन्धक बनाएको थियो। जसमध्ये नाहिद इस्लाम, आसिफ महमुद र अबु बकर मजुमदार घाइते भएका थिए, र उनीहरूको अस्पतालमा उपचार भइरहेको थियो। उनीहरूलाई त्यहीबाट उठाइयो। ती सबैलाई जबरजस्ती बाेल्न लगाइ आन्दोलन फिर्ता लिनका लागि भिडियोसमेत बनाइयो।
जेलमा रहेका विद्यार्थीहरूले स्वेच्छाले आन्दोलन अन्त्य गर्ने कुरा गरेको दाबी गृहमन्त्रीले गर्दै आएका थिए। यो कुरा बाहिर आएपछि आन्दोलनकारीहरू झनै आक्रोशित बनेका थिए। त्यसपछि प्रदर्शन यति बढ्यो कि हजारौंबाट मानिसहरू लाखौंको संख्यामा सडकमा उत्रिए।








प्रतिकृया दिनुहोस्