लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री: गम्भीर रोगदेखि राजनीतिसम्म जित



भैरहवा– कुनै झट्ट हेर्दा खाइलाग्दो, निरोगी र स्फूर्त देखिन्छन्– चेतनारायण आचार्य । तर, उनले गम्भीर रोगलाई जितेर पुनर्जीवन पाएका हुन् । अहिले पनि आफ्नो स्वास्थ्यप्रति निकै सजग हुने आचार्य विगतमा दिन सम्झदा समेत झस्किन्छन् । सोमबार मात्रै लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका आचार्यबारे धेरै जानकार छैनन् । पार्टीका सिनियर नेतालाई पन्छ्याएर मुख्यमन्त्री बनेका आचार्य कुनै समय जीवनको दोसाँदमा थिए ।
क्यान्सर, मिर्गौलाजस्ता गम्भीर रोग उनलाई लागेको थियो । यस्ता गम्भीर रोगलाई जितेर उनी नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएनन् मात्रै लुम्बिनी प्रदेशको बागडोर नै सम्हाल्न पुगेका छन् । कुनै समय रोगसँग लड्दालड्दै थकित बनेका आचार्याले लगभग नेपलाका सबै ठूला अस्पताल धाए । उनको अवस्था देख्दा परिवार मात्रै होइन्, पार्टी पंक्तिलाई समेत फेरि सक्रिय जीवनमा आउँछन् भन्ने विश्वास थिएन । तर, प्राकृतिक उपचारपछि उनी ठीक भए । ठीक मात्रै भएनन् सक्रिय राजनीतिमा फर्किए । अर्थात् ‘पहिला रोग जिते, अहिले पार्टीमा जिते’ ।
यसकारण पनि उनले अहिले पार्टीमा किन जिते भने, संसदीय दलका नेता लिला गिरीलाई चक्मा दिँदै मुख्यमन्त्री बने । संसदीय दलका उपनेता भएर पनि मुख्यमन्त्री बन्न पाउने सायद उनी मात्रै भाग्यमानी नेता होलान् । आफूभन्दा सिनियर र यसअघि मुख्यमन्त्री बनेका गिरीको पक्षमा एमालेभित्र रहेको माहोल एकाएक परिवर्तन गर्न सकेरै उनले मुख्यमन्त्री पाए ।
लुम्बिनी प्रदेशमा पटकपटक मन्त्री भएका आचार्यलाई सोमबार प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा (२) अनुसार मुख्यमन्त्री नियुक्त गरे । उनको भोलि सपथ हुँदैछ । एमालेका २९ र कांग्रेसका २७ सांसद गरी ५६ प्रदेशसभा सदस्यको समर्थनमा आचार्य मुख्यमन्त्री बनेका हुन् ।
कानूनमा स्नातक तह उत्तीर्ण आचार्य अर्घाखाँची निर्वाचन क्षेत्र १ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । यसअघि शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानून मन्त्री, एमाले–माओवादी गठबन्धनमा एमाले दल नेता लिला गिरी नेतृत्वको सरकारमा खानेपानी तथा सहरी विकास मन्त्री र माओवादीका जोखबहादुर महरा नेतृत्व सरकारमा आर्थिक मामिला तथा कानून मन्त्री थिए उनी । लामो समय एमाले महासचिव शंकर पोखरेल निकट भएर काम गरेका कारण उनले यसपटक मुख्यमन्त्री बन्ने अवसर पाए ।
लुम्बिनीमा एमाले भित्र शंकर पोखरेल र उपाध्यक्ष विष्णुप्रसाद पौडेलबीच गुटगत लडाइँ छ । गिरी पौडेल निकट हुन् भने आचार्य पोखरेल । यही कारण पोखरेलले आचार्यलाई दाङको पार्टीको इन्चार्ज बनाएका थिए । यतिमात्र होइन्, अहिले मुख्यमन्त्री नै बनाउन सफल भएका छन् । अर्घाखाँचीमा टोपबहादुर रायमाझीका कारण संघीय सांसदमा ०६४ देखि ब्रेक लागेका उनी उनै टोपबहादुरसँगको सहकार्यमा ०७४ मा प्रदेश सभामा निर्वाचित भएका थिए । अहिले रायमाझी शक्तिमा नभएको बेला आचार्य भने शक्तिशाली मुख्यमन्त्री बनेका छन् ।
सोमबार बिहानसम्म धेरैलाई उनी मुख्यमन्त्री बन्ने विषयमा अड्कल नै थिएन । गिरी मुख्यमन्त्री हुने भन्ने पक्कापक्की नै थियो । तर पार्टी नेतृत्वसँग सकारात्मक आश्वासन पाएका उनी ढुक्कसँग बोलेका थिए, पार्टी केन्द्रको निर्णय नआउन्जेल अहिले केही नबोलौं । लुम्बिनीमा एमाले संसदीय दलका नेता रहेका लिला गिरी पनि उसैगरी ढुक्क थिए । पार्टीमा पनि उनीभन्दा सिनियर पोलिटब्यूरो सदस्य र दलमा पनि नेता भएकाले चेतनारायणलाई आफ्नो पक्षमा पार्न सहज थिएन । तर राजनीतिमा चतुर खेलाडी मानिएका आचार्यले शीर्ष नेताहरुलाई रिझाएरै आफ्नो पक्ष निर्णय गराए ।
अर्घाखाँची जिल्लाको सन्धिखर्क–९, अँधेरीमा बुवा टिकाराम आचार्य र आमा तारादेवी आचार्यको माइलो छोराको रुपमा वि.सं. २०२५ साल जेठ २१ गते जन्मिएका चेतनारायणले जीवन अनेक आरोह अवरोह पार गरेका छन् । क्यान्सर, मिर्गौला रोग लागेर जीवनप्रति निराशामा गएका उनी प्राकृतिक उपचारपछि निको भएर पुनः राजनीतिमा क्रियाशील भएका हुन् । उनका पिता टिकाराम आचार्य अर्घाखाँची जिल्लाको कम्युनिष्ट पार्टीको संस्थापक नै भएकोले बुवा एवं परिवारको प्रभावबाट राजनीतिमा आवद्ध भएको स्मरण गर्दछन् ।
२०३५ सालमा सिद्धार्थ माध्यमिक विद्यालय हंसपुर अध्ययन गर्दैगर्दा विद्यार्थी राजनीतिमा लागेका उनी अनेरास्ववियूको प्रारम्भिक कमिटीको अध्यक्ष बनेका थिए । उनलाई एमाले नेता विष्णु पन्थीले पहिलोपटक संगठित बनाएका थिए । ०३९ सालमा जिल्ला सदस्य हुँदै ०४३ देखि ०४५ सालमा बुटवल बहुमुखी क्याम्पसमा अनेरास्ववियुको अध्यक्ष र रुपन्देही जिल्ला सदस्यको जिम्मेवारी सम्हालेका थिए । २०४६ सालमा अर्घाखाँची फर्केर पार्टीको इलाका कमिटी सदस्य, २०४७ सालमा जिल्ला कमिटी सदस्य तथा सचिवालय सदस्य बनेका थिए । २०५४ सालमा पार्टी जिल्ला सचिव ९ जिल्ला पार्टी प्रमुख० भएर ११ वर्ष काम गरेका उनले २०६५ सालमा अञ्चल कमिटी सदस्य हुँदै पुनः २०६९ सालमा पार्टीको जिल्ला अध्यक्ष भएर ९ वर्ष काम गरेका थिए । २०७७ सालमा पार्टीको केन्द्रीय सदस्य बनेका उनी अहिले दाङ जिल्ला इञ्चार्ज छन् ।
२०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा अर्घाखाँची क्षेत्र नं. १ वाट तत्कालीन नेकपा माओवादीका नेता टोपबहादुर रायमाझीसँग पराजित भएका थिए । २०७४ सालका भएको प्रदेश सभा निर्वाचनमा अर्घाखाँची प्रदेश क्षेत्र नं. १ बाट निर्वाचित आचार्य २०७९ सालको प्रदेश सभा निर्वाचनमा गठवन्धनका विरुद्ध सोही क्षेत्रबाट जितेर एमाले संसदीय दलको उपनेता बनेका थिए । कानुन विषयमा स्नातक गरेका आचार्य पार्टीमा पूर्णकालिन भई काम गरिरहेका छन् ।








प्रतिकृया दिनुहोस्