निष्ठा र कामले मन जितेका मुख्यमन्त्री



लुम्बिनी– कर्मचारी–सत्तासिन दलका धेरै नेताकार्यकर्ताको अनुमान थियो, ‘मुख्यमन्त्री जोखबहादुर महराले डिक्टरसिप’ लाद्छन् । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा महरा गत चैत २३ गते नियुक्त र २५ गते सपथ लिएपछि धेरैले अनुमान गरेको विषय हो । अनुमान गर्नेले भन्ने गर्थे– ‘जनयुद्ध लडेका मुख्यमन्त्री, कडा र निमर्म नै होलान् ।’ सबैको अनुमान गलत ठहरियो । जब मुख्यमन्त्री महराले कार्यभार सम्हालेर दैनिक काममा खटिए, कर्मचारी मात्रै होइन्, मन्त्रीदेखि सत्ताघटक दलका नेता अचम्मित भए ।
यसको कारण हो, मुख्यमन्त्रीको स्वभाव र सहनशील शैली । अड्कलेर बोल्ने, निष्ठाप्रति कटिबद्ध, कामप्रति धेरै जिम्मेवार र जनभावना छिटो बुझ्न सक्ने क्षमता । मुख्यमन्त्री महराको यही स्वभाव र शैलीलाई तत्कालीन समयमा एमालेबाट मन्त्री बनेकाहरुले खुबै रुचाए । कर्मचारी सहयोगी बने । यसैले छोटो समयमा अपेक्षाकृत बजेट ल्याउन सके भने केही नयाँ कामको थालनी गरे ।
केन्द्रमा राजनीतिक समिकरण बदलिएपछि प्रदेशमा त्यसको प्रभाव पर्यो । मुख्यमन्त्री महरा अहिले अल्पमतको सरकार चलाइरहेका छन् । असार २० मा एमालेले समर्थन फिर्ता लिएपछि महरा नेतृत्वको सरकार अल्पमतमा परेको हो । उनले तत्कालै राजीनामा दिन खोजेका थिए । पार्टीले केही समय रोक्न भन्यो, त्यसैले अहिलेसम्म राजीनामा नदिएको उनको सचिवालयले जनाएको छ ।
केन्द्रमा राजनीतिक समिकरण बदलिँदा राजीनामा दिन बाध्य भएपछि एमालेका मन्त्रीहरु खुशी थिएनन् । एक निवर्तमान मन्त्री भन्छन्, ‘यति सहज र सरल मुख्यमन्त्री कमै हुन्छन्, जनताको पक्षमा निर्णय र काम गर्न सधैं उहाँ (महरा) अगाडि रहनुभयो । जति दिन सरकारमा सहकार्य गरियो, सौहार्दपूर्ण वातावरणमा भयो ।’
वि.सं २०३७ सालदेखि २०३९ सम्म प्रावि शिक्षक रहेका महरा २०३५ र २०३६ सालको विद्यार्थी आन्दोलनमा सङ्लग्न भई राजनीतिमा प्रवेश गरेका थिए । २०४४ देखि २०५० सालसम्म मावि शिक्षकका रुपमा पनि काम गरेका थिए । महरा वि.सं २०७९ मङ्सिरमा सम्पन्न संसदीय निर्वाचनमा रोल्पा क्षेत्र नं १ (१) बाट लुम्बिनी प्रदेश सभामा निर्वाचित भएका थिए । लुम्बिनी प्रदेशको पहाडी जिल्ला रोल्पाको साविक गजुल गाविस वडा नं २, हाल सुनिल स्मृति गाउँपालिका ५ गजुल काट्नेमा बुवा खलबहादुर महरा र आमा रमिता महराको कोखबाट वि.सं २०२० कात्तिक १ गते जन्मिएका महराले स्थानीय श्री जनज्योति मावि गजुलबाट एसएलसी उत्तीर्ण गरेका थिए ।
यस्तै उनले महेन्द्र बहुमुखी क्याम्पस दाङबाट प्रमाणपत्र तह तथा राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातकसम्मको अध्ययन गरेका छन् । वि.सं २०४२ मा विद्यार्थी सङ्गठनको दाङको सचिव हुँदै विसं २०५१ मा नेकपा (माओवादी)को रोल्पा जिल्ला सचिव (यो पार्टीको मुख्य नेतृत्व हो अध्यक्ष प्रथा थिएन सचिव मुख्य थियो) का रुपमा पार्टीको जिम्मेवारी पाएर उनले काम गरेका थिए । रोल्पामा पार्टी सचिव हुँदा उनको मातहतमा अहिलेका माओवादी नेताहरु बर्षमान पुन, नन्दकिशोर पुन, कुलप्रसाद केसीले काम गरेका थिए ।
यसपछि पनि पार्टीको विभिन्न जिल्लामा नेतृत्वमा रहेर जिम्मेवारी निर्वाह गरेका महरा विसं २०६४ मा नेकपा (माओवादी) को तर्फबाट संविधानसभा सदस्य समेत भएर काम गरेका थिए । वि.सं २०६२ देखि २०६५ र २०७२ देखि २०७८ सम्म दुई पटक पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख स्वकीय सचिवको जिम्मेवारीमा काम गरेका महरा वि.सं २०७४ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख स्वकीय सचिवको जिम्मेवारीमा रहेर समेत काम गरेका थिए । जनयुद्धका घाइते समेत रहेका महरा स्पष्ट वक्ताका रुपमा समेत चिनिन्छन् ।
उनी हाल नेकपा (माओवादी केन्द्र) स्थायी समिति सदस्य समेत छन् । महरा गत वर्ष एमाले संसदीय दलका नेता लीला गिरी नेतृत्वको प्रदेश सरकारमा लुम्बिनी प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका थिए ।
मन्त्रिपरिषद बैठकका निर्णय र बजेटका योजना
महरा मुख्यमन्त्री भएपछि प्रदेशमा १३ वटा मन्त्रिपरिषदका बैठक बसे । यसक्रममा उनले धेरै जनपक्षीय निर्णय गरेको उनको नेतृत्वमा एमालेबाट मन्त्री भएकाहरु नै बताउँछन् । यस्तै, बजेटमा पनि जनपक्षीय योजनाहरु समावेश भएका छन् ।
१) सडकमा हुने सवारी दुर्घटना लगायतका विपदजन्य जोखिमबाट प्रभावित व्यक्तिलाई प्रदेश सरकारले अनुदान, सहयोग, सहायता बीमाको माध्यमबाट उपलब्ध गराउन प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई कार्यान्वयको प्रक्रिया शुरु भएको छ ।
२) प्रदेशका केही स्थानमा मौसमजन्य आगलागी एवं डढेलो, बाढीपहिरो, डुवान रोकथाम गर्न तथा प्रभावितलाई उद्धार गर्न र उक्त विपदजन्य घटनाबाट पीडित परिवारलाई प्रदेशको मापदण्ड बमोजिम राहत सहायता उपलब्ध गराउन आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्राथमिकता राखी कार्यान्वयनमा गएको ।
३) ‘बुटवलस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालय सञ्चालनका लागि मासिक खर्चको ठुलो व्यवभारलाई कटौती तथा मितव्यतालाई प्राथामिकतामा राख्दै उक्त भवन राजश्व अनुसन्धान कार्यालय, बुटवललाई उपयोगका लागि उपलब्ध गराउने ।” खर्च कटौतीलाई प्राथामिकतामा राखेको ।
४) मुख्यमन्त्रीको सपथ लिएको पहिलो सातामै संसदीय समितिहरु टुङ्गो लगाइएको । सम्पूर्ण समितिका सभापति चयन भै नियमित समिति बैठक बस्दै आइरहेको । (लामो समय सम्म संसदीय समितिहरु चयन हुन सकेका थिएनन्)
५) प्रदेश सभामा विभिन्न विधयक छलफलका लागी समयमै पेश गर्ने वा पेश गर्ने तयारी गरिएको ।
६) स्थानीय सेवा विधेयक सभामा
७) प्रदेश प्रशिक्षण प्रतिष्ठानको विधयेक अन्तिम चरणमा (हिजो संसदले बिजनेस पाउने नगरेकोमा अहिले यथेस्ट विजनेस संसदले पाउने गरेको )
८) मुख्यमन्त्रीको सपथ लिएको पहिलो सातामै मन्त्रीमण्डललाई पूर्णता दिई पदीय जिम्मेवारीहरु विषयगत मन्त्रालयका मन्त्रीहरुलाई विश्वासका साथ सुम्पिएको ।
९) आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम तर्जूमालाई विशेष महत्वका साथ विषयगत मन्त्रीहरुको सहभागितामा छलफल गरी मुख्यमन्त्रीको नियमित सहभागितामा तर्जूमा गरिएको ।
१०) नीति कार्यक्रमले आर्थिक विकास तथा रोजगारमूलक र समतामूलक कार्यक्रमहरुलाई प्राथमिकता दिने, प्रदेश सरकारका कार्यहरुमा आम जनताको विश्वास र अपनत्व हुने, सेवामूलक कार्यहरुलाई प्रविधिमैत्री बनाई सेवा प्रवाहलाई चुस्त दुरुस्त र व्यवस्थित बनाउने, जनयुद्ध लगायत विभिन्न राजनीतिक आन्दोलनमा घाइते अशक्त भएकाहरुलाई विशेष कार्यक्रम लगायतको प्राथमिकता बोकेको । (हिजोका मुख्यमन्त्रीले राख्ने गरेको अबण्डा बजेट अहिले मुख्यमन्त्रीले नराखेको)
११) नीति कार्यक्रम अनुसार बजेट विनियोजन गर्न विषयगत मन्त्रालयहरुलाई निर्देशन दिई प्रदेशका सम्पूर्ण क्रियाकलापहरु सम्बन्धित मन्त्रालयलाई नै सुम्पेको । सम्बन्धित मन्त्रालयहरुमाः
क) अबण्डा बजेट नराखेको
ख) नीति कार्यक्रमसँग मेल खाने गरी बजेट प्राथमिकरण गरेको
ग) हालसम्म सडकको पहुँच नपुगेको जिल्लाहरुको पालिकामा सडक ट्रयाक र भारतीय सीमाको नजिक रहेका बस्तीको पहुँचका लागी सिमा सडकमा बजेट विनियोजन गरेको
ग) अधुरा खानेपानी आयोजना सम्पन्न गर्न बजेट विनियोजन गरेको
घ) हरित तथा डिजिटल अर्थतन्त्र प्रवद्र्धन गर्न ग्रीन हाइड्रोजन उर्जा, प्रविधिमैत्री सेवा, स्वास्थ्य स्रोतको सूचना, तथ्याङ्क र अभिलेख डिजिटलिकरण, गतिशील विकास परिदृश्य लगायतका नविन कृयाकलापमा बजेट विनियोजन गरेको
ङ) कृषि र उद्योगमा एकीकृत सेवा प्रदान गर्ने र रोजगारमूलक कृयाकलापहरुलाई प्रवर्द्धन गर्ने उद्देश्यले बजेट प्राथमिकिरण गरेको
च) वनमा संवद्र्धनमा आधारित वैज्ञानिक वन व्यवस्थापन कार्यलाई प्राथमिकता दिइएको । प्रदेशको आन्तरिक राजस्वमा वनको योगदानलाई प्रभावकारी बनाउने नीतिगत व्यवस्था गरिएको । प्रदेशको योजना तर्जूमा प्रकृयालाई व्यवस्थित गराउन थालिएको ।
छ)आगामी पाँच वर्षे योजना तय गर्न दोश्रो आवधिक योजनाको खाकालाई विविध चरणमा छलफल गरी पृष्ठपोषण संकलन गराएको । यही अषाढ मसान्तसम्ममा अनुमोदन गर्ने तयारी ।
ज) योजना तर्जूमा प्रक्रियालाई व्यवस्थित गर्न प्रदेश परियोजना बैंकको कार्यविधि तयार गरी अनुमोदन गर्ने तयारी ।
झ) प्रदेश यातायात गुरुयोजना (पीटीएमपी) बाट भौतिक विकासका आयोजनाहरुको प्राथमिकरण र छनौटलाई टेवा पुग्ने गरी सो गुरुयोजना अनुमोदन गर्ने तयारी ।
ञ) पर्यटन र शहरी विकासको पनि प्रादेशिक गुरुयोजनाको तयारी शुरु गरिएको ।

प्रदेशमा लगानीको वातावरण सुदृढ गर्न र सामाजिक क्रियाकलापहरुको गतिशिलता बढाउन विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्था र विकास साझेदारहरुसँग समन्वय गरिएको छ ।
क) राष्ट्रिय लगानी सम्मेलनमा सहभागी भई प्रदेशमा लगानीका क्षेत्रहरुको प्रस्तुति गरेको
ख) नवलपरासीमा नेपालकै पहिलो सवारीसाधन एसेम्बलीङ् प्लान्टको उद्घाटनमा सहभागी भइ सहजिकरणका लागि आवश्यक नीतिगत व्यवस्था गर्ने प्रतिबद्धता गरेको
ग) प्रदेशमा दर्ता हुने उद्योग व्यवसायलाई सहज दर्ता र नविकरण सेवा उपलब्ध गराउने र प्रदेशमा सञ्चालनमा रहेको सबै उद्योगहरुको बस्तुस्थिति बुझि आवश्यक समन्वय र सहयोगको कार्यक्रमहरु अघि सारिएको
घ) विभिन्न राष्ट्रका प्रदेश वा प्रान्तसँग भगिनी सम्बन्ध विस्तारका लागि प्रयास गरेको । जनवादी गणतन्त्र चीनको शान्सी प्रान्त जनसरकार प्रतिनिधिसँग शिष्टाचार भेट, गोग्झाओ प्रान्तमा भगिनी सम्बन्ध विस्तार लगायत कार्यक्रममा सहभागिताको तयारी । संयुक्त राष्ट्र संघ नेपालका आवासिय संयोजकसँग शीष्टाचार भेट । अन्य अन्तर्राष्ट्रिय संस्थाहरुसँग प्रदेशको प्राथमिकता र सो को कार्यान्वयनमा संघसंस्थाको भूमिकाबारे विविध चरणमा छलmल ।
महराले प्रदेश सरकारको नेतृत्व गरेपछि कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिएर काम भएका छन् । ‘किसानको हात, प्रदेशको साथ’ भन्ने नारालाई आत्मसात गर्नै, ‘व्यवसायिक कृषि, लुम्बिनी प्रदेशको समृद्धि’ भन्ने नारालाई आत्मसाथ गर्दै खाद्य तथा पोषण सुरक्षाको सुनिश्चितता गरिएको छ । कृषि उपजको आयात प्रतिस्थापन गर्न कृषिको आधुनिकरण, यान्त्रिकरण र व्यवसायीकरण मार्फत उत्पादन र उत्पादकत्वमा बृद्धि गर्ने, भौगोलिक अवस्थिती हावापानी तथा उपलव्ध स्रोतसाधनको उपयोग गर्दै कृषि उपजको तुलनात्मक लाभको तुलनात्मक कार्यक्रम अगाडि बढेको छ । ‘स्वास्थ्य जीवनको आधार, माटोको सुधार’ भन्ने कार्यक्रमहरु सञ्चालन भएको छ । किसानदेखि बजारसम्म सरकारले पुराउने भन्ने योजनामा किसानका उत्पादनलाई बजारीकरणमा प्रदेश सरकारले सहयोग पुराउने गरेको छ ।
कृषि, स्वास्थ्य, शिक्षा, रोजगार, पुर्वाधार विकास र औद्यागिककरणको योजना लुम्बिनी प्रदेश सरकारको प्राथामिकता परेको छ । महराले राजनीतिको जनसेवाको पाटोको रुपमा अभ्यास गरेको देखिन्छ । उनको कार्यकालमा हुने गरेका सकारात्मक कार्यले लुम्बिनी प्रदेश सभामा बिरोधका आवाजहरु कम सुनिने गरेका छन् । राजनीतिका अनेक आरोह–अवरोह र घुम्तीहरु पार गर्दै आएका महराले क्रान्ति र जनआन्दोलन मार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल बनाउका लागि कठोर संघर्ष गरेका नेता भित्र पर्दछन् ।
नेता भएपछि जनतातिर फर्केर काम गर्नुपर्छ भन्ने मान्यता राखेका नेता महराले पैसा र पदलाई अस्थायी साधनको रुपमा व्याख्या गर्ने गरेका छन् । ‘लोकतान्त्रिक सिद्धान्त र राजनीतिक संस्कार मानिसमा हुनुपर्छ । जाल, झेल र तिकडम कहिल्लै गर्नुहुँदैन’, महराले पटकपटक भन्दै आएका छन् ।
निष्ठाको राजनीति गर्ने नेताको परिचय बनाएका मुख्यमन्त्री महराले लुम्बिनी प्रदेश सरकारलाई सरल रेखामा हिँडाउन सफल भएको देखिन्छ । इमान–जमान भएका राजनीतिज्ञहरुको बर्गमा पर्ने महराले राजनीति भनेको खराबै–खराबहरुको झुण्डमात्र होइन, त्यहाँ असलहरु पनि हुन्छन्, छन् भन्ने भाव लुम्बिनी प्रदेश सरकारमा संस्थागत गरेको कर्मचारी र उनका समकक्षी नेताहरु बताउँछन् ।
राजनीतिमा आशाको दीप बाल्ने अनुहारहरु खडेरी परेको आभास आममानिसले गर्न थालेको बेलामा लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री बनेका महराले आफ्नो छोटो कार्यकाललाई इमानको कार्यकाल बनाएको राजनीतिक विश्लेषकहरु बताउँछन् । तीन महिना सरकारको नेतृत्व गरेका महरा अब भने धेरै समय सरकारमा रहने देखिँदैन । तर, उनले देखाएको निष्ठाको राजनीति सबैका लागि मननयोग्य रहेको सहकर्मी दलका नेताहरु बताउँछन् ।








प्रतिकृया दिनुहोस्