November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

कपिलवस्तु : बुद्ध संग्राहालय

भैरहवा– कपिलवस्तु जिल्ला नै ऐतिहासिक, पुरातात्विक, साँस्कृतिक र प्राकृतिक स्थलको खुला संग्रहालयका रुपमा छ । यहाँ यत्ती धेरै यस्ता महत्वपूर्ण स्थल छन् की ती सबै खुला म्यूजियमका रुपमा छन् । ती स्थानका बारेमा धेरै सोधखोज पनि गर्न सकिएको छैन् । केही अभिलेख र खुला आँखा हेर्दा मात्रै एक सय ३६ वटा ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक स्थल फेला परेको छ । अझ कतिपयको थाहा लाग्न सकेको छैन् । थाहा भएका मध्ये पनि केही अतिक्रमणमा परेका छन् ।

Advertisement

वि.सं २०१९ मा नै कपिलवस्तु संग्रहालयको स्थापना भए पनि अहिले खुला संग्रहालयका रुपमा चिनिन थालेको छ । राजकुमार सिद्धार्थ लुम्बिनीमा जन्मे । सबैप्राणीका जीवनमा शान्ति ल्याउने उद्देश्यले मानवचोला लिएर महानसन्त शाक्यमुनि बुुद्ध पवित्र लुम्बिनी उपवनमा जन्म लिएका थिए । तर, उनलाई ज्ञानी बनाउने काम चाही कपिलवस्तुको हावापानी र माटोले गर्यो । तिलौराकोटको लुम्बिनीको अन्योन्याश्रित सम्बन्ध छ । यहाँ उनले २९ वर्षको युवावस्था विताएका थिए । तिलौराकोट उनका बाबु महाराज शुद्धोदनको राजप्रासाद हो । यही भूमिमा राजकुमार हुर्के । बढे ।

Advertisement

बोधीज्ञानको प्रथम ध्यानलाभ यही प्राप्त गरे । राजकुमार सिद्धार्थलाई बुद्धत्व प्राप्तिकालागि गतिलो ऊर्जा प्रदान गर्यों । बुद्धकाबारेमा जान्न बुझ्न आउनेले जन्मस्थल लुम्बिनी हेरेर मात्र हुँदैन् । त्यसकालागि उनी हुर्के बढेको र खेले कुदेका ठाउँ पनि पुग्नुपर्छ । कपिलवस्तुमा बुद्धसँग सम्बन्धित यत्ती धेरै ठाउँ छन् । एउटा जीवन्त खुला संग्रहालयका रुपमा छ । यहाँ बुद्ध हुर्केबढेदेखि ज्ञान प्राप्त गरेपछि पहिलो पटक आमा बुबालाई भेटघाट गरेको ठाउँसम्म छ । बुद्धले देखेको हिमाल अहिले पनि देन्खिन्छ । बुद्धलाई ज्ञान प्राप्त गर्न उत्पे्ररित गर्ने रोगी, मरेको, बृद्ध र भिक्षु मान्छे देखेको ठाउँ पनि यही छ ।

शाक्यवंशीय राजधानी तिलौराकोट यही छ । यहाँ राजा शुद्धोदनको राजप्रासाद छ । हरियाली र सुन्दर बगैंचा छन् । यहाँ विभिन्न समयमा गरिएका उत्खननबाट चार भग्नावशेष स्पष्ट रुपमा देखिन्छ । पश्चिमी, पूवी द्वार र राजप्रासादका भग्नावषेश छन् । त्यस्तै ४ वर्ष अघिदेखि सय मिटर वाई सय मिटरको प्रशासनियक भवनका भग्नावषेश पनि अस्तित्वमा आएको छ । तिलौराकोटमा ऐतिहासिक रुपाकृतिको सहर भेटिँदै गएको छ । एक दशकबढीदेखि विदेशी स्वदेशी विज्ञद्वारा भइरहेको अध्यनन अन्वेषणले पुरातात्विक स्थल तिलौराकोटको ऐतिहासिकता पुष्टी भएको छ ।

पाँचौं शताब्दीमा आएका चिनियाँ यात्री द्वय फायहान र सातौँ शताब्दीमा आएका ह्वेगंसाङले आफ्नो यात्रा विवरणमा उल्लेख गरेका तथ्य भेटिँदै गएको छ । बेलायतको डुर्हाम युनिर्भसीटी, पुरातत्व विभाग र लुम्बिनी विकास कोषका पुरातत्वविद् र विषेशज्ञ संलग्न टोलीले गरेको उत्खनन्, अध्ययन र अन्वेषणले तथ्यहरु फेला परेका हुन् ।

उत्खनन्बाट व्यवस्थित सहर र घर पाइएका छन् । तिलौराकोट भित्र बुद्धकाल आसपासका बाटो, नाली, सुरक्षा किल्ला पर्खाल र मानव बस्ती फेला परेका छन् । ठाउँठाउँमा ठुलठूला भवनका संरचना, इनार र पोखरी पनि पाइएका छन् । दुबै चिनियाँ यात्रीले आफ्नो यात्रा विवरणमा उल्लेख गरेको धेरै कुरा पाइएको तिलौराकोट अध्ययन उत्खनन् परियोजना सहनिर्देशक वरिष्ठ पुरातत्वविद् कोषप्रसाद आचार्यले बताए ।

¬‘ऐतिहासिक रुपाकृतिमा सहर भेटिँदै तिलौराकोटको ऐतिहासिकता राम्ररी पुष्टी हुनु हो’, उनले भने । भगवान बुद्धको जन्म साढे २५ सय वर्ष अघि भएको इतिहासमा उल्लेख छ । तर त्यस अघि नै भगवान गौतम बुद्धको बाल्यकाल र युवा अवस्था वितेको तिलौराकोटमा गाउँको स्वरुपमा मानवीय चहलपहल बढेर बस्ती बसेको पुष्टी भएको पुरातत्वविद् बताउँछन् । यहाँ ईसा पूर्व आठौं शताब्दी (२८ सय वर्ष) अघि नै मानव बसोबास भएको पाइएको छ । त्यसको २ सय वर्षपछि ईशापूर्व छैठौं शताब्दीमा सहरीकरण भएको प्रमाण भेटिएको छ । त्यती बेला घर बनाउन ईटको प्रचल नै थिएन् ।

खरको छानो, माटोको घरका भित्ता, र काठबासको खाबो गाडेर घर बनाउन प्रचलन थियो । जुन यहाँ ठाउँठाउँमा त्यत्तीखेरको माटो र काठबासको प्वाल (पोस्ट होल) फेला परिसकेको छ । २०१५ मा बैज्ञानिक कालक्रम निर्धारण गर्न संकलन गरिएको नमूनाले ईसापूर्व आठौं शताब्दीदेखि नै यहाँ मानव रहनसहन र बसोबास भएको प्रमाणित भएको छ । सबै पुरातात्विक स्थल हेर्न सकिने गरि काठको वाक वे बनाइएको छ । जुन आफैमा आकर्षक देखिन्छ । तिलौराकोटसँगै उत्तरमा लोहसरिया कोट छ ।

त्यहाँ राजदरबारका लागि चाहिने हातहतियारको उद्योग रहेको मानिन्छ । त्यस्तै तिलौराकोटदेखि पूर्व कन्थक स्तुप छ । त्यहा राजकुमार सिद्धार्थ ज्ञान प्राप्तिका लागि राजदरबारबाट निस्केर जाँदा लिएर गएका घोडा कन्थक र सारथी छन्नलाई अनुमा नदीबाट फर्काई दिएपछि आउँदा उनको सम्झनामा घोडा मरेको मानिन्छ । त्यस्तै तिलौराकोट नजिक धमनिहवा स्तुप छ । त्यहाँ दुई स्तुप छन् । ठूलो राजा शुद्धोधन र साना मायादेवीको सँझनामा बनाइएको मानिन्छ । त्यस्तै तिलौराकोट पूर्व तिर विहार, पोखरी, ईनारका धेरै भग्नावषेश भेटिएका छन् ।

त्यस्तै कनकमुनि र क्रकुच्छन्द बुद्धको जन्मस्थल निग्लिहवा र गोटिहवा पनि यही छ । ती स्थलमा भारतीय सम्राट अशोक तिर्थाटन गर्न आउँदा स्तम्भ निर्माण गरेका थिए । जुन अहिले पनि देख्न सकिन्छ । कनकमुनी बुद्धको सहर अरौराकोट पनि यही छ । वर्गाकार ढिस्कोले चारैतिर घेरिएको सहर देख्दा विशाल देन्खिन्छ । तौलिहवा मर्यादपुर सडक खण्ड अन्तर्गत कुदान स्थित निग्रोधाराम पनि बुद्धसँग संबन्धित स्थल हो । यहाँ राजकुमार सिद्धार्थले ज्ञान प्राप्त गरेपछि पहिलो पटक राजधानी कपिलवस्तु आउँदा आमाबाबुलाई भेटघाट गरेका थिए । छोरा राहुल भिक्षु बनेका थिए ।

अर्को महत्वपूर्ण स्थल सगरहवा हो । यो शाक्यहरुको वधस्थल हो । सदरमुकाम तौलिहवाबाट ९ किमि उत्तर र पूर्व पश्चिम राजमार्ग बनगाईबाट ७ किमि दक्षिणमा पर्छ । सगरहवामा कौशल नरेश बिढुरकले भिषण आक्रमण गरेका थिए । उनका बाबुलाई शाक्यहरुले झुक्याएर दासीपुत्रीसंग विवाह गरिदिएको थाहा पाएपछि उनी आक्रोशित बनेका थिए । कौशल नरेश बिढुरकको आक्रमणमा ९ हजार ९९० जना मरेको कुरा चिनिया यात्री ह्वेङ सांगले आफ्नो यात्रा वर्णनमा उल्लेख गरेको वरिष्ठ पुरातत्वविद् वसन्त बिडारीले बताए ।

चिनियाँ यात्री ह्वेङले तिलौराकोटदेखि उत्तर रहेको सगरहवामा हजारौं स्तुप बनाइएको उल्लेख गरेका छन् । उक्त स्तुप शाक्य योद्धाको सम्झनामा बनाइएको यात्रा विवरणमा लेखेका छन् । सगरहवालाई सबैभन्दा पहिला पहिचान गर्ने काम जर्मन सर्भेयर डा. एए फहुररले गरेका थिए । सन् १८९५ मा निग्लिहवाको खोजीमा फुहरर आउँदा उनले सगरहवा पनि पुरातात्विक स्थल हो भनेर नोटिस गरिसकेका थिए । १८९७ मा सगरहवामा पहिलो पटक उत्खनन् गरिएको थियो । ‘कपिलवस्तु खुला संग्रहालय हो’, वरिष्ठ पुरातत्वविद् बिडारीले भने, ‘यहाँ शान्ति सद्भाव, करुणा र मैंत्रीदेखि प्राकृतिक मनोरम आकर्षणको खानी हो । जति सोधखोज गरे पनि कम हुन्छ ।’

तौलिहवा–लुम्बिनी सडक खण्डको दोहनीमा पुरातात्विक महत्वको कोट छ । साढे ३ बिघामा रहेको दोहनी पनि महत्वपूर्ण पुरातात्विक स्थल हो । चिनियाँ तीर्थयात्री ह्वेङसाङले तिलौराकोट वरिपरि १० वटा भग्नावषेशमा परिणत सहर देखेको कुरा गरेका छन् । त्यसमध्येको दोहनी पनि एउटा भएको अनुमान गरिएको वरिष्ठ पुरातत्वबिद् बिडारीले बताए । प्राचीनकालमा तिलौराकोटबाट लुम्बिनी जाँदा दोहनी विश्रामस्थल हुनसक्ने पनि पुरातत्वबिदहरु बताउँछन् । त्यहाँ भूभौतिक (जियोफिजिक्स) सर्भे गर्दा प्राचीन मानव बस्ती रहेको पाइएको थियो । त्यहाँ स्तुपाकार अग्लो ढिस्को छ । प्राचीन ईनार पनि छ । त्यस्तै वाणले हानेर पानी निकालिएको मानिने धमरपनिया स्तुप पनि छ । सिसहनिया कोट, बिकुली, पिपरी, अमौली र बर्दहवा कोट छन् । लमतिया, समयमाई, श्रीनगर, डेरवा, बभनी र सिंहोखोर कोट छन् ।

सगरहवा नजिकै नेपालको दोस्रो पंक्षी आरक्ष जगदिशपुर छ । यो प्रकृतिप्रेमी पर्यटकका लागि यो ठाउँ हो । नेपालमा सबैभन्दा धेरै पानी चरालाई आश्रय दिनेस्थलका रुपमा रहेको छ । करिब दुई सय चरा पाइएको रेकर्ड छ । उभरचर, सरिसृप, वन्यजन्तुदेखि माछा बनस्पति प्रशस्त पाइन्छ । देशविदेशबाट चरा अध्ययन अनुसन्धान गर्न यहाँ आउँछन् । एकै ठाउँबाट सबैभन्दा धेरै चरा देखिने ठाउँका रुपमा समेत स्थापित छ । कपिलवस्तु शान्तिप्रेमीका लागि मात्र नभए प्रकृतिप्रेमीका लागि पनि उत्कृष्ट स्थल बनेको लुम्बिनी विकास कोष उपाध्यक्ष ल्याहारक्याल लामाले बताए । ‘यसले पर्यटन प्रबद्र्धनमा राम्रो टेवा पुर्याउँछ’, उनले भने ।

बाटोघाटो र हवाईको कनेक्टिभिटी बनाउनु पर्छ । हरेक पुर्णिमामा बुद्धको जीवनसंग संबन्धित केही न केही गतिबिधी भएको छ । त्यसलाई स्मरण गर्दै उत्सवका रुपमा मनाउने योजना र कार्यक्रम बनाउनु पर्छ । बुद्ध जन्मेपछि कपिलवस्तु ल्याउँदाको घटनालाई प्रसूति उत्सव भनेर हरेक वर्ष मनाउनुपर्छ । त्यस्तै बुद्धले दरबार त्यागेर निस्केको घटनालाई महाभिनिष्क्रमण दिवश भनेर मनाउनु पर्छ । असार पूर्णिमामा राजकीय धान मंगलोत्सव बनाउनु पर्छ । भगवान बुद्ध ज्ञानप्राप्त गरेर राजधानी कपिलवस्तु फर्केको दिन फागुन पूर्णिमा निग्रोधाराम उत्सव मनाउनु पर्छ । पर्यटक भुलाउन सुत्केरी मार्गले नया विविधता थप्छ ।

अहिलेसम्म ओझेलमा रहेको सुत्केरी मार्ग पहिचान गरिएको छ । मायादेवी सुत्केरी भई शिशु वालकलाई लिएर राजमहल फर्केको बाटो हेर्न र माटो छुन धेरै उपासिकाहरु लालायित हुन्छन् । त्यसलाई राम्रो पर्यटन प्रोडक्ट बनाउन सकिन्छ । उक्त बाटोमा हिडने योजना बनाउनु पर्छ । त्यस्तै पिस वाक पनि गराउनु पर्छ । म्याराथुन, साइकल र मोटरसाइकल दौडहरु पनि गराउनु पर्छ । विभिन्न इभेण्टहरु वर्षै भरि गरिरहनु पर्छ । यी कुरालाई सार्थकता दिन सकियो भने खुला संग्रहालयको महत्व र अर्थले राम्रो पर्यटकीय गन्तब्यको रुपमा विकास हुन्छ ।