November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

होली पर्वः किन मनाइन्छ फरक–फरक दिन ?

भैरहवा– आज फागु पूर्णिमा। आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ। फाल्गुण शुक्ल पूर्णिमाका दिन होली पर्व मनाइन्छ । यो पर्व नेपालमा दुई दिन मनाइन्छ । हिमाल र पहाडमा यो पर्व अघिल्लो दिन मनाइन्छ भने त्यसको भोलिपल्ट तराईमा धुमधामसँग मनाइन्छ ।

Advertisement

फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ । बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ ।

Advertisement

वराह पुराणका अनुसार पाटवास–विलासिनी खेलको रूपमा रहेको फागुपूर्णिमा फागुन शुक्ल पूर्णिमाको दिन मनाइरहँदा तराई भेगमा किन भोलिपल्ट मनाइन्छ होली ? एउटै चाड किन फरक(फरक दिनमा मनाइन्छ भन्ने जिज्ञाशा धेरैलाई हुनसक्छ ?

फागु पर्वको परम्परा
त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरूपयोग

गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ । यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको छ ।

राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि छ ।

किन मनाइन्छ फरक दिन ?
धार्मिक ग्रन्थहरूमा फागु पूर्णिमा एकदिन मात्रै मनाउने उल्लेख भए पनि यो सबैले स्वीकारेको निर्विवाद संस्कृतिको रूपमा विकास भइसकेको छ । हिन्दू धर्मअन्तर्गत मनाइने हरेक चाडपर्वका बारेमा निर्णय गर्ने निर्णयसिन्धुले पनि होलीलाई एक दिने पर्वको रूपमा उल्लेख गरेको छ । उक्त ग्रन्थको ३०८ औं पृष्ठमा पूर्णिमाको दिन फागुपूर्णिमा मनाउने चलन रहेको उल्लेख गरेको छ ।

संस्कृतबिद्हरुका अनुसार पहाडमा फागुपूर्णिमा र तराईमा होली फरक दिन मनाउनुको २ वटा कारण छन् । एउटा त जात्राका कारण भोलिपल्ट मनाउने चलन बसेको हुन सक्छ । अर्कोतर्फ अघिल्लो दिन साँझ होलिका दहन गरिसकेपछि त्यसको भोलिपल्ट त्यसैको खुसीयालीमा होली पर्व मनाउने गरिएको हुन सक्छ । साँझमा रंग लगाउनुभन्दा पनि भोलिपल्ट मनाउने चलन बसेको हुन सक्ने उनीहरुको तर्क छ । होली परिवार र साथीभाइकाबीचमा सद्भाव बाँड्ने पर्व हो । पूर्णिमाको दिन जात्राका कारण मनाउन नसकेको रंगीन पर्वलाई भोलिपल्ट साथीभाइसँग बसेर मनाउन थालियो । यसरी नै तराईमा भोलिपल्ट मनाउने संस्कृति हुन सक्ने तर्क गरिन्छ ।