अध्यापनसँगै संरक्षणमा लागेर परिचय बदलेका शिक्षक



बर्दिया– ठाकुरबाबा नगरपालिकास्थित जगदम्बा स्कुलका विधार्थी कक्षाकोठा बाहिरको समयमा खेलीमात्रै बस्दैनन् । टिफिन समयमा होस या शिक्षक विदामा बसेका बेला । कक्षा खाली हुनासाथ विद्यार्थी विद्यालय परिसरमा रहेको करेसावारीमा काम थाल्छन् । यसका लागि ठाकुरबाबा–९, का ५२ वर्षीय शिक्षक बासुदेव भट्टराईले सहजीकरण गर्छन् । उनले विद्यार्थी समूह बनाएर वातावरण र जैविक विविधताबारे पढाउँदै संरक्षणसम्बन्धी अतिरिक्त क्रियाकलापमा संग्लन गराउँछन् । जसले गर्दा उनको परिचय हो, ‘वातावरण सर’ बनेको छ ।
त्यसो त उनी वन, वन्यजन्तु र जैविक विविधता अध्ययन गरेर वातावरण शिक्षक बनेका होइनन् । ३५ बर्षयता ठाकुरबाबा–८, स्थित जगदम्बा उच्च माबिका शिक्षक रहेका भट्टराई २७ बर्षयता कक्षाकोठाका अलवा वातावरण संरक्षण अभियानमा विधार्थीलाई जोडेरै काम गरिरहेका छन् । शिक्षक भट्टराईले बृक्षारोपण, रुख संरक्षण मात्रै होइन चोरी सिकार नियन्त्रण, जलवायु परिवर्तन, वन्यजन्तुबाट कसरी बच्न सकिन्छ भनेर विर्धाीलाई सिकाउँछन् । २०५३ सालबाट विद्यालयमा विद्यार्थी वातावरण समूह गठन भएदेखि अनवरत रुपमा यस्तो शिक्षा दिँदै आएका छन् ।
उनका अनुसार ०७२ सालमा जर्मनको देसाउ विश्व विद्यालय प्रशासनसँग अनुरोध गरेर विद्यालयमा संरक्षण क्रियाकलापका लागि ४ कोठे भवन र एउटा हल निर्माण गरेपछि विधार्थीको सक्रियता झनै बढेको छ । संघीय राजधानी काठमाडौं बाहिर पहिलोपटक जगदम्बा उमाबिमा विद्यार्थी वातावरण समूह गठन गरिएको उनले बताए । त्यसपछि आसपासका अन्य एक दर्जन विद्यालयमा यस्ता समूह गठन गरिएको थियो । ती विद्यालयमा आफै पुगेर वातावरण समूह गठन गरेको उनले बताए । अहिले पनि बेलाबेलामा ती विद्यालयमा पुगेर वातावरण कक्षा सञ्चालन गर्ने र संरक्षण शिक्षा सिकाउँदैं आएको उनले बताए ।
उनका अनुसार समूहमा आवद्ध विद्यार्थीले विद्यालय परिसर र आसपासका क्षेत्रमा सयौं विरुवा लगाएका छन् । अहिले मानव–वन्यजन्तु द्वन्द्व बढिरहेकाले ठाकुरबाबा–९ का विभिन्न टोलमा पुगेर बालबालिकालाई वन्यजन्तुबाट बच्ने तरिका सिकाइरहेको बताए । ‘बालबालिका मार्फत वन्यजन्तु संरक्षण र हानीबाट बच्ने उपायबारे उनीहरुका अभिभावकलाई चेतना फैलाउने उद्देश्य हो,’ उनले भने, ‘सरसफाई, बृक्षारोपण र वन्यजन्तु संरक्षणका लागि हामी सुरुमा बालबालिकालाई सिकाउँछौं ।’
मानव–वन्यजन्तु द्वन्द्व न्यूनिकरण गर्न अहिले नगरपालिकाका १२ वटा विद्यालयमा सचेतना कक्षा सञ्चालन गरिरहेको उनले बताए ।, बिदाको समय होस वा कक्षा खाली भएका बेला ती विद्यालयमा पुगेर कक्षा लिँदै आएको उनले बताए । अहिलेसम्म १२ विद्यालयका २ हजार ५ सय विद्यार्थी यस्ता कक्षामा सहभागी भइसकेको उनले बताए ।

उनका अनुसार आफ्नो विद्यालयमा वातावरण समूह गठन भएपछि विद्यार्थीले गाउँ, ठाकुरद्वारा मन्दिर र बजार क्षेत्रमा सातामा एक पटक सरसफाई गर्दै आएका थिए । अहिले विभिन्न दिवसमा संरक्षण चेतना फैलाउन र्याली आयोजना हुन्छ । ‘संरक्षण सम्बन्धि सडक नाटक मार्फत जनचेतना फैलाउने काम गर्दै आएका छौं,’ शिक्षक भट्टराईले भने, ‘जिल्ला र जिल्ला बाहिर गएर संरक्षणको सन्देश दिने, चित्रकला, हस्तकलाका सामाग्री प्रदर्शन गर्दै आएका छौं ।’ उनका अनुसार समूहमा आवद्ध छात्राछात्रले बर्दिया निकुञ्ज अन्तर्गत पूर्व पश्चिम राजमार्गमा यात्रुले फ्याँकेका फोहोर संकलन गर्दै आएका छन् । अतिरिक्त क्रियाकलापमा रुपमा विद्यार्थीलाई वन्यजन्तु सम्बन्धी अपराध गरे वापत कानुनमा उल्लेख सजायका वारे जानकारी दिने, वेलाबेलामा अध्ययन भ्रमण गराइने उनले जनाए ।
वन्यजन्तु सप्ताह, ईको क्लब, सिमसार दिवस पारेर जैविक विविधता संरक्षण सम्बन्धि अन्तरक्रिया आयोजना गरि आयोजना गरिँदै आएको उनले बताए । ‘जन्मदिनको अवसर पारेर विद्यार्थीले वृक्षारोपण हुने गर्छन्,’ उनले भने, ‘निकुञ्ज र वन क्षेत्रबाट घाइते भएका चित्तल, बदेल, सर्प उद्धार गरि निकुञ्ज प्रशासनलाई बुझाउँछन् ।’ २०५४ सालमा पहिलो पटक वातावरण समूहका विद्यार्थीले काठमाडौंको भृकृटी मण्डपमा आयोजित प्रदर्शनमा आफ्ना संरक्षण क्रियाकलापको प्रदर्शनी गरेको उनले बताए । प्रत्येक वर्ष वर्षायाममा बृक्षारोपणमा जोड दिँदै आएको उनले बताए ।
उनका अनुसार समूहमा आवद्ध विद्यार्थीले आफ्नो घरमा तीन–तीनवटा बिरुवा रोप्नु पर्ने र कुहिने र नकुहिने फोहोर फ्याँक्नका लागि दुईवटा खाडल बनाउनु पर्ने नियम छ । ‘यसबाहेक विद्यार्थीले आलोपालो विद्यालय परिसर र कक्षाकोठा सफाइ गर्छन्,’ उनले भने, ‘यहाँ सिकेको कुरा उनीहरुको बाँकी जीवनमा उपयोगी हुने गरेको छ ।’ वातावरण समूहमा काम गरिसकेका विद्यार्थीले जैविक विविधता संरक्षणलाई महत्व दिने गरेको उनले बताए ।
भट्टराईको पहलमा विद्यालय परिसरमा वर्षाको पानी संकलन गर्ने पोखरी निर्माण गरिएको छ । त्यसबाटै हिउँदमा विरुवा, फलफूल लगयात तरकारी वारीमा सिंचाई गरिन्छ । उनका अनुसार विद्यालय परिसरमा मौसम सम्बन्धी सूचना मापन केन्द्र निर्माण गरिएको छ । वातावरण शिक्षा अन्तर्गत शिक्षक रहेका भट्टराईले विद्यार्थीसँग समन्वयकारी भूमिका अन्तर्गत संरक्षणका लागि प्रत्येक शुक्रबार अन्तरक्रिया कार्यक्रम गर्छन् । विद्यार्थीलाई वन्यजन्तु संरक्षण सम्बन्धी समुदायसम्म चेतना अभिबृद्धिका लागि समन्वयकारी भूमिका गर्न प्रेरित गर्छन् । विद्यार्थीलाई संरक्षण सम्बन्धी जानकारी दिन फुर्सदका समय फिल्ड लैजाने, अभ्यास गराउने गर्छन् । वातावरण विषयका मावि स्तरका शिक्षक भटट्राईले विद्यालयको जग्गामा विद्यार्थीसँग हातेमालो गरि बगैँचा, सूचना केन्द्र र फलफूलका बोट लगाएका छन् । वातावरण समूहमा आवद्ध विद्यार्थीले नकुहिने फोहोरलाई पुनः प्रयोगमा ल्याउन ‘रिसाइकल’ गर्दै आएका छन् । विद्यार्थीले सडकमा फालिएका प्लाष्टिकका पोका संकलन गरि खेलौनादेखि ढकिया, ढाला लगायतका सामग्री निर्माण गर्ने गरेको उनले बताए ।

यहाँ वातावरण समूहले गरेका क्रियाकलाप अवलोकन गर्न सन् २०१० मा प्रशिद्ध हलिउड अभिनेता एंव बाघ संरक्षणमा सक्रिय लियोनाद्रो डिक्याप्रियोले उक्त विद्यालयमा आएको उनले बताए । त्यसबेला डि क्याप्रियोले विद्यालय परिसरमा एउटा बिरुवा रोेपेका थिए । त्यसक्रममा अभिनेताले विद्यार्थी वातावरण समूहमा आवद्ध छात्रछात्रा र शिक्षक भट्टराई लगायतलाई भेटेका थिए । ‘त्यसले थप हौंसला मिल्यो,’ उनले भने, ‘डिक्याप्रियोले वालवालिकालाई संरक्षण शिक्षा दिएकोमा मलाई धन्यवाद दिएका थिए ।’ लियोनाद्रोले विद्यालयका वालवालिकाले बाघ संरक्षण र मानव र वन्यजन्तु बीच द्वन्द्व न्यूनिकरण सम्बन्धी सडक नाटक हेरेर प्रभावित भएको उनले बताए । संरक्षण शिक्षाले गर्दा बैदेशिक भ्रमणको अवसर मिलेको उनले बताए ।
वातावरण संरक्षण सम्बन्धी पाकिस्तानमा सन् २००३ मा भएको आदानप्रदान कार्यक्रममा तत्कालीन समयमा विद्यालयकी छात्रा अनिता खड्का र आफू सहभागी भएको उनले बताए । सन् १९९९ मा उनले अब्राहम लिंकन संरक्षण पुरस्कार पाएका थिए । मध्यवर्तीक्षेत्र स्थापना दिवसको अवसर पारेर उनलाई प्रमाणपत्रसहित नगद २५ हजार पुरस्कार प्रदान गरिएको थियो । बालवालिकालाई वाल्य अवस्थादेखि वातावरण मैत्री व्यवहार अवलोकन गर्नका लागि प्रेरित गर्ने र त्यसका लागि आवश्यक ज्ञान, शिप र धारणा विकास गर्न जरुरी रहेको उनी बताउँछन् ।
विद्यालयमा वातावरण समूह गठन गरेपछि शिक्षक र विद्यार्थी संरक्षण क्रियाकलापमा सक्रिय बनेको उनले बताए । यस्ता क्रियाकलाप आयोजना गर्न र विद्यार्थीलाई संरक्षण शिक्षा प्रदान गर्न निकुञ्ज कार्यालय, संरक्षण सम्बन्धित संघसंस्थाले सघाउँदैं आएका छन् । ‘बीस वर्षअघि गाउँघरमा गोठालाले गुलेलीले हानेर चरा मार्ने गर्थे, त्यसमा पढाई छाडेका विद्यार्थी पनि थिए,’ उनले भने, ‘हामीले गुलेलीको प्रयोग रोक्न गोठाला संरक्षण शिक्षा थाल्यौं, जस अन्तर्गत प्रकृति संरक्षण कोषको सहयोगमा गुलेली फिर्ता गर्ने गोठालालाई फुटबल दिएका थियौं ।’ चरा नमार्न र स्वास्थ्य रहन खेल जरुरी रहेको सम्झाएर फुटवल दिएपछि परिवर्तन सम्भव भएको उनले बताए ।

पहिले चरा मार्ने गोठाला पछि संरक्षणमा क्रियाशील बनेको उनले बताए । अहिले मध्यवर्ती क्षेत्रमा गुलेली भेटाउन मुश्किल पर्ने उनले बताए । जगदम्बा उमाबिका प्रधानाध्यापक कलमबहादुर शाहीले शिक्षक भट्टराईका कारण ईको क्लबको स्थापना भएर विद्यालयले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा छुट्टै पहिचान बनाएको बताए । ‘विद्यालयमा बगैँचा लगाउनेदेखि सरसफाई, वातावरण सम्बन्धी प्रयोगात्मक सिकाईले विद्यार्थीमा परिवर्तन आएको छ’, उनले भने, ‘यस विद्यालयबाट सुरु इकोक्लब (वातावरण समूह) गठन अहिले राष्ट्रिय अभियान बनिसकेको छ ।’








प्रतिकृया दिनुहोस्